यसकारण स्थगित भयो एनआरएन लघुवित्तको विशेष साधारणसभा
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले आगामी भदौ २० गते आब्हान गरेको विशेष साधारणसभा स्थिगित भएको छ । संस्थाले विश्वव्यापी रुपमा फैलिएको कारोना महामारीको कारण विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले सो दिनको सभा हाललाई स्थिगित गर्ने निर्णय गरेकाे हो । उक्त निर्णय भदौ १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । सरकारले कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरी सभा, सम्मेलन, भेला लगायतका मानिसहरुको भिडभाड हुने सबै कृयाकलापहरु गर्न निषेध गरेको छ । त्यसैले, संस्थाको संचालक समितिको ५१औं बैठकको निर्णयानुसार उक्त निर्वाचनको सहितको विशेष साधारण सभा र सो सम्बन्धी सबै कार्यक्रमहरुको अर्को सूचना जारी नगरेसम्मको लागि हाललाई स्थगित गरेको हो ।
एनसेल ‘नन्स्टप’ अफर: मात्र १५० रुपैयाँमा एकहप्ता ननस्टप युट्युब र अन्य धेरै सेवा
काठमाडौं । एनसेल आजियाटा ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो । ‘प्लस’ थिम अन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबार (भदौ १८) देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । यस आकर्षक योजनामा ग्राहकले आफुलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरे पछि त्यस प्याकको समयसिमा बाँकी भएसम्म नन्स्टप मजा लिन सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले ७ दिनको नन्स्टप टिकटक प्याक रु १०० (कर सहित रु १२७.६९) मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको नन्स्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्स्टप युट्युब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार मात्र रु २५ (कर सहित ३१.९२) मा १ दिनको समयसिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र रु १५० (कर सहित रु १९१.५४) मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको नन्स्टप युट्युब प्याक रु ३६० (कर सहित ४५९.६८) मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् । ७ दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्नुहुने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित नन्स्टप प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५४) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् । एनसेलका फोरजी ग्राहकले *१७१२३# १ ह्यास डायल गरी नन्स्टप अफरको लागि प्राप्त निर्देशन अनुसार आफ्नो मनपर्ने प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् । एनसेल आजियाटाका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि उनीहरुले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याकहरु ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको बताए । “सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्स्टप प्रयोग गर्न पाईने र साथै इन्टरनेटमा अन्य सामाग्री हेर्नपनि थप ४ जीबी डेटा बोनस पाईने सुविधाले ग्राहकहरुमाझ ठूलो महत्व राख्ने कुरामा हामी विश्वस्त छौं ।” आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।
कोभिडको असर बैंकका ठूला लगानीकर्तामा, सञ्चय कोषले पाउने लाभांश ६१ प्रतिशतले घट्यो
काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा करिब ३२ प्रतिशतले घटेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.८६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष ४६ अर्ब ७० करोड रुपैयाँ वितरणयोग्य नाफा गरेका बैंकहरुले गत आर्थिक वर्षमा ३१ अर्ब २७ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेका थिए । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण राष्ट्र बैंकले निर्देशन दिए अनुसारको व्याजदर र किस्तामा सुविधा दिनु परेका कारण बैंकहरुको वितरणयोग्य नाफा कम भएको हो । बैंकहरुको वितरणयोग्य नाफा कम भएपछि ठूला तथा संस्थापक सेयरधनीले पाउने लाभांश पनि घट्ने देखिएको छ । ११ वाणिज्य बैंकमा १ देखि १५ प्रतिशतसम्म संस्थापक सेयर लगानी गरेको सरकारी निकाय कर्मचारी सञ्चय कोषले पाउने लाभांश पनि उल्लेख्य रुपमा कम हुने देखिएको छ । कोषले ११ वाणिज्य बैंक, २ विकास बैंक तथा केही बीमा कम्पनी र जलविद्युत कम्पनीमा गरी २२ अर्ब रुपैयाँभन्दा बढी प्रमोटर सेयरमा लगानी गरेको छ । सेयरमा गरिएको लगानीबाट चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ जति लाभांश प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको कोषका चिफ म्यानेजर अर्जुनकुमार गौतमले जानकारी दिए । ‘गत आर्थिक वर्षमा बैंकहरुको वितरणयोग्य नाफा कम भएको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ, प्रारम्भिक नतिजालाई आधार मानेर विश्लेषण गर्दा यो वर्ष लाभांशबाट ३० करोड रुपैयाँ जति आम्दानी हुने निष्कर्ष निकालेका छौं, यद्यपि अन्तिम विवरण आउँदासम्म यो अंक फरक पर्न सक्छ,’ चिफ म्यानेजर गौतमले भने । कोषले गत आर्थिक वर्ष लाभांश वापत ७८ करोड रुपैयाँ प्राप्त गरेको थियो । यो वर्ष ३० करोड रुपैयाँ मात्रै प्राप्त गर्यो भने उसले लाभांश वापत पाउने रकम ६१.५४ प्रतिशतले कम हुनेछ । सम्बन्धित सामग्री ११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध
ड्युटीमा रहेका प्रहरीमाथि पुल्चोकमा निर्घात कुटपिट, भिडियाे भाइरल बन्याे (भिडियाेसहित)
काठमाडौं । ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घाट कुटपिट भएको छ । ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ यात्रा गर्न निस्किएका स्थानीय युवाहरूले घिमिरेमाथि कुटपिट गरेका हुन् । कोरोनाका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीले रथ तान्न रोकेपछि युवाहरूले विरोध गर्दा झडप भएको थियो । प्रहरीले भीड हटाउन पानीको फोहोराका साथै केही सेल अश्रुग्यास हानेको थियो । स्थायीय युवाहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सोही क्रममा घिमिरेमाथि कुटपिट भएको हो । सार्वजनिक भिडियोमा ड्युटीमा एक्लै रहेका घिमिरेलाई युवाहरूको समूहले कुटपिट गरेको देखिन्छ । युवाको कुटपिटपछि ती घिमिरेमा भुइँमा लड्छन् । एक जना युवाले त्यहाँबाट बचाउँदै घिमिरेलाई अर्को स्थानमा ल्याउँछन् । तर भाग्दै गरेको घिमिरेलाई पिछा गर्दै अन्य युवाहरूले कुटपिट गर्न छोड्दैनन् । घिमिरे भाग्दै भाग्दै अन्ततः ड्युटीमा रहेका प्रहरीको सम्पर्कमा पुग्छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कुटपिट गर्नेहरूको आलोचना भइरहेको छ । हाल घिमिरेको अल्का अस्प्तालमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको टाउको र हातमा चोट देखिएको छ । अहिले सिटी स्क्यान गर्ने तयारी भइरहेको जनाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भइरहेको बताए । स्थानीयहरूले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो । ड्युटीमा रहेका प्रहरीमाथि पुल्चोकमा निर्घात कुटपिट, भिडियाे भाइरल बन्याे (भिडियाेसहित) Gepostet von Bikashnews.com am Donnerstag, 3. September 2020
टप कलेजले पत्याएनन् एसइईको नतिजा, भर्ना हुन कक्षा ८ र ९ को नतिजा मागे
काठमाडौं । नेपालका टप कलेजहरु एसइईको नतिजालाई आधार मानेर कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने प्रकृयामा परिवर्तन ल्याएका छन् । कलेजहरुले भर्ना प्रकृयाको लागि कक्षा ८ र ९ को नतिजा पनि मागेको पाइएको छ । नेपालको टप कलेजको रुपमा रहेको माइतिघरस्थित सेन्ट जेभिएर कलेजले विद्यार्थीहरुलाई भर्ना हुनुअघि प्रवेश परीक्षा फारम भर्नको लागि पनि कक्षा ८ र ९ को नतिजा मागेको छ । कलेजले पछिल्लो वर्षहरुमा भर्ना फारमको लागि एसईईको नतिजा मात्र माग्ने गरेको थियो । बजारमा यस वर्षको एसइई नतिजाको विश्वसनीयतामा प्रश्न उठिरहँदा नेपालकै टप कलेजहरुले पनि यस वर्षको नतिजामा प्रश्न उठाएका देखिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण यस वर्षको एसईई परीक्षाको नतिजा विद्यालयले दिएको आन्तरिक मुल्यांकनको आधारमा निकालिएको हो । यस वर्ष देशभर ४ लाख ८२ हजार २१९ जना विद्यार्थीहरुले एसइई तयारी गरेको थिए । चैत ६ गतेबाट हुने भनिएको परीक्षा कोभिड १९ का कारण परीक्षा आउनु एकदिन अगाडि मात्र स्थगित गरिएको थियो । भदौ १ गते सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सोही साँझ एसइईको नतिजा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक भएसँगै निकै टिपाटप्पणी भए । धेरैले परीक्षा नदिई दिएको नतिजा पनि के नतिजा लगायत अभिभावकले घुस खुवाएर अंकहरु बढि दिन लगाइएको आरोपहरु आए । यसले हाम्रो समाजमा ३ घण्टे परीक्षाको स्थान कहाँ छ भन्ने पनि देखाउँछ । वर्षौसम्म विद्यालयहरुले आन्तिरक मुल्यांकनको आधारमा नतिजा प्रकाशित गररहँदा कहिले कतैबाट पनि प्रश्न नउठेको अवस्थामा अन्तिम वर्षको परीक्षामा भने प्रश्न उठेको छ । सधैं एसईईको नतिजा आईसकेपछि कक्षा ११ का भर्नाहरु धमाधम खुल्ने गरेसँगै यस वर्ष कोरोनाको कारण भर्नाहरु कहिले लिने भन्ने टुँगो नलागेको कारण कलेजहरुले अहिले प्रवेश परीक्षाको लागि अनलाईन मार्फत विद्यार्थीहरुलाई फारमहरु भराईरहेका छन् । कतिले भने विद्यार्थीहरुसँग प्रि रजिस्ट्रेसन भन्दै शुल्कहरु लिन थालिसकेका छन् ।
उपत्यकामा बिहिबार ४४५ जना काेराेना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ८५ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३५७, ललितपुरको ४६ र भक्तपुरको ४२ जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ५ हजार ६ सय २२, ललिपुरमा ८ सय १८ र भक्तपुरमा ५ सय ९८ जना पुगेकाे छ । आज देशभर १२ सय २८ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
नेपालभर आज १२ सयभन्दा बढि काेराेना संक्रमित थपिए, ६ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । हाल क्वारेन्टिनमा ६ हजार ७ सय ४९ जना रहेका छन् भने आजसम्म ७ लाख ३१ हजार ८ सय ९२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै बिहिबार ९१७ जना निकाे भएसँगैं हालसम्म २४ हजार २ सय ७ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या २५७ पुगेकाे छ ।
नेकपा सचिवालय बैठक शुरू, राष्ट्रिय सभामा खतिवडा कि गौतम ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरू भएको छ । बिहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो तीन बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको हो । बैठकको मुख्य एजेण्डा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक सिटमा कसलाई मनोनित गर्ने भन्नेमा केन्द्रित हुने बताइएको छ । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नमिल्ने व्यवस्थाअनुसार अर्थमन्त्री डा। युवराज खतिवडाको ६ महिने कार्यकाल शनिबार राति १२ बजे सकिँदैछ । खतिवडाको बारेमा नेकपाभित्र दुई धार रहेको टिप्पणी सार्वजनिक भएको देखिन्छ । प्रचण्ड तथा माधव नेपाललगायतका नेताहरुले वामदेव गौतमलाई यसअघिको सहमतिअनुसार राष्ट्रिय सभामा लैजानुपर्ने अडान राख्दै आएका छन् । नेकपाको यसअघिको सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । राष्ट्रिय सभामा वामदेवलाई लैजाने विषयमा पार्टीको निर्णय मानेर जानुपर्ने मुद्दा बैठकमा उठ्न सक्छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली पक्षले भने वामदेवलाई प्रतिनिधि सभाकै कुनै पद रिक्त गराएर निर्वाचनमार्फत प्रतिनिधि सभामा लैजाने प्रस्ताव राख्न सक्ने समेत देखिन्छ । आजको बैठकले यो विषयमा टुंगो लगाउने देखिन्छ । त्यस्तै, बैठकमा नेकपाभित्र चुलिएको विवाद समाधानका लागि बनाइएको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल हुनेछ । नेकपा सचिवालयको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाएको ६ सदस्यीय कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य थिए । कार्यदलले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने, सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने, आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने सुझाव दिइएको छ । त्यस्तै, सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने, सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने, कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउनेलगायतका सुझाव कार्यदलले दिएको थियो । कार्यदलको प्रतिवेदनमा दुबै अध्यक्ष ओली र प्रचण्डले सहमति गरेर आवश्यक संशोधनसहित राजनीतिक प्रस्तावका रुपमा स्थायी कमिटिमा लैजाने निर्णय हुने सम्भावना बलियो छ ।