नेकपा सचिवालय बैठक शुरू, राष्ट्रिय सभामा खतिवडा कि गौतम ?

<p>काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरू भएको छ । बिहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो तीन बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको हो । बैठकको मुख्य एजेण्डा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक सिटमा कसलाई मनोनित गर्ने भन्नेमा केन्द्रित हुने बताइएको छ । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा [&hellip;]</p>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरू भएको छ । बिहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो तीन बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको हो ।

बैठकको मुख्य एजेण्डा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक सिटमा कसलाई मनोनित गर्ने भन्नेमा केन्द्रित हुने बताइएको छ । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नमिल्ने व्यवस्थाअनुसार अर्थमन्त्री डा। युवराज खतिवडाको ६ महिने कार्यकाल शनिबार राति १२ बजे सकिँदैछ ।

खतिवडाको बारेमा नेकपाभित्र दुई धार रहेको टिप्पणी सार्वजनिक भएको देखिन्छ । प्रचण्ड तथा माधव नेपाललगायतका नेताहरुले वामदेव गौतमलाई यसअघिको सहमतिअनुसार राष्ट्रिय सभामा लैजानुपर्ने अडान राख्दै आएका छन् । नेकपाको यसअघिको सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । राष्ट्रिय सभामा वामदेवलाई लैजाने विषयमा पार्टीको निर्णय मानेर जानुपर्ने मुद्दा बैठकमा उठ्न सक्छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली पक्षले भने वामदेवलाई प्रतिनिधि सभाकै कुनै पद रिक्त गराएर निर्वाचनमार्फत प्रतिनिधि सभामा लैजाने प्रस्ताव राख्न सक्ने समेत देखिन्छ । आजको बैठकले यो विषयमा टुंगो लगाउने देखिन्छ ।

त्यस्तै, बैठकमा नेकपाभित्र चुलिएको विवाद समाधानका लागि बनाइएको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल हुनेछ । नेकपा सचिवालयको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाएको ६ सदस्यीय कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य थिए ।

कार्यदलले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने, सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने, आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने सुझाव दिइएको छ ।

त्यस्तै, सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने, सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने, कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउनेलगायतका सुझाव कार्यदलले दिएको थियो ।

कार्यदलको प्रतिवेदनमा दुबै अध्यक्ष ओली र प्रचण्डले सहमति गरेर आवश्यक संशोधनसहित राजनीतिक प्रस्तावका रुपमा स्थायी कमिटिमा लैजाने निर्णय हुने सम्भावना बलियो छ ।

Share News