विकासन्युज

ग्लोबल आइएमई बैंकका सीईओ रेग्मी बने निफ्राको अध्यक्ष, बाहिरिए अनुज अग्रवाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले रेग्मीलाई अध्यक्ष चयन गरेको हो ।  रेग्मी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै निफ्राको सञ्चालकका रूपमा कार्यरत थिए । यसअघि अध्यक्ष रहेका अनुज अग्रवालले पदबाट राजीनामा दिएपछि रेग्मीले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । अग्रवाल विशाल ग्रुपको प्रतिनिधित्व गर्दै संस्थापक समूहका तर्फबाट निफ्राको सञ्चालक बनेका थिए । तर, विशाल ग्रुपले उनको स्थानमा दीपक कुमार अग्रवाललाई सञ्चालकका रूपमा मनोनयन गरेपछि अनुज अग्रवालले अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

मौलिक उत्पादनलाई विश्व बजारमा पु‍र्याउन उन्नति र मेरियट बिजनेस काउन्सिलबीच  साझेदारी

काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित हस्तकला (ह्याण्डीक्राफ्ट) लाई अन्तर्राष्ट्रिय आतिथ्य (हस्पिटालिटी) बजारसँग जोड्ने उद्देश्यका साथ उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको एक विशेष पहल हो, जसले नेपाली परम्परागत सीप र हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने कार्य गर्दै आएको छ । राजधानीमा आयोजित एक विशेष समारोहका बीच चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका तर्फबाट किरण एन्डीकोटले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो हस्ताक्षर समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटलगायत दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो । यस सहकार्यको मुख्य उद्देश्य नेपाली हस्तकला, महिला उद्यमी तथा समुदायमा आधारित उत्पादक समूहहरूले उत्पादन गरेका स्थानीय सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु हो ।  सम्झौताअनुसार मेरियट र यससँग आबद्ध होटलहरूमा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शन तथा प्रयोग गर्ने सम्भावनाहरूको खोजी गरिनेछ । यस पहलले नेपाली मौलिक हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा स्थापित गर्न मद्दत गर्नुका साथै स्थानीय समुदायका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । सहकार्य अन्तर्गत उन्नतिले आफ्नो प्रिमियम ब्राण्ड ‘सिया’मार्फत होटल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास तथा छनोट गर्नेछ । यसका साथै योग्य हस्तकला निर्माता र महिला नेतृत्वमा सञ्चालित उद्यमहरूको पहिचान तथा परिचालन गर्ने, उत्पादनको गुणस्तर र मौलिकता सुनिश्चित गर्ने, ब्राण्डिङ गर्ने, प्रवद्र्धनका लागि स्टोरीटेलिङ (कथा प्रस्तुतीकरण) गर्ने तथा यसबाट परेको सकारात्मक प्रभावको मूल्याङ्कन गर्ने कार्य पनि उन्नतिले नै गर्नेछ । अर्कोतर्फ मेरियटले आफ्ना होटलहरूलाई आवश्यक पर्ने उत्पादनसम्बन्धी मार्गदर्शन प्रदान गर्नेछ ।  छनोट गरिएका नेपाली उत्पादनहरूलाई आफ्ना होटलहरूमा प्रदर्शन तथा प्रवद्र्धन गर्ने सम्भावनाको खोजी गर्नुका साथै होटल सञ्चालकहरूसँग ती सामग्रीहरूलाई होटल सञ्चालन सामग्री तथा उपकरणमा समावेश गर्ने विषयमा छलफल र सहजीकरण गर्ने भूमिका मेरियटले खेल्नेछ । हस्ताक्षर समारोहमा बोल्दै चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरीले नेपालसँग समृद्ध हस्तकला र उद्यमशीलताको परम्परा रहेको उल्लेख गर्दै त्यसले विश्वस्तरमा अझ बढी पहिचान पाउनुपर्नेमा जोड दिए । यो साझेदारीले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै समावेशी आर्थिक वृद्धिलाई टेवा पु‍र्याउने लक्ष्य राखेको छ । स्थानीय स्तरमा उत्पादित वस्तुहरूलाई विश्वव्यापी उपभोक्तासम्म पुग्ने अवसर सिर्जना गरेर यस पहलले नेपालको हस्तकला क्षेत्रलाई थप सुदृढ बनाउनुका साथै देशभर दिगो उद्यम विकासलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ । दुवै संस्थाले सामाजिक उत्तरदायित्वयुक्त व्यावसायिक अभ्यासलाई प्रवर्द्धन गर्ने, स्थानीय उत्पादकहरूलाई सशक्त बनाउने तथा नवप्रवर्तनशील साझेदारीमार्फत नेपालको विशिष्ट सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने प्रतिबद्धता समेत पुनः व्यक्त गरेका छन् ।

कांग्रेस एकताका लागि शेखरको अग्रसरता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कोशी प्रदेशबाट पार्टी एकता र सुदृढीकरणका लागि जुट्ने तयारी गरेका छन् । आगामी जेठ ३१ गते विराटनगरमा आयोजना हुने कोशी प्रदेशस्तरीय भेलामार्फत उनले कांग्रेसभित्रका सबै पक्षलाई एकताका लागि आह्वान गर्ने भएका हुन् । कांग्रेसका पूर्वसहमहामन्त्री बद्री पाण्डेले उक्त भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका र नियमित महाधिवेशनको पक्षमा रहेका दुवै समूहका नेता तथा कार्यकर्तालाई सहभागी हुन निमन्त्रणा गरिएको जानकारी दिए । पार्टीभित्र बढ्दो ध्रुवीकरण अन्त्य गर्दै साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिने उनले बताए । नेता डा.मीनेन्द्र रिजालले पार्टीमा एकमना एकता कायम गर्न आफू निरन्तर लागिरहेको जानकारी दिए । आफूले सभापति गगनकुमार थापा र डा. शेखरसँग निरन्तर संवाद गरिरहेको बताए । पूर्वसहमहामन्त्री पाण्डेले नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले महत्त्वपूर्ण राजनीतिक घोषणा र सन्देशका लागि विराटनगरलाई केन्द्र बनाउने गरेको स्मरण गर्दै यसपटक पनि डा. शेखर कोइरालाले पार्टी एकता, संगठन सुदृढीकरण र कांग्रेसको भावी दिशासम्बन्धी केही नयाँ धारणा सार्वजनिक गर्न सक्ने संकेत दिए । विराटनगरस्थित मनास्लु होटलमा आयोजना हुने भेलामा डा. कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद तथा राजीव कोइरालालगायत नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । कार्यक्रमको तयारीमा कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई सक्रिय रूपमा जुटेका छन् । तर सभापति उद्धव थापाले भने कार्यक्रमबारे जानकारी नभएको बताएका छन् । आयोजकहरूले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेको सामग्रीमा उक्त भेलालाई ऐतिहासिक बृहत कोशी प्रदेशस्तरीय भेलाका रूपमा प्रस्तुत गरेका छन् । कांग्रेसभित्र आगामी महाधिवेशनको बहस तीव्र भइरहेका बेला विभिन्न धारका नेताहरूलाई एउटै मञ्चमा ल्याउने डा. कोइरालाको प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लामो समयदेखि फरक राजनीतिक धारमा रहेका नेताहरूको संयुक्त उपस्थितिले पार्टीभित्र संवाद, सहकार्य र एकताको नयाँ वातावरण निर्माण गर्न सक्ने अपेक्षा गरिएको नेता पाण्डेले जानकारी दिए ।

विश्वकप सिजनमा सामसङको अफर : टिभीमा २५ प्रतिशतसम्म क्यासब्याक र फ्री सब्स्क्रिप्सन

काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टिभी लाइनअपमा विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अफरले घरमै स्टेडियमजस्तै अनुभव लिन सहयोग गर्नेछ । यो अफर २०२६ जुलाई १९ सम्म मान्य रहनेछ । अफरअन्तर्गत छनोट गरिएका सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ । यसले विश्वकपको अवसरमा अझ ठूलो र स्पष्ट स्क्रिनमा अपग्रेड गर्न उपयुक्त अवसर दिने कम्पनीले जनाएको छ । उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्च टिभी खरिद गर्ने ग्राहकहरूले ४९ हजार ९९० रुपैयाँ पर्ने साउन्डबार मात्र ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । यसले दृश्यसँगै शक्तिशाली अडियो अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ । त्यस्तै, विश्वकप सिजनलाई अझ मनोरञ्जनमूलक बनाउन सामसङले निःशुल्क वर्ल्डकप लाइभ सब्स्क्रिप्सनसँगै १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज पनि उपलब्ध गराइरहेको छ । ब्युएलइडी र यूएचडी मोडेलमा १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज रहनेछ भने एफएचडी र एचडी मोडेलमा ६ महिनासम्मको सुविधा दिइनेछ । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवामार्फत ग्राहकहरूले १२ वा २४ महिनाको इएमआई योजनामा टिभी खरिद गर्न सक्नेछन् । पुराना उपकरण साटेर नयाँ टिभी लिन चाहने ग्राहकहरूले आर्कोस्टोर वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा पनि लिन सक्नेछन् । अफरबारे थप जानकारीका लागि नजिकको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार, अस्थायी शान्ति सम्झौताको सम्भावना झन् टाढा

काठमाडौं । अमेरिकाले मंगलबार इरानका सैन्य सम्पत्तिमाथि आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका केही देशहरूलाई निशाना बनाएको छ । जोर्डनको सेनाले स्थानीय समयअनुसार बुधबार पाँचवटा इरानी क्षेप्यास्त्र अवरोध गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । त्यसैगरी, बहराइनले साइरन बजाएर सतर्कता अपनाएको छ भने कुवेतले ‘शत्रुतापूर्ण हवाई लक्ष्य’ अवरोध गर्न आफ्नो वायु प्रतिरक्षा प्रणाली सक्रिय गरेको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले मंगलबार साँझ अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप इरानमाथि आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार ती ‘आत्मरक्षात्मक आक्रमण’ इरानको ‘अनुचित आक्रामकता’ विरुद्धको प्रतिक्रिया हुन् । एक्स (पूर्व ट्विटर) मा गरिएको पोस्टमा सेन्टकमले आत्मरक्षाका लागि गरिएको कदम भनेको छ । मंगलबार राति सेन्टकमले आफ्नो सैन्य कारबाही पूरा भएको जनाउँदै हर्मुज जलडमरूमध्य नजिक रहेका इरानी वायु प्रतिरक्षा प्रणाली, स्थल नियन्त्रण केन्द्र तथा निगरानी रडार केन्द्रहरूलाई निशाना बनाइएको जानकारी दिएको थियो । यो पछिल्लो सैन्य झडपले अमेरिका र इरानबीच रहेको युद्धविरामलाई कमजोर बनाएको छ । बारम्बार हुने भिडन्तका बावजुद औपचारिक रूपमा युद्धविराम कायम रहेको भनिए पनि यस घटनाले अस्थायी शान्ति सम्झौताको सम्भावना अझ टाढा धकेल्न सक्ने देखिएको छ । यी आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो । ट्रम्पले मंगलबार इरानले हर्मुज जलडमरूमध्यमा गस्ती गरिरहेको अमेरिकी हेलिकोप्टर खसालेको दाबी गर्दै अमेरिकाले त्यसको प्रतिकार गर्ने बताएका थिए । ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा हेलिकोप्टरमा रहेका दुवै पाइलट सुरक्षित र सकुशल रहेको उल्लेख गर्दै भने, ‘तथापि अमेरिकाले यो आक्रमणको जवाफ दिनैपर्छ ।’ त्यसको केही समयपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले जलडमरूमध्य वरपरका विभिन्न स्थानहरूमा विस्फोटको आवाज सुनिएको जानकारी दिएका थिए । इरानी समाचार संस्था तस्निमले इरानले अमेरिकी सैन्य कारबाहीको जवाफ दिने जनाएको छ । यद्यपि इरानले हेलिकप्टर खसालेको जिम्मेवारी प्रत्यक्ष रूपमा स्वीकार गरेको छैन । इरानको सरकारी प्रसारक आईआरआईबीले पछिल्लो २४ घण्टामा जलडमरूमध्य क्षेत्रमा कुनै आक्रामक सैन्य गतिविधि नभएको दाबी गरेको छ । अमेरिकी आक्रमण हुनुअघि मंगलबार दिउँसो इरानी विदेशमन्त्री अब्बास अराघ्चीले एक्समा लेख्दै विदेशी सेनाहरू आफ्नै मानवीय त्रुटि, दुर्घटना वा दोहोरो गोलीबारीको चपेटामा पर्ने जोखिममा रहेको बताएका थिए । उनले भनेका थिए, ‘जोखिम कम गर्ने सबैभन्दा राम्रो उपाय उनीहरू यहाँबाट बाहिरिनु हो ।’  ‘हामी कूटनीतिक भाषालाई प्राथमिकता दिन्छौं, तर अन्य भाषा पनि बोल्न जान्दछौं,’ उनले थपे । यस घटनाभन्दा एक दिनअघि मात्रै ट्रम्पले तेहरानसँग यसै साताभित्र सम्झौता हुन सक्ने दाबी गरेका थिए । उनका अनुसार अमेरिका र इरान ‘धेरै राम्रो’ सम्झौताको अन्तिम चरणमा पुगेका थिए, जसले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने र सम्झौतामा हस्ताक्षर भएलगत्तै हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खोल्ने थियो । न्युयोर्कमा एनबीए फाइनलको खेल हेरेर फर्किएपछि सोमबार राति ट्रम्पले यस्तो सम्झौता ‘दुई वा तीन दिनमै’ हुन सक्ने बताएका थिए । तर युद्ध सुरु भएयता उनले पटकपटक सम्झौता नजिक पुगेको दाबी गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन । सेन्टकमका अनुसार अमेरिकी एएच–६४ अपाचे हेलिकप्टर सोमबार साँझ ओमानको तट नजिक खसेको थियो । मंगलबार बिहान जारी प्रारम्भिक विज्ञप्तिमा सेन्टकमले घटनाको अनुसन्धान भइरहेको बताएको थियो र त्यसबेला इरानलाई प्रत्यक्ष दोष दिएको थिएन । हेलिकोप्टर दुर्घटनामा परेका दुई सैनिकलाई अमेरिकी नौसैनिक बलको केन्द्रीय कमान्ड र ८२औं एयरबोर्न डिभिजनले करिब दुई घण्टाभित्र उद्धार गरेको सेन्टकमले जनाएको छ । इरानको सरकारी टेलिभिजन प्रेस टिभीले ट्रम्पको पोस्टमाथि व्यंग्य गर्दै प्रतिक्रिया दिएको थियो । ट्रम्पले इरानी सेनालाई अमेरिकी कारबाहीबाट ‘पूर्ण रूपमा ध्वस्त’ पारिएको दाबी गर्दै आएका सन्दर्भमा प्रेस टिभीले लेखेको थियो, ुइरानी सेना ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबीको अवस्था यति नै हो त । इरानी संसद्का सभामुख मोहमद बाघिर गालिबाफले पनि एक्समार्फत विदेशमन्त्री अराघ्चीको जस्तै चेतावनीपूर्ण सन्देश दिएका छन् । उनले लेखेका छन्, ‘हामी कूटनीतिक भाषालाई प्राथमिकता दिन्छौं, तर अन्य भाषा अझ राम्रोसँग बोल्न जान्दछौं । यदि तपाईंले आफ्ना प्रतिबद्धता तोड्नुभयो भने हामी हाम्रो सबैभन्दा परिचित भाषामा फर्किनेछौं । तपाईंले जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तै परिणाम भोग्नुपर्छ ।’ यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथ बुधबार क्युबास्थित ग्वान्टानामो बे र फ्लोरिडाको ट्याम्पा भ्रमणमा जाने कार्यक्रम रहेको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जनाएको छ । उनले त्यहाँ तैनाथ अमेरिकी सैनिक तथा सेन्टकमका अधिकारीहरूसँग भेटघाट गर्नेछन् । सान्दर्भिक सामग्रीहरू : इरान युद्धको १०० दिन : विश्वव्यापी बजार र अर्थतन्त्र कसरी प्रभावित भए ? इजरायल र लेबनानबीच युद्धविरामको सहमति, के इरानसँग पनि सम्झौता होला ? मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी  इरान र अमेरिका युद्धविरामको सहमति नजिक तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति

नेप्सेमा १.३६ खर्बको सेयर सूचीकृत, बोनस मात्रै ४० अर्ब ३३ करोड रुपैयाँ

काठमाडौं । १० महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डेढ खर्ब रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा नेप्सेमा १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको १० महिनामा ४५ अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ ।  यस्तै, नेप्सेमा ४० अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस सेयर, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँ  बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९७ करोड १७ लाख बराबरको एफपीओ र २ करोड २९ लाख रुपैयाँ बराबरको अन्य गरी कुल १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।  समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २७ अर्ब २३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर निष्काशनका लागि अनुमति दिएको छ । नेपाल स्टक एक्सचेन्जमा वैशाख मसान्तमा सूचीकृत ९ अर्ब ४८ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ३४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । वैशाख मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २९४ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । गत वर्षको सोही अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.६ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

बजेटपछि सुजुकी ई–भिटारा सस्तो : सबै भेरिएन्टमा १ लाख घट्यो, ४८.९९ लाखबाट सुरु

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजारलाई लक्षित गर्दै सीजी मोटोकर्पले सुजुकीको ई–भिटाराको मूल्य घटाएको छ । सरकारको नयाँ बजेटमार्फत भन्सार र कर संरचनामा गरिएको संशोधनपछि कम्पनीले गाडीको मूल्यमा प्रत्यक्ष कटौती गरेको जनाएको छ । अब सुजुकी ई–भिटाराका सबै भेरिएन्टमा १ लाख रुपैयाँसम्म मूल्य घटाइएको छ । यसअघि ४९ लाख ९९ हजार रुपैयाँ पर्ने ई–भिटारा डेल्टा भेरिएन्ट अब ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी, ई–भिटारा जेटाको मूल्य ५२ लाख ९९ हजार, अल्फाको ५८ लाख ९९ हजार र अल्फा डीटीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीका अनुसार यी मूल्यहरू परिचयात्मक (इंट्रोडक्टरी) हुन् भने सम्बन्धित भेरिएन्टहरूको एमआरपी भने अझै उच्च रहेको छ । सीजी मोटोकर्पले ई–भिटारालाई गत चैतमा पोखरामा सम्पन्न नाडा अटो शोमार्फत औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको थियो । सार्वजनिक भएसँगै चार फरक भेरिएन्टमा गाडी बिक्री वितरण हुँदै आएको छ । प्राविधिक पक्षमा, ई–भिटारा दुई ब्याट्री विकल्प - ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ । यीबाट क्रमशः १०६ किलोवाट र १२८ किलोवाटसम्म पावर उत्पादन हुने कम्पनीले जनाएको छ । शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिका कारण यो आफ्नो सेग्मेन्टमै प्रतिस्पर्धी ईभीका रूपमा उभिएको दाबी गरिएको छ । कम्पनीले सुरुवाती १०० ग्राहकलाई यही घटाइएको मूल्यमा गाडी उपलब्ध गराउने जनाएको छ । सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरीका अनुसार सरकारको नीतिगत सहजीकरणलाई उपभोक्तासम्म प्रत्यक्ष पुर्‍याउने उद्देश्यले मूल्य समायोजन गरिएको हो । हाल कम्पनीले देशभर २५ वटा बिक्री केन्द्र र ४० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, दक्ष ईभी प्राविधिकसहितको सञ्जालका कारण सेवा विस्तारमा आफू अग्रस्थानमा रहेको कम्पनीको दाबी छ ।

मापदण्ड विपरीतका हेडलाइट र हर्न प्रयोग गरे कारबाही हुने

काठमाडौं । सरकारले सवारी साधनहरूमा उत्पादक कम्पनीले तोकेको प्राविधिक स्पेसिफिकेसन विपरीत जथाभावी बत्ती र हर्न जडान गरी चलाउने कार्यमा रोक लगाएको छ । मंगलबार यातायात व्यवस्था विभागले एक  सूचना जारी गर्दै कानुन विपरीत अतिरिक्त लाइट र प्रेसर हर्न प्रयोग गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।  बजारमा सवारी साधनको मूल स्वरूप परिवर्तन गरी उच्च क्षमताका लाइटहरू जडान गरेर सवारी चलाउने प्रवृत्ति बढेको र यसले गर्दा विपरीत दिशाबाट आउने चालक तथा पैदल यात्रीहरूलाई बाधा पुगी दुर्घटनाको जोखिम बढेको विभागको ठहर छ ।  कानुनी रूपमा पनि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार स्वीकृत नलिई सवारीको स्वरूप वा प्राविधिक पक्ष हेरफेर गर्न नपाइने प्रावधान छ । विभागले सवारी निरीक्षण/परीक्षण मापदण्ड २०७४ बमोजिम हेडलाइट र हर्नको स्पष्ट मापदण्ड समेत तोकेको छ । जसअनुसार डिप वा कम विमको हेड ल्याम्पको हकमा १५ हजारदेखि ३० हजार क्यान्डेलासम्म र हाई विमको हकमा प्रत्येक हेड ल्याम्प १ लाख क्यान्डेलाभन्दा कम तथा समग्रमा चारवटै हेड ल्याम्पको प्रकाश २ लाख क्यान्डेलाभन्दा कम तीव्रताको हुनुपर्ने व्यवस्था छ ।  यसैगरी हर्नको हकमा न्यूनतम ९० डेसिबलदेखि अधिकतम ११२ डेसिबलसम्म मात्र ध्वनि निकाल्न पाउने नियम रहेकाले आफूखुसी प्रेसर हर्नहरू जोड्न नपाइने विभागले स्पष्ट पारेको छ ।  उक्त प्रावधान विपरीत बत्ती र हर्न जडान गरी सवारी साधन चलाएको खण्डमा प्रचलित नियम कानुन अनुसार कारबाही हुने व्यहोरा जानकारी गराउँदै विभागले सबैलाई तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।