विकासन्युज

तराई क्षेत्रमा तातो लहरको सम्भावना, यस्तो छ देशभरको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  देशका हिमाली भू-भागका एक/दुई स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।  साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । महाशाखाका अनुसार आज राति हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

काठमाडौं । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको छ ।  विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११:४५ देखि बिहान ६:३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ । विमानस्थलको धावन मार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो । निर्माणलाई गति दिन विमानस्थल बन्द गरिने विमानस्थल कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।  सूचनाअनुसार विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

४० मेगावाटको राहुघाटको जेठभित्र परीक्षण उत्पादन गर्ने, ९५ प्रतिशत भौतिक प्रगति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो । आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । ‘सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका संरचना निर्माण र उपकरण जडान सकेर फिनिसिङ भइरहेको छ । सुरुङमा पस्ने चारवटा प्रवेशमार्ग बन्द गराएपछि पानी भरेर परीक्षण गर्ने तयारीमा छौँ,’ उनले भने । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो । चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्यअनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए ।  रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुइवटा पानी थिग्य्राउने पोखरी निर्माण सकिएको छ । तिल्केनीचौरमा विद्युतगृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । २० मेगावाटको एक वटा युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ । विद्युतगृह परिसरमा आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि स्वीचयार्ड तयार पारिएको हाइड्रोपावरका प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । कोरोना महामारी, बाढी पहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजनाको काममा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ साल कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी) ले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना(कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । ४ वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ ।

सोमबारदेखि पूर्वीनाका पूर्ण रूपमा बन्द

काठमाडौं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अति जरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए । नेपाल र बङ्गलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको उनले बताए । 

वीरगञ्ज भन्सारले उठायो १.७७ खर्ब राजस्व, गत वर्षको तुलनामा १६.२० अर्ब बढी

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  कार्यालयले गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १६ अर्ब २० करोड रुपैयाँ अर्थात् १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ९ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको बताए । भन्सार विभागले कार्यालयका लागि चालु आवको ९ महिनामा भने १ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरेको थियो ।  वीरगञ्ज भन्सारले चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब ९ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।  त्यस्तै पुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ र चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, चालु आवको ९ महिनामा कूल वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन हुन सकेको छ । चालु आवको तीन महिना अझै बाँकी रहेकाले पनि थप राजस्व सङ्कलन हुने सम्भावना भने कायमै छ ।

३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारवाही गरिने

काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ । गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रुपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न सोमबार (आज) काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।  बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरु सम्पर्कमा आएको बताउँदै धादिङतर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरुले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरी महानगरपालिकाको सूचनालाई अवज्ञा गर्ने कम्पनीहरुलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।  बैठकमा यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न निर्देशन दिइन् ।  'बसपार्कको समस्यासँगै ठमेल लगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुने ठाउँका परिवारले ध्वनी प्रदुषणले असर गरेको स्पालगायतका व्यवसायमा हुने अवाञ्छित क्रियाकलापबाट पारिवारिक वातावरण विग्रिएको, छात्राबास सञ्चालकहरुबाट बसोबासमा समस्या आएको जस्ता गुनासा आउने गरेका छन् । यसको नियमनका लागि नेपाल प्रहरी र महानगर प्रहरी बलका आफ्नाआफ्नै क्षेत्राधिकार छन् । एकै पटक अनुगमन जाने र आफ्ना आफ्ना क्षेत्राधिकारका काम गर्न थालेपछि व्यवस्थापनमा महसुस योग्य नतिजा आउनेछ,’ उनको भनाइ थियो । बैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले, सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानु पर्ने बताए । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दी विरुद्धको अभियानले अनधिकृत काम गर्नेहरुको संख्यामा कमी आएको बताए ।  ठमेल क्षेत्रको सामाजिक अवस्थाको कुरा गर्दै थापाले निषेधित काम गर्ने २० जना विदेशी महिलालाई डिपोट गरिएको जानकारी दिँदै अपराधमाथिको निगरानी  जारी रहेको बताए ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक संकेत र सडक अनुशासन पालना गराउन महानगरपालिका र ट्राफिक प्रहरीका बिचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनु पर्ने बताए ।  सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर सञ्चालन यात्रु चढाउने र ओराल्ने क्रियाकलाप, सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनका विषयमा बैठक केन्द्रीत थियो । यसमा पनि महानगरपालिकाले जारी गरेका सूचना तथा पटक पटक भएका सहमति तथा निर्णय विपरीत बसपार्क क्षेत्र बाहिरबाट यातायात सेवा सञ्चालन भइरहेकोमा यसको नियन्त्रण र व्यवस्थापनको विषय विश्लेषण भएको थियो ।  प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौंबाट दैनिक औसतमा ७ सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् ।  तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । काठमाडौंमा सवारी साधन व्यवस्थापनका चुनौतीमध्ये यो प्रमुख समस्या बनेको, शाहको भनाइ छ ।  ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार नयाँ बसपार्क भित्रबाट अहिले ५७ वटा कम्पनीका सवारी साधन सञ्चालन हुन्छन् । लामो दुरीको एउटा सवारी साधन ९ घण्टा पार्किङ् गरेको ४ सय ५० रुपियाँ शुल्क लिने गरिएको छ ।  मध्यम तथा छोटो दुरीका माइक्रो बसको २२० रुपियाँ लिने गरिएको मल्लको भनाइ छ । बसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङ् लगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ ।  नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ ।

भ्रष्टाचारीको छटपटीले कारबाही रोकिँदैन, म डगमगाउँदिनँ: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकको ढुकुटी लुट्नेहरू विरुद्ध सुरु गरिएको अभियान कुनै पनि हालतमा नरोकिने उद्घोष गरेका छन् । पछिल्लो समय भइरहेका अनुसन्धान र कारबाहीलाई लिएर भइरहेका आलोचनाप्रति लक्षित गर्दै उनले आफू आफ्नो कर्तव्यबाट विचलित नहुने स्पष्ट पारे । आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले भने, ‘​​​​​​​वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन् । अहिले देखिएका मिडिया ट्रायल र प्रायोजित हल्लाहरू केवल उनीहरूको छटपटी मात्र हुन् ।’ गृहमन्त्रीले भ्रष्टाचार विरुद्धको अभियानमा कुनै सम्झौता नहुने बताउँदै दिनकै करोडौं भ्रष्टाचार गर्नेहरू विरुद्ध राज्य कठोर रूपमा प्रस्तुत हुने संकेत गरे ।  ‘दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिएको थिएन,’ उनले भने,  ‘तर अब कारबाही रोकिँदैन र म कति पनि डगमगाउँदिनँ ।’ राज्यको सम्पत्तिमाथि रजाइँ गर्ने गिरोहले बचाउका लागि विभिन्न हत्कण्डा अपनाए पनि कानुनी कठघरामा उभ्याउने गृह प्रशासनको कदम निरन्तर अगाडि बढ्ने उनको दृढता छ ।

सिंहदरबारबाटै न्युयोर्कको मन्त्रीस्तरीय सत्रमा अर्थमन्त्रीको सम्बोधन: हरित अर्थतन्त्र र ऋण व्यवस्थापनमा जोड

काठमाडौं । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् अन्तर्गत न्युयोर्कस्थित राष्ट्र संघीय मुख्यालयमा आयोजित विकासका लागि वित्त सम्बन्धी मन्त्रीस्तरीय सत्रलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गरेका छन् ।  काठमाडौंस्थित सिंहदरबारबाट भर्चुअल माध्यममार्फत प्रमुख वक्ताका रूपमा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरूले सामना गरिरहेका वित्तीय चुनौती र जलवायु वित्तको न्यायोचित वितरणमा जोड दिए ।  मन्तव्यका क्रममा उले दिगो विकास लक्ष्य हासिल गर्नका लागि विश्वव्यापी वित्तीय संरचनामा सुधार आवश्यक रहेको औंल्याउँदै नेपाल जस्ता मुलुकका लागि सहुलियतपूर्ण ऋण र वैदेशिक लगानीको महत्त्वबारे विश्व समुदायको ध्यानाकर्षण गराए ।  विशेषगरी महामारी पछिको आर्थिक पुनरुत्थान र बढ्दो ऋणको भारलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले थप लचिलो र सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा उनको विशेष जोड थियो ।  मन्त्री वाग्लेले नेपालले अवलम्बन गरेका आर्थिक सुधारका प्रयासहरू साझा गर्दै हरित अर्थतन्त्र र समावेशी विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको उल्लेख गरे ।