विकासन्युज

मन्त्री गुरुङ र पुनले लिए सपथ, दुवैलाई दोस्रो पटक जिम्मेवारी

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा-१ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् । दुवैका लागि यो मन्त्रिपरिषद्मा दोस्रो पटकको जिम्मेवारी हो । गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै, पुनले विगतमा पनि सरकारमा रहेर शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको नेतृत्व गरिसकेका छन् । 

बैंकिङ र बिमासहित २५ अत्यावश्यक सेवामा हडताल पूर्ण रूपमा निषेध

काठमाडौं । सरकारले बैंकिङ, बिमा लगायतका २५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरेको हो । सरकारका अनुसार सार्वजनिक सेवा अवरुद्ध हुन नदिन अत्यावश्यक सेवामा हडताल निषेध गरिएको हो । यस निर्णयअनुसार डाँक, तार तथा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट यात्रु तथा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा तथा विमानको सञ्चालन र मर्मतसम्बन्धी सेवा, हवाई ग्राउन्ड, रेल्वे स्टेसन र सरकारी गोदाममा मालसामान व्यवस्थापनसँग सम्बन्धित सेवा अत्यावश्यक सेवाभित्र परेका छन् । त्यस्तै, सरकारी छापाखाना, रक्षा सामग्री उत्पादन तथा वितरण, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी आपूर्ति, होटल तथा पर्यटन आवास सेवा, पेट्रोलियम पदार्थ (एलपी ग्यास सहित) को आयात, ढुवानी र वितरण, अस्पताल तथा स्वास्थ्य सेवा, औषधि उत्पादन तथा बिक्री वितरण, फोहोरमैला व्यवस्थापन तथा सरसफाइ सेवा पनि यस सूचीमा समावेश छन् ।  यसैगरी बैंकिङ र बिमा सेवा, विद्युत् सेवा, दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति, मौसम तथा बाढी पूर्वानुमान सेवा, मास्क तथा ह्यान्ड स्यानिटाइजर सम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा, राहदानी सेवा र इन्टरनेट सेवामा समेत हडताल निषेध गरिएको छ ।

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट

काठमाडौं । मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा मकालु वाईन इन्डस्ट्रीज लिमिटेडका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको कम्पनीले विगत ३१ वर्षदेखि करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय वाइन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ । कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको पनि लगानी रहेको छ । साथै कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारीसमेत गरिरहेको जनाएको छ ।

गृहमा सुधन र विज्ञान प्रविधि मन्त्रीमा महावीर नियुक्त, सपथका लागि शितल निवास पुगे

काठमाडौं । सरकारले सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेको छ। नवनियुक्त मन्त्रीद्वय राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी तथा पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिएको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रविधि अभियन्ताका रूपमा परिचित पुनको मन्त्रिपरिषदमा प्रवेशलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको विकाससँग जोडेर हेरिएको छ । त्यस्तै, गुरुङले गृह प्रशासन, शान्ति–सुरक्षा तथा सुशासनका क्षेत्रमा नेतृत्व गर्नेछन् । उनी दाेस्राे पटक गृहमन्त्री बन्न लागेका हुन् ।

एमालेको सुझाव संकलन तालिका सार्वजनिक, सातै प्रदेशमा भेला हुने

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन तथा समीक्षा कार्यदलको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ । बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण र पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न विभिन्न प्रदेश, जनसंगठन तथा निकायका पदाधिकारीहरूसँग छलफल गर्ने निर्णय गरेको छ । कार्यदलले सुझाव संकलनका लागि विस्तृत भेला तालिकासमेत सार्वजनिक गरेको छ । निर्णयअनुसार जेठ ३० गते बागमती प्रदेश, असार २ गते कोशी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश र असार १३ गते मधेश प्रदेशका पदाधिकारीहरूसँग सुझाव संकलन गरिनेछ । यस्तै, असार १६ गते राजधानी विशेष समन्वय, असार १७ गते सम्पर्क समन्वय समिति, असार १८ गते जनसंगठन तथा असार १९ गते विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यतालिका तय गरिएको छ । कार्यदलले प्रदेशस्तरीय भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारीहरूको सहभागिता रहने जनाएको छ । कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका इन्चार्जहरूले गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी पार्टी महासचिवलाई प्रदान गर्ने निर्णय गरेको छ । साथै आयोजना हुने सबै भेलाहरूमा कार्यदलका संयोजक, महासचिव तथा सदस्यहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ। पार्टी पुनर्गठन र संगठनात्मक सुधारका लागि सुझाव संकलन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदलले प्रदेशदेखि केन्द्रीय तहसम्मका नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेको एमालेले जनाएको छ । 

मन्त्रिपरिषद् बैठकमै कृषिमन्त्री चौधरीले बाँडिन् डीडीसीका उत्पादनहरू

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू वितरण गरेकी छन् ।  स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्ने र सरकारी निकायबाटै यसको उपभोग बढाउने उद्देश्यका साथ मन्त्री चौधरीले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका दुग्धजन्य उत्पादनहरूको प्याकेज वितरण गरेकी हुन् । मन्त्रिपरिषद्को आजको बैठकमा डीडीसीका उत्पादनहरूको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा गहन छलफल समेत भएको छ । बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, नेपाली दुग्ध किसानहरूको हित रक्षा तथा डीडीसीलाई थप प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्ने एजेन्डालाई मुख्य रूपमा उठाएकी थिइन् । लामो समयदेखि नेपाली उपभोक्तामाझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई प्रधानमन्त्री वालेन्द्र शाहले पनि समर्थन जनाएका छन् । यसभन्दा अगाडि प्रधानमन्त्री शाहलेडीडीसीका उत्पादनको प्रवर्द्धन र प्रचार गर्न सामाजिक सञ्जालमा पोस्ट राखेका थिए ।

प्रभु बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालका विभिन्न सेवा सुविधामा छुट पाउने भएका छन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट/क्रेडिट कार्डबाहकहरूले १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । भर्ना भएका बिरामीका हकमा औषधि र उपभोग्य सामग्रीबाहेकका सेवामा छुट लाग्नेछ भने ओपीडीमार्फत उपचार गराउने बिरामीहरूले औषधि र परामर्श शुल्कबाहेक अन्य सेवामा सोही दरको छुट पाउने व्यवस्था गरिएको छ । उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंक लिमिटेडका चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु विष्टले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । यो सम्झौता २८ मे २०२६ देखि लागू भई मे २०२८ सम्म कायम रहनेछ । प्रभु बैंकले देशभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा विस्तार गर्दै आएको जनाएको छ।

१४ वटा मुद्दा लागेका राजु मिजार पक्राउ, ३ करोड तिर्नुपर्ने फैसलापछि थिए फरार

काठमाडौं । बैंकिङ कसुर तथा चेक अनादरका १४ मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दामा फरार रहेका राजु मिजारलाई पक्राउ गरेको प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए । सीआईबीका सह-प्रवक्ता समेत रहेका खड्काका अनुसार देबी चन्द्र जोशी समेतको जाहेरीले वादी नेपाल सरकार रहेको बैंकिङ कसुर मुद्दामा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ (साबिक विष्णु गा.वि.स.-८) का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला अनुसार उनीमाथि बैंकिङ कसूरका १२ वटा र चेक अनादरका २ वटा गरी कुल १४ वटा मुद्दा कायम छन् । फैसलाअनुसार उनीमाथि जम्मा बिगो बापत २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ, जरिवाना बापत ४३ लाख २३ हजार ५३४ रुपैयाँ र क्षतिपूर्ति बापत १ लाख ७२ हजार ९४१ रुपैयाँ गरी कुल ३ करोड ३ लाख ५८ हजार रुपैयाँ जरिवाना तोकिएको छ । साथै उनलाई ९० दिन कैद सजाय समेत तोकिएको छ ।  प्रहरीले जेठ २५ गते काठमाडौं महानगरपालिका-४, धुम्बाराहीबाट उनलाई पक्राउ गरेको खड्काले बताए । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उनको भनाइ छ ।