विकासन्युज

प्रदर्शनकारीद्वारा मेक्सिको विश्व कप स्टेडियम जाने बाटो अवरुद्ध

काठमाडौं । प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरी मेक्सिको सिटीको एजटेका स्टेडियममा पुग्ने बाटो  अवरुद्ध गरेको जनाइएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाको सह–आयोजनामा हुन लागेको उद्घाटन खेल प्रतियोगितामा फुटबल प्रेमीहरुको आवागमन बढ्दा मेक्सिको राजधानीमा  विरोध भई रहेको  जनाइएको छ । मङ्गलबारको विरोध प्रदर्शनमा हजारौंले भाग लिएका थिए, एक हप्ताको प्रदर्शन पछि सिएनटिइ शिक्षक सङ्घबाट अलग भएको समूहले प्रदर्शनको नेतृत्व लिएको जनाइएको छ ।   प्रदर्शनकारीहरूलाई बिहीबार विश्वकपको उद्घाटन खेल आयोजना गरिएको एजटेका स्टेडियममा पुग्नबाट प्रहरीले रोकेको जनाइएको  छ । हजारौँ प्रहरी अधिकारीहरू तैनाथ गरी स्टेडियम वरवरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाए पछि तीन घण्टाको सडक प्रदर्शन तोडी प्रदर्शनकारीहरू तितर बितर भएको जनाइएको छ ।   मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण भएको बताउनुभएको छ । आन्दोलनरथ सिएनटिई शिक्षक युनियनले तलब वृद्धि र पेन्सन कानुन फिर्ता लिन माग गर्दै गत हप्ता देखि प्रदर्शन गरिरहेको जनाइएको छ । आन्दोलनरथ शिक्षकहरूले मेक्सिको सिटीको जोकालो स्क्वायरमा विश्वकप फ्यान जोन नजिकै शिविर पनि स्थापना गरेका छन् । शिक्षकहरूले बिहीबार पनि प्रदर्शनको आह्वान गरेका छन् जसमा  बेपत्ता व्यक्तिहरूका परिवारहरू पनि समावेश हुने जनाइएको छ ।  मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध खेल्ने खेल र उद्घाटन समारोहका लागि विश्वव्यापी तयारी पुरा भएको जनाइएको छ ।     

मेटलाइफ नेपालको शंखरापुर नगरपालिमा ५०० बिरुवा रोपण अभियान सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालले शंखरापुर नगरपालिका अन्तर्गत पर्ने पताप गाउँमा वृहत् वृक्षारोपण स्वयंसेवी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । जुन ६, २०२६ मा सम्पन्न उक्त कार्यक्रम मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा तथा आर्बर डे फाउन्डेसन र फिल्ड इन्स्टिच्युट फर इकोकल्चरल रिस्टोरेशन (इको कल्चर) को सहकार्यमा सञ्चालन गरिएको हो । काठमाडौंबाट करिब ४५ मिनेटको दूरीमा रहेको पताप गाउँमा आयोजित कार्यक्रममा मेटलाइफ नेपालको करिब ५० जना सहकर्मीहरूले एफ ०२६ राजमार्ग तथा शंखरापुर सडक करिडोर आसपास ५०० वटा फलफूल, बदाम तथा स्थानीय प्रजातिका बिरुवाहरू रोपेका थिए । यस पहलले एकल बाली प्रणाली (मोनोकल्चर खेती) बाट दिगो कृषि–वन प्रणाली (एग्रोफरेस्ट्री) तर्फ रूपान्तरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । वातावरणीय संरक्षणसँगै स्थानीय समुदायका लागि दीर्घकालीन आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले टिमुर, ओखर तथा आरुका बिरुवाहरू छनोट गरी रोपिएको हो । हिमाली फेदीमा अवस्थित शंखरापुर नगरपालिका अन्तर्गतको पताप गाउँ माटो कटान, बाढी तथा पहिरोजस्ता वातावरणीय जोखिमप्रति संवेदनशील क्षेत्र मानिन्छ । जैविक विविधता संरक्षण, जमिनको स्थायित्व अभिवृद्धि तथा पुनःवनरोपण र कृषि अभ्यासको संयोजनमार्फत समुदायको उत्थानशीलता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । रोपिएका बिरुवाहरूको दीर्घकालीन संरक्षण तथा अनुगमन सुनिश्चित गर्न इकोकल्चर संस्थाले स्थानीय समुदायसँग निरन्तर सहकार्य गर्ने जनाएको छ ।  

सुरु नभई सर्यो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ । बुधबार (आज) बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक सुरु नभईकनै सरेको हो । संसद सचिवालयका अनुसार बैठक २ बजेसम्मका लागि सारिएको हो । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्ता र विपक्षी दलबीच उच्चस्तरीय संवाद जारी छ । गतिरोध समाधानका लागि सत्तारूढ पक्षका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल अघि बढाएका हुन् । छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सांसद खुश्बु ओली सहभागी रहेका छन् । गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर विवाद चर्किएको हो । उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।

सम्पत्ति विवरण बुझाउन असार मसान्तसम्म म्याद थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ ।  आयोगका प्रवक्ता गणेश केसीले सम्पत्तिको विवरण बुझाउनेहरू विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको जानकारी दिए । ‘सम्पत्ति विवरण बुझाउन समय थप्न माग गरेकाले समय थपिएको हो,’ उनले विकासन्युजसँग भने । आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो । त्यतिबेलाको सूचनाअनुसार जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने थियो । आयोगका अनुसार हालसम्म करिब ३ हजार ५०० जनाले सम्पत्ति विवरण बुझाएका  छन् ।  केसीका अनुसार आजै सम्पत्ति विवरण बुझाउनेहरूको चाप र सहजतालाई मध्यनजर गरी अन्तिम पटकलाई म्याद थप गरी मौका दिइएको हो । 

संसदको गतिरोध अन्त्यका लागि सत्ता र विपक्षी दलबीच उच्चस्तरीय छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्ता र विपक्षी दलबीच उच्चस्तरीय संवाद सुरु भएको छ ।  गतिरोध समाधानका लागि सत्तारूढ पक्षका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल अघि बढाएका हुन् । छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओली सहभागी रहेका छन् । बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित गरी नेताहरू छलफलमा जुटेका हुन् । संसदमा देखिएको अवरोध समाधान गर्ने प्रयासस्वरूप यो संवादलाई महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर विवाद चर्किएको हो । उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।

सिद्धबाबा गार्मेन्टमा आगलागी हुँदा ८ करोड रुपैयाँ बराबरको क्षति

काठमाडौं । सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज ९गार्मेन्ट० मा आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बुधबार बिहान २ बजेर ५२ मिनेटमा विद्युत सर्ट भई आगलागी भएको हो । ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ५स् ४५ बजे पूर्ण रूपमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ । अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ ।  लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको प्रहरीले उल्लेख गरेको छ ।

विश्वकपअघि भिसा विवाद

काठमाडौं । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त राज्य अमेरिकाले केही विदेशी अधिकारीलाई भिसा नदिएको विषय विवादको केन्द्रमा पुगेको छ । ह्वाइट हाउसको विश्वकप टास्क फोर्सले भने सुरक्षा कारण देखाउँदै सोमाली रेफ्री र इरानी टोलीका केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति नदिने निर्णय उचित भएको स्पष्ट पारेको छ ।      विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु गियुलियानीले मङ्गलबार वासिङ्टनमा आयोजित एटलान्टिक काउन्सिलको कार्यक्रममा अहिलेसम्म ३५ वटा राष्ट्रिय टोली सफलतापूर्वक अमेरिका प्रवेश गरिसकेको जानकारी दिए । उनले कुनै पनि खेलाडी वा प्रशिक्षकलाई प्रवेशबाट रोकिएको नभएको उल्लेख गर्दै केही अधिकारीलाई मात्र विशेष सुरक्षा कारणका आधारमा भिसा अस्वीकार गरिएको बताए । गियुलियानीका अनुसार विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरलाई दुरुपयोग गरेर अमेरिका प्रवेश गर्ने सम्भावित जोखिम रोक्न प्रशासनले कडा सतर्कता अपनाएको छ । उनले सुरक्षा र खेलकुदबीच आवश्यक सन्तुलन कायम गरिएको बताए ।      अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले एएफपीसँगको कुराकानीमा सोमाली रेफ्री ओमार आर्टानलाई भिसा नदिइएको पुष्टि गर्दै उनीमाथि आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको आशङ्का रहेको दाबी गरे । यही कारणले उनी अमेरिकी अध्यागमन नियमअनुसार प्रवेशका लागि अयोग्य ठहरिनुभएको अधिकारीको भनाइ थियो ।      सन् २०२५ मा अफ्रिकी फुटबल महासङ्घले वर्षको उत्कृष्ट पुरुष रेफ्री घोषणा गरेका आर्टान विश्वकपमा रेफ्री गर्ने पहिलो सोमाली बन्ने अपेक्षा गरिएको थियो । तर उनलाई अमेरिका पुगेपछि मियामी विमानस्थलबाटै फर्काइएको थियो ।      सोमालिया हाल राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध सूचीमा समावेश देशमध्ये एक हो । ट्रम्प प्रशासनले यो नीतिलाई व्यापक आप्रवासन नियन्त्रण अभियानको हिस्सा बताउँदै आएको छ ।      यसैबीच, संयुक्त राज्य अमेरिकासँग जारी तनाव र सैन्य द्वन्द्वका कारण इरानले आफ्नो विश्वकप तयारीको आधार शिविर अमेरिका नभई मेक्सिकोमा सार्नुपरेको छ । इरानी फुटबल महासङ्घले समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा रद्द गरिएको तथा टोलीका केही सहयोगी कर्मचारीले भिसा नपाएको जनाएको छ ।      गियुलियानीले भने सबै इरानी प्रशिक्षक र कोचिङ स्टाफलाई प्रवेश अनुमति दिइएको बताए । यद्यपि केही इरानी अधिकारीलाई सुरक्षा मूल्याङ्कनका आधारमा अनुमति नदिइएको उनले बताए । उनले ती व्यक्तिबारे विस्तृत जानकारी दिन अस्वीकार गर्दै आफूलाई प्रशिक्षक बताउने केही व्यक्तिको वास्तविक भूमिका फरक हुन सक्ने आशङ्का रहेको सङ्केत गरे ।      उनका अनुसार राष्ट्रपति ट्रम्पले प्रतियोगितामा सहभागी सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न चाहन्छन् । साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) सँग प्रत्यक्ष सम्बन्ध रहेका व्यक्तिले विश्वकपको अवसर प्रयोग गरेर अमेरिका प्रवेश गर्न नसकून् भन्ने विषयमा पनि प्रशासन सचेत रहेको उनको भनाइ थियो ।      विश्वकप सुरक्षाबारे बोल्दै गियुलियानीले हालसम्म प्रतियोगितालाई लक्षित कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको बताए । तथापि अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको सक्रियता उल्लेखनीय रूपमा बढाइएको र प्रतियोगिताको अन्तिम खेल जुलाई १९ सम्म सुरक्षा अवस्थामाथि निरन्तर निगरानी जारी रहने उनले जानकारी दिए । रासस   

वृद्ध किसानका दुःख सातामा सातैदिन बाँदरको चौकीदारी

बलेवा । बागलुङको जैमिनी नगरपालिका– १, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ ।       सिरुबारीको गैराबारी खेतमा उनको करिब सातमुरी मकै फल्ने जमिन छ । उक्त जमिनमा लगाएको मकै जोगाउन उनी बाँदरको चौकीदारी गर्छन् । बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेको छ ।  बाँदरको आतंकले खेतबारीमा लगाएको मकै जोगाउन उनी चार वर्षदेखि नियमित रूपमा बाँदरको चौकीदारी गर्दै आएका छन् । उनी हरेक बिहान ५ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सडक छेउको छाप्रोमा कुकुर र गुलेलीसहित चौकीदारी गर्छन् ।       'बाँदर आयो भने मलाइँ  टेर्दैन्, कुकुर देखे केही पर जान्छन् गुलेलीसँग डराउँछन', लक्ष्मीदत्तले भने, 'बथानमा आयो भने त कुकुरलाई पनि टेर्दैनन् ।'      सिरुबारी र आसपासका क्षेत्रमा बाँदरआतङ्क अहिले किसानका लागि सबैभन्दा ठूलो समस्या बनेको छ । कतिपयले खेती गर्नै छोडेका छन् ।       जैमिनी नगरपालिकाका सबै वडामा बाँदर आतङ्कले हैरान बनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बाँदरआतङ्ककै कारण जैमिनीका केही बस्ती नै बसाइँसराइ गएको बताउँछन् । रासस