काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरेको असर अटो बजारमा देखिन थालेको छ । गत माघ पहिलो साता राष्ट्र बैंकले सवारी साधनको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्र बैंकले सवारी साधानमा ५० प्रतिशत र केही पास्र्टमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । सो नीतिगत व्यवस्थाको असर आयातमा देखिएको मूल्य बढ्न थालेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुवबहादुर थापा बताउँछन् ।
सवारी साधनको आयातमा कडाई गर्दा त्यसको असर सवारी साधनदेखि बजारका अधिकांश क्षेत्रमा देखिन थालेको अध्यक्ष थापाको भनाई छ ।
आयातमा कडाईको असर विस्तारै बजारमा देखिन थालेको भन्दै उनले अनुमान गरेभन्दा बढी सवारीको मूल्य बढ्ने दाबी गरे ।
‘भर्खरै कडाई भएको हो, त्यसको असर त्यति देखिसकेकोे छैन, अब विस्तारै असर देखिन्छ, आयातमा असर पर्नसाथ मूल्यमा स्वत असर देखिन्छ,’ उनले भने ।
उनले बिनाब्याज ठूलो रकम लामो समयसम्म बैंकमा होल्ड गर्दा सवारी क्षेत्रमा मात्र नभएर त्यसको असर अन्य क्षेत्रमा समेत देखिने बताए ।
‘हामीले ठूलो रकम बैंकमा राख्नुपर्ने हुन्छ, लामो समयसम्म रकम बैंकमा होल्ड हुँदा बजार चलायमान हुन सक्दैन, चलायमान नहुँदा त्यसको असर सवारीको आयातमा मात्र नभएर अन्य क्षेत्रमा पनि देखिन्छ’, उनले भने ।

सवारीको मूल्य बढ्दाको असर सार्वजनिक सवारी साधनको मूल्य बढ्नदेखि अधिकांश बस्तुको मूल्य बढ्ने उनले बताए ।
‘हामी व्यवसायीले घाटा खाएर वस्तु बिक्री गर्ने कुरा भएन, आयातमा कडाईको असर त आम उपभोक्तालाई नै पर्ने हो’, उनले भने ।
सवारी साधनलाई अनुत्पादक क्षेत्रमा राखेर सरकारले गरिरहेको व्यवहार आफूहरुलाई मान्य नहुने भन्दै उनले समग्र उत्पादनमुलक क्षेत्रसँग जोडिएको यातायात क्षेत्रलाई सहयोग गर्न जरुरी रहेको अध्यक्ष थापाको भनाई ।
‘कुनैै पनि उद्योगधन्दादेखि गाउँगाउँमा उत्पादन भएका सामग्री बजारसम्म ल्याउन अटोमोबाइल्स क्षेत्रको प्रयोग हुन्छ, अहिले हरेक स्थानमा यातायातको आवश्यकता छ तर, सरकारले धेरै आवश्यक भएकै वस्तुलाई कसरी अनुत्पादक क्षेत्रमा राख्यो’, उनले प्रश्न गर्दै भने ।
अन्य देशमा अटोमोबाइल्स क्षेत्रलाई उत्पादक क्षेत्रमा राखिएको भन्दै नेपालमा मात्र अनुत्पादक क्षेत्रमा राखिएको उनको भनाई छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाले गाडीदेखि पर्टसहरुको समेत मूल्य बढ्ने व्यवसायीको भनाई छ । अहिले नै मूल्य बढिनसकेकोे भन्दै अब छिट्टै मूल्य बढ्ने अध्यक्ष थापाले बताए ।
सवारी साधन आयातमा राष्ट्र बैंकले कडाई गरेपछि नाडाका प्रतिनिधिले गर्भनर महाप्रसाद अधिकारीलाई भेट गरिसकेका छन् । उक्त भेटमा अध्यक्ष थापाले बैंकले आयातमा कडाई गरेपछि बैंकमा होल्ड हुने रकमको व्याज दिनुपर्ने माग राखेका थिए ।
अहिले आर्थिक अवस्थामा देखिएको नकारात्मक असरमा नाडाले समर्थन गर्ने भन्दै होल्ड हुने रकममा व्याज दिनुपर्ने माग राखेको अध्यक्ष थापाले जानकारी दिए ।
‘बैंक तथा वित्तीय संस्था पनि सामाजिक संस्था हैनन्, हामीले राखेको पैसाबाट बैंकले फाइदा लिन पाउने तर, हामीलाई समस्या हुने भयो, बैंकले राखेको पैसाको व्याज मात्र दियो भने पनि मूल्य बृद्धिको अवस्था आउदैन,’ अध्यक्ष थापाले भने ।
लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठ नेपाल राष्ट्र बैंकले सवारी आयात गर्दा ५० प्रतिशत रकम मार्जिन राखेर एलसी खोल्नुपर्ने व्यवस्थाले समग्र अटो व्यवसायमा नै असर गरेको बताउँछन् ।
उनले सवारी आयातका लागि एक पटक बैंकमा पैसा राख्दा नै ४ महिनासम्म होल्ड हुने भन्दै तरलता अभावले समस्या पारेको नेपालको अर्थतन्त्रमा राष्ट्र बैंकको कडाईले झन समस्या थपेको बताए ।

‘एक पटक बैंकमा राखेको पैसा ४ महिना नहुँदासम्म निकाल्न मिल्दैन, अहिले तरलता अभावका कारण धेरै समस्या भएकोे छ, यही समयमा राष्ट्र बैंकको कडाईले हामी व्यवसायीलाई झन समस्या थप्यो, राष्ट्र बैंकको कडाईको असर व्यवसायीसँगै उपभोक्तालाई पर्र्याे, कम्पनी अनुसार सवारीको मूल्य बढ्न थालिसक्यो,’कार्यकारी निर्देशक श्रेष्ठले भने ।
उनका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सवारी आयात राम्रो भए तापनि राष्ट्र बैंकको कडाईपछि आयातमा ठूलो संख्यामा कमी आएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत अटो लोनमा कडाई गर्ने नीतिले झन समस्या थपिने श्रेष्ठको विश्लेषण छ ।
‘एकातिर आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने भनिएको छ, यही बेला बैंकहरुलाई अटोलोनमा १५० प्रतिशत जोखिम भार राख्नुपर्छ भनिएको छ, यस्ता व्यवस्थाले अटो व्यवसायलाई धेरै नकारात्मक असर परेको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने ।
जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक अग्रवाल अन्तर्राष्ट्रिय बजारमा सवारी साधनको मूल्य बढेको समयमा राष्ट्र बैंकको कडाईका कारण नेपाली बजारमा मूल्यमा ठूलो असर पर्ने देखिएको बताउँछन् ।

उनका अनुसार पछिल्लो ६ महिनाको अबधिमा नेपालमा २ पटक सवारी साधन (दुई पांग्रे) को मूल्य बढेको छ । उनले तेस्रो मुलुकबाट सवारी साधनको आयात गरेर नेपालमा बिक्री वितरण गर्नेभन्दा नेपालमा नै उत्पादन गर्ने उद्योग समस्यामा परेको बताए ।
‘अन्य कम्पनीहरुले सिधै तयारी साधन ल्याएर बिक्री वितरण गर्नुहुन्छ, हामीले आवश्यक कच्चा पदार्थको आयात गरी नेपालमा नै सवारी साधन एसेम्बलिङ गछौँ, अरुको तुलनामा हाम्रो साधनको स्टक धेरै बस्दा ठूलो रकम बैंकमा होल्ड हुन्छ,’ उनले भने ।
सम्बन्धित सामग्री
डगमगाए अर्थतन्त्रका पिल्लरहरु
संकटकै बेलामा सिमेन्ट उद्योगमाथि अख्तियारको प्रहार
बजेटको असरः ४ स्टील उद्योग बन्द, बैंकले पत्याउनै छोडे