चीन-अमेरिका व्यापार वार्ता वासिङ्टनमा, गतिरोधबीच भएको वार्ताले के देला निश्कर्ष ?
वासिङ्टन । चीन र संयुक्तराज्य अमेरिकाबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टन डिसीमा शुरु भएको छ । अमेरिकाले चिनियाँ विशाल टेलिकम कम्पनी हुवावे विरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता शुरु भएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिका उच्च प्रविधि उद्योगको भविष्यलाई लिएर सङ्घर्षरत रहेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले बताए । उनी वार्तामा अमेरिकी प्रमुख मध्यस्थकर्ता हुन् । तीन वर्षअघि बेइजिङले महत्वाकाँक्षी “मेड इन चाइना २०२५” कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य नै चीनलाई अन्तरिक्ष, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नयाँ पुस्ताको कार तथा अरु क्षेत्रमा अग्रणी स्थानमा पुर्याउने थियो । अमेरिकी अधिकारीहरुका अनुसार यी क्षेत्रहरुमा अमेरिकी प्रविधि र खोजको मुख्य हिस्सा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक आफू स्वस्थ चिनीया अर्थतन्त्रको पक्षमा रहेको बताउँदै आउनुभएको छ, तर त्यो अमेरिकी व्यवसाय र प्रविधिको बदलामा होइन । खासगरी, अमेरिकी अधिकारीहरुले चिनियाँ व्यापारिक अभ्यासमाथि आक्रमण गरिरहेका छन् । उनीहरुको भनार्इमा चीनको व्यापार अभ्यास अस्वच्छ रहेको छ । चीनले जबर्जस्ती अमेरिकी प्रविधि हस्तान्तरण गरेको र बौद्धिक चोरी गरेको अमेरिकी अधिकारीहरुको भनाइ छ । चीनले अमेरिकी कम्पनीलाई चीनमा व्यवसाय गर्न चिनीया कम्पनीसँग साझेदारी गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने गरेको छ । बेइजिङमाथि दबाब सिर्जना गर्न ह्वाइट हाउसले २५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको वार्तामा सहमति नभए आगामी मार्च २ तारिखदेखि २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् । बेइजिङले पनि करिब ११० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औद्योगिक राष्ट्रहरुको समूह जी–२० को ब्युनस आयर्समा भएको बैठकका क्रममा तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । उक्त सहमति बमोजिम तीन महिनाभित्र वार्ता गरी दुई देशबीचका असमझदारी हल गर्ने र नयाँ व्यापार सम्झौता गर्ने उद्देश्यले दुबै देशका उच्च अधिकारीहरुबीच वार्ता जारी छन् । यसअघि चीनको बेइजिङमा पहिलो चरणको प्रारम्भिक वार्ता भइसकेको छ । उक्त वार्ताका विवरणहरु भने सार्वजनिक गरिएको छैन । रासस/एएफपी
हड्तालमा सहभागी ५ हजार श्रमिकले गुमाए रोजगारी
ढाका, बङ्गलादेश । बङ्गलादेशमा विश्व प्रसिद्ध ट्रेडमार्कका लागि कपडा सिलाउने तर निम्न ज्यालामा काम गर्दै आएका श्रमिकले हडतालमा सामेल भएको आरोपमा करिब पाँच हजार जनाको रोजगारी गुमेको छ । जनवरीमा उचित ज्यालादर कायम गर्न माग गर्दै आन्दोलनमा सहभागी भएका कारण उनीहरूको रोजगारी गुमेको हो । केही दिनदेखि जारी हडतालमा देशभरबाट हजारौँको सङ्ख्यामा सहभागी भएपछि करिब ३० अर्ब अमेरिकी डलर लगानीमा सञ्चालनमा रहेको कपडा उद्योगमा काम अवरूद्ध भएको थियो । बङ्गलादेशको असुलियामा कपडा सिलाईसम्बन्धी कम्पनीहरू एच एण्ड एम, वालमर्टलगायतका कम्पनीविरुद्ध भएका प्रदर्शनका क्रममा भएका झडपमा एक जनाको मृत्यु भएको छ भने ५० जनाको मृत्यु भएको छ । प्रदर्शन चर्किँदै गर्दा भएका झडपका क्रममा हजारौँ कामदारले उद्योग तथा तीसँग सम्वद्ध संस्थाबाट सामानहरू लुटेको र तोडफोड गरेको आरोपसँगै उनीहरूलाई उद्योगले हटाएका समाचार बाहिर आएका हुन् । तर श्रमिकहरूको संगठन ट्रेड यूनियनले उद्योगले कामदारलाई अनावश्यक धम्की तथा कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको बताएका छन् । “अहिलेसम्म कपडा उद्योगले चार हजार ८९९ कामदारलाई आन्दोलन गरेको आरोपमा जागिरबाट निकालेको, एक प्रहरीले नाम गोप्य राख्ने शर्तमा एएफपीलाई बताए ।” बङ्गलादेशको एउटै गार्मेन्टमा काम गर्दै आएका र महिनावारी ९५ अमेरिकी डलर आम्दानी रहेका एक हजार २०० भन्दा बढी कामदारलाई हटाइएको यूनियनको दावी छ । ट्रेड यूनियनले कामबाट हटाइएका कामदारको सङ्ख्या करिब सात हजार पुगेको र करिब १०० जनालाई पक्राउ गरिएको बताएका छन् । तर इन्डस्ट्री अल बङ्गलादेश काउन्सिलका महासचिव सलाउद्दिन सापोनले भने यूनियनको आह्वानमा आन्दोलनमा सहभागी भएका कामदार डरले आफै काममा नफर्किएको बताए । करिब तीन हजार कामदार, जसले उद्योगविरोधी गतिविधिमा सहभागी बने, विरुद्ध विभिन्न मुद्दा दर्ता भएका र धेरैले उद्योगमा नफर्किने निर्णय गरेका छन्, उनले एएफपीसँगको कुराकानीमा बताए । मुलुकभर प्रहरी नियन्त्रणमा लिइएका भनिएका कामदारबारे प्रहरीले कुनै प्रतिक्रिया दिन मानेन । बङ्गलादेशमा करिब चार हजार ५०० कपडा सिलाउने फ्याक्ट्री रहेका छन् जहाँ करिक ४१ लाख कामदारले रोजगारी पाइरहेका छन् । बङ्गलादेश विश्वभर तयारी कपडा निर्यातका लागि चीनपछि पहिलो स्थानमा आउँछ । बङ्गलादेशले सामानको नियातबाट गर्ने आम्दानीमा करिब ८० प्रतिशत हिस्सा समुद्रपारको कपडा व्यापारबाट नै हुने गर्छ । रासस/एएफपी
टोयटाले ‘एअरव्याग डिफेक्ट’ भएका करिब पाँच हजार कार फिर्ता लिने
बेइजिङ, चीन । जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने बताएको छ । टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् । “टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४ को जनवरी १५ देखि सहकार्य गरेको र सोही बर्ष जनवरी ६ देखि सन् २०१७ फेब्रुवरी १३ सम्म कम्पनीले बनाएका लेक्सस जीएक्स ४०० का चार हजार ६८१ गाडीहरूलाई फिर्ता लिनेछ,” टोयटाको चीनस्थित बजार नियमनकारी निकायद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अगाडिको यात्रुको सुरक्षाका लागि बनाइएको एअरव्यागमा नै समस्याभएपछि असुरक्षा भएको भन्ने उपभोक्ताबाटा व्यापक चासो आएपछि कम्पनीले उक्त निर्णय लिएको हो । टाकता एअलव्यागमा समस्या भएका कारण उक्त गाडी प्रयोगका क्रममा विश्वभर मृत्यु र गम्भीर चोटका घटना बढेको भन्ने प्रतिक्रियापछि विश्वभरबाट ठूलो सङ्ख्यामा लेक्सस आइएस २५०सी नामक कारलाई फिर्ता गर्न लागिएको हो । कम्पनीले एअरव्यागमा समस्या भएको पाएमा विना शुल्क यसलाई फेरिदिने बताएको छ । रासस/सिन्ह्वा