ट्रम्प प्रशासनको ‘ग्रीन कार्ड’ लिने नियममाथि कडाई, अबदेखि अन्तर्वार्ता दिनुपर्ने

वासिंटन । अमेरिकाको स्थायी भिसा (ग्रीन कार्ड) लिन चाहनेका लागि जटिलता बढेको छ । अब अमेरिकी आप्रवासनका अधिकारीले ग्रीन कार्ड आवेदकलाई अन्तर्वार्ता लिने भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यका अनुसार यसले भीसा आवेदन प्रकियामा ढिलाई हुने देखिएको छ । यो नयाँ नीति आगामी अक्टोबर १ तारिखदेखि लागु हुने पोलिटिकोमा उल्लेख छ । शुक्रबार अमेरिकी नागरिकता तथा आप्रवास सेवा (युएससिआइएस)का प्रवक्ता कार्टर ल्याङ्सटनले रोजगार आधारित भिसा लिएको व्यक्तिले स्थायी भिसा आवेदन दिन अन्तर्वार्ता दिनुपर्ने नियम लागु गर्ने पृष्टि गरेका हुन् । शरणार्थिको पारिवारका सदस्यले पनि प्रभिजनल स्टेटसका लागि आवेदन दिदाँ अन्तर्वार्ता दिनुपर्ने हुन्छ । त्यसपछि मात्र ग्रीन कार्ड प्राप्त हुन्छ । यो अनिवार्यरुपमा अन्तर्वार्ता राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अन्तर्गतको हिस्सा हो । यो अन्तर्वार्तालाई ट्रम्पले अमेरिका आउने अप्रवासी तथा आगन्तुक माथि ‘कडा निगरानी’ गर्न ल्याइएका नीतिमध्ये एउटा पाटोको रुपमा लिइएको छ । भविष्यमा भिसाका लागि दायरा अझ बढ्दै जाने ल्याङ्सटनले बताए । उनले भने, ‘यो नीति अमेरिकाको सुरक्षा जोखिम र दंगाबाट बचाउनका लागि अपनाइने वृहत रणनीति अन्तर्गतको पाटो हो ।’ डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार आर्थिक वर्ष २०१५ मा करिब एक लाख ६८ हजार प्रवासीले ग्रीन कार्ड प्राप्त गरेका थिए । जसमध्ये अधिकतम करिब १ लाख २२ हजारले रोजगार भिसाबाट स्थायी नागरिकता पाएका थिए । ट्रम्पले सत्तामा आएपछि एचवानबी भिसामा पनि कडाई गरेका थिए । यसले प्रवासीहरुमा निकै प्रभाव पारेको थियो । एचवानबी भिसा दक्ष मानिसका लागि जारी गरिन्छ । युएससिआइएसका अनुसार यसमा वैज्ञानिक, इञ्जिनियर तथा कंप्यूटर प्रोग्रामर छन्। प्रत्येक वर्ष करिब ६५ हजार मानिस लट्री सिस्टमबाट भिसा प्राप्त गरिरहेका छन् ।

सामसुङका उपाध्यक्षलाई भ्रष्ट्रचारको आरोपमा पाँच वर्षको जेल सजाय

विश्वकै ठुलो स्मार्टफोन तथा अन्य विद्युतिय उपकरण निर्माता कम्पनी सामसुङका उत्तराधिकारी ली जेइ योङलाई भ्रष्टचारको आरोपमा पाँच वर्षको जेल सजाय दिइएको छ । सोही भ्रष्टाचार काण्डमा मुछिएका दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हेईले पनि पद गुमाउनुपरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । सामसुङका उपाध्यक्ष लीमाथी राष्ट्रपतिका एक गोप्य सहयोगीलाई सरकारको नीति कम्पनी अनुकुल बनाउनका लागि चार करोड अमेरिकी डलरको घुस दिएको आरोप छ । यसै आरोपमा उनलाई फेब्रुअरी १७ मा प्रहरीले गिरफ्तार गरी जेल चलान गरेको थियो । पक्राउ परेको दोस्रो दिनमा नै उनलाई हत्कडी बाधेर पुछताछ गरिएको थियो । अदालतले सामसुङका अन्य चार ठुला पदाधीकारीलाई पनि चार वर्षसम्मको जेल सजाय तोकेको छ । लीलाई सुनाइएको सजायले सामसुङले नेतृत्वमा असर पार्नसक्ने अनुमान गरिएको छ ।   #BREAKING Samsung heir Lee Jae-Yong convicted of bribery, embezzlement, capital flight, perjury: Yonhap — AFP news agency (@AFP) August 25, 2017 #BREAKING Samsung heir Lee Jae-Yong jailed for five years: Yonhap — AFP news agency (@AFP) August 25, 2017 को हुन् ली जेइ योङ ? ली जेइ योङ दक्षिण कोरियाको चर्चित एवं विशाल कम्पनी सामसुङ ग्रुपका उपाध्यक्ष हुन् । ली सामसुङ ग्रुपका प्रमुख ली कुन्हीका छोरा पनि हुन् । करिब आठ अर्ब अमेरिकी डलरका धनी ली दक्षिण कोरियाका तेस्रा धनी व्यक्तिमा गनिन्छन् । सन् २०१४मा फोर्ब्सले उनली विश्वका शक्तिशाली व्यक्तित्वहरुको सूचीमा ३५ औं स्थानमा राखेको थियो ।

भारतले दुई सय रुपैयाँको नोट सेप्टेम्बरदेखि ल्याउँदै

एजेन्सी । भारतले दुई सय रुपैयाँ दरका भारतीय नोट जारी गर्ने भएको छ । बुधबार त्यहाको अर्थ मन्त्रालयले आगामी सेप्टेम्बरदेखि लागू हुनेगरी दुई सय रुपैयाँको नोट जारी गर्ने बताएको छ । भारतिय रिजर्भ बैंक (आरबीआई) ऐन १८३४ को धारा २४ को उपधारा १ ले दिएको अधिकारको उपयोग गर्दै केन्द्रिय सरकारले नोट जारी गर्न लागेको अर्थ मन्त्रालयले भारतको सरकारी अखवार ‘गजेट अफ ईण्डिया’ मार्फत सूचना जारी गरेको छ । पछिल्लो सातादेखि भारतीय बजारमा २ हजार रुपैयाँको भारतीय नोटको अभाव देखिन थालेको थियो । कालोधन लुकाउन साना दरका नोटको तुलनामा ठूला दरका नोट लुकाउन सजिलो पर्ने अनुमान गरिँदै आएको छ । गत अगस्ट १८ तारिखमा भारतीय रिजर्भ बैंकले महात्मा गान्धीको तस्विर रहेको पचास रुपैयाँको नोट ल्याउने बताएको थियो । नयाँ नोटको आधारभुत रंग फ्लोरोसेन्ट ब्लू कलरको हुनेछ । नयाँ नोटको साइज ६६ बाइ १३५ एमएमको हुनेछ । यो नोटको पछाडी भारको कर्नाटका राज्यमा रहेको ढुंगाको रथको चित्र रहनेछ । गत नोभेम्बर ८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले पुराना पाँच सय र हजार दरका नोटलाई प्रतिबन्ध लगाएको थिए ।  भारतमा गत नोभेम्बर महिनामा गरिएको विमुद्रीकरणपछि नयाँ मुद्राको व्यापक अभाव भएको थियो । यस वर्षको जुलाई ७ मा सार्वजनिक गरिएको एक तथ्यांकले भने बजारमा करिब ८४ प्रतिशत नयाँ मुद्रा पुगेको देखाएकोे छ ।आरबीआई जाली नोटलाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको छ । यसका लागि पहिलोपटक भारतीय रिजर्व बैंकले दुई सय रुपैयाँको नोट ल्याउने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।