भटमास खरिद गर्न चीन तयार भएपछि ट्रम्पले भने-व्यापार वार्तामा प्रगति भो

वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो । आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीया सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ । दुबै देशका व्यापार प्रतिनिधिबीच वासिङट्न डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेखेको पत्र निकै स्वागतयोग्य रहेको पनि बताए । चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुबै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा “महत्वपूर्ण प्रगति” भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल वासिङ्टन आएको छ । अर्थशास्त्रीहरुको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्र चिनियाँ प्रमण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीया राष्ट्रपतिले दुबै मुलुकबीचको सम्बन्ध अहिले “गम्भीर मोडमा” आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुबै मुलुकले मिलेर कार्य गरिने उल्लेख छ । जवाफमा राष्ट्रपति ट्रम्पले दुबै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताए । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गर्नेछन् । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीया राष्ट्रपतिलाई भेट्ने बताएका छन् । त्यसपछि दुबै मुलुकबीच व्यापार सम्झौता हुनेछ । “सहमतिका बुँदाहरुलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,” राष्ट्रपति ट्रम्पले बताए । चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ । गत वर्ष, वासिङ्टन र बेइजिङले एकअर्का मुलुकका ३६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए । चिनीया गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापार युद्ध नै शुरु गरेका थिए । व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौं । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।” यसैबीच, चिनियाँ वार्ता टोलीको नेतृत्व गरिरहनुभएका चिनीया उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गरेका छन् । उनले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका थिए । जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुशी हुने बताए । बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ । रासस/एएफपी

जापानमा बुढ्यौली उमेरका व्यक्तिको संख्या बढ्दै, श्रमिक अभाव

टोकियो । जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन् । श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणमा गत डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक १०० जनाका लागि औसतमा १६३ वटा रोजगार उपलब्ध थिए । धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको छ । मुलुकको बेरोजगारी दर पनि गत डिसेम्बरमा निकै न्यून छ । मन्त्रालयका अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलब १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलब ४ प्रतिशत भएको छ । जापानको अर्थतन्त्र गत वर्ष सेप्टेम्बर अघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटकपटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुबैमा असर परेको थियो । तर विश्लेषकहरुले विश्व अर्थतन्त्रमै सुधार आएका कारण गत वर्षको अन्तिममा अर्थतन्त्रमा सुधार भएको बताएका छन् । रासस/एएफपी

इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत, यूरो समूह चिन्तित

मिलान, इटाली । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दोखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९–राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक वृद्धिदरमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो तीन महिना अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म यहाँको कुल ग्राहस्थ उत्पादनको ०.१ प्रतिशतको सङ्कुचन रहेकोमा यसबाट पनि थप ०.२ प्रतिशतको कमी आएको जनाइएको छ । लगातार दुई त्रैमासिकमा देखिएका आर्थिक सङ्कुचनलाई प्राविधिक मन्दी भनिएको छ । इटालीको मन्दीको एउटा कारण त समग्र यूरो क्षेत्रको आर्थिक वृद्धिदरमा देखिएको कमीको कारण हो । यूरोपको तथ्याङ्क मामिला हेर्ने निकाय, यूरोस्टाटले बिहीबार भनेको छ, यूरो क्षेत्रको आर्थिक वृद्धि गत बर्षको अन्तिम त्रैमासमा निकै कम अर्थात् ०.२ प्रतिशत रहेको छ र अघिल्लो तीन महिनामा पनि सोही अवस्थामा रहेको थियो, जसका कारण सन् २०१८ मा यूरो क्षेत्रको समग्र आर्थिक वृद्धिदर १.८ प्रतिशत कायम भएको छ । यो एक बर्ष पहिले प्रक्षेपण गरिए अनुसार निकै कमी हो । सन् २०१७ मा यूरो समूहको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहेको थियो र अघिल्लो बर्षभन्दा सामान्य कमी आउने प्रक्षेपणभन्दा निकै तल नतिजा आएको छ । विगत केही महिनादेखि इटालीको अर्थतन्त्रले यूरोप लगायत विश्वसमुदायको ध्यान खिचेको छ । इटालीमा नयाँ ‘जनपक्षीय’ सरकारले यूरोपेली संघ (इयू) को कार्यकारी आयोगमा उसको जनपक्षीय बजेट योजनालाई लिएर निकै लामो समय विवाद रह्यो । सरकारले यहाँका जनतालाई सामाजिक सुरक्षा खर्च र पेन्सन सुधारको योजना अघिसार्दै इटालीका जनतालाई आर्थिक रूपमा समृद्ध तुल्याउने योजना इयूमा विवादरहित बन्न सकेन । निकै लामो बहसपछि पनि इटालीले जनतालाई तत्काल राहतको अनुभूति हुने खालको बजेट सार्वजनिक ग¥यो जुन इयूका लागि अस्वीकार्य थियो । आर्थिक मन्दीलाई औपचारिक पुष्टि गरिनुपूर्व इटालीका प्रधानमन्त्री जिसेफे कोन्टेले बुधबार सन् २०१९ को शुरूका केही महिना मुलुकले आर्थिक सङ्कुचन सामना गर्नुपर्ने देखिएको बताउँदै भने, “बर्षको दोस्रो छ महिनामा यसबाट मुक्ति पाउने आशाका लागि प्रशस्त आधारहरू रहेका छन् ।” इयू आयोग भने इयू क्षेत्रकै प्रसुप्त कर्जा सङ्कटकाबीच दोहोरिएर आएको इटालीको आर्थिक मन्दीप्रति चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ, “इटालीको सरकारले महत्वाकांक्षी योजनामार्फत ल्याएका कार्यक्रमलाई फिर्ता गर्नुपर्ने अन्यथा उसले थप सङ्कटको सामना गर्नुको विकल्प छैन ।” चीन–अमेरिका व्यापार विवाद, ब्रेक्जिटबारेको अन्यौलका कारण इटालीबाहेक जर्मनी, फ्रान्सजस्ता मुलुकको पनि अर्थतन्त्रमा समस्या देखिएको छ । गत बर्षको तेस्रो त्रैमासमा यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा पनि हरितगृह ग्यास उत्सर्जन मापदण्डका कारण कार विक्रीमा आएको कमीले यहाँको अर्थतन्त्रमा अनपेक्षित सङ्कुचन आएको थियो । “आर्थिक मनोभावनामा देखिएको निरन्तरको गिरावटले के सङ्केतले आर्थिक वृद्धिका रफ्तार अझै कमजोर बन्ने देखिन्छ,” कमर्ज बैंकका अर्थशास्त्री क्रिस्टोफ वेलले भने । चीनको आर्थिक विकासबारेको अनिश्चितता, अमेरिका–चीन व्यापार विवाद, इयू–बेलायतको वहिर्गमन विवादले यस क्षेत्रको आर्थिक वृद्धिका लागि सन् २०१९ मा ठूलो प्रभाव पार्ने अनुमान गरिएको वेलको भनाइ छ । रासस/एपी