अमेरिकासँग ‘सीमित’ व्यापार सम्झौता गर्ने इयूको योजना, जर्मनीलाई राहत

ब्रसेल्स, बेल्जियम । यूरोपेली यूनियन (इयू)ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको छ । इयूको यो योजना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको व्यापार युद्धलाई जोगाउने प्रयास भएको विश्लेषकहरूले बताएका छन् । स्टील र आल्युमिनियमको आयातमा घोषणा गरेको कर वृद्धिपछि गरिएको ट्रान्सएटलान्टिक सम्झौतालाई जोगाउने पहलका रूपमा पनि बताइएको छ । उक्त प्रयासलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा यूरोपेली कार आयातमा करवृद्धि गर्नबाट जोगाउने पहलका रूपलमा पनि बताइएको छ । यसले अमेरिकामा कारको अत्याधिक निर्यात गर्ने यूरोपेली मुलुकहरू खास गरी जर्मनीलाई राहत हुने बताइएको छ । इयू व्यापार आयुक्त सेसिलिया मालस्ट्रोमले सञ्चारकर्मीसँग भने, “यो परम्परागत व्यापार सम्झौता होइन । यो सीमित तर महत्वपूर्ण प्रस्ताव हो जुन औद्योगिक सामानमा लगाइने करबारे मात्र हो ।” तर, अमेरिकाले गत हप्ता वार्ताको एजेन्डामा कृषि उत्पादनलाई पनि सम्लग्न गर्ने योजना सार्वजनिक गरेपछि प्रक्रिया एउटा चट्टानी शुरूवातका रूपमा देखिएको छ । अमेरिकी प्रस्तावले यूरोपेलीहरूलाई अघि बढ्न समस्या हुने अनुमान गरिएको थियो । मालस्ट्रोमले भने, “वार्ता कृषि करलाई घटाउने प्रस्तावका लागि नभएको जनाउँदै उक्त क्षेत्रलाई अहिले सम्झौताको बिषयभन्दा बाहिर राखेका छौँ ।” अमेरिकाले प्रस्तुत गरेको १७ पेज लामो प्रस्तावमा इयूले अस्वीकार गर्ने बताइएका अन्य माग तथा कर वृद्धिसमेत रहेका छन् । यूरोपद्वारा वैदेशिक विनिमय दरलाई तोडमोड गर्न रोक्नुपर्ने अमेरिकी प्रस्ताव छ । बेलायतको बहिर्गमन प्रक्रियाबारे वार्ता अनिर्णित नै रहेका समय इयूले अमेरिकासँगको वार्तालाई अघि बढाउन लागेको हो । रासस/एएफपी

सुडानको मन्त्रीपरिषद्ले गर्यो तलब बृद्धि, ५ सयदेखि २५ सयसम्म बढ्यो

खार्टुम । सुडानको मन्त्रीपरिषद्ले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बिहीबार बृद्धि गरिदिएको छ । सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झण्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन यसअघि नै सहमति जनाएको थियो । यही जनवरी ३ मा राष्ट्रपति ओमर अल बशिरले कर्मचारीहरुको तलब बृद्धि गर्ने प्रतिबद्धता गरेका थिए । दैनिकी धान्नका लागि यही जनवरी देखि नै तलब बृद्धि गर्नैपर्ने अवस्था रहेको उनले स्वीकार गरेका थिए । गत जनवरी १९ देखि सुडानका विभिन्न ठाउँमा सरकार विरुद्ध आन्दोलन भइरहेका बेला सरकारले तलब बृद्धि गर्ने निर्णय गरेको हो । पाउरोटीको मुल्य बढेपछि राजधानी खार्तुमसहित मुख्य सहरहरुमा लगातार भइरहेका आन्दोलनका क्रममा भएको झडपमा परी अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ । आन्दोलनका कारण हजारौ घाइते भएका छन् भने जनजीवन प्रभावित भएको छ । रासस/सिन्ह्वा

अमेरिकी योजनामा चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अनुसन्धान

काठमाडौं । चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने रोबोटिक उपकरणको चोरी गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी कम्पनीको गोपनीयता, प्रविधि र रोजगारी खोसेको आरोप लगाउँदै आएको छ । चीनसँग बढ्दो व्यापार घाटा नियन्त्रण गर्न २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशतसम्म करवृद्धि गर्ने चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सामानमा करवृद्धि गरेको छ । अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरु हुवावे र जेडटीईमाथि प्रविधिको प्रयोग मार्फत सूचना चोरी गरेकोमा अमेरिकी नेतृत्व सिर्जना गरिएको छ । हुवावे र न्याय विभाग दुबैले उक्त समाचारका बारेमा कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । हुवावेले सन् २०१७ मै हुवावे र टी–मोबाइलबीचको विवाद टुङ्गिएको जनाएको छ । तर, टी–मोबाइलले आफ्नो व्यापारिक गोपनीयता चोरी गरेको आरोप हुवावेमाथि लगाएको हो । अमेरिकी न्याय विभागको उक्त नयाँ कदमले चीन र अमेरिकाबीच पहिल्यैदेखि जारी व्यापार विवादलाई अझ बढाउने जनाएको छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओको क्यानाडामा भएको गिरफ्तारीले चीनसँग अमेरिका र क्यानाडाको सम्बन्धमा समस्या आएको छ । रासस एएफपी