६ लाख २७ हजार आप्रबासी बेलायतमा, १५ बर्षपछि आप्रबासीको संख्या उच्च
लण्डन, बेलायत । यूरोपेली संघबाहिरबाट बेलायत पुग्ने आप्रबासीको सङ्ख्यामा १५ बर्षपछि यस बर्ष अत्यधिक वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले पछिल्लो समय जारी गरेको लामो समय बेलायत बसोबास गर्न जाने आप्रबासी सङ्ख्यामा एक बर्षको अन्तरालमा सन् २०१८ को सेप्टेम्बर अन्त्यसम्ममा छ लाख २७ हजार आप्रबासी बेलायत पुगेका र तीन लाख ४५ हजार आप्रबासी बाहिरिएको तथ्याङ्कमा उल्लेख छ । यसरी हेर्दा बेलायतमा रहने आप्रबासी सङ्ख्यामा दुई लाख ८३ हजार थप भएको देखिएको छ । तथ्याङ्क अनुसार धेरै व्यक्ति बेलायतमा एक बर्षभन्दा बढी रहने गरी गएका छन् । तथ्याङ्कको बिश्लेषण गर्दा खुद आप्रबासीको आप्रवासन र बिदेश गमनको तथ्याङ्कमा सन् २०१६ को अन्त्यपछि स्थिरता देखिएको छ । तर, कार्यालयले भनेको छ, आप्रबासी सङ्ख्यामा यूरोपेली संघ आवद्ध राष्ट्रबाट बेलायत जाने र अन्य मुलुकबाट बेलायत जाने तथ्याङ्कमा परिवर्तन देखिएको छ । बेलायतका लागि यूरोपबाट जाने आप्रबासीको तुलनामा अन्य मुलुकबाट बेलायत जाने नागरिकको सङ्ख्या सन् २००४ पछि पहिलोपटक बढी देखिएको छ । काम र पढाइका शिलशिलामा बेलायत आउने आप्रबासी सङ्ख्यामा विगत पाँच बर्ष यता बढ्दो क्रममा रहेको अध्ययनले देखाएको छ । सन् २००९ पछि पहिलो पटक सन् २०१८ मा बेलायत पुग्ने यूरोपेली नागरिकको सङ्ख्यामा क्रमश कमी आएको पाइएको छ । मध्य तथा पूर्वी यूरोपेली मुलुक, जसलाई इयूका आठ मुलुकबाट पनि चिन्ने गरिन्छ, का नागरिकको बेलायत आउनेभन्दा छोड्ने क्रम बढेको देखिएको छ । फर्किनेमा सन् २००४ पछि बेलायत आएर बसोबास गर्दै आएका यूरोपेली आप्रबासीहरू रहेका छन् । सन् २०१४ पछि बेलायतमा कामका लागि आउने व्यक्तिको सङख्याभन्दा विद्यार्थी भिषामा आउने यूरोपेली आप्रबासीको सङ्ख्यामा वृद्धि रहेको पनि तथ्याङ्कमा छ । समग्रमा बेलायत पुग्ने आप्रबासीमा पछिल्लो समय धेरै विद्यार्थीहरू रहने गरेको पनि जनाइएको छ । रासस/सिन्ह्वा
भारतीय विमान चालकलाई शुक्रबार रिहा गरिन्छ: पाकिस्तानी प्रधानमन्त्री
इश्लामावाद, पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका छन् । बिहीबार संसदका दुबै सदनलाई संयुक्त सम्बोधन गर्दै भने, “पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा हुँदैन भन्ने बुझेको छ । शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ ।” उनले भने, “भारतीय पक्षबाट पाकिस्तानी इलाकामा गरेको वम बर्षाका कारण कुनै मानवीय क्षति वा भौतिक संरचना भएको सूचना पाएका छैनौँ । त्यसैले बदलामा आक्रमण गर्ने सोच राखेनौ ।” पाकिस्तानी प्रधानमन्त्री खानले भारत सरकार खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि आक्रमण गर्नुको आशय आउँदै गरेको निर्वाचनको नतिजालाई आफ्नो पकडमा पार्नु भएको दावी गरे । प्रधानमन्त्री खानले भने, “भारतीय काश्मिरी जनता पाकिस्तानसँग विवाद गर्न नचाहेपनि पाकिस्तान विरोधी ‘सेन्टिमेन्ट क्याच’ गर्न राजनीतिक नेतृत्वले पटक पटक समस्या ल्याएको जानकारी मैले पाएको छु ।” उनले भारतले पाकिस्तानी भूमिमा धावा खेलेको आफूहरूले हेर्न नसक्ने बताउँदै भने, “यदि भारतले एक्सन लिन्छ भने यसको प्रतिकार गर्नु पाकिस्तानको निर्विकल्प उपाय हो ।” उहाँले सदनलाई सम्बोधन गर्ने क्रममा भने, “म यसै प्लेटफर्मबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई आह्वान गर्न चाहन्छु कि विवादलाई अगाडी नबढाऊँ । तर यसलाई भारतले पाकिस्तानको कमजोरी नसोचोस् ।” उनले पाकिस्तानी क्षेत्रमा प्रबेश गरेका दुई विमान खसालेको र यो आफ्नो सार्वभौम मुलुकका लागि मजबुरी भएको सोही क्रममा भारतीय विमान चालक पाकिस्तानी नियन्त्रणमा पुगेका उनले बताए । रासस/सिन्ह्वा
हनोई वार्ता विना सम्झौता टुङ्गियो, उत्तर कोरियाको प्रस्ताव अस्वीकार
हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताए । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता पनि भएन । उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताए ।तेस्रो शिखर वार्ताको सम्भावनाका बारेमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “अहिल्यै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न ।” रासस/एएफपी