विश्वमै ठूलो मानिएको बैंक एचएसबीसीको नाफा २० अर्ब डलर, गतवर्ष भन्दा १६ % बढ्यो
हङकङ । विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात्मक रहेको बैंकको भनाई छ । मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रित गरेको एचएसबीसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबकै बीचमा पनि बैंकलाई प्रतिस्पर्धात्मक बनाइने प्रतिबद्धता जनाए । बैंकले सन् २०१८ को अक्टोबर-डिसेम्बरबीच ४ दशमलब ४ अर्ब डलर आम्दानी हुने पूर्वानुमान गरेपनि त्यसमा केही कमी भएर ३ दशमलब ३९ अर्ब डलर भएको थियो । रासस/एएफपी
होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५ सयको रोजगारी जोखिममा
टोकियो । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ । इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाको “सिभिक” मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । यस प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् । यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुनेछ, होन्डाले घोषणा गरेको छ । युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले एक विज्ञप्ति जारी गरी कम्पनीको यो निर्णय निकै कष्टपूर्ण रहेको बताए । गत वर्ष होन्डाका युरोपेली वरिष्ट उपाध्यक्ष इयान हावेल्सले बिना सम्झौता युरोपेली युनियनबाट बेलायतको बहिर्गमन भएमा त्यसले कम्पनीलाई करोडौं पाउन्ड घाटा हुने बताएका थिए । रासस÷एएफपी
प्रधानमन्त्री मोदीले भारतीय अर्थव्यवस्थालाई सम्हाल्न नसक्दा बेरोजगारी बढ्दै : पूर्वप्रधानमन्त्री सिंह
नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय अर्थव्यवस्थालाई क्षमता अनुरूप नचलाउँदा देशमा रोजगार विहीनता बढेर गएको बताएका छन् । ग्रामिण ऋणग्रस्तता र शहरी अव्यवस्थाका कारण रोजगारका लागि आकांक्षी असन्तोस पैदा भइरहेको बताएका छन् । नयाँ दिल्ली इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, “कृषि क्षेत्रको बढ्दो सङ्कट, रोजगारका लागि अवसरको कमी, वातावरणमा देखिएको गिरावट तथा विभाजनकारी गतिविधिका कारण राष्ट्रका समक्ष चुनौतीहरू बढेर गएका छन् । वरिष्ठ काङ्ग्रेस नेता सिंहले भने, “हाम्रो अर्थव्यवस्थामा व्याप्त ढाँचागत असन्तुलन हुँदा पटकपटक किसानहरूले रोटीका लागि आन्दोलन गर्नुपरेको र आर्थिक अवस्थाका कारण तथा किसानले गरेको दुःख र खर्चको उत्पादन नउठ्ने भएपछि किसानले आत्महत्या गर्ने गरेका दृष्टान्त देखिएको छ ।” सिंहले भने “समस्याको गम्भीरतासाथ विश्लेषण गर्ने र समाधानका लागि राजनीतिक इच्छाशक्ति प्रकट हुनु आजको आवश्यकता हो ।” अहिलेसम्म जुन रोजगारविहिनस्थिति थियो यो अझ बढी बिग्रेर गएको छ र थप रोजगार विहीनताको अवस्था सिर्जना हुने देखिएको छ । ग्रामिण क्षेत्रमा ऋणग्रस्तता र शहरी अव्यवस्थाका कारण सुन्दर भविष्यप्रतिको आशा राख्ने युवा जमातमा असन्तोष पैदा भएर गएको छ । औद्योगिक क्षेत्रमा अतिरिक्त रोजगारका अवसर सिर्जना गर्ने प्रयास असफल भइराखेको छ । औद्योगिक वृद्धिदर मुलुकको आवश्यकता अनुरूप बढ्न नसकिरहेको उनले बताए । यसका लागि सरकार र यसको नेतृत्वमा रहेका सीमित व्यक्तिको विवेक पुग्नु जरूरी हुने उनको भनाइ थियो । रासस/एएफपी