एक धनाढ्य जसले तिरिदिए ४ सय विद्यार्थीको ४ करोड डलर ऋण
अमेरिकी राज्य जर्जियाका चार सय विद्यार्थीले उनीहरूको ग्राजुएसनको बेला अर्बपति लगानीकर्ता रोबर्ट फ्रेडरिक स्मिथबाट एउटा सपना जस्तो उपहार पाएका छन् । उनले ती सबै विद्यार्थीले पढाइका निम्ति लिएका ऋण तिरिदिने घोषणा गरेका छन् । को हुन् यी अमेरिकी परोपकारी ? आइतवार बिहान विशेष गरी अश्वेत विद्यार्थी पढ्ने मोरहाउस कलेजमा भएको ग्राजुएसन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले २०१९ ब्याचको कक्षाका विद्यार्थीहरूलाई चकित पारिदिए । उनले ती विद्यार्थीको सबै ऋण ( करिब ४ करोड डलर) तिरिदिने वाचा गरे । केही वर्ष अघिसम्म अन्जान यी धनाढ्यका निम्ति यो घोषणा सार्वजनिक मञ्चमा उदाउने एउटा दुर्लभ घटना भयो । ५६ वर्षीय स्मिथ निजी लगानी कम्पनी भिस्टा इक्वीटी पार्टनर्सका संस्थापक हुन् । उनी अमिकाका एक चर्चित अश्वेत परोपकारी पनि हुन् । सफ्टवेअर कम्पनीहरूमा केन्द्रीत भिस्टाको कुल अनुमानित मूल्य ४६ अर्ब डलर पुगिसकेको छ । उनको व्यक्तिगत सम्पत्ति ५ अर्ब डलरको छ । यसको अर्थ हुन्छ उनी अमेरिकाकै सबभन्दा धनी अश्वेत हुन् । धनको मामिलामा उनी ओप्रा विन्फ्रेभन्दा पनि अगाडि छन् । उनी डेन्भर कोलोर्याडोस्थित अफ्रिकी अमेरिकीहरूको बाक्लो बसोबास रहेको बस्तीमा हुर्किएका हुन् । उनका बुबाआमा स्कूलका प्रधानाध्यापक थिए । माध्यमिक स्कूलमा हुँदै खेरि स्मिथले बेल ल्याब्स नामक विज्ञान अनुसन्धान कम्पनीमा काम गर्न निवेदन दिएका थिए । तर कम उमेरको भन्दै उनको निवेदन स्वीकार भएन। तर उनले निरन्तर रूपमा पाँच महिनासम्म हरेक हप्ता कम्पनीलाई सम्पर्क गरिरहे। अन्तमा उनलाई स्वीकार गरियो । पछि स्मिथले कोर्नेल विश्वविद्यालयमा रासायनिक इञ्जिनियरिङ पढे। उनले कोलम्बिया विश्वविद्यालयबाट एमबीए पनि गरे । त्यसपछि उनले स्यान फ्रान्सिस्कोमा गोल्डम्यान स्याक्समा काम गरे जहाँ उनले एपल र माइक्रोसफ्ट जस्ता प्रविधि कम्पनीसँग काम गर्ने मौका पाए । सन् २००० मा उनले गोल्डम्यान स्याक्स त्यागे र आफ्नै भिस्टा कम्पनी खोले । लगानी उद्योगका यी विशिष्ट क्षेत्रमा आफूले कसरी जातीयतासँग जुध्न परेको भनेर उनले सन् २०१४ मा न्यूयोर्क टाइम्स पत्रिकालाई बताएका थिए । कतिपय अवस्थामा जातकै कारण आफूले अन्य सहकर्मीभन्दा दोब्बर काम गर्न मनोवैज्ञानिक दबाब अनुभूति गर्ने गरेको उनले बताएका थिए । त्यसैले गर्दा उनको कम्पनी भिस्टाले विविधता र उत्कृष्टतालाई जोड दिने गरेको छ । निजी जीवन गोप्य नै राख्न रुचाउने स्मिथ अस्टिन टेक्ससमा आफ्नी पत्नी तथा पूर्व प्लेबोय मोडल होप डोराजिकसाथ बस्छन् । परोपकारको सिलसिला आइतवारको छक्क पार्ने उपहारभन्दा पहिले पनि स्मिथले मोरहाउसलाई सहयोग गरेका थिए। त्यहाँ उनले छात्रवृत्ति एवं संस्था विकासका निम्ति १५ लाख डलर दिएका थिए । सन् २०१७ मा बील तथा मेलिन्डा गेट्स अनि वारेन बफेटले स्थापना गरेको गिभिङ प्लेज नामक परोपकारी प्रतिबद्धता अभियानमा आफ्नो अधिकांश धन दिने वाचा गर्ने उनी पहिलो अश्वेत अमेरिकी थिए । आफ्नो परोपकार बारे लेख्दै उनले भनेका छन्–मेरा बुबाआमा, हजुरबुबा हजुरआमा, तथा अफ्रिकी अमेरिकीहरूको पुस्तौँ पुस्ता जसको नाम मैले कहिले थाहा पाउने छैन, उनीहरूकै कारण मेरो बाटो कोरिएको म कहिल्यै बिर्सने छैन। उनीहरूको संघर्ष, साहस र प्रगतिकै कारण मैले आँट्न र हासिल गर्न सकेँ। ‘मेरो कथा केवल अमेरिकामा मात्र सम्भव हुन सक्थ्यो। त्यसैले हामीले यो विरासत अघि बढाउन आफ्नो तर्फबाट काम गर्नुपर्छ । ’ मोरहाउसलाई गरेको सहयोग उच्च शिक्षाका निम्ति स्मिथको पहिलो चन्दा थिएन । अश्वेत तथा महिला इञ्जिनियरिङ विद्यार्थीलाई सघाउ पुग्ने कार्यक्रम सुरु गर्न सन् २०१६ मा उनले आफूले पहिले पढेको कोर्नेल विश्वविद्यालयलाई पाँच करोड डलर दिएका थिए । -बीबीसीबाट
टाटा मोटर्सको त्रैमासिक नाफा ४७ प्रतिशतले घट्यो, के के छन् कारण ?
मुम्बई । भारतीय कार निर्माण कम्पनी टाटा मोटर्सको त्रैमासिक नाफामा ४७ प्रतिशतले गिरावट आएको उक्त कम्पनीले सोमबार जनाएको छ । टाटाको आरामदायी ज्यागुअर ल्याण्ड रोभर कारका कारोबारमा चिनियाँ बजारका साथै अन्य विदेशी बजारमा आएको सुस्तता टाटाको नाफा प्रतिशत घट्नुको प्रमुख कारक भएको कम्पनीको निष्कर्ष छ । बेलायत तथा अमेरिकामा टाटाको कारोबार राम्रो भएको तर चीनमा अनपेक्षित रूपमा कमी देखिएको कम्पनीको भनाइ छ । टाटाको ज्यागुअर ल्याण्ड रोभरका लागि चीन प्रमुख बजार हो । टाटाको सन् २०१९ को शुरूवाती तीन महिना अर्थात् मार्च ३१ सम्मको नाफा ११ अर्ब १७ करोड भारतीय रूपैयाँ रहेको छ । अघिल्लो बर्ष सोही समयमा टाटाको नाफा २१ अर्ब २५ करोड अमेरिकी डलर रहेको कम्पनीको धितो बजार मूल्याङ्कनका लागि जारी विज्ञप्तिमा उल्लेख छ । “ज्यागुअर ल्याण्ड रोभरको चिनियाँ बजारमा आगामी दिनमा पनि सन्तोषजनक कारोबार नरहने वा वर्तमान चुनौति कायम रहने छ,” टाटा मोटर्सका अध्यक्ष एन चन्द्रशेकरनले बताए । “कारोबारका हिसाबले चुनौतिपूर्ण बाहिरी अवस्थालाई समाधान गर्दै कम्पनीलाई थप नाफा दिलाउनका लागि हामीले निर्णयात्मक तथा प्रतिस्पर्धात्मक रणनीति निर्माण गरी अघि बढ्दैछौँ,” उनले थपे । कारोबारमा देखिएको सुस्ततासँगै टाटाले भारतीय अर्थतन्त्रमा गर्दै आएको योगदानमा पनि सामान्य प्रभाव परेको कम्पनीको भनाई रहेको छ । टाटा मोटर्सको नाफामा देखिएको न्यूनताका बाबजुद पनि चियादेखि स्टिलजस्ता सामानको भारतीय उत्पादक कम्पनी टाटाको बम्बई स्टक एक्चेन्जमा सोमबार शेयर मूल्यमा ७.५३ प्रतिशत वृद्धि भएको छ । रासस/एएफपी
नागरिकबीच सहकार्य गर्न युपीएफ नेपाल र अमेरिका च्याप्टरबीच सम्झौता
काठमाडौं । राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्को महासमिती सल्लाहकार (यूनेस्को) को मान्यता प्राप्त संस्था युनिर्भसल पीस फेडेरेसन(यूपीएफ) नेपाल र अमेरिकन च्याप्टरका बीचमा आपसी हित र पारस्पारिक सहयोग बारेको समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार न्यूयोर्क स्थित होटल न्यूयोर्कर स्थित यूपीएफ कार्यालयमा हस्ताक्षर गरिएको युपीएफ नेपालका उपाध्यक्ष सन्तोषकुमार पौडेलले जानकारी दिए । समझदारी पत्रमा युर्निसल पीस फेडेरेसन नेपालका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र यूपीएफ अमेरिकाका च्याप्टरका सभापति डा. माइकल ज्याङ्किन्सले हस्ताक्षर गरेका हुन् । ‘यो समझदारीले दुई मित्रराष्ट्र नेपाल र अमेरिकाका नागरिकलाई आपसी पारस्परिक हितको कार्यका लागि अझै नजिक ल्याएको छ’ यूपीएफ नेपालका उपाध्यक्ष पौडेलले बताए । सो समझदारीमा भाइचारा, विकास आदान प्रदान, फेडेरेसनको दुबै च्याप्टरको आपसी हितका लागि ज्ञान र सहयोगको आदान प्रदान गर्ने र आपसी सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ । युनिर्भसल पीस फेडेरेसन शान्तिका लागि समर्पित विविध क्षेत्रका प्रतिनिधि व्यक्ति तथा संस्थाहरूको अन्तधार्मिक तथा अन्तराष्ट्रिय संजाल हो । युपीएफले संयुक्त राष्ट्रसंघीय दीगो विकास लक्ष्य हासिल गर्न तथा सयुत्त राष्ट्रसंघका अन्य विविध कार्यक्रमहरु प्रबर्द्धनका लागि सहयोग गर्दै आइरहेको छ ।