टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा नेपाल विजयी, ५ वटा अवार्ड जित्न सफल

काठमाडौं । नेपालले टोस्टमास्टर्स इन्टरनेशनल डिस्टिक्ट लेभेलको वक्तृत्व प्रतियोगितामा अवार्डहरु हात पार्न सफल भएको छ । नयाँ दिल्लीमा भएको दुबै क्षेत्रहरु मध्य नेपालले डिभिजन तहको मनोरन्जनात्मक र मूल्यांकन वक्तृत्व प्रतियोगिताको ६ मध्य ५ वटा अवार्ड जितेको छ । ११ मध्य ५ प्रतियोगिहरुले दुई क्षेत्रमा नेपालको तर्फबाट मनोरन्जनात्मक र मूल्यांकन प्रतियोगितामा ट्रफि हात पारेको छ । मनोरन्जनात्मक वक्तृत्वको प्रथम स्थानको बिजयी टोस्टमास्टर सिमा गोल्छा र मूल्यांकन प्रतियोगिताको प्रथम स्थानमा बिजयी टोस्टमास्टर दिप्ती आचार्य डिस्ट्रिक्ट तहको प्रतियोगिताका लागि छनौट भएका थिए, जसमा डिस्ट्रिक्ट अवार्डको लागि भारतभरबाट १२ डिभिजन प्रतिस्पर्धीहरु थिए । अन्तिम चरणमा, सिमा गोल्छा दोस्रो भए र रजत ट्रफि हात पार्न सफल भएका छन् । ‘नेपालमा टोस्टमास्टर्सको गतिबिधिको इतिहासमा पहिलो पटक प्रतिस्पर्धीहरुले कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर सम्झन योग्य प्रभाव छोडेका छन्,’ प्रतियोगिहरुको नतिजा आएपछि एरिया डाइरेक्टर सुमन शाक्यले भने । नेपालबाट अन्य एरिया डाइरेक्टर रन्जित आचार्यले भने, ‘डिभिजन वानमा ६ मध्य ५ अवार्ड जितेपछि, डिस्ट्रिक्ट तहमा हुनु निकै ठूलो उपलब्धि थियो र अझ त्यसमाथि पनि मनोरन्जनात्मक वक्तृत्व प्रतियोगितामा दोस्रो स्थानको उपाधि प्राप्त गर्नु नेपालको लागि गर्व गर्न लायक छ, हामी सबै निकै खुशी छौं कि नेपालले पनि टोस्टमास्टर्स इन्टरनेशनल एरेनाको बाटोमा पाईला चालेको छ ।’

चीनमा अनलाइन सपिङ कडाई गर्ने नयाँ कानुन, अलिबाबालाई समस्या

काठमाडौं । चीनले अनलाइन सपिङमा कडाई कडाई गर्न नयाँ कानुन ल्याएको छ । अनलाइन सपिङ पोर्टलहरुले गलत विज्ञापन मार्फत उपभोक्ता ठगेको भन्दै नयाँ कानुन मार्फत त्यसलाई कडाई गर्न लागिएको हो । चीनले आफ्ना उत्पादनहरुको गलत विज्ञापन गराउने अनलाइन सपिङ पोर्टल हरुलाई ३० हजार डलरसम्म जरिवाना गराउने नयाँ व्यवस्था लागु गरेको हो । चीनको सबै भन्दा ठुलो अनलाइन सपिङ अलिबाबाले सपिङ इयर अफ द डे मनाउने अघिल्लो दिन अनलाइन सपिङबारे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । चीनमा नोभेम्बर ११ तारिखलाई सिंगल डे सपिङका रुपमा लिने गरिएको छ । गत बर्षको सो दिनमा अलिबाबाले १८ बिलियन डलरको कारोबार गरेको थियो । सो कारोबारका लागि ६५७ बिलियन अर्डर आएका थिए । चीनको सबै भन्दा ठुलो अनलाइन सपिङ पोर्टल अलिबाबाले अगष्ट महिनाको त्रैमासिक रिपोर्टमा मात्रै ५६ प्रतिशत आम्दानी वृद्धि गरेको बताइन्छ । चीनलाई ईकमर्सको नयाँ गन्तव्यमा अघि बढ्दै गरेको मुलुकका रुपमा लिने गरिएको छ । अनलाइन सपिङमा आएको नयाँ व्यवस्थाले अलिबाबा लगायतका अनलाइन सपिङ सेन्टरहरुको बजारलाई भने प्रभावित पार्नेछ ।

डिभी चिट्ठा प्रणाली बन्द गर्नुपर्छ- राष्ट्रपति ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन् । मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरीे हमला गर्ने नागरिक यही प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले यस्तो प्रणाली नै खारेज गर्नुपर्ने उनले बताएका हुन् । राष्ट्रपति ट्रम्पले यसअघि पनि चिट्ठा मार्फत ग्रीन कार्ड प्रदान गरिने डाइभरसीटी भिसा (डीभी) सम्बन्धी प्रणाली नै खारेज गर्नुपर्ने आवाज उठाएका थिए । अमेरिकाले दिइ आएको यस्तो प्रवेशाज्ञा कार्यक्रममा पूर्ण रुपमा परिवर्तन गर्न आवश्यक रहेको र त्यसको पहिलो सुरुवात यो डिभी बन्द गरेर गर्नुपर्ने प्रस्ताव आफूले मन्त्रिपरिषदमा गरेको उनले बताए । उनले बुधबार ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन्। उनले यस नीतिका पक्षमा कामगर्न पनि अमेरिकी अधिकारीहरुलाई आह्वान गरेको बताएका पनि सो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेका हुन् । मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजनाको ज्यान जाने गरी गराइएको आतङ्ककारी हमलामा संलग्न नागरिक डिभीमार्फत अमेरिका पुगेको प्रमाणित भएको छ । अमेरिकी अधिकारीहरुले सो जानकारी बुधबारै सार्वजनिक गरेका हुन् । उनले यस्तो प्रणालीको सट्टामा बरु विदेशी नागरिक (आवेदक) को विशेषज्ञता, सिप र कुनै क्षेत्रमा उसको दक्षताको आधारमा अमेरिकी भिसा प्रवेशाज्ञा दिने प्रणाली लागु हुनुपर्नेमा आफ्नो प्राथमिकता रहेको पनि बताएका छन् । यस डिभी कार्यक्रम अन्तरगत हरेक वर्ष करिब ५० हजार विदेशी नागरिकलाई अमेरिकामा स्थायी बसोबासको अनुमति दिने गरिएको छ । यसैबीच हालै प्राप्त अर्को एक समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गरेका एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । राष्ट्रपति ट्रम्पले इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक नयाँ कानुनको गत महिना घोषणा गरेका थिए । उक्त प्रतिबन्धात्मक कानुन कार्यान्वयन नगर्न अमेरिकाको अदालतले हालै आदेश दिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनु केहीअघि त्यसमाथि उक्त कानुन कार्यान्वयनमा रोक लगाइएको छ । ती देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेशमा गर्न नपाउने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको कानुनको घोषणालाई अदालतले अवैध भनी रोकिदिएको हो । अमेरिकाले यसअघि पनि अरु विभिन्न ६ वटा मुसलमान बाहुल्यता रहेका देशहरुमाथि यस्तै खालको प्रतिबन्ध लगाएको थियो । त्यसलाई पनि उतिबेलै अमेरिकाको सर्वोच्च अदालतले प्रश्न गरेको थियो । रासस/एएफपी