सोनी कम्पनीको नाफा ८ अर्ब २० करोड डलर, कसरी बढ्यो आम्दानी ?
टोकियो । जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर (९१६ अर्ब जापानी येन) पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १.४ प्रतिशत वृद्धि भई ८९४ अर्ब यान पुगेको छ । कम्पनीको नाफा वृद्धि हुनुमा मुख्यतः अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् । प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ । रासस/एएफपी
अमेरिका-चीन व्यापार वार्ता हुँदै, अमेरिकी व्यापार प्रतिनिधि र अर्थमन्त्री बेइजिङ आउँदै
वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई वार्ता र सम्झौताद्वारा सुल्झाउने उद्देश्यले अमेरिकी उच्च अधिकारीहरु अर्को साता बेइजिङ प्रस्थान गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । दुबै मुलुकका उच्च अधिकारीहरु व्यापार विवाद जतिसक्दो चाँडो टुङ्ग्याउन केही महिनादेखि वार्तामा छन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन अर्को साता चिनियाँ प्रतिनिधिसँग वार्ताका लागि बेइजिङ प्रस्थान गर्ने उल्लेख छ । चिनियाँ प्रमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गर्दै गर्देै छन् । बेइजिङ वार्तापछि वासिङ्टनमा फेरि आगामी मे ८ देखि अर्को चरणको वार्ता हुने पनि ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार आगामी वार्तामा बौद्धिक सम्पत्ति, जबर्जस्ती प्रविधि हस्तान्तरण, गैरकर अबरोध, कृषि, सेवा, खरिद र कानुन कार्यान्वयन समेतका व्यापारसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ । विश्व अर्थतन्त्रमै असर गर्नेगरी अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक चेतावनी दिएका छन् । अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ । चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । चीनले भने अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । रासस/एएफपी
इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने अमेरिकी तयारी
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ । अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ । अमेरिकी तयारीबारे समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै सन् २०१९ मा तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अमेरिकी अखबार वासिङ्टन पोस्टले समेत गत वर्ष इरानी तेलको आयातमा केही आयातकर्तालाई दिइएको छुट तत्काल अन्त्य गर्न ह्वाइट हाउसले तयारी गरेको समाचार छापेको थियो । बेन्चमार्क कच्चा तेलको मूल्यमा सोमबार ३।२ प्रतिशतसम्म वृद्धि भएर प्रति ब्यारेल ७४।३१ अमेरिकी डलर पुगेको छ । यो दर गत वर्ष नोभेम्बर १ को तुलनामा सबैभन्दा उच्च हो । इरानी तेलमाथि हुने प्रतिबन्धले आयातमा प्रभाव पर्नेछ । अमेरिकी कम्पनी वेस्ट टेक्सास इन्टरमेडियट ९डब्लुटीआई० को मूल्यमा पनि ३ प्रतिशत वृद्धि भएर प्रति ब्यारेल ६५।८७ डलर कायम भएको छ । यो मूल्य गत अक्टोबर ३० यताकै सबैभन्दा उच्च हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि “अधिकतम आर्थिक दबाब” सिर्जना गर्न इरानी तेल निर्यातमा प्रतिबन्ध लगाउने र तेलबाट हुने राजश्वलाई शून्यमा झार्ने रणनीति अघि सार्नुभएको छ । गत नोभेम्बरमा अमेरिकाले इरानी तेल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएलगत्तै इरान र अमेरिका सहित विश्वका छ वटा महाशक्ति राष्ट्रहरुबीच भएको सन् २०१५ को आणविक सम्झौताबाट एकपक्षीय रुपमा अमेरिका बाहिरिने घोषणा गरी इरानमाथि प्रतिबन्धको घोषणा गर्नुभएको थियो । तर वासिङ्टनले इरानी तेल आयातकर्ता आठवटा मुलुकलाई केही समयका लागि तेल आयातमा छुट दिने निर्णय गरेको थियो । खासगरी चीन, भारत, जापान, दक्षिण कोरिया, ताइवान, टर्की, इटाली र ग्रीसलाई यस्तो सुविधा उपलब्ध थियो । यी मुलुकलाई छ महिनाका निम्ति इरानी तेल आयातमा छुट दिइएको थियो । सोमबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आगामी मे २ तारिखदेखि यस्तो सुविधा प्राप्त नहुने घोषणा गर्न लाग्नुभएको ह्वाइट हाउस स्रोतले जनाएको छ । यस वर्ष तेल निर्यातकर्ता मुलुकहरुको संगठन ओपेकले आपूर्ति कटौती गरेका कारण कच्चा तेलको मूल्य बृद्धि भएको छ । परिणामस्वरुप, ब्रेन्ट कच्चा तेलको मूल्य जनवरी यतामात्र तीन पटकभन्दा बढी पटक बृद्धि भएको छ । विश्लेषकहरुले ट्रम्प प्रशासनले तेलको अस्वाभाविक मूल्य बृद्धि रोक्न ओपेक र यसको मुख्य नेतृत्वकर्ता साउदी अरेबियामाथि तल आपूर्ति कटौती नगर्न दबाब दिने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले इरानी तेलमाथिको प्रतिबन्धबाट सिर्जना हुनसक्ने असरका बारेमा साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानसँग पनि गत साता फोनवार्ता गर्नुभएको थियो । रासस/एपी