ब्राजिलका छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला

काठमाडौँ । उत्तरी ब्राजिलस्थित छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला परेका छन् । समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि यो घटनाबारे विवरण सार्वजनिक भएको हो । एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा पछिल्लो घटना भएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको हो । निरीक्षणका क्रममा चारवटा कारागारमा कैदीहरू मृत फेला परेको अधिकारीहरूको भनाइ छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमवारको घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् । सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो । अधिकारीहरूका अनुसार कैदीहरूलाई तीखा ब्रशले घोचिएको थियो भने घाँटी थिचिएको थियो । कैदीका आफन्तहरूले समेत देखेको सप्ताहन्तमा भएका घटनाबारे छानबिन भइरहेको बताइएको छ । नाम उल्लेख नगर्ने शर्तमा एक कैदीकी आमाले द रियो टाइम्सलाई भनिन्, ‘एकदम भद्रगोल थियो। सबैजना भाग्न थाले ।’ दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ । कोचाकोच ब्राजिलमा कैदीहरूको सङ्ख्या विश्वमै तेस्रो स्थानमा आउँछ। आधिकारिक तथ्याङ्क अनुसार यो वर्षको एप्रिलसम्म त्यहाँ सात लाख १२ हजार ३०५ जना कैदी थिए । उक्त सङ्ख्या ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो । जसका कारण कारागारहरू कोचाकोच हुन्छन् भने कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गर्छन् । –बीबीसीबाट

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणामः भाजपा एक्लैको ३०३ सिट, अरुको कति ?

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ । भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् । भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जीत निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु)ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् । विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ । काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन् । त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस एम (केसी-एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन् । रासस/एएनआई

आइएमएफले भन्यो-‘व्यापार युद्धले अन्तर्राष्ट्रिय आर्थिक वृद्धि प्रभावित हुन्छ’

वासिङ्टन । अमेरिका-चीन व्यापार तनावका विश्वको आर्थिक गतिविधिलाई कमजोर बनाउने र उपभोक्ताका लागि मूल्य वृद्धि गर्ने हुँदा सन् २०१९ को अन्तर्राष्ट्रिय आर्थिक वृद्धि प्रभावित हुने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बिहीबार बताएको छ । “व्यापार तनावका कारण अमेरिका र चीनका उपभोक्ताहरू त प्रभावित हुने छन्,” विश्व मुद्रा कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले एक ब्लग पोष्टमा भने । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कर वृद्धिको रकम तिरेकोको दावी गर्दै यसबाट अमेरिकी अर्थतन्त्र प्रभावित नहुने दावी गरेपनि गोपीनाथले ट्रम्पको दावी खण्डन गरे । गोपीनाथ तथा उनका सहयोगी अर्थशास्त्रीहरूले भनेका छन्, “यदि ट्रम्पले चीनबाट आयात गर्ने सामानमा थप (दण्डनीय) कर वृद्धि गर्ने हो भने यसबाट विश्वको कुल ग्राहस्थ उत्पादनलाई करिब एक तिहाई प्रतिशत अङ्क कममा भारिदिनेछ ।” रासस/एएफपी