कोपा अमेरिकाबाट नेमार बाहिरिए, ब्राजिलमाथि थपियो ठूलो चुनौती
ब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ । एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् । बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् । नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन । रासस/एएफपी
नयाँ दिल्लीमा महिलालाई सार्वजनिक यातायातमा निःशुल्क, ‘मतदातालाई प्रभावित पार्ने केजरीवालको योजना’
नयाँ दिल्ली । भारतको राजधानी शहरमा झण्डै दश लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क प्रदान गरिने नयाँ दिल्लीको सरकारले जानकारी गराएको छ । राज्य सरकारले ल्याएको उक्त योजना अन्तर्गत आगामी दुईदेखि तीन महिनाभित्रमा करिब आठ लाख ५० हजार महिलालाई सेवा दिने गरी योजना अघि सारिएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने, “राज्य सरकारले महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्दा निःशुल्क सेवा प्रदान गर्न बार्षिक एक अर्ब १५ करोड रूपैँया खर्च लाग्नेछ ।” उनले भने, “सरकारले ल्याएको यो योजना अन्तर्गत केही समयभित्र करिब एक लाख ५० हजार सार्वजनिक यातायातमा सीसीटीभी क्यामेरा जडान गरिने छ जसका कारण ती यातायातका साधनमा यात्रा गर्दा उनीहरूले सुरक्षित महशुस गर्नेछन् ।” सरकारले यस कार्यक्रममा साना तथा पूराना गाडीलाई विस्थापित गरी ठूला तथा नयाँ गाडी भित्राउने र यसबाट दिल्लीको ट्राफिक प्रदुषणलाई पनि कटौति गर्न मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् । संयुक्त राष्ट्रसंघको वातावरण मामिला हेर्ने एक संस्थाको अध्ययन अनुसार झण्डै दुई करोड व्यक्तिको बसोबास रहेको नयाँ दिल्लीलाई प्रदुषणका हिसाबले विश्वका केही समस्याग्रस्त शहरका रूपमा हेरिने गरेको छ । सोमबार योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केजरीवालले भने, “नयाँ दिल्लीमा सार्वजनिक यातायात प्रणाली र शहरी क्षेत्रका सवारीसाधनले लिने भाडाका कारण कैयौँ दिल्लीवासी कठिन पैदल यात्रा गर्न बाध्य भएका छन् । योजनाबाट उनीहरूले सुरक्षित तथा सहज यातायातको सुविधा लिन पाउने छन् ।” नयाँ दिल्लीमा विशेष प्रभाव रहेको सानो आम आदमी पार्टीले आफ्नो गिर्दो साखलाई उठाउँदै आगामी जनवरीमा हुने विश्वास गरिएको विधान सभामा मतदातालाई प्रभावित पार्न यो योजना ल्याएको केजरीवालका आलोचकहरूले आरोप लगाएका छन् । सन् २०१५ को राज्य निर्वाचनमा केजरीवालको दलले निःशुल्क खानेपानी, विद्युत शुल्कमा छुट, आकर्षक स्वास्थ्य उपचार सेवा, तथा शिक्षामा सुधारको योजनाको घोषणा गर्दै भारी बहुमत ल्याउन सफल बनेको थियो । उसले सन् २०१२ को सामूहिक वलात्कार र हत्याको घटनापछि दिल्लीमा महिलाको सुरक्षालाई सुधार गर्ने प्रतिवद्धता गरेको थियो । तर अप्रिल र मे महिनामा भएको राष्ट्रिय (लोकसभा) निर्वाचनमा आफ्नो पूरानो साख बचाउन असफल भएको थियो । जबकी भारतीय राजनीतिमा अनुदारवादी मानिने प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले भने दिल्ली लगायत भारतभर दोस्रो पटक पनि उल्लेखनीय जनमत ल्याउन सफल भएका छन् । विधान सभामा नयाँ दिल्लीमा भाजपाको अगाडि केजरीवालको आम आदमी पार्टीले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने अपेक्षा धेरै भारतीय विश्लेषकहरूले गरेका छन् । रासस/एएफपी
चीनले श्वेत पत्रमार्फत राख्यो अडान, ‘अमेरिकाले तीन पटक गर्यो आफ्नो बचन उल्लङघन’
बेइजिङ । चीनले “चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” सम्बन्धमा श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषद्को प्रेस कार्यालयले आइतबार जारी गरेको श्वेतपत्रमा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा अमेरिकाले तीन पटक आफ्नो वचन उल्लङघन गरेको बताइएको छ । चीनले सहयोगको तरिकामार्फत यस संघर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ । महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले दृढताका साथ सहुलियत दिने छैन । सो श्वेत–पत्रमा भनिएको छ, “अमेरिकाको भन्सार कर असुलीले आफू र अरू दुवैका लागि क्षति पु¥याएको, चालू वर्षको अप्रिलसम्म चीनबाट अमेरिकालाई निर्यात गरेको परिमाण लगातार पाँच महिनासम्म घट्दै आएको देखिएको तर अमेरिकाले चीनलाई निर्यात गरेको परिमाण लगातार आठ महिनासम्म घटिरहेको देखिन्छ । व्यापार द्वन्द्वबाट अमेरिका फेरि महान भएको छैन । आर्थिक व्यापारिक सम्झौता सम्मान र दुवै पक्षको हितको आधारमा हुनुपर्छ भन्ने दावी पत्रमा उल्लेख छ । चीनले भनेको छ, “चीनको मुख्य हितसँग सम्बन्धित महत्वपूर्ण सिद्धान्तबारेमा चीन सम्झौता गर्दैन र दुई पक्ष बीच सम्झौताको पूर्वाधार भनेको अमेरिकाले असुलेको सबै भन्सार कर रद्द गर्ने साथै सम्पन्न हुने सम्झौता सन्तुलित हुने र दुवै पक्षको साझा हितअनुकूल हुनुपर्छ भन्ने हो ।” दुई मुलुकबीच आर्थिक तथा व्यापारिक द्वन्द्व तथा मतभेदको समाधान अन्त्यमा वार्ता र छलफलद्वारा गर्नुभन्दा राम्रो विकल्प नरहेको पनि श्वेत पत्रको निष्कर्ष छ । बेइजिङ तथा वासिङटनले आपसी हितका लागि दुवै पक्षको विजयी व्यापार विवाद अन्त्यका लागि छलफल र दुवैलाई मान्य हुनेगरी सन्धि गर्नु नै हो र यसबाट दुई मुलुकको फाइदा र विश्वका विभिन्न मुलुकको अपेक्षा अनूकुल विश्व अर्थतन्त्रमा टेवा पुग्नेमा श्वेत पत्रले जोड दिएको छ । रासस/सिन्ह्वा