भारत र पाकिस्तानको बहुप्रतिक्षित म्याच, टिकटकै १ लाख भारु पर्ने खेल कसले जित्ला ?
काठमाडौं । भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित क्रिकेट म्याच केही समयपछि सुरु हुँदैछ । आईसीसी वल्र्डकप क्रिकेटअन्तर्गत आइतबार नेपाली समयअनुसार ३ः१५ बजे संयुक्त अधिराज्यको लन्डनस्थित म्यान्चेस्टर रंगशालामा त्यस्तो खेल हुन लागेको हो । पछिल्लो समय भारत र पाकिस्तानबीच चिसिँदै गएको सम्बन्धका कारण क्रिकेटमा समेत पाकिस्तानलाई एक्ल्याउने भारतीय प्रयास असफल भएसँगै भारतीय टीम आफैं पाकिस्तानसँग खेल्न लागेको हो । हालसम्म पाकिस्तानले विश्वकपमा भारतसँग कुनै पनि खेल जितेको छैन । तर भारत र पाकिस्तानबीच यसअघि भएका १३२ राष्ट्रिय खेलमा भने पाकिस्तानले ७४ पटक भारतलाई पछारेको छ । आजको खेलमा भारतीय टिमका चर्चित खेलाडी शेखर धवन मैदानमा उत्रने छैनन् । भारत र पाकिस्तानका नागरिकहरु नागरिक स्तरमै एक अर्काप्रति असहिष्णु छन् । त्यसैले पनि दुवै देशका दर्शकहरुले आफ्नो टीमले जित्नैपर्ने मनोविज्ञानमा हुनेछन् । सम्पूर्ण दर्शकको मनोविज्ञानकै प्रतिविम्ब खेलाडीहरुमा पनि देखिन्छ । वर्षाका कारण खेल रद्द भएन भने भारतसँग विश्वकपमै जीतको पहिलो अनुभव गर्ने कि फेरि हार व्यहोर्ने भन्ने निर्णय आजको खेलले गर्नेछ । ६० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा टिकट बिक्रीका क्रममा २ मिनेटमै सबै टिकट सकिएको थियो । टिकट खरिदका लागि १ लाख भारुसम्म तिर्न दर्शकहरु तयार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केन्याको आर्थिक वृद्धि ६.३ प्रतिशत, अघिल्लो वर्षभन्दा सुधार
नैरोबी । केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । केन्याका अर्थमन्त्री हेनरी रोटिचले विश्वको बदलिँदो आर्थिक परिदृश्यमा समेत केन्याको आर्थिक वृद्धि स्थिर रहनु सकारात्मक रहेको बताए । उनले सन् २०१८ कै हाराहारीमा सन् २०१९ को आर्थिक वृद्धि हुनु निकै राम्रो हो भने । केन्यामा मौसम खराब रहेका कारण कृषि उत्पादनमा निकै ठूलो असर पर्ने अवस्था देखिएको चर्चा गर्दै अर्थमन्त्री रोटिचले यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अन्य उपायहरु अपनाइने बताए । उनले कृषिका असरलाई पर्यटन र निर्माणका कार्यबाट भरथेग गरिने बताए ।आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रोटिचले अघिल्लो वर्ष करिब ४.९ प्रतिशत रहेको आर्थिक वृद्धिमा सुधार आई सन् २०१८ मा ६.३ प्रतिशत पुगेको बताए । यो वृद्धि विगत आठ वर्षयताकै सबैभन्दा बढी हो र सहारा उपक्षेत्रका मुलुकको औसत ३ प्रतिशतको भन्दा झण्डै दोब्बर हो, अर्थमन्त्री रोटिचले बताए । उनले केन्याको अर्थतन्त्रलाई विविधिकरण र सुधारतर्फ अघि बढाइएको पनि बताए । अर्थमन्त्री रोटिचले सबैका लागि स्वास्थ्य, उत्पादन, खाद्य सुरक्षा जस्ता कार्यक्रमका कारण केन्याको आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि पुग्ने अनुमान पनि गरिएको बताए । उनले नयाँ प्रस्तावित बजेटले स्थानीय व्यवसायिक वातावरण तयार गर्न निकै ठूलो मद्दत गर्ने जानकारी दिए । केन्या स्वतन्त्र भएयता रोटिचले पेश गरेको यो सबैभन्दा ठूलो बजेट हो । रासस/सिन्ह्वा
चीनमा साइबर आक्रमणः अमेरिकाको सहयोगमा हुने गरेको बेइजिङको दावी
बेइजिङ । चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्राय साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटीं)ले सोमबार सार्वजनिक एक बार्षिक प्रतिवेदनमा भनिएको छ । ‘ट्रोजन तथा वोटनेट’ गतिविधिका आधारमा सन् २०१८ मा चीनको मूख्य भू–भागमा रहेका ३३ लाख ४० हजार कम्प्यूटरमा करिब १४ हजार ट्रोजन वा बोटनेटका कमाण्ड तथा कन्ट्रोल सर्भर (सी एण्ड सी सर्भर) अमेरिकाबाट सञ्चालित रहेको पाइएको सीएनसीईआरटीले प्रतिवेदनमा उल्लेख गरेको छ । यो सङ्ख्या सन् २०१७ को तुलनामा ९०.८ प्रतिशतले बढी हो । त्यसैगरी ३३ हजार २५ इन्टर्नेट प्रोटोकल (आइपी) एड्रेसहरू अमेरिकाबाट सञ्चालित रहेको र यो सन् २०१७ को तुलनामा ४३ प्रतिशतले बढी हो । अमेरिकाले तीन हजार ६०७ चिनियाँ वेबसाइटमा अनावश्यक तथा अपकारी (ट्रोजन) गतिविधिमार्फत समस्या उत्पन्न गराइने गरेको भेटिएको सीएनसीईआरटीले जनाएको छ । माथिका दुई श्रेणीमा आधारित रहेर हेर्दा चिनियाँ भू–भागमा कम्प्युटर तथा वेबसाइटमार्फत तथ्याङ्क चोरी हुने वा साइबर आक्रमण हुने समस्या सबैभन्दा बढी अमेरिकाबाट रहेको प्रतिवेदनमा उल्लेख छ । रासस/सिन्ह्वा