चीनमा २४ घन्टा यता कोरोनाका छ नयाँ संक्रमित भेटिए

बेइजिङ । चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी दिएको छ । उक्त आयोगकाअनुसार चीनमा गएको २४ घन्टामा नयाँ मृत्यु भने भेटिएको छैन । उक्त आयोगले देशका ३१ प्रान्तबाट प्राप्त समाचारमा ८२ हजार ८ सय ४ जना कोरोना भाइरसका कारण भएका विरामीको तथ्यांक पाइएको जनाएको छ । तीमध्ये पछिल्ला केही दिनमा मात्र ९ सय १५ जना विरामी पाइएका छन् । तीमध्येका ५७ जना नागरिक गम्भीर स्वास्थ्य अवस्थामा रहेका पनि पाइएको सो समाचारमा उल्लेख गरिएको छ । साथै चीन सरकारले दिएको सो तथ्यांकमा ४ हजार ६३२ जना नागरिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी गराएको छ । यहाँका विरामीहरुमध्ये ७७ हजार २५७ जना विरामी निको भएर घर फर्किएका छन् । साथै चीनको उक्त स्वास्थ्य आयोगले पछिल्ला दिनहरुमा चीनको हुबे प्रान्तको उहान शहरमा कोरोना भाइरसका नयाँ विरामी भेटिएका छैनन् भनेको छ । त्यसैगरी उता हङकङमा १ हजार ३५ जना नागरिक यस भाइरसबाट संक्रमित भएको बताइएको छ । त्यहाँ यस महामारीबाट ४ जनाको मृत्यु भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा यस भााइरसको प्रकोपलाई महामारी भनेको थियो । अहिलेसम्म यस भाइरसबाट कम्तीमा पनि २७ लाख नागरिक संक्रमित भएका छन् । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार यस प्रकोपबाट संसारका २०० भन्दा बढी देशमा कम्तीमा पनि १ लाख ९० हजार जनाको ज्यान गएको बताइएको छ । रासस–एएनआई

बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

नयाँ दिल्ली । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । करिब ३ हजार ६ सय जना नागरिक बेलायत लैजाने बेलायतले जानकारी दिएको छ । उनीहरु हाल भारतमा रहेकोले उनीहरुलाई स्वदेश फकाउनका लागि यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ । बेलायत सरकारले ती विमान हाल भारतमा रहेका बेलायती नागरिकका लागि पठाउन लागेको बताएको छ । दक्षिण एसिया तथा कमनवेल्थसम्बन्धी बेलायती मन्त्री लर्ड (तारिक) अहमदले जानकारी दिए अनुसार ती विमानहरु यही अप्रिल २८ मा भारतमा पठाइने छ । बेलायतले भारतमा रहेका आफ्ना नागरिकलाई लैजान यसअघि पनि चार्टर विमानहरु पठाएको थियो । यसमार्फत बेलायतमा आफ्ना ६ हजार ५ सय जना नागरिकलाई स्वदेश फर्काइसकेको छ । ती मन्त्रीका अनुसार बेलायतले आगामी दिनमा पनि भारतमा रहेका करिब ७ हजार नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ । अहिले बेलायत र भारतमा नियमित उडानहरु बन्द छन् । तर पनि बेलायतले स्वदेश फर्किनुपर्ने समस्यामा रहेका नागरिकहरुलाई छानेर उनीहरुको उद्धारस्वरुप यसरी स्वदेश ल्याउने गरिएको छ । भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका बेलायत सरकारले जनाएको छ । रासस–एएनआई

आर्थिक सहयोग नरोक्न विश्व स्वास्थ्य संगठनद्वारा अमेरिकासमक्ष आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका हुन् । उनले संयुक्तराज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भने, “हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।” इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भने, “मलाई आशा छ संयुक्तराज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।” गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए । अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ । कोरोनाभाइरसको जोखिम उच्च रहेपनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । रासस–एएनआई