कोरोना अपडेटः ९ लाख २२ हजार संक्रमित निको भए, मृतककाे संख्या २ लाख नाघ्याे

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख ६४ हजार २ सय २५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ११ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ९ लाख २२ हजार ३ सय ८७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५६ हजार ७ सय ९७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख १० हजार ३ सय ५६ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने अहिलेसम्म ९ सय ३९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५२ जना संक्रमित भएका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

लण्डन । कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनले काम शुरु गर्न तयार भएको अधिकारीहरुले जनाएका छन् । उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका हुन् । प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए । प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात विताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बस्नु भएको थियो । सघन कक्षबाट बाहिरिएपछि उहाँले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए । प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए । कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा सो भाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ४८ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ । बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ । रासस–एएनआई

कोरोना संक्रमणबाट निको हुनेको संख्या साढे ८ लाख, संक्रमित भने ३० लाख नजिक

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ बजसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख २० हजार ८ सय ७७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३ हजार २ सय ७२ जनाको मृत्यु भइसकेको छ भने ८ लाख ३६ हजार ९ सय ४१ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख ६० हजार ६ सय ५१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ भने अहिलेसम्म ८२५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् भने १२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)