युरोपकाे सबैभन्दा ठूलाे बैंक ‘डच बैंक’ ३ अर्ब ६० करोड डलर घाटामा, २२ हजार कर्मचारी हटाइने
फ्रान्कफर्ट । जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक ‘डच बैंक’को दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ । पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ । बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक वक्तव्य प्रकाशन गरी डच बैंकको सुधारका लागि धेरै कामहरु भइसकेका र त्यसले नतिजा दिन थालिसकेको बताएका छन् । यसै महिनाको शुरुमा डच बैंकले सन् २०२२ सम्ममा विश्वभर छरिएर रहेका बैंकका करिब २२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । साथै, बैंकले शेयर कारोबारमा लगानी कम गर्ने तथा जर्मनी र युरोपेली मुलुकमा मात्र आफूलाई केन्द्रित गर्ने योजना सार्वजनिक गरिसकेको छ । यसअघि दशौं वर्ष डच बैंकले अमेरिकी वालस्ट्रिटसँग प्रतिस्पर्धा गर्ने क्रममा बैंकको सञ्चालन खर्च ह्वात्तै बढेको थियो । बैंकले आफ्नो वार्षिक खर्चमा पनि झण्डै छ अर्ब युरो कटौती गर्ने योजना बनाएको छ । यसै वर्षको अप्रिलदेखि जुन महिनामा डच बैंकको राजश्वमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २० करोड युरो कमी भएको थियो । यसैबीच, डच बैंकले गरिरहेका कतिपय व्यापारिक कृयाकलापहरु बिक्री गर्न फ्रान्सेली बैंक बिएनपी परिवाससँग वार्ता जारी छ । डच बैंकले यही सिलसिलामा झण्डै ९०० कर्मचारी हटाइसकेको छ । रासस
बेलायतको प्रधानमन्त्रीमा बोरिस जोनसन, बुधबारदेखि जिम्मेवारी सम्हाल्ने
लण्डन । बेलायतको राजधानी लण्डन शहरका पूर्व नगर प्रमुख तथा कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा विजय प्राप्त गरेका छन् । विदेशमन्त्रीसमेत रहेका सोही पार्टीका नेता नेता जेरमी हन्टलाई पराजित गर्दै जोनसनले बेलायती प्रधानमन्त्रीका लागि आफूलाई योग्य सावित गरेका हुन् । जोनसनले नेता हन्टलाई झण्डै आधा मतान्तरले पछि पारेको बताइएको छ । कन्जर्भेटिभ पार्टीले प्रधानमन्त्री टरिजा मेको विकल्पमा नयाँ नेतृत्व छान्नका लागि भएको अन्तिम चरणको मतदानमा जोनसनलाई ९२ हजार १५३ मत परेको थियो भने हन्टलाई ४६ हजार ६५६ मत परेको कन्जर्भेटिभ पार्टीले जनाएको छ । जोनसनले बेलायती प्रधानमन्त्री टरिजा मेको स्थानमा बुधबार नै औपचारिक रूपमा जिम्मेवारी लिने बताइएको छ । नेता जोनसनले आफ्नो नेतृत्वमा बेलायत यूरोपेली यूनियनबाट बाहिरिने प्रतिवद्धता व्यक्त गरेका छन् । पार्टी नेतृत्वमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, “दुईपटकसम्मको प्रयासपछि पनि सफल हुननसकेको ब्रेक्जिट प्रक्रियालाई आगामी अक्टोबर ३१ सम्ममा पूरा गरिनेछ ।” जोनसन पार्टी नेतृत्वमा निर्वाचित भएसँगै उहाँलाई सामाजिक सञ्जालमार्फत विश्वभरीबाट बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत वधाई दिँदै भने, “पार्टी नेताको निर्वाचनमा विजय गर्दै बेलायतको प्रधानमन्त्रीका लागि मार्ग तय गर्न सफल भएकोमा तपाईंलाई बधाई । आगामी दिनमा थप सफलता प्राप्त गर्नुहुनेछ ।” त्यसैगरी उनलाई जर्मन चान्सलर एन्जेला मर्केल, यूरोपेली यूनियनका तर्फबाट ब्रेक्जिटका लागि मध्यस्थताकर्ता मिसेद बार्नियर, यूरोपेली आयोगका प्रमुख जाँ क्लाउडको तर्फबाट उनका प्रवक्तालगायतले जोनसनसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका छन् । जोनसनसँग जोडिएका महत्वपूर्ण मितिहरू कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मङ्गलबार विजय प्राप्त गरे । नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो । सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट चारबर्ष पछि स्नातक पास गरेका थिए । सन् १९८७ देखि करिब दुई बर्ष द टाइम्स पत्रिकामा काम गरे । जोनसनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा काम गरेका थिए । उनले सन् १९९९ देखि २००५ सम्म द स्पेक्टेटर नामक खबर पत्रिकामा काम गरे । तर सन् २००१ मा नै उनी लण्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद सदस्य बने । उनी सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचित भए । सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लण्डनको नगर प्रमुख (मेयर) बने । उनी सन् २०१२ मा पनि लण्डनको मेयरका रूपमा निर्वाचित भए । सन् २०१५ मा अक्सब्रिज र साउथ रस्लीप क्षेत्रबाट संसदमा प्रतिनिधित्व गरे भने सन् २०१७ मा पनि सोही क्षेत्रबाट निर्वाचित भए । सन् २०१६ मा भएको ब्रेक्जिटको पक्षमा मतदान गरेका बेलायतीहरूलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उनले तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरूनको राजिनामा पछि भएको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी सम्हाले । तर प्रधानमन्त्री टरिजा मेका ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै सन् २०१८ जुलाई ९ मा राजिनामा दिए । उनले सन् २०१९ को जुलाई २३ अर्थात् मङ्गलबार प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित बने । उनले बुधबार महारानी एलिजावेथ द्वितीयसँगको भेटघाट र औपचारिक समारोहबीच बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ । रासस/एएफपी
पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद भ्रष्टाचार आरोपमा पक्राउ
लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् । उनी पाकिस्तान मुस्लीम लिग नवाज (पिएमएल—एन)का नेता हुन् भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो । “अब्बासीलाई गिरफ्तार गरिएको छ, उनलाई आज वा भोलि अदालतमा लगिनेछ” एक वरिष्ठ सरकारी अधिकारीले भने । नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तारसम्वन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टी गरेका छन् । अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थियो । अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो ।अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत बर्ष नै सात बर्षे जेल सजायको फैसला सुनाइएको थियो । भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाई शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ । पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याकोरूपमा रहेको छ । एक बर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उनले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिएका छन् । रासस÷एएफपी