सामसुङले सार्वजनिक गर्याे ५जी ग्यालेक्सी ट्याब्लेट

सियोल । विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ । सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५जी ग्यालेक्सी एस६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ ।रासस

कोरोना भाइरसका कारण चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित

बेइजिङ । चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १सय ६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५ सय १५ जना सङ्क्रमित भएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ९ सय ७६ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घण्टा यता ७ सय ६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८ सय ६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ । सोमबार मात्र १ हजार ७७१ मा सो भाइरस भएको पुष्टि भएको र अरु २ हजार ७७ जना नयाँ संदिग्ध घटना पाइएको समाचारमा जनाइएको छ । सोमबार मात्र करिब ६० जना कोरोना भाइरसबाट निको भएर अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । यसअघि पनि यस रोगबाट निको भएका १ हजार भन्दा बढी घर फर्किएका थिए । यी सबैलाई विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सङ्क्रमणको प्रकोप चीनका कम्तीमा ३० प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरूमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरूको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेशनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास सङ्क्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ । चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरूको भनाई छ । उनीहरूका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ । रासस

सुडानी सरकार र प्रतिपक्षीबीच शान्ति सम्झौताको खाकामा हस्ताक्षर

खार्तुम । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षीले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका छन् । सरकार र विपक्षी दल सुडान पिपल्स लिबरेसन मुभ्मेन्ट (एसपिएलएम) दक्षिणी क्षेत्रले  शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रम दक्षिणी सुडानको राजधानीस्थित राष्ट्रपतिको कार्यालय जुबामा भएको थियो । दुवै पक्षलाई सहमतिमा पुर्याउनका लागि राष्ट्रपतिले मध्यस्तकर्ताको भूमिका खेलेको बताइएको छ । सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषयहरु समावेश गरिएको सरकारी पक्षले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । सरकारको तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर  गरेका सुडानी स्वायत्त परिषद्का उपाध्यक्ष मोहम्मद हम्दान डाक्लुले भने, “हस्ताक्षरित सम्झौताबाट सरोकारवालाहरुका बीचमा बलियो साझेदारी र लगाब देखिएको छ,” । यस्तै सम्झौतामा हस्ताक्षर गरेको अर्को पक्षका रुपमा रहेको एसपिएलएम दक्षिणी क्षेत्रले ब्लु नाईल क्षेत्रमा सशस्त्र विद्रोहीको नेतृत्व गरेको छ । त्यस समूह दक्षिण सुडानको सीमा क्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको छ। रासस/सिन्ह्वा