बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने
लन्डन । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएकाे द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ । बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको, द सन्डे टाइम्सले जनाएको छ । डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, ‘जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन् ।’ रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन् ।
आर्थिक संकटमा परेको श्रीलंकामा फेरि संकटकाल घोषणा
काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पुनः संकटकाल घोषणा गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकाका गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन् । अहिले श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा विदेशी मुद्राको अभावमा खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । कोरोना महामारीका कारण श्रीलंकाको अर्थतन्त्र धराशयी भएको बताइन्छ । कोरोनासँगै श्रीलंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो । केही अर्थशास्त्रीले भने लगातार वैदेशिक ऋण लिने र अव्यवस्थापनका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मु्द्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो । राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन् । राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले थप कडा कानुनको आह्वान गरेका छन् । श्रीलंकासँग अब पेट्रोलियम पदार्थ खरिदका लागि समेत पर्याप्त रकम नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो समय देखिएको संकटका कारण श्रीलंकामा उद्योग क्षेत्र‚ शिक्षा क्षेत्रसमेत धराशायी बन्दै गएका छन् । पेट्रोल पम्पमा पेट्रोलियम पदार्थका लागि र ग्यास पसलका अगाडि ग्यास सिलिन्डरका लागि मानिसहरूको लामो लाइन देख्नु श्रीलंकाको दिनचर्याजस्तै भइसकेको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ । बिहीबार राष्ट्रपति राजपक्षेको राजीनामा माग गर्दै उनको निवासबाहिर प्रदर्शन गरिएको थियो ।
टर्कीको मुद्रास्फीति दर अप्रिलमा झन्डै ७० प्रतिशत पुग्यो
इस्तानबुल । टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको राष्ट्रिय तथ्याङ्क एजेन्सीले बिहीबार सार्वजनिक गरेको छ । मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती खडा गरेको छ। उपभोक्ता मूल्य सूचकाङ्क अप्रिलमा वर्षको तुलनामा ६९.९७ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्क अनुसार मार्चमा ६१.१४ प्रतिशतले बढेको छ । रासस