बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने
लण्डन । कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनले काम शुरु गर्न तयार भएको अधिकारीहरुले जनाएका छन् । उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका हुन् । प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए । प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात विताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बस्नु भएको थियो । सघन कक्षबाट बाहिरिएपछि उहाँले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए । प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए । कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा सो भाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ४८ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ । बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ । रासस–एएनआई
कोरोना संक्रमणबाट निको हुनेको संख्या साढे ८ लाख, संक्रमित भने ३० लाख नजिक
काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ बजसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख २० हजार ८ सय ७७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३ हजार २ सय ७२ जनाको मृत्यु भइसकेको छ भने ८ लाख ३६ हजार ९ सय ४१ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख ६० हजार ६ सय ५१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ भने अहिलेसम्म ८२५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् भने १२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)
कोरोना रोगको उपचारमा आशाका साथ परीक्षण गरिएको प्लाज्मा थेरापी के हो ?
काठमाडौं । कोरानाको कहरबाट आक्रान्त अहिलेको परिस्थितिमा केही सकारात्मक समाचार समेत आउन सुरु गरेका छन् । कोरोना भाइरसको औषधी, खोप तथा उपचारको लागि संसारभरका वैज्ञानिकहरु विभिन्न प्रयोग तथा परीक्षणमा दिनरात लागिरहेका छन् । त्यसैक्रममा हालै अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको छ । अमेरिकामा प्लाज्मा थेरापीबाट गरिएको उपचारको परिणाम सकारात्मक देखिएपपि अहिले भारतमा समेत ४ ओटा अस्पतालले प्लाज्मा थेरापीबाट उपचारको लागि अनुमति पाएको छ । कोरोना संक्रमणको उपचारमा भर्खरै मात्र सुरु गरिएको प्लाज्मा थेरापी नयाँ उपचार पद्दति नयाँ भने हैन । यो पद्दतिको सुरुवात सन १८९० बाट नै भएको हो । सन १९१८ मा फैलिएको स्पेनिस फ्लूको माहामारीको उपचारमा समेत यो पद्दतिको सफल प्रयोग गरिएको थियो । जोन्स हकिङ्स ब्लुमबर्ग स्कुलअफ पब्लिक हेल्थका प्राध्यापक डा. आरतुरो कासादेवालका अनुसार आजभन्दा पहिलेको प्रयोगको कुरा गर्ने हो भने प्लाज्मा थेरापीको आँकडा अत्यन्त सकारात्म रहेको छ । स्पेनिस फ्लु, मार्स, सार्स लगायलका भइरसजन्य फ्लुमा यसको प्रयोगबाट गरिएको उपचार सफल रहेको छ । ‘तर कोरोनाको सन्दर्भमा अहिले केही भन्न सक्ने अवस्था छैन । कोरोना भाइरस हाम्रो लागि अत्यन्त नयाँ हो,’ डा. आरतुरोले भने । प्लाज्मा थेरापीको कोरोनामा पर्ने प्रभावको बारेमा उचित जानकारीका लागि यसको क्लिनिकल परीक्षण बढाउनु पर्ने डा. आरतुरो कासादेवालको धारणा रहेको छ । के हो प्लाज्मा थेरापी ? कुनैपनि व्यक्ति जब कोरोना लगायतका संक्रामक रोगको सामना गरेर ठिक हुन्छन्, तिनीहरुको रगतमा एक प्रकारको एन्टिबडी उत्पादन भएको हुन्छ । यो एन्टिबडी संक्रमणको विरुद्धमा लड्न सक्ने हुनका साथै त्यस्ता व्यक्तिको शरीरले रोग प्रतिरोधी क्षमताको कारण विशेष प्रकारको प्रोटिनको समेत उत्पादन गर्दछ । जसमा संक्रामक भइरसलाई निस्तेज गर्न वा मार्न सक्ने क्षमता विकाश भएको हुन्छ । शरीरले एन्टिबडीको उत्पादन तथा प्रसारण रातो रक्तकोस (रेड ब्लडसेल) मार्फत गर्ने गर्दछ । एन्टिबडी रहेको रगतको उक्त भागलाई कनब्यालेसेन्ट प्लाज्मा भनिन्छ । रगतको एन्टिबडी रहेको उक्त भाग (कनब्यालेसेन्ट प्लाज्मा ) लाई जम्मा गरेर बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ । रोगको विरुद्धमा एन्टिबडी भएको कनब्यालेसेन्ट प्लाज्माको प्रयोग गरेर उपचार गरिने पद्धतिनै प्लाज्मा थेरापी हो । प्लाज्मा थेरापी कतिपय अवस्थामा अत्यन्त सफलसमेत रहेको छ । तिब्ररुपमा हानी पुर्याउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताले वा शरीरले नै लड्नु पर्ने प्रकृतिका बिषाणु संक्रमणका विरुद्धमा यो पद्धति सफल मानिएको छ । सर्पदंशको उपचार यो पद््दतिको एक सफल उदाहरण हो ।