अफगानिस्तानमा कोरोना भाइरस परीक्षण गरेको एकतिहाइमा संक्रमण पुष्टि

काठमाडौं । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ। राजधानी काबुलस्थित स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयजनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको जानकारी दिएकाे छ । उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढेकाे पाइन्छ। ग्रामीण क्षेत्रमा सङ्क्रमणको अवस्था स्पष्ट छैन। केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको चर्को मारमा परेको देश इरानबाट फर्किएका थिए। अफगानिस्तानमा अहिलेसम्म २ हजार ७ सातजना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन्। (अन्तर्राष्ट्रिय संचार माध्यमकाे सहयाेगमा)

दिल्लीमा लकडाउन खुकुलो, आजदेखि सरकारी तथा निजी कार्यालय खुल्ला

काठमाडौं । भारतकाे दिल्लीमा लकडाउन खुकुलो गर्दै आजदेखि सरकारी  तथा निजी कार्यालय खुल्ला हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्दु केजरीवालले अतिआवश्यक पर्ने सामग्रीको उद्योग, व्यवसाय, सरकारी कार्यालय, कृषिजन्य उत्पादन तथा बित्तिय संस्थाहरु सामाजिक दुरी कायम गरी खोल्न सकिने बताए । कोरोना आइसक्यो… अबका दिनमा कोरोनासँगै जिउने तयारीमा सरकार लाग्नु पर्नेछ,  लकडाउनले नै कोरोना संक्रमण शुन्य हुने भन्ने हुँदैन त्यसैले सावधानी पुर्व महत्वपूर्ण उद्योगधन्दा, व्यवसाय संचालन गर्न पर्ने भन्दै निजी कार्यालय खोल्न सकिने तर ३३ प्रतिशत कामदारलाई मात्र उपस्थित गराउन मिल्ने मुख्यमन्त्री केजरीवालले जानकारी दिए । ‘सबै कार्यालय बन्द गर्दा सरकारी खर्च कसरी चलाउने ? गतवर्ष अप्रिलको महिनामा साढे तिन हजार करोडको रेभिन्यु आएको थियो भने यो अप्रिलमा तीन सय करोड मात्रको रेभिन्यु आएको छ ‘ मुख्यमन्त्री केजरीवालले भने । पुरै दिल्ली रेर्ड जोनमा राख्दा उद्योगधन्दाहरु बन्द हुँदा उद्योगीलाई समस्या एकातिर अर्कातिर धेरैले रोजगारी गुमाएर भाेकमरी उत्पन्न हुने तथा देशकाे अर्थतन्त्रमा नै ठूलो धक्का पर्दा दिल्ली सरकारले लकडाउन खोल्न बाध्य भएको मुख्यमन्त्री केजरीवलले जानकारी दिए । सामाजिक, धार्मिक कार्यहरुमा तथा सभासमारोह एवंम विद्यालय खोल्ने कुरा नभएको भन्दै विवाहमा ५० जनाभन्दा बढी उपस्थित हुन नपाउने र मृत्यु संकारमा २० जनाभन्दा बढी उपस्थित नहुने नियम रहेको जनाएका छन् । दिल्लीका ९७ कन्टेनर पुरा रुपमा बन्द गरी अन्य सबै खुल्ला गर्ने तयारी भइरहेको छ ।

कोरोना विरुद्धको औषधी र खोप पत्ता लगाउने काम कहाँ पुग्यो ?

काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२० सँगै सुरुभएको कोरोना भाइरस (कोभिड १९) माहामारीका कारण यो समाचार तयार गर्दासम्ममा २ लाख भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ३० लाख भन्दा धेरै संक्रमित भैसकेका छन् । तर, पनि हालसम्म कोभिड १९ को कुनैपनि औषधी पत्ता लाग्न सकेको छैन । अहिलेको चिकित्सा विज्ञान कोरोनाको विरुद्धमा औषधीको खोजिकार्यमा अहोरात्र लागिरहेको छ । त्यसो भए कहाँ पुग्यो त कोरोना भाइरस विरुद्धको औषधी खोजिकार्य ? अहिलेसम्म विश्वभरमा १ सय ५० भन्दा धेरै प्रकारका औषधीहरुको परीक्षण भैसकेको छ । जसमा धेरैजसो औषधी विभिन्न रोगहरुमा अहिले पनि प्रयोगमा रहेकाहरु नै हुन् । विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) ले परीक्षणलाई उपयोगी बनाउन सोलिडेटरी ट्रायल कमिटी नै गठन गरेर अनुसन्धान सुरु गरेको छ । डब्लुएचओ लगायत अन्य संस्था तथा देशले समेत विभिन्न परीक्षणहरु गरिरहेका छन् । यस्तो परीक्षणमा बेलायत अरुभन्दा केही अगाडि रहेको मानिन्छ । बेलायतले गरेको दाबी पत्याउने हो भने उसको रिकबरी ट्रायल सबैभन्दा धेरै रहेको छ । यो परीक्षणमा ५ हजारभन्दा धेरै बिरामीहरुलाई समावेश गरिएको बेलायतको दाबी छ । अहिलेसम्म तीन प्रकारका औषधीहरुको प्रयोग तथा परीक्षण गरिसकिएको छ । १. प्रतिरोधी औषधी (एन्टिबडी ड्रग) यस्ता औषधीहरुले शरीरमा रहेका भाइरसहरुसँग लडेर भइरसको उत्पादन रोक्ने, निस्कृय बनाउने, शरीरबाट भगाउने कार्य गर्दछ । प्रभावकारिता, प्रयोग तथा त्यसबाट उत्पन्न हुने नकारात्मक प्रभाबलाई आधार मान्दा यो प्रविधिको औषधीहरु सुरक्षित मानिन्छन् । भइरसमा हुने तिब्र अनुबांसिक परिवर्तन गर्नसक्ने क्षमताका कारण यस्ता प्रकारका औषधीहरु बनाउन भने अत्यन्त कठिन रहेको जानकारहरुको भनाइ छ । २. रोग प्रतिरोधी क्षमताको उपयोग यस्ता औषधीहरुले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पूर्णरुपमा भाइरसको विरुद्धमा प्रयोग गर्ने गर्दछ, जसबाट रोग प्रतिरोधी क्षमताको उच्चतम प्रयोग भै भाइरस निस्कृय गर्ने गर्दछ । यो प्रकारका औषधीहरुको धेरै ठुलो मात्रामा नकारात्मक असरसमेत रहेको छ । रोग प्रतिरोधात्मक क्षमताको उच्च प्रयोगका कारण प्रतिरोधी क्षमता सिथिल हुने, जसले गर्दा अन्य संक्रमणको जोखिम बढ्ने खतरा रहन्छ । यसैकारण विराबीलाई अन्य गम्भिर प्रकारको रोग समेत लाग्न सक्तछ । ३. प्लाज्मा थेरापी कुनैपनि भाइरसको संक्रमणबाट ठिक भएका व्यक्तिको शरीरले रोग प्रतिरोधात्मक क्षमताका कारण रगतमा विषेश प्रकारको प्रोटिनको उत्पादन गर्दछ । जसमा संक्रामक भइरसलाई निस्तेज गर्न वा मार्न सक्ने क्षमता विकाश भएको हुन्छ । एन्टिबडी रहेको रगतको उक्त भागलाई कनब्यालेसेन्ट प्लाज्मा भनिन्छ । कनब्यालेसेन्ट प्लाज्मालाई जम्मा गरेर अन्य बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनका चिकित्सक डाक्टर ब्रुश आइल्बडका अनुसार कोरोना भाइरसको विरुद्धमा अहिलेसम्म धेरै किसिमका औषधीहरुको परीक्षण गरिएको छ । मलेरियाको औषधी हाइड्रोअक्सी क्लोरोक्विन, एचआइभीको लागि प्रयोग हुने लोपिनाभिर तथा रिटोनाभिर, कनब्यालेसेन्ट प्लाज्मालगायतको प्रयोगशाला परीक्षणका क्रममा सकारात्मक परिणाम नदेखिए पनि बिरामीको उपचारको क्रममा भने परिणाम निरासाजनक नै रहेको छ । अहिलेसम्म परीक्षण गरिएका औषधीहरु मध्ये एउटा मात्र औषधी इबोला भाइरसको बिरुद्धमा प्रयोग हुने रेमडेसिभिर प्रभाबकारी रहेको आफूले चीनको निरिक्षण भ्रमणका पाएको, रेमडेसिभिरले अन्य खतरनाक भाइरसजन्य सार्स, मर्सलगायतका स्वासप्रस्वाससँग संबन्धित रोगहरुमा समेत काम गर्ने गरेको, इबोला भाइरसको बिरुद्धमा प्रयोग हुने रेमडेसिभिरले जनाबरमा गरिएको परीक्षणमा कोरोना भाइरसको विरुद्धमा समेत प्रभावकारी रहेको भर्खरै वहिरिएको सिकागो विश्व विद्यालयको अनुसन्धानको रिपोर्टबाट समेत थप प्रमाणित भएको डाक्टर ब्रुश आइल्बर्ड बताउँछन् । कोरोना भाइरसको बिरुद्धमा अहिलेसम्म प्रयोग भएका औषधीहरु पहिलेदेखि नै अरु संक्रमणको उपचारमा प्रयोग भएका औषधीहरु हुन् । कोरोना भाइरस कोबिड १९ को लागि भनेर अहिलेसम्म नयाँ औषधी तथा खोपको विकास भने हुन सकेको छैन । नयाँ औषधीको निर्माणमा धेरै परीक्षण भैरहेको भएपनि अहिलेसम्म एउटाले मात्र पहिलो चरणको परीक्षणमा सफल भै दोस्रो चरणको परीक्षण सुरु भएको छ । अझ खोपको कुरा गर्ने हो भने त अहिलेसम्म कोरोना भाइरस बिरुद्धको खोपको निर्माण कार्यको काम सुरु नै भएकै छैन । खोप निर्माणको लागि शून्यबाट काम सुरु गर्नुपर्ने अवस्था रहेको छ । (अन्तराष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा)