बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण
लापाज । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना भाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् । बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित भएका थिए । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका छन् । अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उनलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ । बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र १ हजार ७ सात ५४ जनाको मृत्यु भएको छ । रासस–एएफपी
चीनमा आएको भिषण बाढीमा परी ठूलो जनधनको क्षति
बेइजिङ । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १ सय ४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ । यो बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ । चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो ।चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ । यहाँ पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ । चीनको याङ्चेसहितका कैयौं नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ । बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ । बाढीका यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ । यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ ।बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरे । रासस/एएनआई
भारतमा एकैदिन २९ हजारभन्दा बढीमा कोरोना पुष्टि
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । गएको २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । भारतमा २४ घण्टाभित्र भेटिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित भेटिएका थिए । भारतमा आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको छ । पछिल्लो २४ घण्टामा पाँच सय व्यक्तिको ज्यान गएको छ । भारतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ हजार १ सय ८७ रहेको छ भने ५ लाख ५४ हजार ३ सय ७० बिरामीहरु निको भएका छन् । (वल्डाेमिटरकाे तथ्यांकनुसार)