इन्डोनेसियाको आर्थिक वृद्धिदर ९ वर्षयताकै उच्च
इन्डोनेसिया । विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा इन्डोनेसियाको कूल गार्हस्थ्य उत्पादन जीडीपी २.०७ प्रतिशतले खुम्चिएपछि यसको निर्यात र पर्यटनमा निर्भर अर्थतन्त्रमा ठूलो असर परेको थियो । तर दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा त्यसयता उकालो लागेको छ र गत वर्ष ५।३१ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको तथ्याङ्क इन्डोनेसियाली सरकारले सोमबार सार्वजनिक गरेको छ । ‘सन् २०२२ मा इन्डोनेसियाको अर्थतन्त्र बलियो रुपमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ,’ तथ्याङ्कसम्बन्धी निकायका प्रमुख मार्गो युवोनोले भने । उनले उच्च निर्यात मूल्य र यात्रा प्रतिबन्ध हटाइएका कारण वृद्धि भएको र मार्चमा क्वारेन्टाइनको आवश्यकतामा कमी आएसँगै व्यापारलाई बढावा दिइएको र पर्यटक आगमनमा वृद्धि भएको बताए । युवोनोले भने, ‘लगभग सबै अन्तर्राष्ट्रिय विमानस्थलहरू पुनः सञ्चालनमा आएपछि मानिसहरूको आर्थिक गतिविधि बढेको छ ।’ देशले वर्षको पहिलो छ महिनामा सात लाख ४० हजारभन्दा बढी आगन्तुकहरूलाई स्वागत गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ८०० प्रतिशत भन्दा बढीको वृद्धि हो । जुलाई–सेप्टेम्बरको एक मजबूत अवस्थापछि वर्षको अन्तिम त्रैमासिकमा सुस्त वृद्धिको बावजुद वार्षिक वृद्धि बलिया देखिएको हो । इन्डोनेसियाको अक्टोबर–डिसेम्बरमा आर्थिक वृद्धिदर ५।०१ प्रतिशतले बढेको छ, जुन अघिल्लो तीन महिनामा ५.७२ प्रतिशत थियो । तर सन् २०२१ मा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेपछि पाम आयल, कोइला र निकेलजस्ता प्रमुख वस्तुको निर्यात मूल्यमा उल्लेख्य वृद्धि भएपछि यसले महामारीको न्यूनताबाट आफ्नो वार्षिक वृद्धिलाई ३.६९ प्रतिशतले कायम राखेको छ । अर्थशास्त्रीहरूका अनुसार सुधारका बाबजुद यस वर्ष देशको आर्थिक वृद्धिदर केही सुस्त हुने अनुमान गरिएको छ । क्यापिटल इकोनोमिक्सका वरिष्ठ एशिया अर्थशास्त्री ग्यारेथ लेदरले भने, ‘कमजोर विश्वव्यापी माग, उच्च मुद्रास्फीति र उच्च ब्याज दरले गतिविधि खुम्चिएकोले यस बर्ष आर्थिक वृद्धि दरमा थप कमजोरी आउनसक्ने देखिन्छ ।’ आगामी त्रैमासिकहरूमा वृद्धि अझ सुस्त हुने अनुमान गरिएको छ । रासस
सिरियाको भूकम्पमा ११० भन्दा बढीको मृत्यु
बेरुत । दक्षिणपूर्वी टर्कीको टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएकोे छ । भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि एक स्थानीय अस्पतालले एएफपीसँगको कुराकानीमा सिरियाली टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा महशुस गरिएको थियो ।
टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प
काठमाडौं । टर्कीको दक्षिण–पूर्वी स्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ । सिरियासँगको सीमा नजिकै गएको उक्त भूकम्प ७.८ रेक्टरस्केल (म्याग्निच्युड मापन) गरिएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको बीबीसीले जनाएको छ । कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । करिब १५ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।