भारतमा संक्रमितको सङ्ख्या ८ लाख नाघ्याे, एकैदिनमा २७ हजार बढी
काठमाडाैं । भारतमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ८ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ८ लाख २० हजार ९ सय १६ जना संक्रमित भएका छन् । ती मध्ये २७ हजार १ सय १४ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा संक्रमित भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भारतभरी कोरोना भाइरसका कारण ५ सय १९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । देशभरी कुल संक्रमितमध्ये २ लाख ८३ हजार ४ सय ७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी ५ लाख १५ हजार ३ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २२ हजार १ सय २३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै २ लाख ३८ हजार ४ सय ६१ जना संक्रमित हुदाँ दोस्रो धेरै संक्रमित भएको तमिल नाडुमा १ लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा १ लाख ९ हजार १ सय ४० जना संक्रमित भएका छन् । विश्वभरीको तथ्यांक हेर्दा भारत तेस्रो धेरै संक्रमितहरु रहेको देशमा पर्दछ । भारतमा भन्दा धेरै अमेरिका र ब्राजिलमा संक्रमित रहेका छन् । निको भई घर फर्किनेको सङ्ख्या ६२.४२ प्रतिशत, मृत्यु दर २.७२ प्रतिशत भारतमा कोभिड–१९ संक्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्यु दर २.७२ प्रतिशतमा झरेको बताइएको छ । देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ । निको भई घर फर्किनेको सङ्ख्या राष्ट्रिय तथ्याङ्कभन्दा बढी हुने राज्यहरू, पश्चिम बङ्गालमा ६४.९४ प्रतिशत, उत्तर प्रदेशमा ६५.२८ प्रतिशत, उडिसामा ६६.१३ प्रतिशत, मिजोराममा ६७.५१ प्रतिशत, झारखण्डमा ६८.०२ प्रतिशत, पञ्जाब ६९.२६ प्रतिशत, बिहार ७०.४० प्रतिशत, गुजरात ७०.७२ प्रतिशत,मध्य प्रदेह ७४.८५ प्रतिशत, हरियाणा ७४.९१ प्रतिशत, त्रिपुरा ७५.३४ प्रतिशत, राजस्थान ७५.६५ प्रतिशत, दिल्ली ७६.८१ प्रतिशत, चण्डीगढ ७७.०६ प्रतिशत, छत्तीसगढ ७८.९९ प्रतिशत, उत्तराखण्ड ८०.८५ प्रतिशत, लद्दाख ८६.७३ प्रतिशत र हिमाञ्चल प्रदेश ७४.२१ प्रतिशत रहेको छ । त्यस्तै संक्रमित मृत्यु भएको राष्ट्रिय औसत तथ्याङ्क २.७२ प्रतिशतभन्दा कम हुने राज्यहरूमा मणिपुर, नागाल्याण्ड, मिजोराम, सिक्किम, त्रिपुरा, दादरालगायत रहेका छन् । सङ्क्रमण दर दुई प्रतिशतभन्दा बढी रहेका राज्यहरूमा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, तामिलनाडू, जम्मू–कश्मिर, कर्नाटक, हरियाणा रहेका छन् । भारतभर १ हजार २ सय १८ कोभिड–१९ विशेष अस्पताल, दुई हजार ७०५ कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३ सय १ सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा विगत २४ घण्टामा दुई लाख ८३ हजार ६ सय ५९ शङ्कास्पद नमूनाको परीक्षण भएको र अहिलेसम्म १ करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । रासस/एएनआई
भारतीय जी न्यूजका सम्पादक चाैधरीले नेपालीसँग माफी मागे
काठमाडाैं । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीले माफी मागेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमा ट्वीट गर्दै माफि मागेका हुन् । नेपालमा भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि आपत्तिजनक अभिव्यक्ति दिएका उनले माफि मागेका हुन् । नेपालविरुद्ध भारत सरकारले कुनै कारवाही गर्नै परेन, सेना प्रयोग गर्नै परेन भारतीय मिडियासँग नै डरायो, टीभी एंकरसँग नै डरायो नेपालु भन्ने आशयको ट्वीट चौधरीले बिहीवार गरेका थिए । उक्त ट्वीटको नेपालमात्र होइन भारतमा समेत तीव्र आलोचना भएपछि चौधरीले ट्वीट डिलिट गर्दै माफी पनि मागेका छन् । उनले ट्वीटमार्फत भनेका छन्, ‘मेरो ट्वीटका कारण नेपालस्थित हाम्रा दर्शकलाई चोट पुग्यो । भारतमा पनि धेरैले मलाई भन्नुभयो कि– यो ठीक भएन । शायद हुनसक्छ, मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएँ । यो अभिव्यक्तिको मञ्च हो, न कि कसैलाई चोट पुर्याउने । त्यसकारण खेद प्रकट गर्दै उक्त ट्वीटलाई हटाउँदै छु ।’ उनकाे ट्वीट यस्ताे छ: https://twitter.com/sudhirchaudhary/status/1281480630933413888?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1281480630933413888%7Ctwgr%5E&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F112578%2F2020%2F7%2F10%2Fzee-news
भारतमा कोभिड संक्रमण निको हुने दर ६१.५३ प्रतिशत
दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड -१९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको जनाइएको छ । यहाँ गएको २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका बुधबार बिहान प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार दिइएको जानकारीमा यहाँ गएको २४ घन्टामा २२ हजार ७ सय ५२ जना संक्रमित भेटिएका हुन् । योसँगै यहाँका संक्रमितहरुको संख्या बुधबार बिहानसम्ममा ७ लाख ४२ हजार ४ सय १७ जना पुगेका छन् । यी संक्रमितहरुमा भारतमा ४ लाख ५६ हजार ८ सय ३० जना संक्रमितहरु निको भएर घर फर्किएका सो मन्त्रालयले जानकारी दिएको छ । अझै पनि भारतमा २ लाख ६४ हजार ९ सय ४४ जना संक्रमितहरु अहिले रहेका छन् । उनीहरुमध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा पनि रहेका छन् । यहाँ २० हजार ६ सय ४२ संक्रमितको निधन भएको छ । गएको २४ घन्टामा मात्र यहाँ ४ सय ८२ जनाको ज्यान गएको बताइएको छ । योसँगै भारतमा कोभिड १९ को संख्या हेर्दा करिब ६१।५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दै गएको जनाएको छ । साथै पछिल्ला दिनहरुमा परीक्षणको संख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ । रासस/एएनआई