दुई जहाज आकाशमै ठोक्किए

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको बताइएकाे छ । दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ । पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ । एजेन्सी

श्रीलङ्कामा कार्यवाहक राष्ट्रपतिले गरे सङ्कटकाल घोषणा

कोलम्बो । श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यवाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गरेका हुन् । उनले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गरेकाे समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए । सोही बमोजिम राष्ट्रपति विक्रमासिंघेले सोमबार एक विशेष सूचनामार्फत् देशव्यापी रुपमा सोमबारदेखि नै लागू हुनेगरी सङ्कटकालको घोषणा गरेकाे बताइएको हो । उता श्रीलङ्काली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । जुलाई २० मा यहाँको संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मङ्गलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका छन् । यहाँका राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन् । त्यसपछि यहाँको कार्यवाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका हुन् । श्रीलङ्का पछिल्लो समयमा आर्थिक सङ्कटमा फसेको छ । देश आर्थिक सङ्कटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।

इरानमा कोभिडको सातौँ लहर

तेहरान । इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्। आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले सबै इरानीहरुलाई कोभिड खोपको बुस्टर मात्रा लिन र महामारीबाट बच्नका लागि आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन्। स्वास्थ्यमन्त्री बहरामले आइतबार पाँच हजार ७०० भन्दा बढी नागरिकमा कोभिडको सङ्क्रमण देखा परेको र १३ जनाको ज्यान गएको बताएका छन्। ती नयाँ संक्रमितहरुमध्ये ६ सयभन्दा बढीलाई अस्पताल भर्ना गर्नु परेको जानकरी पनि उनले दिएका छन् । इरानमा अहिलेसम्म ७२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने एक लाख ४१ हजारभन्दा बढी नागरिकको ज्यान गइसको छ । रासस/सिन्ह्वा