विश्वकै सबैभन्दा ठूलो गुलाबी हिरा रूसबाट बिक्री गरिने, मूल्य कति ?

मस्को । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ । रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समय अनुसार सोमबार जानकारी गराएका हुन् । ‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य दुई करोड ३० लाखदेखि तीन करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्रसले जनाएको छ । लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ । “यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो, यस उत्कृष्ट धातुको बारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निश्कर्ष निकालेको थियो,” विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ । रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो । हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलो पटक सार्वजनिक गरिएको थियो । रासस/एएनआई

स्नायु प्रणालीमा समस्या देखिएपछि कोभिड–१९ खोपको परीक्षण स्थगित

न्यू ब्रन्सवीक/ कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणका क्रममा सहभागीमा कुनै किसिमको स्वास्थ्य समस्या आउनु स्वाभाविक रहेको जनाएको छ । खासगरी खोपमा सहभागीहरुको ठूलो संख्या भएपछि एकाध व्यक्तिमा स्वास्थ्य समस्या देखिन्छ, कम्पनीले भनेको छ । कम्पनीका फिजिसियन र सुरक्षा अनुगमन समूहले ती व्यक्तिमा देखिएका स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्ने बताएको छ । खोप लगाएका व्यक्तिको निजी गोपनीयताको संरक्षण गर्ने भन्दै कम्पनीले ती व्यक्तिका बारेमा केही बताएको छैन । अमेरिकामा ठूलो संख्याका व्यक्तिमा यो खोप लगाइएको छ । ठूलो मेडिकल अध्ययनमा अस्थायी रोकावटलाई सामान्य रुपमा लिइने गरिन्छ । कम्पनीहरुले औषधिको परीक्षणका क्रममा व्यक्तिमा देखिने गम्भीर वा अनपेक्षित प्रतिक्रियालाई अनुसन्धान गर्नुपर्ने हुन्छ । जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको सम्बन्धी पहिलो समाचार स्ट्याटले दिएको थियो । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा तयार पारेको खोपको अन्तिम चरणको परीक्षण अहिले अमेरिकामा रोकिएको छ । अमेरिकी अनुसन्धाताहरुले खोपले मानिसमा कुनै स्वास्थ्य जोखिम निम्त्याउने हो वा होइन भन्ने अध्ययन गरिरहेका छन् । अस्ट्राजेनिका–अक्सफोर्डको खोप लगाएकी एक महिलामा स्नायुप्रणालीमा समस्या आएपछि खोप परीक्षण स्थगित गरिएको थियो । तर यस खोपको परीक्षण अन्य मुलुकमा जारी रहेको छ । जोन्सन एन्ड जोन्सनले खोपको एक डोजले नै कोरोनाभाइरसबाट सुरक्षा दिने गरी तयार पारेको आफ्नो खोपमा ६० हजार व्यक्तिलाई सहभागी गराउने लक्ष राखेको छ । अमेरिकाका अन्य कम्पनीले भने कोरोनाभाइरसबाट सुरक्षित राख्न व्यक्तिलाई खोपको दुई डोज लगाउने गरी खोप निर्माण गरिरहेका छन् । रासस

लिलाम सम्बन्धी सिद्धान्त र ढाँचा निर्माण गर्नेले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

नोबेल पुरस्कार घोषणा हुनेक्रममा सोमबार आर्थिक क्षेत्रबाट पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको छ । पुरस्कार छनौट समितिले गरेको निर्णयअनुसार यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बि विल्सनलाई दिइने भएको हो । उनीहरुलाई लिलामसम्वन्धी सिद्धान्तमा सुधार गरेको र लिलामसम्वन्धी नयाँ रूपरेखा (फम्र्याट) बनाएकोले पुरस्कारका लागि छनोट गरिएको नोबेल एकेडेमीको भनाइ छ । उनीहरुले सुधार गरेको सिद्धान्त र नयाँ फर्म्याटको प्रयोगले विश्वभरीका विक्रेता, क्रेता र करदाता लाभान्वित हुने एकेडेमीले जनाएको छ । उनीहरुलाई पुरस्कार स्वरुप ११ लाख अमेरिकी डलर र स्वर्ण पदक प्रदान गरिने एकेडेमीका अधिकारीहरुले जानकारी दिएका छन् । अल्फ्रेड नोबेलको स्मृतिमा हरेक बर्ष प्रदान गरिदै आएको अर्थशास्त्रतर्फको पुरस्कारलाई “स्भेरियु रिक्सबैंंक प्राइज” पनि भन्ने गरिन्छ । सन् १९६९ देखि २०१९ सम्ममा यो पुरस्कारबाट ८४ जना पुरस्कृत भएका छन् । तीमध्ये दुई जना मात्रै महिला रहेका छन् । यसअघि नोवेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार भएको थियो भने चिकित्सा शास्त्र, रसायन शास्त्रलगायतका विभिन्न विधामा दिइने पुरस्कारहरुको पनि घोषणा भइसकेको छ । एजेन्सी