नेपालको लागि बेलायती अभिनेताले थाले मौन अभियान, हालसम्म पाँच हजार पाउण्ड बढी रकम उठ्याे

लण्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् । ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारदेखि थालनी गरेका अभियानमा हालसम्म पाँच हजार पाउण्डभन्दा बढी रकम उठिसकेको छ । २४ घण्टा चुप लागेर बस्दा राम्रै अनुभूति भए पनि आफ्ना समर्थकहरूसँग बोल्न नपाएकामा अब बोल्न पाइएको बताए । बेलायतको सरे शहरमा रहेको आफनो घरमा मौन समय बिताएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । जस्ट गिभिङ नामक परोपकारी वेबसाइटमार्फत रकम सङ्कलन गरेका ब्रायनले नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको र तीनपटकसम्म सगरमाथा चढ्न गरेको प्रयासको त्यो क्षण सम्झनलायक रहेको बताए । फ्यज नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निकटताको सम्बन्ध बढ्दै गएको बताउने ब्रायनले नेपाललाई परेको यो सङ्कटमा सबैले साथ दिन अनुरोध गरेका छन् । उनको अभियानबाट जुन महिनाको २५ तारिखसम्म जति रकम सङ्कलन हुन्छ त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिने हुँदा यो रकमले यो सङ्कटमा केही भए पनि सहयोग पुग्ने उनको धारणा छ । यसरी उठेको रकम आफू संरक्षक रहेको फ्यज संस्थामार्फत प्रदान गरिने बताएका छन् । रासस

१० महिनामा १९.२ प्रतिशतले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या घट्यो

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दश महिनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत बैशाख मसान्तसम्ममा रेमिट्यान्स रकम साे मात्राले बढेर ८०९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।

सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु

न्युयोर्क । सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो । तर गत वर्षको भन्दा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको एक समाचारमा जनाइएको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलले यो समाचार दिएको हो । अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै विश्वमा कोभिडबाट धेरै मानिसको ज्यान गएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ ।सो विश्वविद्यालयले विश्वका कैयौं देशमा अहिले खोपको आविष्कार भएर खोप लगाउने थालिएको भए पनि यस वर्ष लागेपछि मानिसहरुको ज्यान जाने क्रम भने रोकिएको छैन भनेको छ । कोभिडबाट भएको यो मृत्युको संख्या हेर्दा अहिले पनि संसारका कैयौँ स्थानमा कोभिडको महामारीले मानिसको ज्यान लिने क्रम भने नरोकिएको देखिएको सो विश्वविद्यालयले जनाएको छ । रासस/सिन्ह्वा