चीनद्वारा अन्तर महादेश उड्न सक्ने ड्रोनको विकास
एजेन्सी । चीनले ‘विङ लङ थ्री ड्रोन’को विकास गरेको छ । जसले अन्तरमहादेश स्तरमा उडान भर्न सक्छ । सो ड्रोनले बम, मिसाइल बोकेर आकाशबाट नै प्रहार गर्न सक्छ । सो ड्रोनलाई पहिलोपटक दक्षीण चीनको ग्वाङडोङ प्रान्तमा नोभेम्वर ८ देखि १३ सम्म आयोजना गरिएको ‘एयर सो २०२२’ मा पदर्शन गरिएको थियो । ग्लोबल टाइम्सका अनुसार ‘विङ लङ थ्री ड्रोन’ ले अन्तर महादिप उडान भर्नका साथै लामो फौजी मिसन सञ्चालन गर्न समेत सक्षम रहेको छ । अन्य घरेलु तथा विदेशी ड्रोनको तुलनामा ‘विङ लङ थ्री ड्रोन’ धेरै गह्रौं भएको यसका चिफ डिजाइनर झोउ यी ले ग्लोबल टाइम्सलाई बताएका छन् । झोउका अनुसार ‘विङ लङ थ्री ड्रोन’ प्रयोगकर्ताहरुको माग, विकसित प्रविधिको प्रयोग र विश्वमा प्रतिद्वन्दीलाई ख्याल गरेर बनाइएको हो ।
बेलायतका राजा चार्ल्समाथि अण्डा प्रहार गर्ने पक्राउ
काठमाडौं । योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ । राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले ‘यो देश दासको रगतले बनेको हो,’ नारा लगाएका थिएभने भीडले ‘भगवान्ले राजालाई बचाऊन् नारा लगाएको थियो ।’ राजा चाल्र्स नाराबाजीबाट प्रभावित हुनभएन बरू उनी ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमिरहे । राजा चाल्र्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए । यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चाल्र्सको विरोध गरेका थिए । बेलाइतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेकाबेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् । रासस
म्यानमारमा तीन करोड ७० हजार नागरिकले कोभिड १९ विरुद्धको खोप लिए
काठमाडौं । म्यानमारमा कोरोना भाइरसविरुद्ध लड्न तीन करोड ७० लाख व्यक्तिले खोप लगाएका यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती मध्ये तीन करोड ७२ हजार व्यक्ति १८ वर्ष भन्दा माथि रहेका र छ लाख ७० हजार व्यक्ति १८ वर्ष भन्दा कम उमेरका रहेका जनाइएको छ । पछिल्लो २४ घण्टामा थप ७० जना कोरोना सङ्क्रमित थपिएपछि म्यान्मारमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६ लाख ३२ हजार चार सय ६१ पुगेको छ ।स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा ९ हजार नौ सय ४३ जनामा कोभिड–१९ परीक्षण भएको र दैनिक पोजिटिभ दर ०।७ प्रतिशत रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण कसैको पनि मृत्यु नभएको जनाइएको छ । कोरोना शुरुभएबाट हालसम्म कोरोना सङ्क्रमणको कारण १९ हजार चार सय ८६ व्यक्तिको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।