को हुन् अलिबाबाका मालिक ज्याक मा ? यस्ता छन् व्यवसाय सफल पार्ने उनका टिप्स

काठमाडौं । विशाल चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाका मालिक ज्याक मा १५ दिनको पर्यटक भिसा लिएर मंगलबार नेपाल आएका छन् । विशाल ई–कमर्स प्लेटफर्मका मालिक ज्याक मा विश्वभर नै चर्चित व्यक्ति हुन् । चिनीयाँ खर्बपति नेपाल आएसँगै उनीप्रति धेरैको चासो बढेको छ । सन् १९६४ मा चीनको सिजियाङ प्रान्तको होङझाओमा जन्मिएका ज्याक मा निकै ठूलो संघर्ष पश्चात् वर्तमान पहिचान बनाउन सफल भएका हुन् । ज्याकमाले १२ वर्षको उमेरमा नै खल्तीमा राख्ने रेडियो किनेर अंग्रजी रेडियो सुन्ने गर्दथे । युवा अवस्थामा ज्याक मा ले अंग्रेजी भाषामा अभ्यास गरेर आफूलाई निकै पोख्त बनाए । अंग्रेजी भाषा राम्रो भएका कारणले उनले केही समय अंग्रेजी स्पीकरको रुपमा होङझाओको एक होटलमा काम समेत गरे । माध्यमिक तहसम्मको अध्ययनको क्रममा उनी गणित विषयमा निकै कमजोर थिए । उनले चिनियाँ स्कुलको प्रवेश परीक्षामा गणित विषयमा जम्मा ३१ नम्बर ल्याए । सन् १९८२ मा राष्ट्रिय रुपमा भएको चाइनिज कलेज प्रवेश परीक्षामा ज्याक मा ले गणितमा जम्मा १ नम्बर ल्याएर फेल भएका थिए । त्यसपछि उनले होटलमा वेटर काम गर्नको लागि आफन्तसँगै आवदेन गरेकोमा उनी अस्वीकृत भए । उनले कलेज पढ्नको लागि दोस्रो पटकको प्रवेश परीक्षामा १९ नम्बर मात्रै ल्याएपछि उनलाई उनको परिवारले उच्च शिक्षा नपढेर फरक बाटो अपनाउन दबाब दियाे । तर, ज्याक माले तेस्रो पटक परीक्षा दिँदा गणितमा ८९ नम्बर ल्याउन सफल भए । त्यसपछि उनी कलेज पढ्दै जाँदा होङझाओ साधारण विश्वविद्यालयको पाचौँ उत्कृष्ट विद्यार्थी बन्न सफल भए । साथै उनी विद्यार्थी युनियनको अध्यक्षमा चुनिए । उनी होङझाओको विद्यार्थी फेडेरेसनको दुई कार्यकालसम्म नेतृत्वमा आउन सफल भए । बाल्याव्स्थामा ज्याक मा । ज्याक माले सन् १९८८ मा अंग्रेजी विषयबाट स्नातकोत्तर तहको अध्ययन पूरा परे । त्यसपछि उनले होङझाओको डिनाझी विश्वविद्यालयमा पढाउन पनि शुरु गरे भने सो सँगै हावर्ड बिजनेस स्कुलमा १० पटकसम्म आवेदन गरेपनि उनी अस्वीकृत भए । ज्याक माको व्यवसायिक जीवन ज्याक माले स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि विभिन्न ३१ वटा प्रवेश तहको रोजगारीमा आवेदन गरे । तर, उनले ती सबै ठाउँबाट असफलता मात्रै हात पार्नु परेको थियो । उनले त्यतिबेला नै विश्वको चर्चित फ्रेन्चाइज कम्पनी केएफसीमा पनि आवेदन दिए । सो कम्पनीले पनि उनलाई अयोग्य भनेर अस्वीकृत गर्याे । सोही समयमा चीनमा देङ स्याओ पिङको आर्थिक क्रान्तिको अभियान सञ्चालन भएको थियो । सन् १९९४ मा आफ्नै एउटा इन्टरनेटसँग सम्बन्धित अनलाईन चाइनिज भाषानुवाद एजेन्सी पहिलो कम्पनीको रुपमा शुरुवात गरे । सन् १९९५ मा उनी पहिलोपटक अमेरिका गए । सो क्रममा उनले आफ्ना साथीमार्फत इन्टरनेटको विषयमा थाहा पाए । सोही वर्ष उनी एकजना साथीसँग मिलेर दोस्रो कम्पनी दर्ता गरे । उनले चाइनापेजेज डटकम भन्ने वेबसाइट अमेरिकामा दर्ता गरेर वेबसाइट बनाए । सन् १९९८ देखि १९९९ सम्म आउँदा उनले चाइना इन्टरनेशनल इलेक्ट्रोनिक कमर्स सेन्टर र मिनिस्ट्री अफ फरिन ट्रेड इकोनोमिक को–अप्रेसन विभागको नेतृत्व गरिसकेका थिए । सन् १९९९ मा उनी आफ्नै जन्मभूमी होङझाओ फर्किएर १८ जना साथीसँग मिलेर अलिबाबाको स्थापना गरे । सन् १९९९ को अक्टोबरबाट सन् २००१ को जनवरीसम्म आउँदा अलिबाबाले अमेरिकन इन्भेस्टमेन्ट बैंक, गोल्डम्यान सच र जापानीज इन्भेस्टमेन्ट म्यानेजमेन्ट कङलोमिरेट सफ्ट बैंकबाट २५ मिलियन डलर पुँजी प्राप्त गर्न सफल भएको थियो । सन् २००१ मा चीन विश्व व्यापार संगठनको सदस्य बन्यो । ज्याक मा ले अलिबाबालाई विश्वको इ–कमर्स प्लेटफर्मको रुपमा विकास गर्न खोजे । सन् २००३ बाट उनले टोबाको मार्केटप्लेस, अलिपे, अलि मा जस्ता कम्पनीहरुको पनि स्थापना गरे । उनका कम्पनीहरुलाई अमेरिकन कम्पनीहरुले महंगो मूल्यमा खरिद गर्ने प्रस्ताव गरेका थिए, तर मा ले सो प्रस्तावलाई स्वीकार गरेनन् । अलिबाबा अहिले चीनको मात्रै नभएर विश्वकै ठूलो इ–कमर्स होल्डिङ कम्पनीको रुपमा स्थापित भएको छ । जोसँग टोबाको मार्केटप्लेस, टीमाल, इटाओ, अलिबाबा क्लाउड कम्प्युटिङ, झुहुसुआन, सिक्सटिनएटीएट, अलिएक्सप्रेस र अलीपे छन् । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ज्याक मा । सन् २०१२ सम्म आइपुग्दा अलिबाबाको अनलाईन कारोबार एक ट्रिलियन युआन पुग्न सफल भएको थियो । रिपोर्टहरुका अनुसार सन् २०१६ मा अलिबाबाले न्युयोर्क स्टक एक्सचेन्ज मार्फत आइपिओको माध्यमबाट २५ बिलियन अमेरिकन उठाउन अफर गरेको थियो । सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० लाख रोजगारी सिर्जना गर्ने विषयमा ज्याक मासँग भेटघाट गरेर छलफल गरेका थिए । सन २०१८ मा ज्याक माले अर्को वर्षमा अलिबाबा होल्डिङको कार्यकारी अध्यक्ष छोड्ने र फाउन्डेसन मार्फत् परोपकारमा लाग्न चाहेको बताएका थिए । त्यसपछि उनले सन् २०२० अक्टोबर १ मा अलिबाबामा रहेको आफ्नो पदीय जिम्मेवारीबाट बाहिरिए । अलिबाबा होल्डिङ्सले अहिले वर्षेनी रुपमा आफ्ना विभिन्न कम्पनीहरुको माध्यमबाट खरबौं रुपैयाँ आम्दानी गर्ने गरेको छ भने लाखौं मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगार दिएको छ । तर, सन् २०२० देखि अलिबाबाका मालिक ज्याक मा भने सार्वजनिक रुपमा लामो समयसम्म देखिएनन् । पछिल्लो समयमा भने उनी विश्वका विभिन्न ठाउँमा विभिन्न सन्दर्भमा देखिने गरेका छन् । ज्याक माले अलिबाबा स्थापनादेखि त्यसको विकासमा देखाएको जस्तो प्रत्यक्ष सक्रिय भूमिका नभएर अप्रत्यक्ष रुपमा सक्रिय भइरहेको विभिन्न सञ्चारमाध्यम र विश्लेषकहरुले उल्लेख गरेका छन् । सामान्य परिवारमा जन्मिएर धेरै असफलताबाट पाठ सिक्दै विश्वकै ठूलो इ–कमर्स प्लेटफर्मका मालिक बन्न सफल भएका ज्याक मा धेरै मानिसहरुका लागि उत्प्रेरणाको स्रोत समेत बनेका छन् । ज्याकका अनुसार कुनै व्यवसाय सुरु गर्दाको सबैभन्दा राम्रो प्लान भनेकै कुनै पनि प्लान नै नहुनु हो । अहिले बसेर सोँच्नका लागि कुनै फुर्सद नै हुँदैन । उनले व्यवसायमा हरेष खान नहुने सल्लाह दिन्छन् । व्यवसायमा सफल हुनका लागि सबैसँग अवसर हुने बताउँदै उनले बिचमै हरेष खान नहुने धारणा राख्छन् । व्यवसायमा सही मान्छेको छनोट गरेर अगाडि बढ्नु पर्ने उनको सुझाव दिन्छन् ।

श्रीलंकाको वित्तीय बजार ५ दिनसम्म बन्द

काठमाडौं । श्रीलंकाको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलंकाका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् । श्रीलंकाले गत वर्षको अप्रिलमा आर्थिक संकट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि मार्चमा सहमति भएको आईएमएफको ‘बेलआउट प्याकेज’को अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेको छ । एक संसदीय अधिकारीका अनुसार ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूको मङ्गलबार बैठक बस्ने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेका अनुसार अधिकारीहरूले बिहीबार र सोमबार पर्न गएको पर्व बिदाको अतिरिक्त शुक्रबार बिदा दिन आदेश दिएका छन् । उनले स्थानीय टेलिभिजन नेटवर्कसँग भने,’ऋण पुनर्संरचनाको बारेमा संसदमा छलफल भइरहेको बेला बजार खुला रहनु अस्वस्थकर हुनेछ ।’ उनले भने, ‘संवेदनशील ऋण पुनर्संरचनाको बारेमा छलफल हुँदा बजारले काम गर्नु हुँदैन । हामी आशा गर्छौं कि यो पाँच दिनभित्र पुनर्संरचना प्रक्रिया पूरा हुनेछ । यो निर्णयले व्यक्तिको निक्षेपमा कुनै असर पर्ने छैन, तर वाणिज्य बैंक र पेन्सन फण्डको ट्रेजरी बिल र ऋणपत्रको पुनर्संरचना गर्ने सरकारको योजना छ ।’ चार वर्षे २.९ अर्ब अमेरिकी डलरको आईएमएफ उद्धार प्याकेजलाई निरन्तरता दिन सरकारले आफ्ना विदेशी ऋणदाताहरूसँग बाह्य ऋणको पुनर्संरचनाका लागि वार्ता गरिरहेको छ । सरकारले गत अगष्टसम्ममा वैदेशिक ऋण पुनर्संरचनाको अपेक्षा गरेको थियो, तर देशको मुख्य द्विपक्षीय ऋणदाता चीनले सुरुमा कटौती गर्न अनिच्छुक भएको र यसको सट्टा पुरानो ऋण तिर्न थप कर्जा प्रस्ताव गरेको थियो । कुल वैदेशिक ऋणको १४ अर्ब डलरभन्दा बढी विदेशी सरकारहरूको द्विपक्षीय ऋण छ भने यसको ५२ प्रतिशत चीनलाई तिर्नुपर्छ । आईएमएफको शर्तअनुसार सरकारले आफ्नो खातालाई सन्तुलित बनाउन र टापु राष्ट्रको सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निस्कनका लागि आफ्नो आन्तरिक र विदेशी ऋण सेवालाई आधाभन्दा बढी घटाउनुपर्छ । गत वर्षको शुरुमा अत्यावश्यक वस्तुको आयातका लागि समेत भुक्तानी गर्न विदेशी मुद्राको अभाव भएको थियो जसका कारण खाद्यान्न, इन्धन र औषधिको नसोचिएको (अकल्पनीय) अभाव भएको थियो । अर्थव्यवस्थाको कुव्यवस्थापनको विरोधमा महिनौंसम्म चलेको विरोधप्रदर्शनका कारण जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई अपदस्थ गरिएको थियो । राजापाक्षका उत्तराधिकारी, छ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन प्रदर्शनमाथि कडा कदम चालेका छन्, मूल्य वृद्धि गरेका छन्, अनुदान खारेज गरेका छन् र कर दोब्बर पारेका छन्। यसै महिनाको सुरुमा आईएमएफले श्रीलंकाको अर्थतन्त्रमा ‘सुधारका अस्थायी सङ्केतहरू’ देखापरेको तर सुधार चुनौतीपूर्ण रहेको र कोलम्बोले पीडादायी सुधारहरू अघि बढाउनुपर्ने बताएको थियो । रासस

बङ्गलादेशी इस्लामिक लडाकू समूहका प्रमुख पक्राउ, होला त शान्ति ?

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा रहेको एक इस्लामिक सङ्गठनका नेतालाई प्रहरीले पक्राउ गरेको छ । देशको अशान्त चटगाउँ पहाडी क्षेत्रमा लडाकू प्रशिक्षण शिविर सञ्चालन गर्न सहयोग गरेको आरोप लागेका जमात अल अन्सार फिल हिन्दल शारकियाका संस्थापक शमिन महफुजलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महफुजलाई शुक्रबार राति राजधानीको एक औद्योगिक उपनगरबाट उहाँकी श्रीमतीसहित पक्राउ गरिएको थियो । उनीहरू पेस्तोल, विस्फोटक पदार्थ र बम बनाउने सामग्रीसहित फेला परेका थिए । ‘महफुजविरुद्ध आतङ्कवाद विरोधी मुद्दा दायर गरिएको छ, ढाका नगर प्रहरी काउन्टर, आतङ्कवाद नियन्त्रण एकाइका मोहम्मद असदुज्जमानले पत्रकारहरूसँग भने, ‘हामी उहाँसँग सोधपुछ गर्नका लागि उहाँलाई १० दिनको लागि हिरासतमा लिएका हौँ ।’ महफुजका वकिलहरूसँग टिप्पणीका लागि सम्पर्क हुन सकेन । असदुज्जमानका अनुसार शारकियाका संस्थापकलाई सन् २०१४ मा पहिलो पटक हिरासतमा लिइएको थियो र जेलमा रहँदा उनी अन्य प्रतिबन्धित चरमपन्थी समूहको सम्पर्कमा आएका थिए । प्रहरीका अनुसार महफुजले सङ्गठनलाई क्रिश्चियन जातीय समूह, कुकी–चिन नेसनल फ्रन्ट (केएनएफ), द्वारा सञ्चालित प्रशिक्षण शिविरहरू प्रयोग गर्नका लागि मध्यस्थता गरेको थियो । गत अक्टोबरमा देशको विशिष्ट ‘¥यापिड एक्सन बटालियन’ ले भारतीय सीमा नजिकका तीन दुर्गम पहाडी शहरहरूमा केएनएफ र शारकिया शिविरहरूमा आक्रमण गरेको र दर्जनौं मानिसहरूलाई गिरफ्तार गरेको बताएको थियो । यस कारबाहीका कारण सयौं गाउँलेहरू सीमापारी भाग्न र उत्तरपूर्वी भारतीय राज्य मिजोरममा शरण लिन बाध्य भएका थिए । केएनएफ र बङ्गलादेशी सेनाबीच पछिल्लो चार महिनामा भएको झडपमा कम्तीमा पाँच सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । केएनएफले भने गत वर्ष एक फेसबुक पोस्टमा शारकियासँग कुनै पनि सम्बन्ध अस्वीकार गरेको थियो । करिब एक दर्जन नास्तिक लेखक, धर्मनिरपेक्ष र समलिंगी अधिकारकर्मी र अल्पसङ्ख्यकको ज्यान जाने गरी भएको शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणपछि बङ्गलादेशको सुरक्षा बलले गत दशकमा इस्लामी अतिवादीहरूविरुद्ध देशव्यापी अभियान चलाएको थियो । सन् २०१६ मा ढाकाको एक रेष्टुरेन्टमा इस्लामिक स्टेटसम्बद्ध समूहका सदस्यले १७ जना विदेशीसहित २२ जना सर्वसाधारणको हत्या गरेका थिए । बङ्गलादेश प्रहरीले चरमपन्थीहरूको लुकेका स्थानहरूमा राष्ट्रव्यापी छापामा १०० भन्दा बढी व्यक्तिहरूलाई गोली हानेर मारेको छ र हजारौं कथित चरमपन्थी समूहका सदस्यहरूलाई गिरफ्तार गरेको छ ।