जो बाइडनका छोरा हन्टरद्वारा आयकर नतिरेको स्वीकार
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले सङ्घीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको स्वीकार गरेका छन् । हन्टर बाइडेनले आफ्नो गृह राज्य डेलावेयरस्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयसँगको निवेदनमा आफू लागुऔषध प्रयोगकर्ता भएको र बन्दुक राखेको स्वीकार गरेका हुन् । हन्टर बाइडेन र अमेरिकी अभियोजकहरूबीच भएको सम्झौतालाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले मङ्गलबार आफ्ना छोरा हन्टरलाई अभियोग स्वीकार गरेकोमा स्यावासी दिएका छन् । ‘राष्ट्रपति र प्रथम महिलाले आफ्नो छोरालाई माया गर्छन् र उसलाई सहयोग गर्छन् किनकि उसले आफ्नो जीवनको पुन ः र्निर्माण जारी राख्छ, हामीले थप कुनै टिप्पणी गर्ने छैनौं,’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु
भारत । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो । उत्तर प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला बलिया हो । बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, ‘सबै व्यक्ति केही न केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरुको अवस्था बिग्रिएको थियो । बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो ।’ यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा ४०० जनालाई भर्ना गरिएको उनले बताउनुभयो । गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएको बिरामीले गुनासो गरेका थिए । जिल्ला प्रशासनका अनुसार बिरामी र कर्मचारीलाई गर्मीको जोखिम हुन नदिन सरकारी अस्पतालमा पङ्खा, एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ । बिरामीको चापका कारण अस्पतालमा चिकित्सक र प्यारामेडिकल स्टाफको सङ्ख्या बढी रहेको छ । रासस
युगाण्डाको एक विद्यालयमा आक्रमण, ३७ जनाको मृत्यु
एजेन्सी । इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आक्रमणलाई युगाण्डाका सेना र प्रहरी अधिकारीले एक दशकयताकै सबैभन्दा ठूलो आक्रमण गरी अधिकांश विद्यार्थीसहित ३७ जनाको हत्या गरेको शनिबार बताएका छन् । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आई गरेको आक्रमणपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको छ । अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा सक्रिय सबैभन्दा घातक समूहमध्ये एक एडीएफले राति अबेरसम्म गरेको निर्मम आक्रमणमा छात्रावासमा आगजनी गरेको र विद्यार्थीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका छन् । युगान्डा पिपुल्स डिफेन्स फोर्सेज (यूपीडीएफ) का प्रवक्ता फेलिक्स कुलाइगीले एक विज्ञप्ति जारी गर्दै भने, ‘दुर्भाग्यवश ३७ जनाको शव फेला परेको छ र उनीहरूलाई ब्वेरा अस्पतालको शवगृहमा पठाइएको छ ।’ आठ जना घाइते भएका छन् भने अन्य छ जनालाई आक्रमणकारीले अपहरण गरी कङ्गोको सीमामा रहेको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ लगेका छन् । यूपीडीएफले अपहरणमा परेका विद्यार्थीहरूलाई बचाउन अपराधीहरूको खोजी सुरू गरेको जनाएको छ । कासेसका लागि आवासीय आयुक्त जो वालुसिम्बीले एएफपीलाई बताएअनुसार मृतकमध्ये कम्तीमा २५ जना विद्यालयका विद्यार्थी भएको पुष्टि भएको छ । सन् २०१० मा कम्पालामा भएको दुईवटा बम विष्फोटमा सोमालियामा पूभाव रहेको अल–शबाब समूहले गरेको आक्रमणमा ७६ जनाको मृत्यु भएपछि युगान्डामा भएको यो सबैभन्दा घातक आक्रमण हो ।