अदालतको फैसलाले एप्पललाई ठूलो झट्का, कम्पनीको सेयर मूल्य ह्वात्तै घट्यो
काठमाडौं । अमेरिकाको संघीय अदालतको एउटा फैसलाले विश्वको प्रसिद्ध आईफोन निर्माता कम्पनी एप्पललाई ठूलो धक्का लागेको छ । शुक्रबार अदालतका न्यायाधीशले एप्पललाई आफ्नो एप स्टोरका नियमहरु केही सहज बनाउन आदेश दिएसँगै एप्पललाई ठूलो धक्का लागेको हो । न्यायाधीशले एप्पललाई एप डेभलपरहरुमा प्रतिबन्ध सहज बनाउन पनि आदेश दिएका छन् । एप्पल विरुद्द गत वर्ष फोर्टनाइटको निर्माता कम्पनी एपिक गेमले मुद्दा दायर गरेको थियो । जसको सुनुवाई शुक्रबार मात्रै भएको हो । सो एप स्टोरहरुमार्फत मनग्य आम्दानी गर्दै आएको कम्पनीका लागि अब व्यापारमा केही नोक्सान व्यहोर्नु पर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । अदालतको यो आदेशले कम्पनीले ठूलो रकम गुमाउन सक्ने प्रक्ष्येपण पनि गरिएको छ । अदालतको यो फैसलापछि एप्पलको शेयर शुक्रवार दिउँसो कारोबारमा दुई प्रतिशत भन्दा धेरै तल झरेको थियो । अदालतको यो निर्णयले कम्पनीको वार्षिक आम्दानीमा अरबौं डलरको घाटा हुन सक्ने अनुमान लगानीकर्ताको छ । हाल एप्पलले उसको स्टोरमा राख्ने एपमा ३० प्रतिशत कमिसन लिँदै आएको छ । अदालतको निर्णयले उपभोक्ताहरुलाई सहज हुुनेछ भने कम्पनीको आम्दानी घट्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा
तीन लाखलाई ठाउँ छोड्न जापान सरकारको आग्रह
टोकियो । जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ । देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो । आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् । अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् । रासस/एएनआई
कर्मचारीको तलब वृद्धि गर्न राष्ट्रपतिको निर्देशन
दमास्कस, सिन्ह्वा । सिरियाका राष्ट्रपति बशर अल असदले आइतवार जनतालाई डिजेल ईन्धन र रोटीको मूल्यवृद्धिले पारेको प्रभाबलाई सम्बोधन गर्नका लागि भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन दिएका छन् । सिरियाको राज्य सञ्चालित समाचार संस्था ‘साना’का अनुसार असदले राज्यका कार्यरत कर्मचारीका लागि ५० प्रतिशत र सेवानिवृत्तका लागि ४० प्रतिशत तलब वृद्धि गर्न आदेश दिएका हुन् । सिरियाली सरकारले सहुलियत दरको ईन्धनको मूल्यमा १७७ दशमलब ७ प्रतिशत र सहुलियत दरको पाउरोटीमा ५० प्रतिशतले मूल्य बढाएपछि यसको नागरिकस्तरबाट व्यापक विरोध भएको थियो । सरकारले मूल्यवृद्धि गरेर सामान्य जनजीवनमा प्रभाब परेको गुनासो जनस्तरबाट आएपछि राष्ट्रपतिले यसलाई सम्बोधन गर्न निर्देशन दिएका हुन् । सानाका अनुसार सिरियामा लगाइएको पश्चिमी प्रतिबन्धका साथै विश्वव्यापी उर्जा ईन्धनको मूल्य वृद्धिका कारण इन्धनको मूल्यमा वृद्धि भएको उनले बताए । सरकारी अनुमान अनुसार इन्धनको मूल्य वृद्धिका कारण यातायात सेवा क्षेत्रमा २५, कृषि क्षेत्रमा सात प्रतिशत मूल्यवृद्धि हुने देखिएको छ । यद्यपि सिरियाली मानव अधिकारवादी संस्थाहरूले भने इन्धन तथा पाउरोटीमा भएको मूल्यवृद्धिले घरायसी खर्चमामा १७८ प्रतिशत वृद्धि हुने जनाएका छन् । रासस