अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का
अफगानिस्तान । अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ । विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ । उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ । विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ ।यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन । रासस
युक्रेनीलाई बिजुली, पानीबाट वञ्चित गराउँदै रूस
किएभ । रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप ८० प्रतिशतभन्दा बढी किएभका जनता सोमबार बिजुली र पानीबाट वञ्चित हुनुपरेको थियो । रूसी आक्रमणका कारण देशका धेरै स्थानमा नागरिक प्रभावित भएका तथा सोमबार किएभको ८० प्रतिशतभन्दा बढी जनसङ्ख्याले पानी र बिजुली कटौतीको सामना गर्नुपरेको युक्रेनी अधिकारीले बताएका छन् । किभए नगरका प्रमुखले युद्धको चपेटामा परेको देशको परिस्थितिलाई दृष्टिगत गरी आफूलाई आवश्यक पर्ने पानीको भण्डारण एवम् व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गरेका छन् । किभएका अग्ला आवासीय भवनहरूमा पानी आपूर्तिमा कठिनाइ भएको छ । ब्ल्याक सीमा ड्रोन हमला गरेको बदलामा रूसले युक्रेनी पूर्वाधारलाई आक्रमण निशाना बनाएको हो । ब्ल्याक सी हमलालाई लिएर क्रमलिनले युक्रेनको बन्दरगाहबाट अनाजले भरिएका एक सय ७६ वटा जहाजलाई गन्तव्यतर्फ जान दिएको छैन । उसले युक्रेनमा मात्र नभइ विश्वभर खाद्य सङ्कटको जोखिम बढाएको छ । संयुक्त राष्ट्रसङ्घसँगको मध्यस्थतामा गरिएको अनाज आपूर्तिको सम्झौता रूसले अस्वीकार गरेपछि त्यसको विश्वव्यापीरूपमा आलोचना भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी अन्न बोक्ने जहाजहरूलाई सुरक्षित मार्ग नदिएकामा आपत्ति जनाउँदै त्यसलाई क्रेमलिनको अर्थहीन एवम् अपमानजनक कदम भनेका छन् । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले निर्णय फिर्ता लिन आग्रह गरेका छन्भने संयुक्त राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विश्व संस्था राष्ट्रसङ्घ रूसी अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन् । उनले अनाज आपूर्तिका प्रयासमा कुनै पनि पक्षबाट बाधा पु¥याउन नहुनेमा जोड दिएका छन् । रासस
विश्वकप २०२२ : लागत २२० अर्ब डलर, फिफाले साढे ६ अर्ब डलर कमाउने, दर्शकका लागि महँगो
काठमाडौं । फिफा विश्वकप २०२२ नोभेम्बर २० बाट सुरु हुँदैछ । हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो जुन एशियामा दोस्रो पटक आयोजना हुन लागेको हो । कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हो भने एसियामा विश्वकप दोस्रो पटक हुन लागेको हो । २९ दिनसम्म चल्ने यस प्रतियोगितामा ३२ राष्ट्रको सहभागितामा कुल ६४ खेल हुनेछन् । जसमध्ये ४८ लिग खेल हुनेछन् । यहाँ राम्रो प्रदर्शन गर्ने १६ टोलीले अर्को चरणमा प्रवेश गर्नेछन्, जुन डिसेम्बर ३ देखि ७ सम्म प्रतिस्पर्धा चल्नेछ । सबै टोलीलाई आठ समूहमा विभाजन गरिएको छ र लिग खेलपछि प्रत्येक समूहमा पहिलो दुई स्थानको शीर्ष १६ राउण्ड र त्यसपछि आठ टोलीबीच क्वाटरफाइनल खेल हुनेछ। सेमिफाइनल खेलहरू डिसेम्बर १४ र १५ मा हुनेछ। सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि डिसेम्बर १७ मा भिड्नेछन् भने प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । यस प्रतियोगितामा हुने ६४ खेल सातवटा रंगशालामा खेलाइनेछ । अहिलेसम्मकै महँगोविश्वकप आगामी नोभेम्बरबाट कतारमा हुन लागेको विश्वकप अहिले सम्मकै सर्वाधिक महँगो विश्व कपका रुपमा लिइएको छ । विश्वकपका लागि भैतिक संरचना निर्माणको काम सकिएको आयोजक राष्ट्रले जनाएको छ । यसभन्दा अगाडि रुसमा सम्पन्न विश्वकपको तुलनामा कतारमा हुन लागेको विश्वकपमा २० गुणा बढी खर्च भएको छ । रसियामा भएको विश्वकपमा १४.२ अर्ब डलर खर्च भएको थियो भने कतारमा हुन लागेको विश्वकपमा २२० बिलियन डलर खर्च हुने भएको छ । कतारले नयाँ स्टेडियम निर्माणका लागि मात्रै १० बिलियन डलर खर्च गरेको छ । यस्तै, सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ११.६ अर्ब डलर, सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपमा ३.६ अर्ब डलर, सन् २००६ मा जमर्नमा भएको खेलमा ४.६ अर्ब डलर र सन् २००२ मा दक्षिण कोरियामा भएको खेलमा कुल ७ अर्ब डलर खर्च भएको थियो । यस्तै, सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा २.३३ अर्ब डलर, सन् १९९४ मा अमेरिकामा भएको खेलमा ५० करोड डलर र सन् १९९० इटालीमा भएको विश्वकपमा ४ अर्ब डलर खर्च भएको थियो । सबै देशको भएको विश्वकपको तुलनामा २०२२ मा कतारमा हुने विश्वकप सबैभन्दा महँगो हुने देखिएको हो । एअर कन्डिसन युक्त रंगशाला विगतमा फिफाले प्रायःजसो जुन वा जुलाई महिनामा विश्वकपको आयोजना गर्ने गर्दथ्यो । कतारमा हुन लागेको विश्वकप भने नोभेम्बर २० बाट सुरु हुने भएको हो । विश्वकपका लागि ८ वटा रंगशाला निर्माण भएका छन् । मौसमलाई ख्याल गरेर विश्वकप खेलाउनका लागि निर्माण गरिएका रंगशालाहरुलाई एअर कन्डिसनयुक्त बनाइएको छ । यसरी पुरै रंगशालामा एअर कन्डिसन जडान गरिएको यो पहिलोपटक हो । फुटबलका फ्यानहरुलाई पनि महँगो कतारमा विश्कप हेर्न जान चाहने फ्यानहरुले टिकट, बसाई र जहाज भाडाको लागि झण्डै २० हजार डलर खर्च गर्नुपर्ने भएको छ । जसले गर्दा थोरै खर्च गरेर विश्वकप हेर्न जान चाहेका फ्यानहरुलाई निराश बनाएको छ । स्थानीय मानिसको लागि टिकटमा छुटको व्यवस्था गरिएको छ । तर, बाहिरी दशर्कहरुको लागि भने स्टेज टिकट कम्तिमा ७० देखि २२० डलर र नकआउट म्याचेच टिकट ६०० देखि १६०० डलर लाग्ने बताइएको छ । ८० प्रतिशत कोठा बुुक विश्वकपका दर्शकहरुका लागि कोठा उपलब्ध गराउनुु जुनसुकै विश्वककप आयोजक देशका लागि चुनौतीपूर्ण विषय हो । कतारमा रहेको कुल होटलमध्ये हालसम्म ८० प्रतिशत होटल बुक भइसकेको बुझिएको छ । कतारको अर्थतन्त्रमा सघाउ आयोजक राष्ट्रले विश्वकप स्वतः खेल्न पाउँछ । विश्वकप खेल्न आयोजक राष्ट्र स्वत छनोट त हुन्छ, तर त्यसका लागि पूर्वाधार तथा व्यवस्थापनका लागि ठूलो लगानी गरेको हुन्छ । जसका कारण आयोजक देशको राष्ट्रिय अर्थतन्त्र चलायमान हुने गरेको छ । कतारले विश्वकप आयोजनाबाट २० अर्ब बढी डलरको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्वकप आयोजनाका लागि देशहरूले फिफा समक्ष आवेदन दिनुपर्छ जसमा फिफाले कर छुटको सुविधा पनि अपेक्षा राख्छ । फिफाले साढे ६ अर्ब डलर कमाउने फिफाले २०२२ को विश्वकपबाट ६.५ अर्ब डलर कमाउने अनुमान गरेको छ । २०१८ को विश्वकपबाट फिफाले करिब ५.२ अर्ब डलर आम्दानी गरेको थियो भने सन् २०१४ मा ४.८ अर्ब डलर आम्दानी गरेको थियो । यस्तै, फिफाले २०१० मा ४.२ अर्ब डलर, सन् २००६ मा २.६ अर्ब डलर र सन् २००२ मा १.६ अर्ब डलर आम्दानी गरेको थियो ।