विवाह नगरेका नारी पुरुष एउटै सवारी साधनमा बस्न नपाउने
तस्वीर : सामाजिक सञ्जालबाट इन्डोनेसिया । इन्डोनेसियाको अति-रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी साधन र सार्वजनिक स्थानमा अलग्गै बस्न आदेश दिएका हुन् । स्थानीय सरकारले उक्त आदेश कडाइका साथ कार्यान्वयन गरिने बताउँदै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । एकान्त, सार्वजनिक र सवारी साधानमा विवाह नगरेका नारीपुरुष बस्न नपाइने परिपत्र गत साता जारी गरिएको हो । दैनिक जीवनमा इस्लामिक मूल्य मान्यता पालन गराउने प्रयासस्वरुप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटीएले बताएका छन् । इस्लामिक धर्मगुरुहरूसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उनले स्पष्ट गरेका छन् । सुमात्रा टापुको उत्तरी छेउमा अवस्थित आचे इस्लामिक कानून लागू गर्ने विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुस्लिम बहुल देशको एक मात्र प्रान्त हो । व्यापक आलोचनाको बाबजुद उक्त आदेश कार्यान्वयनको प्रयास भएको छ । जकार्ताले दिएको व्यापक स्वायत्तताअन्तर्गत शरिया कानुन भएको आचेमा जुवा खेल्ने, मदिरा सेवन गर्ने र विवाह बाहिर पनि सम्बन्ध राख्नेलगायतका अपराधमा सार्वजनिकरूपमा कोर्रा हानिन्छ । रासस/एएफपी
बेइजिङमा मुशलधारे बर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु
बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ । बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिए । मुख्यतया, गत हप्ता परेको बर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूका ज्यान गएको हो । जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पु¥याएको छ । जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र घोषित मृतक सङ्ख्यामा वृद्धि हुने सम्भावना देखिएको छ । मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ, ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ, २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ । बर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ अथक उद्धार र पुनस्थापना प्रयासहरू जारी रहेको र अधिकांश गाउँहरूमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात बहाल भएको छ । बेइजिङले प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपतकालीन आपूर्ति र चिकित्सा उपचार उपलब्ध भएको सुनिश्चित गरेको छ र विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रूत कदम चालेको उपमेयरले बताए । ‘बेइजिङ शहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,’ जियाले भने । सिचुवानमा बाढीका कारण सात जनाको मृत्यु चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा बुधबार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी प्रसारक सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको उल्लेख गर्दै ‘स्थानीय सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रक र अन्य विभागहरूले खोजी र उद्धार कार्य जारी राखेको’ जनाएको छ । प्रान्तीय राजधानी छेन्दुको दक्षिणपश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्यासित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बाढीआउँदा फोटो खिचिरहेका ती व्यक्ति स्थानीय एक लोकप्रिय स्थलको भ्रमण गर्ने पर्यटकहरू थिए । सीसीटीभीले शेयर गरेको भिडियोमा शक्तिशाली धारले पानीलाई तल धकेलेको र पानीको किनाराबाट मानिसहरू चिच्याएका कारण धेरै मानिसहरु आफ्नो टाउको पानीमाथि राख्न सङ्घर्ष गरिरहेको देखिएको छ । जलप्रलयको कारण तत्काल स्पष्ट हुन सकेको छैन । रासस
चिनियाँ उपभोक्ता मूल्यमा गिरावट
बेइजिङ । चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क जुलाईमा ०.३ ले घटेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.४ प्रतिशतले गिरावट आउने अनुमान गरेका थिए । चिनियाँ उत्पादनको विश्वव्यापी माग घट्दै जाँदा गत महिना चीनको निर्यात तीन वर्षयताकै सबैभन्दा तीव्र गतिमा घटेको समाचार सार्वजनिक भएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । कमजोर आन्तरिक मागका कारण आयात पनि लगातार नवौं महिना घटेको छ । वस्तुको मूल्यमा आएको गिरावट क्रयशक्तिका लागि फाइदाजनक देखिए तापनि अपस्फीतिले अर्थतन्त्रका लागि व्यापक खतरा उत्पन्न गर्छ किनभने उपभोक्ताहरू थप कटौतीको आशामा खरीद स्थगित गर्छन् । मागको कमीले कम्पनीहरूलाई उत्पादन घटाउन, रोजगारी कम गर्न वा रोक्न र कामदारहरूलाई हटाउन बाध्य पार्छ, साथै उनीहरूको भण्डार बेच्न नयाँ छुट दिन तयार हुन्छ । लागत समान हुँदाहुँदै पनि लाभप्रदतामा तौल गर्दछ । चीनले सन् २०२० को अन्त्य र सन् २०२१ को सुरुमा छोटो अवधिको अपस्फीतिको अनुभव गरेको थियो, जसको मुख्य कारण सुँगुरको मासुको मूल्यमा गिरावट आएको थियो । चीनमा सबैभन्दा बढी खपत हुने सुँगुरको मासु हो । रासस