रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना

एजेन्सी । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना भएको छ । अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गई दुर्घटना भएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले बताएको छ । चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि यान दुर्घटनामा परेको थियो । रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो । निर्धारित समय अनुसार रुसको यो यान सोमबार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । यो मिसनको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु थियो । स्थानीय समय अनुसार शनिबार २ बजेर ५७ मिनेटपछि लुना–२५ को सम्पर्क टुटेको थियो । हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्ष यानलाई सफलतापूर्वक अवतरण गराएका छैनन् ।

चीनको कुन्मिङ व्यापार मेला सम्पन्न, ५६ अर्ब डलरको लगानी सम्झौता

काठमाडौं । सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन सय ३८ परियोजनामा हस्ताक्षर भएको छ । कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार मेला भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको हो । दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजना भएको पाँचदिने मेलामा ८५ देश, क्षेत्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका तीस हजारभन्दा बढी प्रदर्शकका साथै प्रतिनिधि र पाहुना सहभागी भएका थिए । सन् २०१३ मा राष्ट्रपति सी चिनफिङले विश्व विकासको विशाल परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) घोषणा हुँदा कुनमिङमा पहिलो चीन–दक्षिण एसिया एक्स्पो आयोजना भएको थियो । विगतका वर्षहरूमाभन्दा यो वर्ष मेलामा सहभागी देश, क्षेत्र र अन्तरराष्ट्रिय संस्थाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । दश वर्षपछि व्यापार, लगानी, पर्यटन सहयोग र सांस्कृतिक आदानप्रदानलाई एकीकृत गर्ने बृहत् व्यापार मेला चीन र दक्षिण एसियाली देशका साथै अन्य देशबीचको व्यापारिक आदानप्रदानका निम्ति उपलव्धिमूलक भएको मेला आयोजक युनान प्रान्तीय सरकारले जनाएको छ । बितेको एक दशकमा व्यापार मेलाले चीन र दक्षिण एसियाबीचको घनिष्ठ सम्बन्ध उजागर गर्नाका साथै चीन र दक्षिण एसियाली देशबीचको व्यापारको मात्रामा दोब्बरले बढोत्तरी मात्रभएको छैन अपितु चीन वर्षौंदेखि पाकिस्तान, बङ्गलादेश र माल्दिभ्सको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । रासस

४० बढी देश ब्रिक्स कन्ट्रीमा सहभागी बन्न इच्छुक

काठमाडौं । ब्रिक्स देशहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भुमिका निभएको भन्दै विद्वानहरु प्रशंसा गरेका छन् । इस्ताम्बुलस्थित मार्मारा विश्वविद्यालयका विद्वान बारिस डोस्टरले अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रिक्स देशहरुले निभाएको भुमिकाका कारण अहिले केही अन्य देशहरु पनि ब्रिक्स कन्ट्रीमा समावेश हुन चाहना राखेको बताए । ब्रिक्स देशहरुले विश्वको जनसंख्याको ४० प्रतिशत भन्दा बढी र विश्वव्यापी कुल आर्थिक उत्पादनको २० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ । अब यसको प्रमुख काम सदस्यता बिस्तारमा लाग्नुपर्ने बताए । अहिले ४० भन्दा बढी देशहरु ब्रिक्स सदस्य बन्न प्रयास गरिरहेका छन् । ‘हामी संसारको उदाउँदै गरेको अर्थतन्त्र, अमेरिकी अधिपत्यको बिरोध गर्ने देशहरु, ब्रिक्सको वरिपरि एकतावद्ध भइरहेको देख्छौँ र संगठन बिसरतै अकार्षणको केन्द्र बनिरहेको छ’, उनले भने । उनले ब्रिक्समा चीन पनि सम्मिलित भएकाले ब्रिक्सलाई अझ शक्तिशाली बनाएको बताए । एजेन्सीको सहयोगमा ।