वेइजिङमा १४० वर्षपछि भीषण वर्षा

बेइजिङ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् । वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् । बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन्भने केयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ । रासस

जापानको बेरोजगारी दर २.५ प्रतिशतमा झर्याे

काठमाडौं । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २.६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको हो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत बिन्दुले घटेर १.३० मा झरेको जनाएको छ । यो अनुपात कामको खोजीमा प्रति १ सय मानिसको लागि १३० उपलब्ध रोजगारको बराबर छ । जुन महिनामा कूल बेरोजगारको सङ्ख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये आफ्नै इच्छाले काम छोड्नेको सङ्ख्या १ प्रतिशतले घटेर ७ लाख १० हजारमा झरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कामबाट बर्खास्त हुनेको सङ्ख्या अघिल्लो महिनाको तुलनामा २ प्रतिशतले घटेर ४ लाख ७० हजारमा झरेको छ ।

अमेरिकी उत्पादन क्षेत्रमा सङ्कुचन

काठमाडौं । अमेरिकी उत्पादन क्षेत्रमा जुलाई अर्थात् नवौं महिना सङ्कुचन देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षणको तथ्याङ्कले देखाएको छ । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम)को उत्पादन सुचकाङ्क जुनमा ४६.० प्रतिशत रहेकोमा गत महिना ४६.४ प्रतिशतमा झरेको छ । र यसले संकुचनको सुस्त दरलाई सङ्केत गरेको थियो । आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले भने, ‘माग कमजोर छ तर जूनको तुलनामा थोरै राम्रो छ, कामको कमीको कारण उत्पादन सुस्त भएको छ, र आपूर्तिकर्ताहरूसँग आपूर्ति क्षमता मजबुत छ, निकट भविष्यमा उत्पादनसँग राम्रो तालमेल गर्न थप रोजगारी कटौतीका सङ्केतहरू देखा पर्छन् ।’ फेडरल रिजर्भको मौद्रिक नीतिमा कडाइले कम्पनीको खर्चमा पनि असर पारेको छ भने वस्तुको मागले उपभोगलाई सेवातर्फ मोड्न थालेपछि यो कमजोरी आएको हो । गत वर्ष बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन ब्याजदर घटाउँदै आएको छ र यसको कार्यले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई असर गरिरहेको छ । जुलाईको आईएसएम रिपोर्टले नयाँ अर्डरहरू र उत्पादन सूचकाङ्कहरू दुबैले केही सुधार सङ्केत गरेपनि उत्पादन सङ्कुचनमा रहेको देखिएको छ । पेट्रोलियम र कोइला उत्पादनका साथै फर्निचर र सम्बन्धित उत्पादनहरू गरी दुई उत्पादन उद्योगहरूमा जुलाईमा वृद्धि भएको छ भने अन्य १६ वटामा सङ्कुचन आएको छ । रासायनिक उत्पादन क्षेत्रका एक सर्वेक्षण उत्तरदाताले भने, ‘हाम्रो उद्योगमा बिक्री वर्षको उत्तराद्र्धसम्ममा पनि प्रगति अत्यन्तै सुस्त छ र कम्तिमा चौथो त्रैमासिकसम्म कुनै वृद्धि हुने अपेक्षा गरिएको छैन ।’ अर्का एक उत्तरदाताले चीनविरुद्ध सेमीकन्डक्टर व्यापार प्रतिबन्धले उत्तरी अमेरिकाको औद्योगिक व्यवसायमा ‘नकारात्मक प्रभाव’ पारेको उल्लेख गरे ।