भारतमा एकैदिनमा तीन लाख ३३ हजार सङ्क्रमित
नयाँ दिल्ली । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएका छन् । सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय सङ्क्रमित अवस्था २१ लाख ८७ हजार २०५ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख ५९ हजार १६८ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ६५ लाख ६० हजार ६५० पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.१८ प्रतिशत रहेको जनाइएको छ । पछिल्लो एक दिनमा ५२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ४०९ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख ८४ हजार भन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । रासस/एएनआई
भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् । अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढीरहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामै रहेका छन् । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ती मध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ ।
ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु
रियो डि जेनेरियो । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ । यस देशमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठूलो देश हो । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । यसैगरी यहाँ गएको २४ घन्टामा २ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ अहिलेसम्ममा २ करोड ३४ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखाइएको छ । रासस/सिन्ह्वा