जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित
बर्लिन । जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र यहाँ त्यस अघिको २४ घन्टामा ८० हजार ४३० जना संक्रमित भेटिएका छन् । यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको यो सबैभन्दा धेरै संख्या हो । यहाँका अधिकारीहरुले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन् । उनीहरुका अनुसार यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् । त्यस्तै यहाँका करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ । उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोनाको सङ्क्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । सो संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । रासस/सिन्ह्वा
ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई
मेक्सिको सिटी । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ । रासस/सिन्ह्वा
भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन । मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ । दैनिक नयाँ सङ्क्रमितहरुको बृद्धिदर ११।५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । महामारीको प्रभाव सवैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ । महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ सङ्क्रमित थपिएका छन् ।दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएको छ ।नयाँ सङ्क्रमित मध्ये चार हजार ८६८ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमितहरु रहेको जनाइएको छ । अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तिव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मंगलबार आठ लाख २१ हजार ४४६ जना सक्रिय सङ्क्रमित रहेका थिए । रासस/एएनआई