चीनमा सवारी दुर्घटना, सत्र जनाको मृत्यु
चीन । पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् । रासस
उत्तर प्रदेशमा शीतलहरका कारण भएको हृदयाघातले एकै दिन २२ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ । लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्याङ्कअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए । तीमध्ये अस्पतालमा सात जनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल नआइपुग्दै मृत घोषणा गरिएको थियो। अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताइएको छ । कानपुरमा व्यापक शीतलहर बढेको छ जसका कारण हृदय रोगबाट पीडित मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको छ ,’ एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताएका छन् । कानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन्। उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ । रासस/एजेन्सी
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै
न्युयोर्क । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् । तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सम्म सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन् । अध्ययनअनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् । सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीकार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ । ग्रिनल्याण्ड र अन्टार्कटिका बाहेक भूमिमा आधारित विश्वका दुई लाख १५हजार हिमनदीमाथि विगतकोभन्दा गहन ढङ्गले गरिएको अध्ययनले ती नदी लोपको सँघारमा पुगेका देखाएको हो । हिमनदी पग्लिएसँगै समुद्रको सतहमा पनि वृद्धि हुनेछ । रासस/ एपी