भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

नयाँदिल्ली । बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन हजार ५६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ६६ हजार ७३९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा ३५ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ३०५ को मृत्यु भएको छ । हाल भारतमा एक लाख १९ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । पछिल्लो एक दिनमा १४ हजार ६५० कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख २१ हजार ९७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८।६१ प्रतिशत रहेको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

टर्कीमा मुद्रस्फीति झन्डै ८० प्रतिशत, खाद्यान्नको मूल्य दोब्बर

लन्डन । टर्कीको वार्षिक मुद्रास्फीति दर जुनमा लगभग ८० प्रतिशतमा पुग्यो र यो लगभग दुई दशकमा उच्चतम स्तर हो । उपभोक्ताको मूल्यहरु गत महिना जुन २०२१ को तुलनामा ७८.६ प्रतिशतले बढ्यो । खाना, पेय र यातायातको बढ्दो लागतले गर्दा मूल्य वृद्धि उच्च भएको हो । टर्की संस्थानको तथ्याङ्क अनुसार खाद्यान्नको मूल्य एक बर्षमा लगभग दोब्बर भएको छ र यातायातको लागत १२३ प्रतिशत माथि थियो । हालसालकै महिनाहरुमा व्यापक मुद्रास्र्फीतिको सामना गर्ने देशको लागि यो अर्को डरलाग्दो कोसेढुङ्गा हो र जसको मुद्राले यस वर्षको सुरुदेखि अमेरिकी डलरको तुलनामा आफ्नो मूल्यको २० प्रतिशत भन्दा बढी गुमाएको छ । टर्कीको अर्थतन्त्र अन्य देशहरु जस्तै विश्वव्यापी मुद्रास्फीतिको सामना गरिरहेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानको आर्थिक नीतिहरुले संकटलाई बढाएको समाचार सीएनएन प्रकाशित गरेको छ । गत सेप्टेम्बरमा एर्डोगानले नियम पुस्तिका खारेज गरे र टर्कीको केन्द्रीय बैंकलाई ब्याजदरहरु घटाउन सुरु गर्न भने । तर टर्कीमा बैंक व्याजदर बढ्दै गएको छ । डिसेम्बरदेखि ब्याजदर १४ प्रतिशत कायम छ । टर्कीका अर्थमन्त्री नुरेदिन नेबीतले सोमबार एक टुईटमा भनेका छन् विश्वव्यापी बस्तुको मूल्यमा उच्च वृद्धिको निरन्तरताले विशेष गरी उर्जा र कृषि उत्पादनमा जुनमा मुद्रस्फीति बढेको छ । उनले सरकारलाई बिक्री कर घटाउने, अनुदान दिने लगायत चर्को मूल्यवृद्धिबाट जनतालाई जोगाउन कारबाही गरिरहेको बताए । एजेन्सीहरु

श्रीलङ्का जस्तै ९ देश आर्थिक संकटमा; भ्रष्टाचार, गृहयुद्ध र दैवीविपत्ति मुख्य कारण

ब्याङकक । चरम आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्का बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ । श्रीलङ्काको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भए पनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र होइन भेनेजुएलादेखि गिनिसम्मका देश अग्रसर हुन लागेका प्रतीत भएको छ । केही देशमा रूस–युक्रेन युद्धले समस्या थप चर्काएको छ । इन्धनसहित आकासिदो उपभोग्य सामग्रीको मूल्यले श्रीलङ्काको नियति भोग्नुपर्ने परिस्थिति कमजोर अर्थतन्त्र भएका देशमा पनि उत्पन्न हुने चेतावनी ग्लोबल क्राइसिस ग्रुपले दिएको छ । गरिब देशहरूमा बढ्दो आर्थिक तनावले जनतालाई उत्तेजित पार्दै उनीहरूलाई सडकमा ल्याएको छ भने कोरोना महामारीविरुद्धको लडाइँमा जुट्न लिइएका सहायता रकम, उच्च ब्याजसहितका ऋण, विदेशीसँग लिएका ऋणको आवधिक भुक्तानीका दायित्वले उनीहरूलाई अझ प्रभावित पारेको छ । विश्वका आधाभन्दा बढी मुलुक ऋण चुक्ता गर्न सङ्घर्षरत छन्भने गरिब देशहरू ऋण सङ्कटबाट मुक्त हुनसक्नेक अवस्था छैन । अतिकमजोर अर्थतन्त्र भएका देशहरू महामारीभन्दा अघिदेखि महारोगका रूमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र दैवी विपत्तिबाट थप बिथोलिएका वास्तविकता क्राइसिस ग्रुपले औँल्याएको छ । अफगानिस्तान, पाकिस्तान, अर्जेन्टिना, इजिप्ट, लाओस, लेबनान, म्यान्मा, टर्की, जिम्बाम्बेलगायत देशको अर्थतन्त्र जोखिममा रहेको ग्रुपको ठहर छ । रासस