इन्धनको मूल्य वृद्धिका कारण बंगलादेशमा तत्काल आर्थिक संकटको सम्भावना नरहेको आइएमएफको भनाइ
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बंगलादेश श्रीलङ्काजस्तो आर्थिक संकटको जोखिममा नरहेको बताएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया तथा प्रशान्त विभागका महाशाखा प्रमुख राहुल आनन्दले बंगलादेशको वर्तमान आर्थिक अवस्थाका बारेमा मंगलबार अनलाइन कन्फरेन्समा पत्रकारलाई जानकारी दिँदै बंगलादेशको बाह्य स्थिति ‘यस क्षेत्रका धेरै देशहरूभन्दा निकै फरक’ रहेको बताउनुभयो । आईएमएफका अधिकारीका अनुसार बंगलादेशको बाह्य ऋण र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात १४ प्रतिशतको हाराहारीमा रहेको र तुलनात्मक रूपमा कम रहेको र प्रायः सहुलियतपूर्ण प्रकृतिको छ । त्यसैले कर्जा संकटको जोखिम कम छ । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले फाइनान्सियल टाइम्सलाई पठाएको जवाफमा भनिएको छ, “अहिले ४० अर्ब अमेरिकी डलर सञ्चिति रहेको छ, जुन पाँच महिनाभन्दा बढीको आयात भुक्तानीका लागि पर्याप्त छ र आईएमएफले तोकेको जोखिमको सीमाभन्दा बढी छ । घरेलु पेट्रोलको मूल्य तीव्र गतिमा बढेसँगै बंगलादेशले रुसबाट कच्चा तेल आयात गर्ने सोच बनाएको छ । बंगलादेशका विदेश सचिव मसूद बिन मोमेनले कच्चा तेल आयातको विषयमा निर्णय गर्न रूसको एक विशेषज्ञ प्रतिनिधिमण्डल चाँडै ढाका आउने बताउनुभएको छ । यस महिनाको सुरुमा बङ्गलादेशको इन्धनको खुद्रा मूल्य सन् १९७१ मा बङ्गलादेशस्वतन्त्र भएयता कहिल्यै नदेखिएको स्तरमा वृद्धि गरिएको थियो । बंगलादेश सरकारले अगष्ट ६ देखि लागू हुने गरी इन्धनको मूल्य ५१।७ प्रतिशतसम्म बढाएको छ । सरकारी वितरण कम्पनीहरूमाथिको अनुदानको भार कम गर्न खुद्रा बजारमा पछिल्लो मूल्यवृद्धि अपरिहार्य भएको अधिकारीहरूले बताएका छन् । विज्ञहरूका अनुसार इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई अझ खराब बनाउनेछ । बंगलादेशको मुद्रास्फीति जूनमा बढेर ७।५६ प्रतिशत पुगेको छ । यो वृद्धि दर करिब नौ वर्ष यताकै उच्च हो ।
भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार पाँच सय ३५ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार नौ सय २८ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १८ हजार ५३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३५ लाख ७३ हजार ९४ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ४७ लाख १९ हजार ३४ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ९० लाख भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
अर्बपति अडानीको लगानी अब मेटलमा पनि, ५.२ अर्बको लागतमा खोले उद्योग
काठमाडाैं । भारतका उद्योगपति तथा अर्बपति गौतम अडानीले मेडल उद्योगमान पनि लगानी गर्ने भएका छन् । अडानी इएन्टरप्राइजेजले अब मेटल क्षेत्रमा पनि प्रवेश गर्ने घोषणा गरेको हो । अडानी इन्टरप्राइजेजले कुल ५.२ अर्ब भारतीय रुपैयाँ लगानीमा अल्युमिना रिफाइनरी उद्योग स्थापना गर्न लागेको हो । अडानी समुहले गत वर्षको डिसेम्बर महिनामा मुन्द्रा एल्युमिनियम लिमिटेड नामको कम्पनी बनाएको स्थापना गरेको थियो । अडानी समूहले एकपछि अर्को नयाँ क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । सो समूहले हालै हालै मात्रै दुरसञ्चार क्षेत्रमा पनि प्रवेश गरेको छ । दर्जनौं क्षेत्रमा अडानी समूहको लगानी छ । एसियाकै धनी व्यक्ति अडानी विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा छन् । फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० अर्बपतिको सूचीमा छन् ।