प्रधानमन्त्रीलाई इजरायलबाट नेपाली विद्यार्थीको पत्र : ‘हमलामा पर्यौं भने गोली निल्नुको विकल्पै छैन’
श्रीमान् प्रधानमन्त्री ज्यू, नेपाल सरकार । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिनै लागेका विद्यार्थीहरु (११४ जना) अहिले हामी इजरायल र हमासको द्वन्दको चपेटामा फसेका छौं । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ । हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं । अब धेरै सोच्ने परिस्थिति पनि बाँकि रहेन । आकाशमा चरा उडेको देखेका हामी, आज मिसाईल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका पट्कँदा खुशीका साथ रमाउँदै हेरेका हामी आज आफु अगाडि बन्दुक पड्कि राखेको देखेर त्रसित छौं । बंकरमा लुक्यो भन्ने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ । हाम्रा सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले हाम्रो छाती चिरिएको छ । हामी स्तब्ध छौं, हमलामा पर्यौं भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुट्नुपरेको छ । नखाउ भने भोक र प्यास लाग्छ खाउ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भैराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ । आदरणीय प्रधानमन्त्रीज्यु, अबको हाम्रो आशा पनि तपाईंनै हो, भरोसा पनि तपाईंने हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस् । हामी देशमा नै रमाउने छौं । हामी नेपालको ’३’ विश्वविद्यालयबाट यहाँ छौं १) कृषि तथा वन विज्ञान विश्वविद्यालय २) त्रिभुवन विश्वविद्यालय ३) सुदूरपश्चिम विश्वविद्यालय सँगसँगै यहाँ अन्य विद्यार्थीहरु र नेपाली नागरिक हुनुहुन्छ । छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहुनेछ । यो हाम्रो तपाईंप्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको छ । युद्धको चपेटामा परेको नेपाली सुरज भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालय हाल ठेगाना कदेश बार्निया, इजायल नेपाली ठेगना अन्नपूर्ण गाउँपालिका २, कास्की
सुडान युद्धमा मृत्यु हुनेको सङ्ख्या ९ हजारभन्दा बढी पुग्यो
काठमाडौं । सुडानको खार्तूमको दक्षिणमा रहेको जबल अवलियामा अर्धसैनिक बलले शनिबार गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारकर्मीहरूले बताएका छन् । स्थानीय ‘प्रतिरोध समिति’का अनुसार शहरबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको सानो सहरमा ‘सर्वसाधारणको घरभित्र बम खसेको’ छ । यो स्वयंसेवी समूह सुडानभरि प्रजातन्त्रसमर्थक प्रदर्शन गर्ने थुप्रै समूहमध्ये एक हो । गत अप्रिल १५ मा सेना र अर्धसैनिक बलबीच युद्ध सुरु भएयता यी समूहले द्वन्द्वमा फसेका मानिसहरूलाई सहयोग गरेका छन् । अर्धसैनिक बलहरूले सुडानका प्रतिद्वन्द्वी जनरलहरू बीचको लडाईंबाट पहिले जोगिएका क्षेत्रहरूमा भएको उनीहरूको पछिल्लो आक्रमणमा शहरमा ‘कैयौँ तोप’ प्रहार गरेको जबल अवलियाको समितिले रिपोर्ट गरेको छ । सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) कमान्डर मोहम्मद हमदान डग्लोबीच खार्तूम र डार्फरको पश्चिमी क्षेत्रमा युद्ध हुँदै आएको छ । सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजना (एसीएलईडी)ले अक्टोबरसम्ममा ‘नौ हजारभन्दा बढी मृत्यु’ रेकर्ड गरिएकोे शुक्रबार जानकारी गराएको छ । यस लडाईंका कारण सुडानमा करिब ४३ लाख मानिस विस्थापित भएका छन् भने करिब १२ लाख मानिस सीमा पार विस्थापित भएका छन् । हालैका हप्ताहरूमा, हिंसा अझ दक्षिणतिर सरेको छ, जसले राजधानीको दक्षिणमा अल जजिरा राज्यमा आश्रय लिएका ३ लाख ६६ हजारभन्दा बढी मानिसहरूको कमजोर सुरक्षालाई थप खतरामा पारेको छ । राजधानीबाट २ सय किलोमिटर दक्षिणमा पर्ने खार्तूम र जजिरा राज्यको राजधानी वाड मदनीबीचको सडकमा आरएसएफले चेकप्वाइन्ट स्थापना गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । लाखौं मानिस फसेको खार्तूममा पनि युद्ध सुरु भएयता एक दिन पनि राहत मिलेको छैन । शहरको उत्तरी भागका प्रत्यक्षदर्शीहरूले शनिबार फेरि ‘हवाई आक्रमण’ र सडक आक्रमण भएको जानकारी दिएका छन् । रासस
हमास र इजरायल युद्धमा ३ सय जनाको मृत्यु
काठमाडौं । इस्लामिक प्रतिरोध आन्दोलन (हमास)को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १ सय इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ७ सय इजरायली नागरिक घाइते भएको जनाइएको छ । प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । यस अघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए । यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै १ हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । “गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । हमासले यसअघि गरेको रकेट आक्रमणको जवाफमा इजरायली हवाई आक्रमण गरिएको हो ।