पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट

पाकिस्तान । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) ले जनाएको छ । पाकिस्तानमा आर्थिक वर्ष जुलाईदेखि सुरु भएर जुनसम्म रहन्छ । सन् २०२३ को जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा आयात र निर्यातका आँकडाका आधारमा व्यापार घाटा पाँच अर्ब २८ करोड ९० लाख अमेरिकी डलर भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा नौ अर्ब १५ करोड ९० लाख अमेरिकी डलर थियो । पीबीएसका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ४२ दशमलव २५ प्रतिशतले नकारात्मक वृद्धि भएको छ । चालु आर्थिक वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा निर्यात छ अर्ब ८९ करोड ९० लाख अमेरिकी डलर भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ७८ प्रतिशतले कम हो । अघिल्लो वर्षको समीक्षा अवधिमा निर्यात सात अर्ब १७ करोड अमेरिकी डलरबराबरको भएको थियो । अर्कोतिर पाकिस्तानको आयात भने समीक्षा अवधिमा २५ दशमलव ३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा १६ अर्ब ३२ करोड ९० लाख अमेरिकी डलरको आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब १८ करोड ८० लाख अमेरिकी डलरको आयात भएको छ । रासस

विदेशबाट नेपाल फर्कने यात्रुले गहना, टिभी र मोबाइल ल्याउन पाउने, कसले कति ?

तस्वीर : सामाजिक सञ्जाल काठमाडौं । दशैंमा विदेशबाट नेपाल फर्कने यात्रुले निश्चित परिमाणमा सुनका गहना, मोबाइल तथा टेलिभिजन ल्याउन पाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । कार्यालयले वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्कँदा ल्याउन मिल्ने र नमिल्ने वस्तुको सूची निकालेको हो । पछिल्लो व्यवस्था अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसैगरी, पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्राम सम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ । यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्ने कार्यालयले जानकारी गराएको छ । त्यस्तै, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ । यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महशुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ । यात्रुहरुले मापदण्डभन्दा बढि मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तु जफत हुने तथा सो को दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने कार्यालयले बताएको छ ।

बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु

ढाका । बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेङ्गुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीररूपमा रक्तस्राब हुन्छ । अत्यधिक रक्तस्राबका कारण मानिसको मृत्युसमेत हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनले लामखुट्टेबाट सर्ने डेङ्गुसहित चिकुङ्गुन्या, पहेँलो ज्वरो र जिका जस्ता रोगहरू जलवायु परिवर्तनका कारण छटो र थप फैलिरहेको चेतावनी दिएको छ । बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्याङ्कअनुसार डेङ्गुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा एक हजार छ जनाको मृत्यु भइसकेको छ । महानिर्देशनालयका पूर्वनिर्देशक बे–नजिर अहमदले सन् २००० पछिको प्रत्येका वर्षको तुलनामा डेङ्गुबाट मर्नेहरूको सङ्ख्या यस वर्ष उच्च रहेको बताए । “यो बङ्गलादेश र विश्व दुवैमा ठूलो स्वास्थ्य घटना हो”, उनले भने । मृत्यु हुनेहरूमा शिशुसहित १५ वर्षमुनिका एक सय १२ बालबालिका रहेका छन् । यो आँकडा सन् २०२२ को तुलनामा कम हो । सो वर्ष डेङ्गुबाट दुई सय ८१ बालबालिकाको मृत्यु भएको थियो । यस वर्षको मनसुनमा भएको अनियमित वर्षाका साथै उष्ण तापक्रमका कारण लामखुट्टेहरूको प्रजननमा उचित वातावरण भएकाले डेङ्गुको प्रकोप बढेको वैज्ञानिकहरूले बताएका छन् । सन् १९६० को दशकबाट बङ्गलादेशमा डेङ्गुका केसहहरू देखिए पनि उसले सन् २००० देखि यो रोगको प्रकोपको तथ्याङ्क राख्न थालेको हो । डेङ्गुका धेरैजसो प्रकोप मनसुनका बेला जुलाईदेखि सेप्टेम्बरसम्म देखिन्छन् तर बङ्गलादेशका अस्पतालहरूले हालैका वर्षमा जाडो महिनामा पनि यस रोगका बिरामीहरूलाई भर्ना गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले सेप्टेम्बर महिनामा डेङ्गुको प्रकोपले बङ्गलादेशको प्रणालीमा ठूलो दबाब दिएको बताएका थिए । रासस