जम्मू-कश्मीर आक्रमण: मोदीले साउदी भ्रमण छोट्याए, ट्रम्पको ऐक्यबद्धता

काठमाडौं । भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गरेका छन् । उनी आज राति भारत फर्किने छन् ।  यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतङ्ककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायीक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।  घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, २ जना स्थानीय नागरिक र २ जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । थप ३६ जना घाइते भएका छन् । यस आतङ्कवादी हमलाको जिम्मेवारी लस्कर (ए-तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ। प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।  यस घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन ् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गरे । सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहेको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए ।  लेभिटले भने, ‘पाहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथासिघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने छन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने छन् ।’ राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्,‘कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्‍याएको छ। अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढता पूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’ 

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने

काठमाडौं । पोप फ्रान्सिसको अन्त्येष्टि आगामी शनिबारका दिन गरिने भएको छ । भ्याटिकनले जानकारी दिएको अनुसार अन्त्येष्टि स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ । पोपको अन्त्येष्टि सेन्ट पिटर बेसिलिकाको अगाडि गरिने जनाइएको छ । भ्याटिकनले जनाएअनुसार बुधबार बिहान ९ बजे पोपको पार्थिव शरीर सेन्ट पिटर बेसिलिकामा ल्याइनेछ । उनको पार्थिव शरीर अन्त्येष्टि नभएसम्म त्यहीं राखिनेछ ताकि श्रद्धालुहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सकून् । हाल पोपको शरीर सान्ता मार्था आवासको प्रार्थना कक्षमा राखिएको छ, जहाँ उनले पोपको रूपमा १२ वर्षसम्म बसोबास गरेका थिए । सोमबार क्याथोलिक समुदायका सबैभन्दा ठूला धर्मगुरु फ्रान्सिसको निधन भएको थियो । भ्याटिकनले जारी गरेको वक्तव्यमा उनको मृत्युको कारण स्ट्रोक आएपछि हृदयगति रोकिएको उल्लेख गरिएको छ । पोप फ्रान्सिसको निधन : तलब नलिने सरल नेता, छाडे २१९ करोडको सम्पत्ति  

शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला

काठमाडौं । यही साता शाङ्घाई अटो शोको आयोजना हुँदैछ । अटो शोमा ७० भन्दा बढी चिनियाँ तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूले १०० भन्दा बढी नयाँ वा परिमार्जित मोडलहरू प्रदर्शन गर्ने जनाइएको छ । शोले संसारकै सबैभन्दा ठूलो विद्युतीय तथा हाइब्रिड सवारीको बजारमा चर्को प्रतिस्पर्धा अझ तीव्र बनाउनेछ । चीनका अग्रणी ब्रान्डहरू जस्तै बीवाईडी र जीली अप्रिल २३ देखि मे २ सम्म सञ्चालन हुने शोमा मुख्य आकर्षण बन्‍ने अपेक्षा गरिएको छ । साथै फक्सवागन, निसान, टोयोटा र जनरल मोटर्सको क्याडिल्याकजस्ता विदेशी कम्पनीहरूले पनि ध्यान तान्ने प्रयास गर्नेछन् । चीनमा लामो समयदेखि जारी मूल्य प्रतिस्पर्धाको बीचमा अब चालक-सहायता प्रविधि (अटोमेटेड ड्राइभिङ फिचर्स) नयाँ प्रतिस्पर्धाको क्षेत्र बन्न थालेको छ । तर मार्चमा साओमी एसयू सेभेनको दुर्घटनापछि चिनियाँ सरकारले 'स्मार्ट' वा 'स्वचालित' जस्ता शब्दहरू प्रयोग गरेर प्रविधिको प्रचार गर्न प्रतिबन्ध लगाएपछि अटो शोमा अगिल्लो पुस्ताको चालक-सहायता प्रणालीहरू प्रस्तुत गर्ने योजनामा बाधा पुगेको छ । एसयू सेभेन पोलमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो । चालकले कारको सहायक प्रणालीबाट नियन्त्रण लिन खोजेपछि दुर्घटना भएको हो । त्यसैले चीनले 'स्मार्ट' र 'स्वचालित' शब्द प्रयोगमा रोक लगाएको हो । गत वर्षको बेइजिङ अटो शोअघि लन्च भएको एसयू सेभेनले निकै चर्चा पाएको थियो र हालसम्म यो ईभी २ लाख १५ हजारभन्दा बढी बिक्री भइसकेको छ, जसले टेस्लाको मोडेल थ्रीलाई मासिक बिक्रीमा पछि पारेको छ । यस घटनापछि सरकारले थप निगरानी बढाएसँगै बीवाईडी र जीक्रजस्ता कम्पनीहरू चालक–सहायता क्षमताको प्रचार कम गर्दै सुरक्षित र जिम्मेवार ड्राइभिङको सन्देश दिन थालेका छन् । चीनको भिडन्तपूर्ण ईभी बजारमा कम्पनीहरूले आफूलाई भिन्दै देखाउन चालक–सहायता प्रणाली महत्त्वपूर्ण उपकरण बनेको छ । बीवाईडीले 'गड’आइज' नामक चालक-सहायता प्रणालीलाई सबै मोडलहरूमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि यो प्रविधिमा प्रतिस्पर्धा अझ तीव्र बनेको हो । यसले सस्तो मूल्यका (१० हजार डलरजति) मोडलहरूमा पनि यो सुविधा ल्याउनेछ । जाटो डाइनामिककी विश्लेषक बो युले भनिन्, ’धेरै कम्पनीहरूले बीवाईडीलाई मूल्य युद्धको लागि आलोचना गर्छन् । अब 'गड’आइज’ प्रणालीमार्फत पनि बीवाईडी सबैलाई असहज बनाइरहेको छ ।’ फेब्रुअरीमा नियामकहरूले सरकारको अनुमतिबिना चालक-सहायता सफ्टवेयरमा ओटीए अपडेटहरू निषेध गरेपछि टेस्लाले चीनमा आफ्नो 'फूल सेल्फ ड्राइभिङ’ प्रणालीको निःशुल्क परीक्षण बन्द गर्‍यो । हुवावेले पनि सावधानी अपनाउन आग्रह गर्दै आफ्ना सिस्टमहरू प्रयोग गर्दा सुरक्षा मनन गर्नुपर्ने सन्देश फैलाएको छ । शोमा जीलीको जीक्र ब्रान्डले लेभल थ्री चालक-सहायता प्रविधिसहितको पहिलो मोडल सार्वजनिक गर्ने योजना बनाएको भए पनि अब त्यसको सट्टा हाइब्रिड तथा ब्याट्री प्रविधिमा ध्यान केन्द्रित गरिनेछ । चिनियाँ नियामकहरूले आगलागी तथा विस्फोटको जोखिम घटाउनका लागि ईभी ब्याट्री मापदण्ड पनि कडा बनाउँदै लगेका छन् ।  टेस्लालाई लक्षित गर्दै नयाँ मोडेलहरू नियमसम्बन्धी चुनौतीहरूका बाबजुद चीनको 'नयाँ ऊर्जा सवारी’ क्षेत्र (विद्युतीय तथा ग्यासोलिन–इलेक्ट्रिक हाइब्रिड सवारी) को बिक्री तीव्र गतिमा बढ्दो छ । चीनमा अहिले नयाँ सवारी बिक्रीको आधाभन्दा बढी हिस्सा विद्युतीय वा हाइब्रिड सवारीहरूले ओगटेका छन् जुन अमेरिका, युरोप वा अन्य देशहरूसँग तुलना गर्दा धेरै अगाडि छ । यस हप्ताको शोमा सार्वजनिक हुने दर्जनौं नयाँ मोडलहरू टेस्लाको मोडेलसँग प्रतिस्पर्धा गर्न मिल्ने मूल्यमा ल्याइनेछ । टेस्लाले यसबारे कुनै टिप्पणी गरेको छैन । चीनमा टेस्लाको बजार हिस्सा २०२० मा १५ प्रतिशतबाट घटेर यो वर्षको पहिलो त्रैमासिकमा ९ प्रतिशतमा झरेको छ । गत वर्षदेखि यसको वार्षिक बिक्री पनि घटेको छ । अमेरिका तथा युरोपमा बिक्री घट्नुमा सीईओ एलन मस्कको राजनीतिक भूमिकाको आलोचनालाई पनि कारण मानिन्छ । टेस्लाले सन् २०२१ यता चीन अटो शोहरूमा भाग लिएको छैन । चिनियाँ प्रतिस्पर्धीहरूसँग तुलना गर्दा टेस्लाले नयाँ मोडलको गति निकै ढिलो राखेको छ । यस पटक सार्वजनिक हुने मोडेल वाईका प्रतिस्पर्धीहरूमा एक्सपेङको जी सिक्स र  जिक्रको ई सिक्स छन्, जसले सस्तो मूल्यमा उन्नत ब्याट्री चार्जिङ, सहायक ड्राइभिङ र इन-कार मनोरञ्जन सुविधा दिनेछन् । साओमीले आफ्नो बहुप्रतीक्षित वाईयूसेभेन क्रसओभर ल्याउने अपेक्षा गरिएको भए पनि अब यसले केवल एसयू सेभेन र एसयू सेभेन अल्ट्रा देखाउनेछ र कुनै प्रेस सम्मेलन गर्ने छैन । चिनियाँ अटो उद्योगका स्वतन्त्र विश्लेषक लेई जिङले यस्ता क्रसओभरहरूलाई 'मोडेल वाई किलर' भनेका छन् । 'यो टेस्लाको लोकप्रिय मोडलमा ठूलो दबाव हो,' उनले भने, 'मोडेल वाईलाई हराउने एउटा मात्रै सवारी होइन- यो १२ वा १३ वटा सवारीहरू हुन् ।' सान्दर्भिक सामग्रीहरू ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा