जापानमा बच्चाको भन्दा धेरै बिक्छ वृद्धको डाइपर

काठमाडौं । जापान संसारको चौथो ठूलो अर्थतन्त्र हो । यो एशियाको पहिलो देश हो जसले 'विकसित देश' को सूचीमा स्थान पाएको थियो । कुनै समय चीनसमेत जापानको अधीनस्थ (गुलाम) रहेको थियो । तर पछिल्ला केही वर्षदेखि जापानमा वृद्ध जनसंख्या तीव्र गतिमा बढिरहेको छ । गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिको जनसंख्या ३ करोड ६२ लाख ५० हजार पुगेको छ, जुन देशको कुल जनसंख्याको करिब २९.३ प्रतिशत हो । तीमध्ये २ करोड ५ लाख ३० हजार महिला र १ करोड ५७ लाख २० हजार पुरुष छन् । जापानमा वृद्ध जनसंख्या कति तीव्र गतिमा बढिरहेको छ भन्ने कुरा यसैबाट थाहा हुन्छ कि त्यहाँ अहिले बच्चाको भन्दा वृद्धको डाइपर बढी बिक्री हुन्छ । सरकारी तथ्यांकअनुसार हाल जापानमा ९१ लाख ४० हजार वृद्धहरू काम गरिरहेका छन् । यसको अर्थ जापानमा हरेक सातजना कामदारमध्ये एक जना वृद्ध छन् । जनसंख्या घट्दो जापानमा वृद्धको संख्या बढ्दो छ तर कुल जनसंख्या भने घट्दो छ । लगातार १३ वर्षदेखि जापानको जनसंख्या घटिरहेको छ । सन् २०२३ मा जापानको जनसंख्या ५ लाख ९५ हजारले घटेको थियो । सन् २००८ मा जापानको जनसंख्या १२ करोड ८० लाख थियो भने २०२४ मा घटेर १२ करोड ३७ लाख मात्र भएको छ । कामकाजी उमेरको जनसंख्या घट्दा जापानको अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ । वृद्धहरूको हेरचाह र सामाजिक सुरक्षामा खर्च बढ्दै गएको छ । सन् २०४० सम्म वृद्धहरूको संख्या बढेर ३४.८ प्रतिशत पुग्ने र त्यसबेला जापानमा १ करोड १० लाखभन्दा बढी कामदारको अभाव हुने अनुमान गरिएको छ । विदेशी कामदारको भरमा जापान जापानमा अक्टोबर २०२४ सम्म २३ लाख विदेशी कामदार पुगेका छन्, जुन अहिलेसम्मकै उच्च हो । यो संख्या अघिल्लो वर्षको तुलनामा १२.४ प्रतिशत ले वृद्धि भएको हो । कामदारको अभाव पूर्ति गर्न जापानी कम्पनीहरूले विदेशीहरूलाई रोजगारी दिइरहेका छन् । जापानमा सबैभन्दा धेरै काम गर्ने विदेशी भियतनामी हुन्, जसको संख्या ५ लाख ७० हजार छ– कुल विदेशी कामदारको २४.८ प्रतिशत । त्यसपछि चीन (४ लाख) र फिलिपिन्स (२ लाख ४० हजार) का कामदार छन् । हालै म्यानमार, इन्डोनेशिया र श्रीलंका बाट काम गर्न आउनेहरूको संख्या पनि तीव्र गतिमा बढिरहेको छ ।

भारतमा एक वर्षमै ४३ लाखभन्दा बढी गाडी बिक्री, ६५ प्रतिशत ग्राहकको रोजाइ एसयूभी

काठमाडौं । भारतमा एक वर्षमै यात्रुवाहक सवारीसाधनको थोक बिक्री २ प्रतिशतले बढेर ४३ लाख युनिटभन्दा बढी पुगेको छ । एसयूभी, एमपीभी प्रतिको माग बढेकै कारणले यो बिक्री रेकर्ड बनेको हो । कुल बिक्रीमध्ये एसयूभीको हिस्सा ६५ प्रतिशत रहेको छ ।  व्यक्तिगत साधनको निर्यात पनि १५ प्रतिशतले बढेर ७.७ लाख युनिट पुगेको छ । उता दुईपाँग्रे सवारीसाधनको बिक्रीमा पनि ९ प्रतिशत वृद्धिको दर देखिएको छ भने व्यावसायिक सवारीको बिक्रीमा सामान्य गिरावट आएको छ । भारतीय अटो उद्योग संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम)का अध्यक्ष शैलेश चन्द्राका अनुसार यो राम्रो प्रदर्शनको कारण भनेको बजारमा राम्रो माग, पूर्वाधारमा लगानी र सरकारको नीति नै हुन् । एसआईएएमका अनुसार विगत एक वर्ष- अर्थात् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्म-  यात्रुवाहक सवारीसाधनको थोक बिक्री २ प्रतिशत वृद्धि भई ४३ लाख १ हजार ८४८ युनिट पुगेको छ । अघिल्लो वित्तीय वर्ष २०२३-२४ मा यो संख्या ४२ लाख १८ हजार ७५० युनिट थियो । यस वृद्धिमा सबैभन्दा ठूलो योगदान एसयूभी/एमपीभीहरूको रहेको छ । एसयूभीको लोकप्रियता झन् बढ्दो जनताको रोजाइमा एसयूभी झनै बढिरहेको देखिन्छ । वित्तीय वर्ष २०२४–२५ मा कुल यात्रुवाहक बिक्रीमा ६५ प्रतिशत हिस्सा एसयूभीको रह्यो । अघिल्लो वर्ष (२०२३-२४) यो हिस्सा लगभग ६० प्रतिशत थियो । एसयूभीको बिक्री ११ प्रतिशतले वृद्धि भई २७ लाख ९७ हजार २२९ युनिट पुगेको छ, जुन अघिल्लो वर्ष २५ लाख २० हजार ६९१ युनिट थियो । साधारण कारहरूको बिक्री भने १३ प्रतिशतले घटेर १३ लाख ५३ हजार २८७ युनिट मात्र रह्यो, जुन अघिल्लो वर्ष १५ लाख ४८ हजार ९४७ युनिट थियो । निर्यातमा पनि वृद्धि यात्रुवाहकको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । वित्तीय वर्ष २०२४–२५ मा ७.७ लाख युनिट निर्यात गरिएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो। अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत वृद्धि देखिएको छ । ‍एसआईएएम अनुसार भारतमा बनेका गाडीहरूप्रति अन्तर्राष्ट्रिय माग बढेकाले निर्यातमा वृद्धि भएको हो । दुईपाँग्रे सवारी (बाइक-स्कुटर) को बिक्री पनि बढ्यो दुईपाँग्रे सवारी थोक बिक्री ९ प्रतिशतले वृद्धि भई १ करोड ९६ लाख ७ हजार ३३२ युनिट पुगेको छ । अघिल्लो वर्ष यो १ करोड ७९ लाख ७४ हजार ३६५ युनिट थियो ।  

चीनले बनायो संसारकै सबैभन्दा तेज हार्ड ड्राइभ, एआई कम्प्युटिङ नयाँ क्रान्ति ल्याउन सक्ने

काठमाडौं । चीन प्रविधिको विषयमा विश्वका विभिन्न देशभन्दा धेरै अगाडि  छ । चिनियाँ अनुसन्धानकर्ताहरूले हालसालै संसारकै सबैभन्दा तेज हार्ड ड्राइभ (फ्ल्यास मेमोरी) बनाएका छन् । यसको नाम पोक्सियाओ राखिएको छ । दाबी गरिन्छ कि यो मेमोरीले मात्र ४०० पिकोसेकेन्डमा डेटा डिलिट वा फेरि लेख्न सक्छ । पिकोसेकेन्ड भनेको एक सेकेन्डको एक खर्बौं भाग हो भन्ने बुझ्नुपर्छ । यो कुरा सुन्दा नै थाहा हुन्छ कि चिनियाँ वैज्ञानिकहरूले कत्तिको ठूलो उपलब्धि हासिल गरेका छन् । भनिएको छ कि यो आविष्कारले कृत्रिम बौद्धिकता (एआई) कम्प्युटिङ र डेटा स्टोरेजको दुनियाँमा नयाँ क्रान्ति ल्याउन सक्छ । अब बदलिनेछ स्टोरेज सिस्टम चीनको शाङ्घाईस्थित फुडन विश्वविद्यालयले यस आविष्कारबारे लेख लेखेको छ । त्यसमा भनिएको छ कि यदि यो स्टोरेज सिस्टमलाई ठूलो स्तरमा प्रयोग गरियो भने संसारको स्टोरेज सिस्टम नै परिवर्तन हुन सक्छ । लेखमा दाबी गरिएको छ कि यो प्रविधि हालसम्मको सबैभन्दा छिटो सेमिकन्डक्टर स्टोरेज टेक्नोलोजी हो ।  ध्यान दिनुपर्ने कुरा के हो भने यही विश्वविद्यालयले यसलाई विकास गरेको हो । पोक्सियाओले साधारण हार्ड ड्राइभभन्दा एक लाख गुणा छिटो काम गर्न सक्छ भन्ने दाबी गरिएको छ ।  एआईसम्बन्धी काममा झन छिटो यो हार्ड ड्राइभ मेमोरी र कम्प्युटिङबीचको ग्याप घटाउनका लागि बनाइएको हो । सरल भाषामा भन्नुपर्दा यसले एआई प्रोसेसिङमा लाग्ने समय घटाउन सक्छ । उदाहरणका लागि तपाईं अहिले कुनै फोटो वा भिडियो बनाउन एआई प्रयोग गर्नुहुन्छ भने त्यसले केही समय लिन्छ । भिडियो प्रोसेसिङमा त अझ धेरै लाग्छ । तर पोक्सियाओ प्रयोग गर्दा यस्तो प्रोसेसिङ झट्टै हुन सक्छ । जसले गर्दा तपाईंले प्रोम्प्ट दिएपछि च्याटजीपीटीजस्तो टुलले तुरुन्तै काम गर्न थाल्नेछ र फोटो वा भिडियो तुरुन्त तयार हुनेछ। अझै विकास हुन बाँकी रिपोर्ट अनुसार पोक्सियाओ अहिले प्रोटोटाइप स्टेजमा छ । अर्थात् यसको ठूलो मात्रामा उत्पादन भएको छैन । हाल यसको स्टोरेज क्षमता पनि कम छ । यद्यपि अनुसन्धानकर्ताहरूको विश्वास छ कि यदि उनीहरूको अनुसन्धान सफल भयो भने यो भविष्यमा अझ ठूलो स्टोरेज क्षमतासहित बजारमा आउनेछ । सेमिकन्डक्टर र एआईको क्षेत्रमा यसको उपयोगिता निकै हुने आशा गरिएको छ ।