संसारमा पहिलो पटक हुँदैछ 'स्पर्म रेस', एचडी क्यामेराबाट सुट, लाइभसमेत हुने

काठमाडौं । अमेरिकाको लस एन्जलसमा एक अनौठो कार्यक्रमको आयोजना हुन लागेको छ । त्यहाँको हलिवुड प्यालेडियममा शुक्राणु दौड (स्पर्म रेसिङ) को आयोजना गरिन लागिएको हो ।  यो आफ्नै प्रकारको पहिलो र संसारकै अनौठो कार्यक्रम बन्नेछ । एक माइक्रोस्कोपिक ट्र्याकमा दुईवटा शुक्राणु स्याम्पलबीच प्रतिस्पर्धा गराइनेछ । एचडी क्यामेराले शुक्राणुको गतिविधिलाई कैद गर्नेछ र जुन शुक्राणुले पहिला फिनिश लाइन पार गर्नेछ, उसलाई विजेता घोषणा गरिनेछ ।  तपाईंले यो इभेन्टलाई मजाक सम्झिन सक्नुहोला तर स्पष्ट छ- यो विज्ञानको हिसाबले डिजाइन गरिएको एक माइक्रो-एथलेटिक प्रतियोगिता हो । ट्र्याक कस्तो हुनेछ ? यो रेसका लागि विशेष प्रकारको ट्र्याक तयार पारिएको छ । मानव प्रजनन प्रणालीको नक्कल गर्दै ट्र्याक डिजाइन गरिएको हो । यसमा फ्लुड डायनामिक्स (तरल पदार्थको प्रवाह), रासायनिक संकेतहरू र सही टाइमिङको ख्याल राखिएको छ । साथै एचडी क्यामेराको सहयोगमा दर्शकहरूले प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । सामान्य खेलकुदको झैं यहाँ पनि कमेन्ट्री, रिप्ले आदिको प्रयोग गरिनेछ जसले इभेन्टलाई अझ रोमाञ्चक बनाउनेछ । दौड कसरी हुन्छ त ? दौडमा दुईवटा शुक्राणु स्याम्पल प्रयोग गरिनेछ । जसको शुक्राणु पहिले फिनिश लाइन पार गर्छ, त्यो स्याम्पल विजेता हुने छ । यो रेस इभेन्टमा दर्शकहरूले आफूले मन पराएको स्याम्पलमा बाजी (सट्टा) समेत लगाउन सक्नेछन् । यसैले यो कुनै पनि हिसाबले अन्य खेलकुद कार्यक्रमभन्दा कम हुँदैन । दर्शकहरूले यसलाई प्रत्यक्ष स्ट्रिमिङमार्फत पनि हेर्न सक्नेछन् । के हो यसको उद्देश्य ? यो इभेन्ट आयोजना गर्नुको पछाडि एउटा ठूलो उद्देश्य छ । स्पर्म रेसिङ नामक कम्पनीले यो दौड आयोजना गर्न लागेको हो । कम्पनीको भनाइअनुसार उनीहरू यस रेसमार्फत यस्तो मुद्दालाई उजागर गर्न चाहन्छन्, जसबारे धेरैले खुलेर कुरा गर्न चाहँदैनन् ।  विशेषगरी पुरुषहरूको प्रजनन क्षमतासम्बन्धी चेतना फैलाउने उद्देश्य राखिएको छ । कम्पनीका अनुसार विगत ५० वर्षमा विश्वभर पुरुषहरूको शुक्राणु गणनामा ५० प्रतिशत गिरावट आएको छ । स्पर्म रेसिङ टोली भन्छ– शुक्राणु संख्या तपाईंको स्वास्थ्यको ठूलो सूचक हो । फन्डिङको छैन कमी यो रेसको लागि पूँजीको कुनै अभाव छैन । आयोजकहरू अहिलेसम्म १० लाख डलर (१ मिलियन डलर) को फन्डिङ उठाइसकेका छन् । फिगमेन्टजस्ता कम्पनीहरूले यसमा लगानी गरेका छन् ।  आयोजकहरूको भनाइअनुसार धनी र सेलिब्रेटीहरू पनि यो इभेन्टमा सहभागी हुन सक्नेछन् ।  यस रेसलाई एक हजार मानिसले प्रत्यक्ष (अफलाइन) र हजारौंले अनलाइन हेर्न सक्नेछन् । कुनै गम्भीर मुद्दालाई जनचेतनाको रूपमा प्रस्तुत गर्न यो अहिलेसम्मकै अनौठो र सफल प्रयास बन्नेछ । यसले पुरुष प्रजनन क्षमतालाई बहसको विषय बनाउन सफल भएको स्पष्ट हुन्छ ।

रुसमा साइबर आक्रमण, १० टेराबाइट डेटा लीक, ट्रम्पका फाइल पनि समावेश भएको दावी

काठमाडौं । विश्वप्रसिद्ध ह्याकिङ समूह एनोनिमसले रुसमा भएको एक ठूलो साइबर आक्रमणको जिम्मेवारी लिएको छ । यस ह्याकिङ समूहले एक्स (पहिलेको ट्वीटर) मा जानकारी दिँदै लेखेको छ कि १० टेराबाइट डेटा इन्टरनेटमा अपलोड गरिएको छ ।  यस डेटामा रुसको राजनीतिक अवस्था, स्थानीय व्यवसाय, रुसलाई समर्थन गर्ने अधिकारी र क्रेमलिनसँग सम्बन्धित सम्पत्तिहरू बारे विवरणहरू समावेश छन् । दाबी गरिएको छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित फाइलहरू पनि लिक गरिएको छ । एक्समा गरिएको पोस्टमा सार्वजनिक गरिएका फाइलहरूको सूचीमा ’लिक डेटा अफ डोनाल्ड ट्रम्प’ नामक फाइल पनि देखिएको छ । एक्स पोस्टमा के उल्लेख छ ? 'हामीले युक्रेनको समर्थन गर्दै रूसमा कार्यरत व्यवसायहरूसँग सम्बन्धित १० टेराबाइट डेटा लीक गरेका छौं । यसमा क्रेमलिनसँग सम्बन्धित सम्पत्ति, रुसलाई समर्थन गर्ने अधिकारीहरू र डोनाल्ड ट्रम्पसँग सम्बन्धित जानकारीहरू समावेश छन् ।’ In defense of Ukraine Anonymous has released 10TB of leaked data on all businesses operating in Russia, all Kremlin assets in the West, pro-Russian officials, Donald Trump, and more. 🇺🇦 #OpRussia https://t.co/Z1wKhjcSUz pic.twitter.com/Hod9qGBi8l — Anonymous (@YourAnonCentral) April 15, 2025 एनोनिमसले थप कुनै विवरण साझा गरेको छैन, न त भविष्यमा अरू डेटा लीक गर्ने धम्की नै दिएको छ । एनोनिमस समूह को हो? एनोनिमस एक विश्वप्रसिद्ध ह्याकिङ समूह हो जसले आफ्नो कार्यलाई ह्याक्टिभिज्म अर्थात् ह्याकिङ र सामाजिक आन्दोलनको मिश्रण भनेर चिनाउँछ । यस समूहले विभिन्न सरकारी र निजी संस्थाहरूलाई लक्षित गर्ने इतिहास राखेको छ, प्रायः भ्रष्ट वा जनविरोधी मानिने समूहहरूलाई । ट्रम्प - रशियन एजेन्ट? यस वर्षको सुरुमा एनोनिमस समूहले डोनाल्ड ट्रम्पमाथि रुसको लागि जासुसी गरिरहेको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए । उनीहरूले ट्रम्पको पुटिनसँग सम्बन्ध रहेको दाबीसमेत गरेका थिए । ट्रम्पद्वारा ट्यारिफ नीति लागू गरिएपछि एनोनिमस समूह झनै सक्रिय भएको देखिन्छ । सन् २०२२ मा यस समूहले युक्रेनको समर्थनमा रुसविरुद्ध साइबर युद्ध सुरु गर्ने घोषणा गरेको थियो ।  

घट्दो जन्मदरसँग जुध्न इटालीले सुरु गर्‍यो ‘बेबी बोनस’ योजना

काठमाडौं । घट्दो जन्मदरसँग जुध्न इटालीले सोमवारदेखि ‘बेबी बोनस’ योजना औपचारिक रूपमा सुरु गरेको छ । सरकारले नयाँ जन्मिने वा धर्मपुत्र ग्रहण गरिने प्रत्येक शिशुको लागि १ हजार युरो (झण्डै १ लाख ५० हजार रुपैयाँ) करमुक्त भत्ता प्रदान गर्ने योजना ल्याएको हो । इटालियन राष्ट्रिय सामाजिक सुरक्षा संस्थानले सार्वजनिक गरेको यस योजनाअन्तर्गत सन् २०२५ मा जन्मिएका वा धर्मपुत्रका रूपमा ग्रहण गरिएका बच्चाहरूका लागि उक्त भत्ता उपलब्ध गराइनेछ । योजना इटालियन नागरिकसँगै युरोपेली संघका सदस्य राष्ट्रका नागरिक तथा कानुनी दीर्घकालीन रूपमा इटालीमा बसोबास गरिरहेका गैर–इयु नागरिकलाई पनि लागू हुनेछ । सरकारले सन् २०२५ का लागि ३३० मिलियन युरो बजेट छुट्याएको छ भने २०२६ मा उक्त कोष ३६० मिलियन युरोमा पुर्‍याउने तयारी रहेको छ । प्रधानमन्त्री जर्जिया मेलोनीले जन्मदर वृद्धि गर्नु सरकारको शीर्ष प्राथमिकता भएको बताएकी छन् । इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले मार्चमा सार्वजनिक गरेको विवरण अनुसार, सन् २०२४ मा इटालीको प्रजनन दर प्रति महिला १.१८ शिशुमा झरेको छ, जुन १९९५ यताकै न्युनतम हो । स्थिर जनसंख्या कायम राख्न आवश्यक मानिने प्रतिस्थापन दर भने प्रति महिला २.१ शिशु हो । यो योजना देशको प्रजनन दर वृद्धि गर्ने दीर्घकालीन प्रयासको एक हिस्सा मानिएको छ।