अमेरिकाबाहिर बनेका चलचित्रमा १०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाबाहिर निर्माण भएका सबै चलचित्रहरूमा १०० प्रतिशत ट्यारिफ (महसुल) लगाउने घोषणा गरेका छन् । उनले भने, 'विदेशी देशहरूले अमेरिकन फिल्म निर्मातालाई आकर्षित गर्न दिएको प्रोत्साहनले अमेरिकी चलचित्र उद्योगलाई ‘एकदमै चाँडो अन्त्यतर्फ’ को स्थितिमा पुर्याएको छ ।' ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा पोस्ट गर्दै भने, 'यो अरू राष्ट्रहरूको संगठित प्रयास हो र त्यसैले राष्ट्रिय सुरक्षाको खतरा हो । यो सन्देश र प्रचारप्रसारसँग पनि सम्बन्धित छ ।' 'हामी फेरि चलचित्रहरू अमेरिकामै बनेको चाहन्छौं,' ट्रम्पले थपे । राष्ट्रपतिले वाणिज्य विभाग लगायतका संघीय निकायहरूलाई यो महसुल तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिइसकेको बताएका छन् । वाणिज्य सचिव हावर्ड लुटनिकले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, 'हामी यसमा काम गरिरहेका छौं ।' तर, महसुल कसरी लागू गरिने भन्ने विषयमा कुनै प्रस्ट जानकारी दिइएको छैन । यो कदमले विदेशी कम्पनीहरूलाई मात्र असर गर्छ वा विदेशमा चलचित्र बनाउने अमेरिकी कम्पनीहरूलाई पनि भन्ने विषय स्पष्ट छैन । फिल्मएलएका अनुसार लस एन्जलसमा चलचित्र र टेलिभिजन निर्माण पछिल्लो दशकमा झन्डै ४० प्रतिशतले घटेको छ । उता विश्वभरका सरकारले कर छुट र नगद अनुदानमार्फत निर्माण आकर्षणको प्रयास गरिरहेका छन् । ट्रम्पको यो निर्णय चीनसँगको व्यापार युद्धपछिको अर्को कठोर आर्थिक कदमका रूपमा आएको छ । यसअघि लगाइएका विश्वव्यापी महसुलले बजारमा हलचल ल्याएको थियो र अमेरिकी मन्दीको डर बढाएको थियो । यसबीच पूर्व वाणिज्य अधिकारी विलियम रिन्स्चले भनेका छन्, 'यदि अन्य देशहरूले प्रतिशोधमा कदम चाले भने त्यो अमेरिकी चलचित्र उद्योगका लागि विनाशकारी हुनेछ ।' 'हामीसँग गुमाउन धेरै छ, जित्न थोरै,'उनले थपे । सेयर बजारका बादशाह बफेटले सीईओ पद छाड्दै, ग्रेग एबेल बन्दै उत्तराधिकारी ट्रम्पको १०० दिन : ट्यारिफ युद्धले मन्दीको सन्त्रास र महँगीको शंका एआईदेखि ईभीसम्मः नवप्रवर्तनमा विश्वको ध्यान खिच्दै चीन
पोपको रूपमा आफ्नो एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना
काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालयको इन्स्टाग्राम खाताबाट डोनाल्ड ट्रम्पको पोपको रूपमा बनाइएको एआई तस्वीर सेयर गरिएको छ, जसप्रति क्याथोलिक समूहले कडा आपत्ति जनाएका छन् । यो तस्वीर त्यस्तो समयमा सार्वजनिक गरिएको हो जब क्याथोलिक समुदाय पोप फ्रान्सिसको निधनपछि शोकमा डुबेको छ । ट्रम्पले पोस्ट गरेको तस्वीरमा उनी पोपजस्तै सेतो पोशाक अनि टोपी लगाएर घाँटीमा ठूलो क्रस झुण्ड्याई गम्भीर मुद्रामा एक औंला माथि उठाएर उभिएका देखिन्छन् । न्यूयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले ट्रम्पमाथि उनीहरूको आस्थाको अपमान गरेको आरोप लगाएको छ । केही दिनअघि मात्र ट्रम्पले पत्रकारहरूसँग मजाक गर्दै भनेका थिए, 'म पोप बन्न चाहन्छु ।’ ट्रम्प यस्ता पहिलो अमेरिकी राष्ट्रपति होइनन्, जसले यस्ता आरोप खेप्नुपरेको हो । एक वर्षअघि अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा आयोजित र्‍यालीमा ‘साइन अफ द क्रस’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए । भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्वीरबारे कुनै टिप्पणी गरेका छैनन् । भ्याटिकनमा बुधबारदेखि पोपको उत्तराधिकारी चयनको प्रक्रिया सुरु हुन लागेको छ । न्युयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले एक्स (पूर्वट्विटर) मा लेखेको छ, 'यस तस्वीरमा केही पनि रमाइलो छैन, मिस्टर प्रेसिडेन्ट ।’ 'हामीले भर्खरै आफ्ना प्रिय पोपलाई गाडेका छौं र अब एक गम्भीर चयन प्रक्रिया सुरु हुँदैछ । कृपया हाम्रो मजाक नउडाउनुहोस् ।’
सेयर बजारका बादशाह बफेटले सीईओ पद छाड्दै, ग्रेग एबेल बन्दै उत्तराधिकारी
काठमाडौं । सेयर बजारका बादसाहका रूपमा परिचित वारेन बफेटले पदबाट सन्यास लिने घोषणा गरेका छन् । यस वर्षको अन्त्यसम्ममा आफू प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट सन्न्यास लिने र ग्रेग एबेललाई आफ्नो उत्तराधिकारीको रूपमा सिफारिस गर्ने घोषणा उनले गरेका हुन्। ९४ वर्षीय बफेटले शनिबार बर्कशायर हाथवेको वार्षिक बैठकमा भने, 'भोलि हामी बोर्ड बैठक गर्दैछौं । मलाई लाग्छ, अब समय आएको छ कि ग्रेग एबेलले कम्पनीको सीईओको जिम्मेवारी सम्हाल्नुपर्छ ।’ सन् २०२१ मा एबेललाई सीईओको उत्तराधिकारीको रूपमा घोषणा गरिए पनि यसपटकको औपचारिक घोषणा हजारौं सेयरधनीहरूका लागि अप्रत्याशित थियो । ६ दशक लामो यात्राको उत्कर्षमा बिदाइ सन् १९६५ मा एक असफल कपडा कारखाना किन्दै सुरु भएको बफेटको बर्कशायर यात्राले उनलाई ‘ओमाहाको भविष्यवक्ता’ बनायो । अहिले बर्कशायर हाथवे विश्वकै सबैभन्दा ठूला समूहहरूमध्ये एक बनेको छ, जसको बजार मूल्य झन्डै १.२ ट्रिलियन अमेरिकी डलर पुगेको छ । बफेटले स्पष्ट पारे, 'म अझै वरिपरि रहनेछु, तर कम्पनीको सञ्चालन र पूँजी व्यवस्थापनको अन्तिम निर्णय ग्रेगकै हुनेछ ।’ बफेटको विश्वास- ग्रेग एबेल अझ सक्षम ६२ वर्षीय एबेल हाल बर्कशायरका बीमा बाहेकका व्यवसायहरूको उपाध्यक्ष हुन् । बफेटले भने, 'ग्रेगको व्यवस्थापन शैली मेरोभन्दा प्रभावकारी छ । अहिले एबेलले निकै मेहनत गरिरहेका छन् ।’ बफेटले आफ्नो सम्पूर्ण सेयर होल्डिङमा राख्ने घोषणा गर्दै भने, 'यो आर्थिक निर्णय हो। मलाई लाग्छ, ग्रेगको नेतृत्वमा बर्कशायर अझै राम्रो प्रदर्शन गर्नेछ ।’ कम्पनी संस्कारको निरन्तरताको संकेत हाल बफेट बर्कशायरका अध्यक्षसमेत हुन् । अबको भूमिका कस्तो हुने भन्नेबारे आइतबाको बोर्ड बैठकमा छलफल हुनेछ । यसअघि बफेटले संकेत दिएका थिए कि आफ्नो मृत्युपछि उनका छोरा हाउइ बफेट गैर-कार्यकारी अध्यक्ष बन्नेछन् । शनिबारको घोषणा र एबेलको नाममा गरिएको सरप्राइज घोषणापछि ४० हजार सेयरधनीहरू उभिएर बफेटलाई सम्मानित गर्दै ताली बजाए । बर्कशायर निर्देशक रोन ओल्सनले टिप्पणी गरे, 'म यो घोषणाबाट अचम्ममा परें, तर यो प्रेरणादायी छ । अब म वारेनलाई ग्रेगका लागि चार्ली मंगरको भूमिकामा देख्न चाहन्छु ।’ नयाँ नेतृत्व, पुरानै दर्शन ग्रेग एबेलले भने, 'हामीले पूँजी विनियोजनमा बफेटले अपनाएको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिनेछौं । बर्कशायरको लगानी शैली परिवर्तन हुने छैन ।’ अब ६ दशक लामो नेतृत्वको अन्त्य भई बर्कशायर हाथवेमा नयाँ अध्याय सुरु हुनेछ।