पुष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै
काठमाडौं । पुष ११ गते शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार कार्की ब्यांक्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिएको हो । मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठले गर्ने आयोजकले बताएको छ । 'स्वस्थ लघुवित्त, समृद्ध सदस्य' भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा बागमती प्रदेशमा केन्द्रीय कार्यालय रहेका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको सहभागिता रहने जानकारी आयोजनाको संयोजक समेत रहेकी मानुषी लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले दिइन् । विगतमा यस्तो सम्मेलन राष्ट्रिय स्तरमा आयोजना हुने गरेको भए पनि प्रदेश स्तरमा पहिलो पटक हुन लागेको आयोजकले बताएको छ । लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी तथा प्रभावकारी बनाउने अभिप्रायले आयोजना हुने उक्त सम्मेलनको मुख्य उद्देश्य लघुवित्तको मूल मर्म र भावना अनुरुप विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउने रहेको छ भने ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रुपमा लघुवित्त कार्यक्रमलाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्ने तथा युवा सदस्यहरुलाई उद्यमशीलताको विकासतर्फ प्रोत्साहित गर्नुका साथै सवै सरोकारवालाहरुलाई जिम्मेवार र उत्तरदायी बनाउँदै दिगो लघुवित्त अभ्यासको प्रवद्र्धन गराउने लक्ष्य आयोजकले लिएको छ । सम्मेलनले लघुवित्त सदस्यहरु बीचमा अनुभव आदान प्रदान भई आपसी समझदारी र सहकार्य बढ्ने तथा ज्ञान तथा सिकाइ अभिबृद्धि हुनुका साथै लघुवित्त क्षेत्रको दिगो विकास, उद्यमशीलता प्रवद्र्धन तथा समावेशी आर्थिक वृद्धिका लागि महत्वपूर्ण योगदान दिने आयोजकले अपेक्षा लिएको छ । सम्मेलनले पछिल्लो समय विद्यमान लघुवित्तप्रतिको नकारात्मक सोचलाई परिवर्तन गर्न पनि भुमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
सिद्धार्थ बैंकको वार्षिकोत्सवमा बैंकका ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
काठमाडौं । सिद्धार्थ बैंकले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । यो अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म ३० दिन सञ्चालन हुने बैंकले जनाएको छ । बैंकको अफरअनुसार स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आवेदन शुल्क र पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ । सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउन अघिल्लो वर्ष कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गर्नु पर्ने छ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको कार्डका लागि जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्र कम्तीमा ३ वटा कारोबार गर्नु पर्नेछ । बैंकका अनुसार यस अफरको मुख्य उद्देश्य ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै डिजिटल कारोबारको प्रवर्धन गर्नु हो ।
नेपाल क्लियरिङ हाउसको वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै बैंकलाई एकसाथ दुइवटा अवार्ड प्रदान गरिएको हो । नेपाल क्लियरिङ हाउसले मंगलबार काठमाडौंमा आयोजना गरेको समारोहमा राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा बढी क्युआर मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको हो । उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरेका थिए । यस उपलब्धिप्रति राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण व्यावसायिक मर्चेन्टहरू, ग्राहक महानुभावहरू तथा समग्र कर्मचारीहरूप्रति हार्दिक आभार प्रकट गर्दछ । बैंकले भविष्यमा पनि डिजिटल बैंकिङ प्रवर्द्धन, सुरक्षित तथा प्रभावकारी भुक्तानी प्रणालीको विस्तार र ग्राहक–केन्द्रित सेवामा थप प्रतिबद्ध भएर अघि बढ्नेछ । डिजिटल कारोबारलाई सहज, सरल र सुरक्षित बनाउने उद्देश्यसहित राष्ट्रिय वाणिज्य बैंकले गरेको निरन्तर प्रयासको प्रतिफलस्वरूप यो सम्मान प्राप्त भएको बैंकको विश्वास रहेको छ ।