सीआईटीको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् ।  घिमिरेलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।  त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन् । उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा काम गरेका छन् ।

जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच सम्झौता, जापान र कोरियाबाट रकम पठाउन सहज

काठमाडौं । जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सुरु भएको छ । अब जापान र कोरियामा रहेका नेपालीहरूले जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनी ट्रान्सफरमार्फत सहजै रकम पठाउन सक्नेछन् । यो साझेदारीपछि नेपालीहरूले नेपालका कुनै पनि बैंक खाता वा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सक्नेछन् । साथै, नियो मनी ट्रान्सफरका देशभर रहेका एजेन्ट नेटवर्कमार्फत पनि रकम प्राप्त गर्न सकिने सुविधा उपलब्ध हुनेछ । नियो मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खनालले भने, 'जेआरएफ रेमिटसँगको साझेदारीले हामीलाई अझ छिटो र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्ने अवसर दिएको छ । यसले औपचारिक माध्यमको प्रयोग बढाएर देशको वित्तीय प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्नेछ ।' नियो मनी ट्रान्सफरले पछिल्लो समयमा बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ ।

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले ८५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दा ४६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो ।  सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट ८० अर्ब ६७ करोड रुपैयाँभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट तीन अर्ब ७९ करोड ५० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ । यस्तै, वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख रुपैयाँ र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख रुपैयाँ राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ कर राजस्व, एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ गैरकर राजस्व र ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ । चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा ४६ अर्ब ३० करोड ६१ लाख रुपैयाँ बराबर खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन भएकामा हालसम्म एक दशमलव ५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ बराबर खर्च भएको महालेखाले जनाएको छ ।  यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकामा शून्य दशमलव १८ प्रतिशत अर्थात् ७२ करोड ६३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबर विनियोजन भएकामा साउन मसान्तसम्म सात दशमलव २२ प्रतिशत अर्थात् २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ ।