अशान्तिले साना उद्योग धरापमा पर्ने महासंघको चिन्ता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । महासंघका अनुसार सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योगहरू अशान्ति, बन्द, तोडफोड तथा बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने गर्छन् । यस्तो अवस्थाले उद्यमीहरूको आत्मविश्वास कमजोर बनाउनुका साथै उत्पादन र आपूर्ति प्रणालीमा समेत असर पुर्याउने जनाएको छ । विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास नै राष्ट्रिय स्थायित्व तथा आर्थिक समृद्धिको आधार रहेको उल्लेख गरिएको छ । यस्ता घटनाले घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, व्यापार, पर्यटन, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष र दीर्घकालीन नकारात्मक असर पार्ने महासंघको भनाइ छ । महासंघले कुनै पनि समस्या वा मतभेदको समाधान हिंसा वा टकरावबाट नभई संविधान, कानुन, संवाद र आपसी समझदारीका माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै संयमता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ ।  विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग प्रभावित क्षेत्रमा प्रभावकारी शान्ति–सुरक्षाको व्यवस्था गर्न, उद्योग–व्यवसाय र सर्वसाधारणको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आर्थिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तत्काल निर्माण गर्न आग्रह गरेको छ । साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउन नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई महासंघले आह्वान गरेको छ । महासंघले शान्तिपूर्ण, सुरक्षित तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालासँग आवश्यक सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।   

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम भएका उद्योगसँग सम्बन्धित विभिन्न सिफारिस तथा सेवा प्रदेश सरकार र त्यसअन्तर्गतका निकायबाटै प्रदान गरिने स्पष्ट पारेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने २५ करोड रुपैयाँभन्दा कम स्थिर पुँजी भएका उद्योगका लागि आवश्यक मेसिनरी, औजार तथा कच्चा पदार्थसम्बन्धी सिफारिस प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको हो । यस्तै, रसायन आयात, बण्डेड वेयरहाउस सञ्चालन, कच्चा पदार्थ खपतको नर्म्स निर्धारण तथा अन्य छुट, सुविधा र सहुलियतसम्बन्धी सिफारिससमेत सम्बन्धित प्रदेश सरकार र त्यसअन्तर्गतका निकायबाटै गरिने विभागले स्पष्ट पारेको छ । यसैबीच, उद्योग विभागले उद्योग दर्तासहित थप सात प्रकारका सेवा पनि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ । विभागका अनुसार औद्योगिक व्यवस्थापन सूचना प्रणालीमार्फत आगामी साउन १८ गतेदेखि यी सेवाहरू अनलाइनबाटै सञ्चालनमा ल्याइनेछ ।

पशुपति खाद्यले बेच्यो १०.१८ अर्बको खाने तेल, ८५ प्रतिशत भारत निर्यात

काठमाडौं । पशुपति खाद्य तेल उद्योगले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामै १० अर्ब १८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ भर गरेको १० अर्ब ३० करोड रुपैयाँ आम्दानीसँग लगभग बराबर हो । पछिल्ला वर्षहरूमा कम्पनीको आम्दानीमा उल्लेख्य उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ७ करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ३ अर्ब ६६ करोड १० लाख रुपैयाँ, आव २०७८/७९ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ, आव २०७७/७८ मा ४ अर्ब ६२ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा ३ अर्ब ७ करोड ७० लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानीको मुख्य स्रोत भारततर्फको निर्यात हो । गत  आर्थिक वर्षको ९ महिनामा कुल बिक्रीको करिब ८५ प्रतिशत हिस्सा भारत निर्यातबाट आएको कम्पनीले जनाएको छ । सन् १९८२ मा स्थापना भएको पशुपति खाद्य तेल उद्योग नेपालका प्रमुख परिष्कृत खाद्य तेल तथा वनस्पति घ्यू उत्पादक उद्योगमध्ये एक हो । कम्पनीले विदेशबाट कच्चा खाद्य तेल आयात गरी प्रशोधन गरेर सोयाबिन, सूर्यमुखी र पाम ओलिन तेलका साथै वनस्पति घ्यू उत्पादन गर्दै आएको छ । यी उत्पादनहरू ‘पोस्टम्यान’, ‘हनुमान’, ‘हेल्लो’ र ‘पशुपति’ ब्रान्डमार्फत बजारमा बिक्री-वितरण गरिन्छ । कम्पनीको दर्ता कार्यालय मोरङको विराटनगर-८ मा रहेको छ भने उत्पादन केन्द्र सुनसरीको दुहबी उपमहानगरपालिका-८ मा सञ्चालनमा छ। कम्पनीमा नन्द किशोर राठी १३ प्रतिशत स्वामित्वसहित सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनी छन्। बाँकी स्वामित्व शारदा, राठी र वैद्य परिवारका १९ जना अन्य सेयरधनीसँग रहेको छ । कच्चा खाद्य तेलका लागि कम्पनी पूर्ण रूपमा आयातमा निर्भर छ । नेपालमा उत्पादन हुने कच्चा खाद्य तेलले कुल आवश्यकताको सानो हिस्सा मात्र पूरा गर्ने भएकाले कम्पनीले अधिकांश कच्चा तेल अर्जेन्टिना, युक्रेन, रुस, ब्राजिललगायत मुलुकबाट आयात गर्छ । कम्पनीका अनुसार आयात नीतिमा हुने परिवर्तन, प्रतिकूल मौसमका कारण कच्चा पदार्थको मूल्यमा आउने उतारचढाव, अन्तर्राष्ट्रिय बजारमा खाद्य तेलको मूल्य अस्थिरता तथा अमेरिकी डलरमा हुने आयातका कारण सिर्जना हुने विनिमय दरको जोखिमले कारोबार, नगद प्रवाह र नाफामा प्रत्यक्ष असर पार्न सक्छ । विश्वव्यापी आपूर्ति शृंखलामा आउने अवरोधका कारण कच्चा पदार्थ आपूर्तिमा ढिलाइ हुने र मौज्दात व्यवस्थापन लागत बढ्ने जोखिम पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब रुपैयाँ कर्जा लिएको छ । यसमध्ये ३ अर्ब रुपैयाँ फन्ड-बेस्ड र ५ अर्ब रुपैयाँ नन-फन्ड-बेस्ड कर्जा रहेको छ ।