महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले गरे पदबहाली
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन् । महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनपछि स्वतः अध्यक्षमा चयन भएका श्रेष्ठले बिहीबार पदभार ग्रहण गरेका हुन् । पदबहालीपछि उनले निजी क्षेत्रको हकहित संरक्षण र अर्थतन्त्र चलायमान बनाउन महासंघले सक्रिय भूमिका खेल्ने बताए । उनले उद्योगी–व्यवसायीको आत्मविश्वास बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा निजी क्षेत्रका समस्या समाधानका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले मुलुकको आर्थिक गतिविधि सुस्त बनेको अवस्थामा निजी क्षेत्रलाई उत्साहित बनाउने नीति आवश्यक रहेको उल्लेख गर्दै उत्पादन, रोजगारी र निर्यात प्रवर्द्धनमा महासंघले प्राथमिकता दिने बताए । उनले महासंघलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
एफएनसीसीआईको वस्तुगत सदस्यमा पशुपति देव पाण्डे निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फको कार्यकारिणी सदस्य पदमा पशुपति देव पाण्डे निर्वाचित भएका छन् । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्षसमेत रहेका पाण्डे दोस्रो कार्यकालका लागि महासंघको वस्तुगत सदस्यमा विजयी भएका हुन् । उनी नरेशलाल श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए । स्पष्ट वक्ता र सफल उद्यमीका रूपमा परिचित पाण्डे नेपालको तयारी पोशाक निर्यात, कृषि, पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सक्रिय व्यवसायीका रूपमा चिनिन्छन् । उनले नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षका रूपमा नेतृत्व गर्दै उद्योगले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि सरकारसँग निरन्तर समन्वय गर्दै आएको बताए । उनका अनुसार तयारी पोशाक उद्योगसहित वस्तुगत क्षेत्रले भोगिरहेका संरचनागत समस्या समाधानका लागि राज्य तहमा पहल गर्दै उद्योगमैत्री नीति निर्माणमा योगदान पुर्याउने उनको प्राथमिकता रहनेछ । पाण्डेले महासंघभित्रको नयाँ नेतृत्वले निजी क्षेत्रको समग्र प्रतिनिधित्व गर्दै उद्योग, व्यापार तथा सेवा क्षेत्रका चुनौती समाधानमा प्रभावकारी भूमिका खेल्ने बताए । उनले बदलिँदो विश्व व्यापार परिप्रेक्ष्य, आपूर्ति शृंखला परिवर्तन र प्रतिस्पर्धात्मक बजार संरचनालाई ध्यानमा राख्दै निजी क्षेत्रको सुदृढीकरण आवश्यक रहेको उल्लेख गरे । पाण्डेले ‘मेड इन नेपाल’ ब्रान्ड प्रवर्द्धन, निर्यात विविधीकरण, व्यापार सहजीकरण र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा सरकार तथा महासंघसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्षको दौडमा वैद्य र संघाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ कार्यसमिति बनेसँगै वरिष्ठ उपाध्यक्ष को बन्छ भन्ने विषयले चर्चा पाएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अञ्जन श्रेष्ठको टिमले पकड जमाएसँगै वरिष्ठ उपाध्यक्ष पनि उनकै टिमबाट निर्वाचित हुने करिब निश्चित देखिएको छ । तर, सोही टिमभित्र पनि धेरै व्यवसायी आकांक्षी देखिएकाले यो पदप्रति चासो बढेको छ । यसअघि वरिष्ठ उपाध्यक्षका आकांक्षीहरूका रूपमा निवर्तमान उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्वउपाध्यक्षहरू दिनेश श्रेष्ठ र रामचन्द्र संघाईबीच जसको क्षेत्रबाट बढी मत आउँछ, सोही व्यक्तिलाई वरिष्ठ उपाध्यक्षका रूपमा अघि बढाउने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको थियो । निर्वाचन परिणामअनुसार अहिले एसोसिएट र जिल्ला-नगरबाट यस समूहले अत्यधिक मत प्राप्त गरेको छ । मत परिणाम सार्वजनिक भएसँगै संघाई र वैद्य वरिष्ठ उपाध्यक्ष बन्न नवनिर्वाचित अध्यक्ष श्रेष्ठसँग तीव्र लबिङमा लागेका छन् । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसँग सुरकृष्ण वैद्य । बुधबार निर्वाचन समितिले अन्तिम मत परिणाम घोषणा गरिरहँदा दृश्य रोचक देखियो । प्रायः हेमराज ढकाल, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र अञ्जन श्रेष्ठ नजिकै बस्ने गर्थे । तर, औपचारिक रूपमा मत परिणाम घोषणा हुँदा रामचन्द्र संघाई अध्यक्ष श्रेष्ठसँगै आत्मविश्वासका साथ बसेका देखिन्थे । यसले उनी नै आगामी वरिष्ठ उपाध्यक्ष पदका लागि अघि सर्ने संकेत देखिएकाे छ । तर, निवर्तमान जिल्ला-नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले पनि आफू नै अबको वरिष्ठ उपाध्यक्ष पदको प्रमुख दाबेदार भएको दाबी गरे । ‘पूर्व पदाधिकारी सबैले निर्वाचन लड्न पाउने व्यवस्था छ । तीन कार्यकाल सदस्य रहेका सबैले पनि वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिन पाउँछन् । अब अग्रजहरूले व्यवस्थापन गर्ने प्रयास गर्नुहुन्छ होला । नयाँ कार्यसमितिले पनि मिलाउन खोज्छ, तर सकेन भने प्रतिस्पर्धामा जाने हो,’ उनले भने । ‘मत परिणाम आयो, अब माहोल मेरै हो । निर्वाचनमा सबैले चासो राख्न पाउँछन् । महासंघमा म मात्रै होइन, सबैले इच्छा राख्न पाउँछन् । चुनाव हुन्छ, कसको भोट कति छ भनेर गन्नुपर्छ । मैले मेरो समर्थन देखाइसकेको छु । महासंघले वरिष्ठका लागि आवेदन दिन भन्छ, म आवेदन दिनेछु । अरू को-को आउँछन्, त्यो हेर्न बाँकी छ,’ वैद्यले थपे । निर्वाचनअघि गत चैत ९ गते अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा गरिएको थियो । स्वतः अध्यक्ष बन्ने तयारीमा रहेका श्रेष्ठले सहज रूपमा काम गर्न आफू अनुकूल टिम घोषणा गरेका थिए । जसमा वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे तथा जिल्ला-नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मालाई अघि सारिएको थियो । तर, वरिष्ठ उपाध्यक्ष पदका लागि भने कुनै उम्मेदवार सार्वजनिक गरिएको थिएन । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसँग मञ्च सेयर गर्दै रामचन्द्र संघाई । फागुन २१ गते अर्काे समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ तथा जिल्ला-नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेको उम्मेदवारी घोषणा भइसकेको थियो । उक्त टिमको नेतृत्व हेमराज ढकालले गरेका थिए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यसमितिबाट चयन हुने व्यवस्था छ । त्यसैले कार्यसमितिमा कसको बहुमत रहन्छ भन्ने कुरा निर्णायक हुन्छ । महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत बुधबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणामअनुसार अञ्जन श्रेष्ठ निकट समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् । यसले वरिष्ठ उपाध्यक्ष चयन प्रक्रियामा श्रेष्ठ समूहलाई स्पष्ट रूपमा बलियो बनाएको छ भने ढकाल समूहका लागि चुनौती थपिएको छ । एसोसिएटतर्फ उपाध्यक्षमा प्रवलजंग पाण्डे र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा भएकोमा पाण्डे समूह बहुमतसहित विजयी भएको छ । पाण्डे समूहबाट एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार वेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, इश्वरबहादुर जीसी र सुरज उप्रेती विजयी भएका छन् । एशोसिएट महिलातर्फ पनि पाण्डे समूहकै अभिज्ञा मल्ल र जना माथेमा विजयी भएका छन् भने श्रेष्ठ समूहबाट बटु लामिछाने मात्र विजयी भए । महासंघको जिल्ला-नगर उद्योग वाणिज्य समूहतर्फ उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । उनीहरू अध्यक्ष अञ्जन श्रेष्ठ समूहका हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहबाट जिल्ला-नगर उपाध्यक्ष पदमा उमेश डालमिया र कल्पना गैरे उम्मेदवार थिए । जिल्ला-नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कातुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल विजयी भएका छन् । यस्तै, महिला सदस्यमा गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् । जिल्ला-नगरतर्फ निर्वाचित सदस्यहरूमध्ये उज्ज्वलप्रसाद कसजु ढकाल समूहबाट हुन् भने अन्य सबै अध्यक्ष श्रेष्ठ समूहका उम्मेदवार थिए । महासंघको वस्तुगततर्फ भने मिश्रित मतपरिणाम आएको छ । उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गरेका हुन् । श्रेष्ठ हेमराज ढकाल समूहबाट उम्मेदवार बनेका थिए भने घिमिरे अञ्जन श्रेष्ठ समूहबाट प्रतिस्पर्धामा थिए । त्यस्तै, वस्तुगततर्फ कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रवीन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकी विजयी भएकी छिन् । यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त गरेका छन् । उनीहरूबीच आधा-आधा कार्यकाल बाँड्ने सहमति भएको छ, जसअनुसार दुई जनाले पहिलो डेढ वर्ष र बाँकी दुई जनाले पछिल्लो डेढ वर्ष कार्यकाल सम्हाल्नेछन् । निर्वाचितमध्ये अरनिको राजभण्डारी, रवीन पुरी, राजकुमार कार्की, नानीराज घिमिरे, संघर्ष विष्ट, होमप्रसाद घिमिरे र सुनिता नेहाफुकी घिमिरे समूहका हुन् भने विदुर धमला, सागर ढकाल, पशुपतिदेव पाण्डे, लीलेन्द्रप्रसाद प्रधान र भक्तबहादुर हमाल श्रेष्ठ समूहका उम्मेदवार थिए । बराबर मत ल्याउनेमध्ये रघुनन्दन मारु घिमिरे समूहका उम्मेदवार हुन् भने निराजन चलाउने, विप्लव अधिकारी र सुरज बन्जाडे श्रेष्ठ समूहबाट उम्मेदवार थिए । उनीहरूबीच आधा-आधा कार्यकाल बाँड्ने सहमति भएको छ । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले सबैलाई व्यवस्थापन गरेर वरिष्ठ उपाध्यक्ष चयन गर्ने बताएका छन् । कार्यसमिति र अग्रजहरूको आन्तरिक छलफलबाट नै सर्वसम्मत रुपमा चयन गर्ने उनको भनाइ छ ।