‘विकास नायक २०८२’ को खोजी

विकास मिडियाद्वारा प्रकाशित Bikashnews.com र देशविकास पत्रिकाले विगतमा झैं यस वर्ष पनि विकास नायकको खोजी गर्ने, उनीहरूले गरेको कार्यहरूको रिपोर्ट बनाउने, विकासन्युज (डिजिटल पत्रिका) र देशविकास म्यागेजिनमा प्रकाशन गर्ने तयारीमा रहेका छौं । यस वर्षदेखि विकास नायकहरुलाई सम्मानसमेत गर्ने तयारी भइरहेको छ ।  विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । देशविकासका लागि बहुआयामिक सूचकाङ्क हुन्छन् । पर्याप्त अवसरसहित उच्चस्तरकोे आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाजसेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ ।   हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य रिपोर्टिङि गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई सम्मान कार्यक्रमको समेत तयारीमा रहेका छौं ।  जसले देश विकासमा साहसिक काम गरेको छ, उदाहरणीय काम गरेको छ र अरुलाई उत्प्रेरित गरेको छ–उसको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समूदायसम्म पुर्याउनु, सफलताका कार्याअनुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो ।  तपाईंको सिफारिस, तपाईंले दिएको सूचना, सम्बद्ध स्रोतहरूबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउँछौं । उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा छनौट समितिले लिएको निर्णयका आधारमा हामी आन्तरिक रूपमा फरक–फरक विधाबाट १० विकास नायक सूची बनाउँछौं । उनीहरूको काम र प्रभावबारे रिपोर्ट बनाउँछौं, प्रकाशित गर्छौं । प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक घोषणा गर्छौ र सम्मान गर्दछौं ।  विकास नायक घोषणा र सम्मान विकास मिडियाको वार्षिक उत्सवका दिन अर्थात् जनवरी पहिलो आइतबार अर्थात् २०८२ पुस २० गते गरिनेछ । आउनूहोस्, विकास नायक छनौटमा सहभागी हुनूहोस् । मनोनयन फारम २०८२ मंसिर १० गतेसम्म भरिसक्नुपर्नेछ । सिधा सम्पर्क: [email protected], whatsapp 9801130454 विकास नायक श्रृङ्खला  

सोनापुरले तिर्याे विद्युत बक्यौताको पहिलो किस्ता, काटिएको बिजुली जोडियो

काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ । सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी सोनापुर मिनरलले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

मानव स्वास्थ्य र वातावरणीय असर भएपछि इँटा उद्योग बन्दको माग

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द गर्न स्थानीयले माग गरेका छन् । सामुदायिक वनका उपभोक्ताले इँटा उद्योगबाट निस्किएको धुँवाले स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेकाले बन्द गर्न माग गर्दै घरेलु तथा पर्यटन कार्यालयमा निवेदन पेस गरेका भद्रु सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चिनबहादुर भण्डारीले जानकारी दिए । उद्योगले कोइलामात्र प्रयोग गरेर इँटा उत्पादन गर्न पाउने प्रावधान भएकामा सञ्चालकले दाउरा प्रयोग गरी निस्केको धुँवाले स्थानीय उपभोक्ताको स्वास्थ्यमा असर पुगेको उनले बताए ।  'इँटा उद्योग सञ्चालन गर्न सरकारबाट निर्धारण गरिएको प्रावधानका विरुद्ध बढी धुँवा निस्कने गरी चलाइरहेकाले उपभोक्ताको बहुमतको निर्णयबाट बन्द गर्न मागसहित सम्बन्धित निकायमा पुगेका हौँ', उनले भने, 'इँटा उद्योग वरपर बसोबास गर्ने स्थानीयवासीको स्वास्थ्यमा बढी प्रभाव परेको छ । सञ्चालकलाई निर्धारण गरिएको प्रावधानविपरीत नजान आग्रह गर्दा पनि नमानेपछि यससँग सम्बन्धित निकायसमक्ष उद्योग बन्दको मागसहित अगाडि बढेका हौँ ।' यस क्षेत्रका स्थानीयमा आँखा पोल्ने, नाक पोल्ने, श्वास फेर्न मुस्किल हुने, घाँटी दुख्ने, बोटबिरुवा तथा वातावरण प्रदूषित बनेको अध्यक्ष भण्डारीले जानकारी दिए ।  सामुदायिक वनमा आबद्ध एक सय ८० उपभोक्तामध्ये एक सय ४० उपभोक्ताले मानव स्वास्थ्य, वनजङ्गल तथा वायु प्रदूषणमा प्रभाव पारेकाले उद्योग बन्द गरी स्वच्छ वातावरण बनाउन माग गरेका छन् । औद्योगिकीकरणभन्दा बढी मानव स्वास्थ्य तथा वायु प्रदूषण जोखिमयुक्त भएकाले तत्काल सञ्चालनमा रोक लगाउन आवश्यक रहेको सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कुलबहादुर दरैले बताए । 'विगतमा हामी मानव स्वास्थ्य, वायु तथा वातावरण प्रदूषणका विषयमा अनभिज्ञ थियौँ । अहिले बुझ्दै गएका छौँ । मानव स्वास्थ्यका लागि स्वच्छ वायु तथा वातावरण बनाउनुपर्छ । त्यसैले मावन स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने उद्योग बन्द हुनुपर्छ ।' उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका उपसचिव महाराज ढकालले उद्योगको अनुगमन गर्दै सामुदायिक वन उपभोक्ता तथा वातावरणमा असर गरेका विषयमा अझ बढी अध्ययन गर्नुपर्ने र हालका लागि उद्योग सञ्चालन स्थगन गर्नुपर्ने बताए । उनले भने, 'मानव स्वास्थ्यमा नै प्रत्यक्ष रूपमा प्रभाव पारेको गुनासो आइसकेको छ । उपभोक्ताको स्वास्थ्य तथा वातावरणको प्रभावले दीर्घकालसम्म अझ बढी प्रभाव पार्नुबाट जोगाउन उचित रहेको छ ।' गहन रूपमा अध्ययनका लागि हाललाई उद्योग सञ्चालनमा रोक लगाउन उचित रहेको बताए । सामुदायिक वन उपभोक्ताले उद्योगको कमीकमजोरीसहित निवेदन पेस गरिसकेकाले मानव स्वास्थ्य तथा वातावरणलाई सन्तुलित र स्वच्छ बनाउनेतर्फ प्राथमिकतामा हुनुपर्नेमा जोड दिए । उद्योगले प्रभाव पार्ने स्थानका स्थानीयवासीमा मुटु, फोक्सोसम्बन्धी रोगबाट प्रभावित भएको पाइएको स्थानीयको भनाइ छ । सङ्घीयता कायम नहुँदै दर्ता भएको उद्योग वडा, नगरपालिकामा समेत नवीकरण नभएको पाइएको उपभोक्ता समूहको आरोप छ ।  उद्योग सञ्चालक रामदेव पन्थले यस उद्योगमा छ सय कामदार रहेकाले हालै सञ्चालनमा रोक नलगाउन अनुरोध गर्नुभएको छ । यस उद्योगका कामदारको रोजीरोटी खोसिने भन्दै उनले सञ्चालन बन्द गर्न नमिल्ने बताए । यस उद्योगबाट इँटा उत्पादन गर्दा कोइलाको प्रयोगमात्र गर्न पाउने प्रावधानविपरीत गएर दाउराको प्रयोग गरेको पाइएको उपभोक्ताको गुनासो छ । उद्योगबाट निस्कने विषाक्त धुँवाले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको उनीहरूको भनाइ छ ।  विसं २०५० देखि सञ्चालित उक्त उद्योगले अवैधानिक रूपमा सामुदायिक वनको कार्यसमितिलाई जानकारी नदिइकन, ‘डिमार्केशन पिलर’ बाहिर आई सामुदायिक वनको क्षेत्रमा रुखबिरुवा कटानी गरेको र जेसिबी प्रयोग गरेको उत्खनन गरेको जनाइएको छ । रासस