काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्ष अञ्जन श्रेष्ठ बनेका छन् । वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने महासंघको विधान अनुसार उनी आजदेखि अध्यक्ष बनेका हुन् । उनी अब देशभरका उद्योगी व्यवसायी छाता संस्थाको नेतृत्वकर्ताको जिम्मेवारीमा आएका छन् ।
उनी महासंघको ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी महासंघको २१औं अध्यक्ष बनेका छन् । चन्द्रप्रसाद ढकालको तीन वर्षे कार्यकाल सकिएसँगे अञ्जन अध्यक्ष बनेका हुन् । उनले आगामी तीन वर्ष महासंघको नेतृत्व गर्नेछन् ।
उद्योगी–व्यवसायीका साझा एजेन्डालाई नीतिगत तहसम्म पु¥याउने तथा लगानीमैत्री वातावरणका लागि पैरवी गर्ने भूमिकामा अब अञ्जन थप सक्रिय हुनेछन् ।
महासंघमा वि.सं २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका उनले यो अवधिमा विभिन्न जिम्मेवारीमा रहेर काम गरे । महासंघमा रहेर उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरेको अनुभव छ ।
को हुन् अञ्जन श्रेष्ठ ?
महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठको औपचारिक आगमनसँगै नेपाली निजी क्षेत्रले एक नयाँ मोड लिएको छ । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठ उत्पादन, अटोमोबाइल, उपभोग्य वस्तु, स्टिल, प्याकेजिङ र सेवा क्षेत्रसम्म फैलिएको व्यावसायिक अनुभव बोकेका उद्योगी हुन् । उनको व्यावसायिक सुरुवात पोखराबाट भएको हो ।
उद्योगी गणेश श्रेष्ठका छोरा समेत रहेका उनले २०४५ सालमा सोही कन्फेक्सनरी उद्योगबाट काम सुरु गरेका थिए । जुन अहिले सुजल फुडबाट परिचित छ । अहिले सुजल फुड नेपालकै ठूलो कन्फेक्सनरी पनि हो । लक्षी ग्रुपको डेरी उद्योगमा पनि ठूला लगानी छ भने गाडी विक्रेताका रुपमा पनि लक्षी ग्रुप अगाडि छ । लक्ष्मी ग्रुपले अटोमोबाइल क्षेत्रमा नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरण गर्दै आएको छ । पछिल्लो समय स्टिल उत्पादन र गाडी एसेम्बलसम्बन्धी उद्योग पनि सञ्चालनमा ल्याइएको छ ।
लक्ष्मी ग्रुपले सन् २००८ मा हुन्डाई ब्राण्डका गाडी आफैं आयात गरेर वितरण गर्न थालेको थियो । अहिले भने हुन्डाई ब्राण्डका गाडी नेपालमै एसेम्बल भइरहेका छन् । नेपालमा गाडी एसेम्बल सुरु गर्ने लक्ष्मी ग्रुप पहिलो औद्योगिक घराना हो ।
उनी साढे तीन दशकदेखि उद्योग व्यवसायमा सक्रिय छन् । यही बहुआयामिक संलग्नताले उनलाई निजी क्षेत्रका जटिल संरचनागत समस्या-नीतिगत अनिश्चितता, लगानीमा देखिएको सुस्ती, बैंकिङ क्षेत्रको दबाब र उत्पादन लागतको वृद्धिजस्ता विषयलाई व्यावहारिक दृष्टिले बुझ्ने क्षमता दिएको छ ।
उनले आर्थिक गतिविधि विस्तारका लागि नीतिगत स्थायित्व र लगानीमैत्री वातावरण अपरिहार्य रहेको बताउँदै आएका छन् । ‘निजी क्षेत्रलाई विश्वास गर्ने वातावरण बनाइएन भने अर्थतन्त्र चलायमान हुन सक्दैन, अब हामी सरकारसँग सहकार्य गर्दै लगानी र उत्पादन बढाउनेतर्फ केन्द्रित हुन्छौं,’ महासंघको ६०औं वार्षिक साधारणसभामा उनले भनेका थिए ।

उनी ऊर्जा, पर्यटन, पूर्वाधार र डिजिटल अर्थतन्त्रजस्ता सम्भावनायुक्त क्षेत्रलाई निजी क्षेत्रसँग जोड्दै दीर्घकालीन आर्थिक विस्तारको आधार तयार पार्नुपर्ने धारणा उनको छ ।
अहिले निजी क्षेत्र घट्दो माग, आयात–निर्यात असन्तुलन र नीतिगत अस्पष्टताजस्ता चुनौतीबीच उभिएको छ । यस्ता चुनौतीका बीच उनले निजी क्षेत्रलाई समाधानमुखी साझेदारका रूपमा अगाडि बढाउनुपर्नेछ ।
महासंघभित्रको आन्तरिक एकता, सदस्यबीचको विश्वास र संस्थागत सुदृढीकरण पनि उनको लागि उत्तिकै महत्वपूर्ण एजेन्डा रहनेछन् ।
यस्ता छन् योजना
अध्यक्ष श्रेष्ठले आगामी तीन वर्षे कार्यकालमा निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनः परिभाषित गर्ने बताएका छन् । सरकारले निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण बनाउन निरन्तर पहल गर्ने प्रतिवद्धता उनको छ ।
‘नीति निर्माणमा, बजेट निर्माणमा, ऐन–कानुन निर्माणमा र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको आवाज सुनिने र प्रतिविम्बित हुने प्रणाली विकास गर्ने छु,’ उनले भनेका छन् ।
उनले आफ्नो कार्यकालमा निजी क्षेत्रप्रतिको धारणामा परिवर्तन ल्याउन काम गर्ने बताएका छन् ।
‘उद्यमी भनेको शोषक होइन, सम्पत्ति निर्माता हो, व्यवसायी भनेको कर छली गर्ने होइन, राज्यलाई कर तिर्ने सहयात्री हो, यो सत्य समाजमा स्थापित गर्न महासंघले व्यवस्थित अभियान चलाउने छ,’ उनले भने ।
आगामी कार्यकालमा जिल्ला, नगर उद्योग वाणिज्य संघ, वस्तुगत र क्षेत्रगत संघहरूको कामलाई बढी प्रभावकारी बनाउने श्रेष्ठले बताएका छन् ।
उनका अनुसार राष्ट्रिय सदस्य सञ्जाल र सेवा उत्कृष्टता, आर्थिक सुधार र सुशासन, प्रतिस्पर्धात्मकता र वृद्धि, विकास सहयोग र निजी क्षेत्र विकास, श्रम-सिप-उत्पादकत्वमा सुधार र निजी क्षेत्र प्रवद्र्धन तथा संरक्षण यी ६ स्तम्भ अन्तर्गत ६० ठोस पहल समावेश छन् । उनले उद्योगी व्यवसायी राजनीतिक दलको सदस्य बन्न नपाउने व्यवस्था गर्ने उद्घोष पनि गरेका छन् ।