'भारतको कानुनले ग्यास उद्योग चलिरहेका छन्, काठमाडौंमा एउटा ग्यास उद्योग भए पुग्छ' {अन्तर्वार्ता}
नेपाल एलपी ग्यास उद्योग संघको पोखरामा सम्पन्न ३०औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशनबाट दिवान चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भयो । यसअघि संघको महासचिव हुँदै उपाध्यक्ष रहेका चन्द ३३ मतसहित अध्यक्षमा निर्वाचित भए । कुल ५७ उद्योग सदस्य रहेकोमा चुनावमा ५० मतदाताले मात्र सहभागिता जनाउँदा उनका विपक्षी कृष्णभक्त श्रेष्ठले १७ मत मात्रै प्राप्त गरे । निर्वाचन सम्पन्न भएलगत्तै कृष्तभक्त श्रेष्ठसहित १० जना उद्योगीले संघबाट बाहिरिएको घोषणा गरे । ६० प्रतिशत भूगोलमा ग्यास प्रयोग हुने गरेको छ भने अझै ४० प्रतिशत गाउँघरमा मान्छेहरू दायरा लगायत अन्य इन्धन प्रयोग भइरहेको चन्द बताउँछन् । सडक बाटो अभावका कारण खच्चडमा ग्यास ढुवानी गर्दा त्यस क्षेत्रमा एउटै ग्यासको मूल्य ५ हजार रुपैयाँ भन्दा बढी पर्ने गरेको छ । हाल बजारमा १ करोड हाराहारीमा ग्यास सिलिण्डर रहेकोमा ३३ प्रतिशत ग्यास सिलिण्डर बाटोमा ढुवानी हुँदैछन् भने ३३ प्रतिशत सिलिण्डर उद्योगसँग छन् । साथै, ३३ लाखदेखि ४० लाख सिलिण्डर उपभोक्ताहरूले घरमा ग्यास प्रयोग गरिरहेको चन्दले बताए । नवलपरासीको आरती ग्यास उद्योग, धादिङको एचपी ग्यास, कैलालीको रेडियन्ट ग्यास उद्योगमा चन्दको लगानी छ । झोलाबाट सुरु गरेर एलपी ग्यास उद्योग संघ अहिले पोखरामा वार्षिक साधारण सभा गर्ने अवस्थामा पुगेको उनी बताउँछन् । ग्यास उद्योग संघभित्रको विवाद, उद्योगीहरूको समस्या, नेपालमा ग्यास प्रयोगको अवस्था लगायत विभिन्न विषयमा आधारित रहेर नवनिर्वाचित अध्यक्ष चन्दसँग विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् । तीन कार्यकाल शिवप्रसाद घिमिरेले नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्व गर्नु भयो । उहाँ संस्थाको नेतृत्वबाट बाहिरिँदै गर्दा सहज रुपमा नेतृत्व हस्तान्तरण हुन सकेन । यति थोरै सदस्य रहेको संस्थामा चुनावको माध्यमबाट नेतृत्व चयन गर्नुपर्ने अवस्था कसरी बन्यो ? हामीले साथीहरूलाई मिलाउन खोजेको हो । तर, उहाँहरूका अपेक्षा धेरै भए । साथीहरूलाई नेतृत्वमै आइराख्नुपर्छ भन्ने लाग्यो । विगतमा सहमतिमै नेतृत्व चयन गर्दै आइरहेका थियौं । यसपटक वरिष्ठ उपाध्यक्ष (कृष्णभक्त श्रेष्ठ)ले पनि अध्यक्ष बन्ने चाहना राख्नु भयो । तर, धेरै साथीहरूले तपाईं अध्यक्ष बन्नुपर्छ भनेर मलाई प्रस्ताव गर्नु भयो । भूतपूर्व अध्यक्षले पनि सपोर्ट गर्नु भयो । निर्वाचन समयमा कुशजी (संघका पूर्वअध्यक्ष कुशप्रसाद मल्ली) विदेश जानु भयो । तर, उहाँको समर्थन मलाई नै थियो । केही साथीहरूले साना तथा ठूला उद्योगका मुद्दा उठाउन थाले । तर, मेरो यो क्षेत्र व्यवस्थित गर्ने एजेन्डा छ । म तीन कार्यकाल महासचिव र दुई कार्यकाल उपाध्यक्ष भइसकेको थिएँ । महासचिव, उपाध्यक्ष मैले मागेर वा चुनाव लडेर होइन, सबै साथीहरूको सर्वसम्मतले गरेका थिएँ । यसपटक म सदस्य भएर पनि योगदान गर्न सक्छु भन्दा अरु साथीहरूले तपाई नै अध्यक्ष हुनुपर्छ भनेर दबाब दिनु भयो । मेरो पनि इच्छा र अन्य साथीहरूले पनि जोड गरेपछि उम्मेदवारी दिएँ । भोटिङमा जाँदा म माथि धेरै साथीहरूको विश्वास रहेछ भनेर स्पष्ट देखियो पनि । बहुमतको आधारमा तपाईं निर्वाचित हुनुभयो । तर, असन्तुष्ट पक्ष (तपाईंको विपक्षी)ले लगत्तै संघमा नरहेको घोषणा गर्नु भयो । अब उहाँहरूलाई कसरी साथमा लिएर जानु हुन्छ ? उहाँ (कृष्णभक्त श्रेष्ठ) वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । त्यो भन्दा पहिला उहाँ र म सँगै उपाध्यक्ष थियौं । यसअघिको निर्वाचनमा सन्चो नभएपछि म भारतमा उपचाररत थिएँ । त्यतिबेला उहाँ वरिष्ठ उपाध्यक्ष बन्नु भयो । जबकि म नै उहाँभन्दा सिनियर थिएँ । म तीन पटक महासचिव हुँदा उहाँ तीन पटक नै कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको पनि योगदान कम छ भन्न खोजेको होइन । उहाँ राम्रो मान्छे हो । तर, म सधैं उहाँभन्दा माथि नै थिएँ । ११औं अधिवेशनमा म बिरामी परेका कारण उपस्थित हुन सकिनँ । तैपनि मलाई उपाध्यक्ष पदमा राखेका थिए । किनकी यो मान्छे संघको लागि चाहिन्छ, कार्यसमितिबाट बाहिर गर्नु हुँदैन भनेर मलाई उपाध्यक्षमा दोहोर्याएका थिए । उहाँलाई अध्यक्ष बाहेकको पद छनोट गर्न आग्रह गर्याैं । तर, मान्नु भएन । तर, अहिले उहाँसहित १० जनाले संस्था छोडेको भन्नु भएको छ । संस्थाबाट बाहिर जाँदा कसैको पनि भलो हुँदैन । चुनाव लड्ने, हारेपछि छोड्छु भन्नु कति उपयुक्त हो ? तैपनि संघमा अरु समिति पनि छन् । कुन समितिमा उपयुक्त हुन्छ, सोही समितिमा ल्याउने तयारी भइरहेको छ । कृष्णभक्त श्रेष्ठसहित १० जनाले सामूहिक रुपमा संघ छाडेको घोषणा गर्नु भयो । उहाँलाई फिर्ता ल्याउने वातावरण हुन्छ कि हुँदैन ? उहाँहरूलाई फिर्ता ल्याउने गरी छलफल भइरहेको छ । संघका पूर्वअध्यक्षहरूले वार्ता गरिरहनु भएको छ । पूर्वअध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले छलफल तथा संवाद गरिरहनु भएको छ । १० जना गए पनि केही छैन भन्ने पक्षमा हामी छैनौं । उहाँ र हामी एउटै परिवारको मान्छे हो । हाम्रा समस्या र उहाँका समस्या समान छन्, अनुभव पनि समान छन् । तर, सानो केही हुने बित्तिकै तोडफोड गर्ने मनस्थितिबाट बाहिर निस्किनुपर्छ । यो संस्था राजनीति गर्ने थलो होइन । संस्थाको हकहित र आफ्नो उद्योगको हकहितको लागि काम गर्ने हो । हामी व्यवसायी हौं । नाफा कमाउनका लागि खोलिएको हो । हामीले समाजसेवा गर्ने होइन नी । हाम्रो व्यवसायमा सरकारले बिक्री र खरिद मूल्य स्पष्ट तोकेको छ । मूल्य निर्धारणको विषय हाम्रो हातमा छैन । ग्यासको मूल्य १ रुपैयाँ बढे पनि हामीलाई फाइदा हुँदैन, १ रुपैयाँ घटेपनि घाटा हुँदैन । संघमा शीर्ष समिति छ । त्यो समितिलाई कार्यसमिति भन्दा माथि राखिएको छ । कुनै संवाद गर्नुपर्ने भए कार्यसमिति, पदाधिकारी बैठक आवश्यक पर्दैन । शीर्ष समितिले नै काम गर्छ । विगतमा त्यो समितिमा पूर्वअध्यक्ष शिव प्रसाद घिमिरे, गोकुल भण्डारी र कुश मल्ली हुनुहुन्थ्यो । कुश मल्लीजीले म बस्दैन भन्नु भएको हुँदा त्यसमा कृष्णजीलाई बस्न आग्रह गरेका छौं । नेपालमा एलपी ग्यास उद्योगहरूले भोग्नु परेका समस्याहरू के-के हुन् ? ग्यास उद्योगीहरूले धेरै समस्या भोग्नु परेको छ । पहिलो त एलपी ग्यास सम्बन्धी कानुनी व्यवस्था नै छैन । हामीले बारम्बार एक्सप्लोसिभ एक्ट (विस्फोटक पदार्थ ऐन) बनाइदिनुपर्याे भन्दै सरकारसँग माग गर्दै आएका छौं । हामीले भारतको विस्फोटक पदार्थ ऐनलाई उल्था गरेर ड्राफ्ट सम्बन्धित सरोकारवाला निकायमा पेस गर्याैं । आवश्यकताका आधारमा संशोधन गरेर एउटा रूपरेखा तयार गर्न सरकारसँग माग गर्याैं । तर, सरकारले कानुन नै बनाइदिएको छैन । विस्फोटक सम्बन्धी केही कानुनी विषय उठ्यो भने गृह मन्त्रालयले हेर्छ भनेर पन्छिनु हुन्छ । जबकि पेट्रोलियम र ग्यास सम्बन्धी कानुन छुट्टै हुनुपर्छ । कानुनी अभावका कारण कुनै ग्यास सिलिण्डर पड्क्यो भने त्यो जिम्मेवारी कसको भन्ने स्पष्ट व्यवस्था हुन सकेको छैन । कहिलेकाहीँ घटना भइहाले भने सबैले ग्यास उद्योगीको दोष भनेर आफू पन्छिने गरेका छन् । जबकि सिलिण्डर बनाउने कम्पनी, रेगुलेटर बनाउने कम्पनी, पाइप बनाउने कम्पनी फरक-फरक हुन्छन् । उद्योगीहरूले बनाएको सिलिण्डरमा ग्यास भर्ने मात्रै हुन् । तर, दोष जति सबै ग्यास उद्योगीले बेहोर्नु परेको छ । एउटा पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष शिव प्रसाद घिमिरेले नेपालमा विस्फोटक ऐन कानुन र नियमन निकाय नहुँदा भारतबाटै इजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको गुनासो गर्नु भएको थियो । नेपालमा सरकारले कानुन बनाउन नचाहेको हो की सहयोगीहरुको सक्रियता नदेखाएका हुन् ? पेट्रोलियम र ग्यास सम्बन्धी कानुन बनाइदिनु पर्याे भन्दै उद्योगीहरू सक्रिय भएका हौं । हामीले प्रत्येक पटक आन्दोलन तथा विरोधका कार्यक्रम गर्दा एउटा बुँदा कानुनी व्यवस्था सम्बन्धी हुन्छ । हामीले ग्याससँग सम्बन्धित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयललाई त्यो ड्राफ्ट दिएकै हो । त्यो कानुन बनाउन मन्त्रालयले नै पहल चाल्नुपर्ने हो । तर, विस्फोटक पदार्थसँग सम्बन्धी हामीले हेर्न मिल्दैन, गृह मन्त्रालयलाई लेखेर पठाउँछौँ भनेर पन्छिने काम गर्छ । उद्योग मन्त्रालयको सचिव नेपाल आयल निगमको अध्यक्ष बन्ने प्रावधान छ । उहाँलाई हामीले लिखित रुपमा पेस गरेको हो । हाम्रो अन्तर्गत नपर्ने भएकाले गृह मन्त्रालयलाई लेखेर पठाउँछौँ भन्नु हुन्छ । तर, हामीले देखाएको सक्रियता खेर गइरहेको छ । विगतमा तपाईंहरूले (नेपाल एलपी ग्यास उद्योग संघ)ले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको थियो । ती १९ वटा बुँदाहरूमा के-के माग सम्बोधन भए ? त्यसमा हामीले नेपाल आयल निगमसँग सम्झौता गरेका छौं । विभिन्न शीर्षकमा १२.७५ रुपैयाँ बढाउने माग पूरा भएको छ । जुन ६/७ वर्षदेखि बढेको थिएन । मुद्रास्फीतिका आधारमा मूल्य तय हुनुपर्ने माग हो । इण्डियन रिफाइनरीबाट नेपाली उद्योगसम्म आइपुग्दा एक सिलिण्डरमा २ रुपैयाँ, नेपालका उद्योगबाट वितरण गर्दा २ रुपैयाँ, लेबर कस्ट (मजदुर शुल्क) १ रुपैयाँ लगायत विभिन्न शीर्षकमा १२.७५ रुपैयाँ शुल्क बढेको छ । साथै, प्रत्येक दुई वर्षमा शुल्कमा पुनरावलोकन गर्ने सहमति भएको छ । बाँकी विषयमा पनि आयल निगमसँग सम्झौता गरेका छौं । हाम्रो जनचेतनामूलक कार्यक्रम पनि छ । आजभन्दा १०/१५ वर्ष पहिला लालमणि जोशी सचिव हुनुहुन्थ्यो । उहाँ आयल निगमको अध्यक्ष हुँदा जनचेतनामूलक कार्यक्रम गर्ने सहमति भएको थियो । जनचेतनामूलक कार्यक्रम गर्दा हुने खर्चमा २५ प्रतिशत खर्च नेपाल एलपी ग्यास उद्योग संघ र ७५ प्रतिशत नेपाल आयल निगमले बेहोर्ने सम्झौता भएको थियो । त्यतिबेला सम्झौता मात्रै भयो तर, कार्यान्वयनमा आउन सकेन । नेपाल आयल निगमले त्यो सम्झौतालाई कार्यान्वयन नै गरिरहेको छैन । अब आगामी बजेटमा रकम छुट्याउने प्रतिवद्धता जनाउनु भएको छ । कमिसन बढाएर जनताको ढाड सेकेको आरोप तपाईंहरू माथि लाग्ने गरेको छ नि ? यसपटक १२.७५ रुपैयाँ कमिसन बढाउँदा जनतालाई १ रुपैयाँ पनि भार परेको छैन । आयल निगमले कमाएको नाफाबाट त्यो रकम घटेको हो । यो शुल्क पनि त्यतिकै बढाइएको होइन । नेपाल आयल निगम सञ्चालक समितिले वाणिज्य विभागका महानिर्देशककाे संयोजकत्वमा नापतौल तथा गुणस्तर विभागका उपसचिव, यातायात व्यवस्था विभागका उपसचिव, निजी क्षेत्रबाट एक जना (म थिएँ), आयल निगमबाट डीजीएम र चार्टर्ड एकाउन्टेन्टसहितको एउटा समिति बनेको थियो । त्यो समितिले यातायात क्षेत्रमा कति मूल्य वृद्धि भएको छ भनेर अध्ययन गर्न पुल्चोक इन्जिनियरिङ कलेजलाई जिम्मेवारी दियो । कलेजले अध्ययन गरेर ढुवानी भाडा कति घट्यो, कति बढ्यो भनेर अध्ययन रिपोर्ट बुझायो । यस्तै, वित्तीय रिपोर्ट तयार पार्न काठमाडौं विश्वविद्यालयलाई जिम्मेवारी दियो । फाइनान्सियल्ली कति असर परेको छ, श्रमिकको तलब कति बढेको छ भनेर अध्ययन रिपोर्ट बुझायो । समितिले यी दुईवटै रिपोर्टलाई कम्पायल गरेर शुल्क बढाउने निर्णय गरेको हो । त्यसैले हामीले चाहेर मात्रै बढाउने भन्ने हुँदैन । अध्ययन प्रतिवेदनका आधारमा शुल्क बढाइएको हो । अध्ययन रिपोर्टका आधारमा कति लागत लाग्ने निष्कर्ष निकालेको छ ? अहिले एउटा सिलिण्डरको मूल्य १९१० रुपैयाँ हो । त्यसमा प्रत्येक पार्टको विश्लेषण हुन्छ । त्यो सबै हिसाब गर्दा लागत अझै बढी आउँछ । तर, ग्यासको सम्पूर्ण खर्च नेपाल आयल निगमले बेहोर्छ । आयल निगमलाई समस्या परेको बेला सरकारले सहयोग गर्दै आएको छ । त्यसकारण अनुदानमा पाउने भएकाले १९१० रुपैयाँभन्दा बढी लागत भएपनि २ सय रुपैयाँ भन्दा बढी घाटा बेहोर्दै जनतालाई सस्तोमा दिने गरेको छ । उद्योगीले एक सिलिण्डरमा ३२ रुपैयाँ मात्रै पाउँछन् । विगतमा बिक्रेता (डिलर)हर"ले पनि ३२ रुपैयाँ पाउँथे । तर, बिक्रेताहरूको कमिसन बढेर ५० रुपैयाँ पुगिसक्यो, उद्योगीले ३२ रुपैयाँ मात्रै पाइरहेका छन् । जस्तो ग्यासको मूल्य २५ सय रुपैयाँ पुग्यो भने हामीले पाउने ३२ रुपैयाँबाट बढेर ३७ रुपैयाँ पुग्छ । यदि ग्यासको मूल्य १६ सय रुपैयाँमा झर्याे भने २६ रुपैयाँमा झर्छ । त्यसकारण हामीले पाउने कमिसनलाई स्वचालित प्रणाली (अटोमेसन)मा लैजानुपर्छ भन्ने माग छ । यस विषयमा निगमसँग सम्झौता भएको छ । समिति बनाएर अध्ययन गरेर एउटा मूल्य तोक्ने प्रतिवद्धता जनाएको छ । उद्योगी व्यवसायीहरूले आफ्नो माग पूरा गर्न कृतिम अभाव गरेर जनतालाई भोकै राख्ने गरेका छन् । बजारमा अभाव देखाएर आफ्ना माग पूरा गर्नु त उचित भएन नि अभाव होइन । एक महिना अगाडि नै हामीले गर्ने विरोधका कार्यक्रम सार्वजनिक गर्छाैं । त्यो भन्दा अगाडि आयल निगम, मन्त्रालयसँग छलफल गर्छाैं । उहाँहरूसँग सहमति नभएपछि एक महिना अगाडि यो दिनदेखि पीडीयो बनाउँदैनौँ, यो दिनदेखि ग्यास उठाउँदैनौं, यो दिनदेखि भन्सार गर्दैनौं भनेर चेतावनी दिँदै जानकारी गराउँछौँ । तर, त्यो दिनसम्म भएको ग्यास बजारमा पठाएकै हुन्छौं । यदि हामीले बजारमा ग्यास नपठाउने हो भने कालोबजारीको मुद्दा लाग्छ । त्यतिबेला डिलरहरूले बदमासी गर्छन् । उनीहरुले गरेको बदमासी उद्योगीहरुलाई थाहा हुँदैन । कहिलेकाहीँ ग्यास उद्योगीभन्दा डिलर बढी हावी भएका पनि छन् । तर, तपाईंहरुले आन्दोलनको घोषणा गर्ने बित्तिकै डिलरवालाले कालोबजारी गर्छन् नी ? त्यो त सरकारले अनुगमन गर्नु पर्याे नि । वाणिज्य विभाग, स्थानीय प्रशासन, जिल्ला प्रशासनले बजार अनुगमनमा गरिरहेका हुन्छन् । उनीहरूले प्रत्येक डिलरमा अनुगमन गर्नुपर्याे नि । कुन डिलरलाई कति ग्यास दिएको छ, त्यसको दैनिक तथ्याङ्क दुई पटक मेल गरेका पठाएका हुन्छौं । प्रशासनले त्यसको तथ्याङ्क मागेर ग्यास सिलिण्डरहरू कहाँ गएका छन् भनेर अनुसन्धान गर्नुपर्याे नि । ग्यास खरिद गर्ने मान्छेले कति ग्यास सिलिण्डर किनेको छ, फोन नम्बर, कुन ठाउँको हो भनेर सबै विवरण राख्नुपर्ने हुन्छ । डिलरहरूले त्यसको तथ्याङ्क राखेको छ कि छैन भनेर सम्बन्धित सरोकारवाला निकायले हेर्नुपर्छ । उद्योगीले उद्योगमा ग्यास रोकेर राखेको छ भने त्यो उद्योगीको बदमासी हो । ग्यास हुँदाहुँदै बजारमा नपठाउनु हाम्रो कमजोरी हो । भएका सबै ग्यास बजारमा पठाउने हाम्रो नीति हो । त्यसपछि उद्योगलाई केही दोष हुँदैन । अहिले अनलाइन बिलिङ हुन्छ । १० करोडभन्दा माथिको कर कार्यालयले अनलाइन लिङ राख्न निर्देशन दिएको छ । हामीले आन्दोलन गर्दा त्यसको फाइदा अरु कसैले उठाउँछन् भने त्यसबेला सरकारले पनि अनुसन्धान गर्नुपर्याे नी । कुन–कुन डिलर सञ्चालनमा छन् सबै सूची निगमसँग छ । कुन डिलरलाई कति सिलिण्डर बेचेको छ भनेर उद्योगले दैनिक २ पटक जानकारी दिएकै हुन्छ । ढुवानी साधन नहुँदा वार्षिक खर्बौं रुपैयाँ विदेशिएको पनि भन्नु भयो । ढुवानी सहजीकरणको लागि सरकारले के गर्नु पर्ने हो ? ढुवानीका लागि अहिले केही पनि भइरहेको छैन । हाम्रो करोडौं रुपैयाँ आवेदन शुल्क आयल निगममा छ । निगमले विगतमा ढुवानी गर्न इच्छुकको लागि आवेदन मागेको थियो । हामीले पनि संस्थागत तथा व्यक्तिगत रुपमा आवेदन दियौँ । १५ हजार रुपैयाँ प्रतिबुलेट आवेदन दिएका थियौं । सोही आधारमा साथीहरूले भारतमा बुलेट पनि बनाए । तर, नेपाल सरकारले पहल गर्न नसकेका कारण भारत सरकारले अनुमति दिएन । भारतमा एक्सप्लोसिभ एक्ट अनुसार पास हुनुपर्ने व्यवस्था छ । तर, उनीहरुले बुलेट बनाइरहेको ठाउँमा बनाउन खोज्दा नेपाललाई दिने अथोरिटी छैन भन्नु भयो । हामीले राजदूतावासमार्फत कोसिस गर्याैं । त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले पनि त्यो विषय उठाउनु भयो । सायद उहाँले सक्नु भएन, अब उप्रान्त यस विषयमा थप कुरा नगर्नुहोस् भन्नुभयो । मन्त्री, प्रधानमन्त्रीले पनि यो काम गर्न सक्नु भएन । त्यसकारण ढुवानीमा अर्बाैं रुपैयाँ बाहिरिएको सत्य हो । आफ्नो ढुवानी भयो भने नेपाल सरकारको नियन्त्रणमा हुन्छ । आयल निगम वा निजी क्षेत्र पनि बुलेटमा लगानी गर्न तयार छन् । अहिले सबै भारतीय कम्पनीहरूले ढुवानी गरिरहेका छन् । ढुवानीमा सरकारले सहजीकरण नगरीकन काम गर्न सक्ने अवस्था छैन । कति वटा बुलेट आवश्यक हो ? त्यसको लागत कति हुन्छ ? हामीले ५ सय वटा बुलेट चलाउने भनेर प्रस्ताव गरेका थियौं । त्यति भयो भने नेपालका लागि पर्याप्त हुन्छ । किनभने भारतीय ५ सय बुलेट चलिरहेका छन् । एउटा बुलेट बनाउन ६०/७० लाख रुपैयाँ पर्छ । त्यो मूल्यका आधारमा ३५ करोड रुपैयाँ बुलेटमा लगानी आवश्यक छ । निजी उद्योगी लगानी गर्न तयार छन् । हामीले आवेदन नै दिएको हो । मैले पनि १४/१५ वटा बुलेटका लागि आवेदन दिएको थिए । गाउँ नजिकै ग्यास उद्योग छन् । उद्योगहरूको कुनै सुरक्षा मापदण्ड छैन । कुनै कारणवश दुर्घटना भयो भने त्यसले ठूलो समस्या निम्त्याउने देखिन्छ । सुरक्षित ठाउँमा उद्योग सञ्चालन नगरेको आरोप लाग्छ । उद्योगहरू कसरी सञ्चालन भइरहेका छन् ? जतिबेला उद्योग खुले, त्यतिबेला त्यहाँ गाउँ थिएन । यो समस्या ग्यास मात्रै नभई अन्य उद्योगहरूमा पनि छ । विगतमा कुनै गाउँ थिएन, गाउँभन्दा टाढा खुलेका थिए उद्योगहरू । ग्यासका लागि कम्तीमा पनि २ बिघा जग्गा आवश्यक पर्छ । ग्यास उद्योग सञ्चालनका लागि मापदण्ड अनुसार बुलेटबाट १५ मिटेर टाढा, मेसिनबाट टाढा हुनुपर्छ । नजिक विद्यालय, अस्पताल नभएको र ५ सय जनासम्मको बस्ती छैन भनेर अध्ययन प्रतिवेदन बुझाएर उद्योग सञ्चालन गरेका हुन्छौं । यदि मापदण्ड पूरा गरेको छैन भने उद्योग सञ्चालन गर्न नै पाउँदैन । तर, उद्योग सञ्चालनमा आइसकेपछि मात्रै त्यहाँ बस्ती बसेको छ । तैपनि सरकारले कुनै खाली ठाउँको जमिन उपलब्ध गरायो भने ग्यास उद्योग सार्न तयार छन् । बस्तीलाई हटाउन सकिँदैन । सरकारले कुनै सुरक्षित ठाउँमा लिजमै भएपनि जग्गा उपलब्ध गराउनुपर्छ । उद्योग सार्दाखेरि ५० प्रतिशत सामाग्री काम नलाग्ने हुन्छन् । तैपनि त्यो सबै खर्च उद्योगी आफैंले बेहोर्नुपर्छ । जग्गा जमिन, ढल, बिजुली, पानी दिनुपर्छ । ८/१० वटा उद्योगमा यस्तो समस्या छ । नयाँ आएका उद्योगमा खासै समस्या छैन । तर, भविष्यमा उनीहरूलाई पनि त्यस्तो समस्या पक्कै देखिन्छ । हाल ५७ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । सरकारले एलपी ग्यासको नयाँ लाइसेन्स दिँदैन । अब थप उद्योग आवश्यक छन् की छैनन् ? लाइसेन्स दिनु हुँदैन भन्ने हाम्रो धारणा छैन । कसैलाई पनि वर्जित गर्नु हुँदैन । तर, कानुनी प्रक्रिया सबै पूरा गरेर मात्रै नयाँ लाइसेन्स दिनुपर्छ । नयाँ उद्योगका लागि हाम्रो विरोध छैन, जे छ सबैलाई खुला गर्नुपर्छ । तर, अहिले भइरहेका उद्योग किनबेचको भइरहेका छन् । त्यसैले उद्योगहरूलाई मर्जर गर्न दिनुपर्ने हाम्रो माग हो । मर्जर सम्बन्धी कानुनका लागि माग गरिरहेका छौं । फिक्स व्यवसाय भएको ग्यास उद्योगहरूले किन मर्जर चाहेका हुन् ? एउटै मान्छेका २/३ वटा उद्योग छन् । र, नजिक नजिक उद्योग छन् । आपसमा उद्यमीहरू मिल्छन् भने एउटै बनाउन दिनुपर्छ । मर्जरपछि बढी गुणस्तरीय बनाउन सकिन्छ । मर्जर भएपछि हालको सेवालाई अझै उत्कृष्ट बनाउन सकिन्छ । १० जना एउटा उद्योग र १० जना अर्काे उद्योगमा काम गर्ने छन् भने मर्जरपछि १० जना भएपनि काम गर्न सकिन्छ । किनभने अहिले स्वचालित मेसिनहरू आइसकेका छन् । अब हामीले गुणस्तरमा जोड दिन खोजेको हो । लागत पनि मिनिमाइज हुन्छ । कति वटा उद्योग हुनुपर्छ ? हामीलाई ३०/३५ वटा उद्योग भए पुग्छ । थानकोटदेखि मुग्लिनसम्म ६/७ वटा उद्योग छन् । ती ६/७ वटा उद्योगमध्ये १/२ वटा उद्योग भए पुग्छ । काठमाडौं उपत्यकामा एउटा उद्योग भए पुग्छ । जबकि नेपाल ग्यास, सकर, एभरेष्ट लगायत २२ वटा कम्पनीले काठमाडौंमा मार्केटिङ गरिरहेका छन् । ग्राहकहरूले ग्यासमा गुणस्तरीयता र परिमाण कसरी चेक गर्ने ? बदमासी गर्नेहरूको ठाउँ छैन । उनीहरूलाई नियमन नै गरेर नियन्त्रण गर्ने हो । तर, सरकारले खरिद र बिक्री गर्ने मूल्य तोकेको हुन्छ । घरसम्म पुर्याएबापत पसलले थप पैसा लिनु स्वभाविक हो । यदि आफै लिएर जाने हो भने १९१० रुपैयाँ भन्दा बढी तिर्नु हुँदैन । त्यो भन्दा बढी मूल्य कसैले लिएको छ भने कारवाहीको दायरामा आउँछ । तर, सिलिन्डरमा तोकिएको परिमाणमा ग्यास छ कि छैन यकिन गरेर मात्रै लिनुपर्ने हुन्छ । ग्यास सिलिण्डर खरिद गर्दा अनिवार्य तौलेर मात्रै लिनुपर्ने हुन्छ । सिलिण्डरको तौल १५ केजी भन्दा बढी हुन्छ । त्यो सिलिण्डरमा १४.२ केजी ग्यास हुन्छ । जस्तो सिलिण्डरको तौल १५.५ केजी र ग्यास १४.२ केजी छ भने जोडेर तौल गर्दा २९.७० केजी हुनुपर्छ । यदि जोडेर २९.७ केजी भन्दा कम वा २९.५ केजी मात्रै पनि ग्यास छ भने २ सय ग्राम उद्योगीले कम भरेको हुन्छ । त्यो दोष उद्योगको हो । उद्योगीलाई कारवाही पनि हुन्छ । तर, सिल लगाएको हुनुपर्छ । सिल लगाएको छैन भने उद्योगले जिम्मा लिँदैन । त्यसैले तौलेर मात्रै ग्यास लिनुपर्ने हुन्छ । ग्यास सिलिण्डर अनिवार्य रुपमा तौलेर लैजानु पर्छ । तराजु पनि पसलले अनिवार्य राख्नुपर्ने कानुनमै उल्लेख छ । सरकारले ४ सय ५० किलोग्राम तौल भएको ग्यास सिलिन्डर बजारमा ल्याउने गृहकार्य अघि बढाएको छ । तपाईहरुको यसमा धारणा के छ ? यो औद्योगिक प्रयोजनका लागि ल्याउनुपर्छ, घरायसी प्रयोजनका लागि होइन । एक चरण पास भइसकेको छ । एल्मोनियम उद्योग, छड उद्योगमा एकैपटक २०/४० वटा सिलिण्डर प्रयोग गर्छन् । त्यसको सट्टा ठूलो सिलिण्डर भयो भने लागत पनि कम हुन्छ । यसमा सुरक्षा पनि राम्रो छ । यो अन्तर्राष्ट्रियस्तरको ग्यास सिलिण्डर हो । जर्मनबाट किनेर ल्याएको सिलिण्डर हो । उद्योगहरूले फर्निस आयल प्रयोग गर्दा वातावरण बिगार्छ । एलपी ग्यास क्लिन इनर्जी भएकाले यसको प्रयोग गर्नुपर्ने आवश्यकता छ । ग्यासमा आउने गन्धले वातावरणलाई केही असर गर्दैन । त्यो ग्यास लिक भएको थाहा पाउनका लागि मात्रै गन्ध हालिएको हो । यो संसारभरको स्ट्याण्डर्ड हो । गन्धले ग्यास लिक भएको छ भनेर जानकारी दिएको हो । यदि त्यो गन्ध नहाल्ने हो भने ग्यास लिक भएको थाहा पनि पाइँदैन । ४५० केजी ग्यास सिलिण्डर भनेको ४०/४२ वटा सिलिण्डर हुन् । यो सिलिण्डर आउँदा आयल निगमलाई घाटा पनि कम हुन्छ । यो सिलिण्डर प्रयोग गर्नेले अनुदान पनि पाउँदैनन् । धेरै ग्यास बोकिराख्नु पनि परेन । एउटै ठूलो ग्यास हुँदा कम जोखिम पनि हुन्छ । सरकारले इण्डेक्सन चुलो प्रयोगमा जोड दिइरहेको छ । बिजुली खपतका लागि इण्डेक्सन चुलो निशुल्क वितरण पनि गरिरहेको छ । यसले एलपी ग्यास उद्योगलाई कस्तो असर गर्ला ? बिजुलीलाई हामी स्वागत गर्छाैं । किनभने यो नेपालको आफ्नै उत्पादन हो । ग्यासमा भर पर्दा नाकाबन्दीको बेला हाहाकार मच्चिएको थियो । त्यसैले बिजुली प्रयोग बढाउनु ठिक छ । बिजुली प्रयोग गरेर इण्डेक्सन चुलोमा खाना पकाएर खाँदा ग्यास उद्योगी खुशी नै छन् । तर, जहाँ बिजुली प्रशस्त छ, त्यहाँ ग्यासको माग पनि छ । संसारभर कुनै पनि ठाउँमा ग्यास प्रयोग घटेको छैन । अब हामीहरू औद्योगिकमा ग्यास प्रयोग बढाउँछौं । कम्तीमा १०/१५ वर्ष ग्यास उद्योगलाई केही असर गर्दैन ।
शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान अन्तर्गत तेस्रो भिडियो सार्वजनिक
काठमाडौं । शिवम् सिमेन्टले लोकप्रिय क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गत तेस्रो भिडियो सार्वजनिक गरेको छ। नवीनतम भिडियोमा हाम्रो जीवनको प्रत्येक सेकेन्डको महत्वलाई देखाइएको छ । दुई साथीको कथामार्फत प्रस्तुत भिडियोमा एक जना यात्रु समयमै विमानस्थल पुग्छन् भने अर्कोले उडान ढिलाइ हुने आशंकामा घरमै बस्छन् । तर, जहाज समयमै उड्दा उसले आफ्नो अवसर गुमाउँछ । यसरी, 'समयको मामलामा नो कम्प्रमाइज' भन्ने सशक्त सन्देश भिडियोमार्फत दर्शाइएको छ । यसअघि, क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत 'कर्तव्यको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश दिइएको थियो । दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामार्फत 'सर्तकताको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश प्रस्तुत गरिएको थियो। यी दुवै सामग्रीलाई दर्शकले अत्यधिक रुचाएका थिए । शिवम् सिमेन्टका अनुसार, यो अभियान केवल विज्ञापन नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । कम्पनीले 'नो कम्प्रमाइज भन्न जति सजिलो छ, व्यवहारमा पुरा गर्न त्यति नै गाह्रो हुन्छ । तर जसले पुरा गर्छ, उसको शिर सधैं ठाडो हुन्छ' भन्ने सन्देशमार्फत आफ्ना उत्पादनमा गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीतिलाई झनै स्पष्ट पारेको छ ।
वाणिज्य बजार अनुगमन तीव्र, दुई महिनामै ६ सय ५० भन्दा बढी अनुगमन
काठमाडौं । सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै लगेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले पछिल्ला दुई महिनामा ६ सय ५० भन्दा बढी अनुगमन गरेको हो । साउनदेखि भदौ २० सम्मको अवधिमा १ सय २६ वटा उद्योग तथा व्यवसायलाई कारबाही गर्दै ८० लाख ६५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ । यस अवधिमा कागजातसहित उपस्थित हुन २२० वटा व्यवसायीलाई भनिएको थियो भने ३ सय ४ वटा व्यवसायलाई सामान्य निर्देशन दिइएको थियो । यसबाहेक, सरकारले अण्डा, दुग्ध पदार्थ, मासु, तरकारी, फलफूल, पानीलगायतका खाद्यवस्तुमा हुने विषादी र मिसावट नियन्त्रण गर्न सम्बन्धित विभागलाई निर्देशन दिएको छ । अनुगमनका क्रममा विभिन्न फर्म, उद्योग तथा व्यवसायलाई गैरकानुनी गतिविधि, गुणस्तरहीन वस्तु, मूल्य नियन्त्रणमा कमजोरी र नियमन नमान्ने कार्यमा संलग्न भेटिएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले नेपालको संविधान, २०७२ को धारा ४४ अनुसार उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा पाउने र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति भएमा क्षतिपूर्ति माग्न पाउने अधिकार भएको उल्लेख गर्दै, यस संवैधानिक अधिकारलाई कार्यान्वयनमा ल्याउन उपभोक्ता संरक्षण ऐन, २०७५ लागू गरिएको र जसअन्तर्गत उपभोक्तालाई न्यायिक उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको बताए । उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको उपभोक्ता संरक्षण परिषदको २०८२ भदौ ११ गतेको पाँचौँ बैठकले बजारका तह निर्धारण गर्ने, वस्तु तथा सेवाको मूल्य मापदण्ड तय गर्ने र वाणिज्य–आपूर्ति क्षेत्रमा आवश्यक सुधारका लागि निजी क्षेत्र र सरोकारवालाको सहभागितामा समिति गठन गर्ने निर्णय गरेको छ । सो समितिले दुई साताभित्र प्रतिवेदन पेस गर्नेछ । त्यस्तै, केन्द्रीय बजार अनुगमन समितिको भदौ १८ गतेको बैठकले नियमित तथा आकस्मिक अनुगमन गर्ने, चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता शिक्षा–सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । चाडपर्वमा कुनै वस्तुको अभाव हुन नदिने महानिर्देशक ज्ञवालीले चाडपर्वमा कुनै वस्तुको अभाव हुन नदिने बताएका छन् । अहिलेदेखि नै चाडपर्वलाई लक्षित गरेर सरोकारवाला निकायहरूसँग छलफल सुरु गरिएको उनले जानकारी दिए । आपूर्ति व्यवस्थापनलाई सहज बनाउन मन्त्रालयले नेपाल खुद्रा किराना व्यापारी संघ, खाद्य किराना व्यवसायी संघ, अण्डा तथा लेयर्स उत्पादक संघ, वाटर बोटल संघलगायतसँग अन्तरक्रिया गरेको छ । सो क्रममा खाद्यवस्तु आपूर्ति नियमित रहेको, मूल्यवृद्धि नभएको र चाडपर्वमा आपूर्तिमा समस्या नपर्ने आश्वासन संघहरूले दिएका छन् । ज्ञवालीले भने, 'आपूर्ति व्यवस्थापन र चाडपर्वको समयमा बजारमा खाद्यपदार्थलगायतका दैनिक उपभोग्य सामग्रीको उपलब्धता कस्तो छ भन्ने सन्दर्भमा हामीले सरोकारवाला संस्थासँग अन्तरक्रिया गरेका छौँ । हालसम्मको छलफलबाट बजारमा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा असहजता नभएको, मूल्यवृद्धि नभएको र चाडपर्वमा पनि समस्या नहुने निष्कर्ष निकालेका छौँ ।' केन्द्रीय बजार अनुगमन समितिको बैठकले एमआरपी अनिवार्य गर्ने, उपभोग्य अवधि उल्लेख गर्नुपर्ने र पानी उद्योगसँग सम्बन्धित गुनासो समाधान गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, बिल–बिजक प्रणाली व्यवस्थित बनाउन बिक्री काउन्टरमा अनलाइन प्रणालीमार्फत डिजिटल क्यास रजिस्टर लागू गर्न अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, उपभोक्ता संरक्षणसम्बन्धी सूचना तथा विज्ञापन प्रकाशनरप्रसारण गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत विज्ञापन बोर्डलाई अनुरोध गर्ने, बढी कारोबार हुने वस्तुहरूको गुणस्तर मापदण्ड तत्काल निर्धारण गरी अनिवार्य कार्यान्वयन गर्न नेपाल गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिने निर्णयसमेत भएको छ । चाडपर्वमा यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सार्वजनिक सडक तथा हवाई यातायातलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ । विभागका अनुसार उपभोक्ता शिक्षा तथा सचेतना कार्यक्रम संघ, प्रदेश र स्थानीय तहमार्फत सञ्चालन गरिनेछ । यसैगरी, स्थानीय र प्रदेश तहका बजार अनुगमन समितिलाई अझ प्रभावकारी बनाउन र प्रचलित कानुनलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।