नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्न उद्योग मन्त्रालयद्वारा प्रस्ताव आह्वान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवप्रर्तनकारी उद्यमीहरुलाई पुरस्कृत प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै ख्याती आर्जन गरेका उद्यमीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो । मन्त्रालयका अनुसार सूचना, प्रविधि, कृषि, उर्जा, प्रविधि विकास, रोजगारी सिर्जना, उपकरणजन्य आविस्कार लगायतका क्षेत्रमा नवप्रवर्तनकारी ज्ञान सीप र क्षमताको प्रयोग गरी ख्याती आर्जन गरेका उद्यमीहरुले आफ्नो प्रस्ताव पेस गर्न सक्छन् । आइतबारबाट तीस दिनको समयभित्र प्रस्ताव पेस गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयको सूचना र आवेदकले भर्नुपर्ने फारमको ढाँचा ।
मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने अपेक्षा छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । उनले उक्त समीक्षाले देशमा हाल देखिएको आर्थिक संकटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा ल्याउन थोरै भए पनि सहयोग पुग्ने बताए । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका कतिपय विषय पनि शुक्रबारको मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले मुलुकको निजी क्षेत्रका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको बताएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनःसंरचना र घर तथा सेयर कर्जामा लचकता अपनाएको देखिन्छ । यी विषयहरू हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ । राष्ट्र बैंकले अहिले आएर यसको सुनुवाइ गरेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवर्द्धन गर्न सहयोग गर्नसक्छ,’ उनले भने । अध्यक्ष ढकालले तर पनि यो उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्थापित हुन पर्दैनथ्यो भने । ‘निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले विगत लामो समयदेखि पटक–पटक नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौँ । अहिले आएर केही हदसम्म भए पनि हाम्रा मागको सम्बोधन भएको छ । ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के–कति सहयोग गर्छ । त्यो हेर्न बाँकी नै छ,’ उनले भने । राज्यका निकायबीच समन्वयको अभावमा लगानीको वातावरण बन्न सकेन, अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएको र त्यसलाई प्रधानमन्त्री आफैँले सकारात्मकरूपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको उनको भनाइ थियो । उनले निजी क्षेत्र मुलुकभित्र लगानीको वातावरण बनाउन र लगानी प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको भारत, चीन तथा युएई भ्रमणका अवसरमा निजी क्षेत्रले लगानी सम्मेलनको आयोजना गरेको जानकारी दिँदै यसबाट नेपालमा लगानीका सम्भावनाहरूका बारेमा विदेशी लगानीकर्तालाई थाहा दिने काम भएको पनि बताए । मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देखाएको चासो र लिएको अग्रसरताको प्रशंसा गरे । उनले सरकारी प्रक्रियाका कारण धेरै आयोजना रोकिने गरेका उदाहरण पेस गर्दै त्यसलाई छिटोछरितो गराउने व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष आग्रह गरे । रासस
व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सुरु
काठमाडौं । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सुरु भएको छ । सुरक्षित एवं स्वस्थ्य कार्यस्थलका साथै श्रमिक शक्तिमा उद्योगको उत्पादकत्व निर्भर रहने कुरालाई आत्मसात गरी उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा बिहीबारदेखि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिमको सुरु भएको हाे । तीन दिनसम्म सञ्चालन हुने तालिममा संगठनका कार्यवाहक अध्यक्ष सुवोध कोईरालालाले प्रविधिको विकाससंगै कार्यस्थलमा जोखिम र जटिलताका साथै नयाँ चूनौतिहरु थपिदै गएको अवस्थामा कार्यस्थललाई स्वस्थ्य, सुरक्षित, व्यवस्थित मर्यादित बनाउनु पर्ने आवश्यकतालाई वोध गरी संगठनले तालिमको आयोजना गरेको बताए । श्रमिकको सुरक्षा र स्वास्थ्यले उद्योगको उत्पादकत्व, वस्तुको गुणस्तरका साथै औद्योगिक विकासमा समेत प्रभाव पर्ने भएकाले जोखिम रोकथाम र न्यूनिकरणका उपायहरु सबैले अवलम्वन गर्नुपर्ने धारणा राखे । उनले असल उत्पादनको अभ्यासमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिए । तालिमका प्रशिक्षक एवं व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका विशेषज्ञ दिनेश प्रसाद शाहले तीन दिने तालिममा नीतिगत र कानुनी प्रावधानहरु, व्यवस्थापन पद्धती र सुरक्षा योजना, सुरक्षित कार्यस्थल विकास, जोखिम पहिचान एवं व्यवस्थापन र जोखिम नियन्त्रणका बारेमा उद्योग प्रतिष्ठानका व्यवस्थापकहरुलाई ब्यवहारिक ज्ञान दिइने बताए । उनले तालिम अवधिमा सहभागि भएका उद्योग प्रतिष्ठानहरुका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको पद्धती विकास गरिने बताउदै मानवीय एवं भौतिक क्षति न्यूनिकरण, उत्पादन प्रकृया एवं पद्धतीलाई जोखिममुक्त बनाउने, मेशिन औजारको सुरक्षित संचालन विधिका विषय तालिमका समेटिएको जानकारी दिए । सुनसरी मोरङ औद्योगिक करिडोरका वीश उद्योग प्रतिष्ठानका व्यवस्थापक, प्रशासक र प्राविधिक गरी पच्चीस जनाको तालिममा सहभागिता रहेको छ ।