बिजुलीको बिलमा प्रिमियम थप्दा विवाद, प्राधिकरणले फर्जी बिल पठाएको दावी

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विद्युत प्राधिकरणले काटेको उद्योगीहरुको बिजुली लाइन पुनः जोडेर समस्याको समाधान गर्न माग गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा पहिलाको बिलिङ गर्दा समस्या आएको बताए । उनले अहिले आएर एकैपटक छलफल नगरी लाइन काटिदिँदा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको र लगानीको वातावरण बिथोलिने अवस्था देखेको बताए । ‘२०७५ वैशाख ३१ गते देशभर लोड सेडिङ अन्त्य भइसकेपछिको जुन बिल गरेको छ, त्यसमा हाम्रो कुन आधारमा बिल गरेको छ भन्ने एउटा प्रश्न छ । साथै यो विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा पहिलाको जुन बिलिङ गरेको छ, त्यसमा हाम्रो मुख्य विवाद छ । हाम्रा उद्योगी व्यवसायीहरुले नियमित आफ्नो बिजुलीको बिल तिर्दै आइरहेका छन् । खालि जुन यो विवादित प्रिमियमको विषय छ, यो २०७२ सालदेखि ०७५ सालसम्मको जुन विवाद छ त्यसको मात्रै नतिरेको छ । तर यहाँ उद्योगीहरुले कुनै बिल नै तिरेको छैन भनेर लाइन काटेको छ भन्ने पनि एउटा बजारमा गएको छ । यसले अन्तर्राष्ट्रिय रुपमा नेगेटिभ म्यासेज जाने र लगानीको वातावरण बिथोलिने देखेका छौँ । अहिलेको अवस्थामा उद्योगहरुको लाइन जोडिकन यसको समस्याको समाधानका लागि अघि बढ्नुपर्छ ।’ उनले भने । पत्रकार सम्मेलनमा बोल्दै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले उद्योगधन्दाहरु बन्द हुँदै गइरहेको अवस्थामा सरकारले निकास दिनुपर्ने ठाउँमा हठातमा बिजुलीको तार काट्ने निर्णय गरेर उद्योग बन्द गराउने योजनामा अघि बढेको बताए । उनले सरकारको यो निर्णय खेदजनक रहेको बताए । उनले उद्योगहरुको संरक्षण गर्नुपर्ने ठाउँमा विनाशतर्फ राज्य लागेको आरोप लगाए । उनले डेडिकेटेड र ट्रंकलाइन लिने सम्पूर्ण ग्राहकहरुले आफूले तिर्नुपर्ने नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको मिटर हेरेर पठाएको बिलको आधारमा प्रत्येक महिना रकम तिरिरहेको बताए । डेडिकेटेड र ट्रंकलाइनको विवाद उठेका बेलामा पनि छुट सहितको बिल आफूहरुले तिरिरहेको उनले दावी गरे । त्यसैगरी, चिनी उत्पादक संघका अध्यक्ष जगदीश अग्रवालले सरकारको अपरिपक्व निर्णयले गर्दा बजार र उद्योग क्षेत्रलाई अफ्ठ्यारो पर्ने बताए । उनले अपरिपक्व निर्णय र अनावश्यक झैझमेला उद्योगीलाई दिनको लागि मात्रै लाइन काटिएको बताए । कानूनबमोजिम उद्योगीलाई दिनुपर्ने फर्जी बिल बाहेक अरु कुनैपनि बिल भए सरकारलाई आफूहरु तिर्ने बताउँदै उनले सबै उद्योगले बिजुलीको पैसा तिरेको भन्दै फर्जी बिलको पैसा तिर्न नसक्ने बताउ । साथै, उनले सरकारले उच्चस्तरीय अधिकार सम्पन्न समिति बनाइ यसको निकास दिनुपर्ने भनाई राखे । पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी विष्णु न्यौपानेले आफूले प्रयोग नगरेको बिजुलीको बिल तिर्न नसक्ने बताए । उनले विद्युत प्राधिकरणले लोड सेडिङको बेलामा उद्योगीहरुले बिजुलीको बिल आफूले प्रयोग गरेको नतिरेको देखाए आफूहरु तिर्न तयार रहेको तर प्रयोग नै नगरेको बिजुली तिर्न नसक्ने स्पष्ट पारे । उनले बिजुली सहमतिअनुसार नपठाएको तर बिल भने तिराउने कुरा उद्योगीहरुमाथिको अत्याचार भएको बताए । व्यवसायीहरुले साढे तीन वर्षपछि मात्रै बत्ती प्रयोग गर्नुपर्छ र पैसा तिर्नुपर्छ भनेर फर्जी बिल पठाएको जिकिर गरे । उनीहरुले सरकार र विद्युत प्राधिकरण मिलेर यसको समस्या समाधान गर्नुपर्ने बताए ।

डेडिकेटेड र ट्रंकलाइन विवाद, रोजगारी र राजस्वमा असर पर्ने महासंघको भनाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाईन समस्याको समाधानका लागि एक उच्चस्तरिय अधिकार सम्पन्न आयोग गठन गर्न आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले यसको विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत लाइन काट्न थालिएको भन्दै यसमा गहन अध्ययन र समाधान गर्नुपर्ने बताएको हो । सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकार रहेको र समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा यस विषयलाई टुंगोमा पुर्याउन एक उच्चस्तरिय अधिकारसम्पन्न आयोग स्थापना गनुपर्ने माग महासंघले राखेको हो । निजी क्षेत्रका प्रतिनिधि पनि रहने उक्त आयोगले विगतमा भएका अध्ययन, अहिलेको अवस्था, टिओडि मिटर आदिको अध्ययन गरि निष्पक्ष राय दिने महासंघको भनाई छ ।यही भदौ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग निजी क्षेत्रको भेटमा प्रधानमन्त्री दाहालले लाइन नकाट्न निर्देशन दिएका थिए । त्यसपछि विभिन्न निकायमा यसबारे छलफल भएको र लाइन नकाटि समस्या समाधान हुनेमा उद्यमी व्यवसायी आश्वस्त थिए । तर एकाएक केहिदिन अघिको एक मन्त्रिस्तरिय बैठकमा प्रधानमन्त्री दाहालले उर्जामन्त्रीलाई नै डेडिकेटेड ट्रंक लाईनको महशुल नतिर्ने उद्योगीको बिजुली नै काटिदिन निर्देशन दिएपछि सोमबारसम्म ९ उद्योगको बिजुली काटिसकिएको छ । यसरी लाईन नै काट्न थालेपछि महासंघले विभिन्न समयमा वभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच मत भिन्नता रहेको बताएको छ । यसैका कारण धेरै समयदेखि यो बिषय अल्झिएको महासंघको भनाई छ । उद्योगीहरुका अनुसार यसबारे विवाद भएको समयमा आफले निरन्तर विद्युत महसुल बुझाएको र तीन बर्षपछि विल आएको छ । उद्यमी व्यवसायीहरु डेडिकेटेड र ट्रंकलाइनको उपभोगको नियमानुसार (टिओडी मिटरको आधारमा) तिर्नुपर्ने रकम तिर्न तयार रहेको बताउँदै आएका छन् । यसबारे कानुनसम्मत रुपमा कुनै उद्योगले तिर्नुपर्ने देखिन्छ भने उक्त उद्योगले भुक्तानी गर्नुपर्ने र नतिर्नु पर्ने देखिएमा जबरजस्ती भुक्तानीका लागि वाध्य गर्न नहुने महासंघले माग राखेको छ । यो विषय तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असर पर्ने महासंघको भनाई छ ।  

सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेस्ट : पाँच स्टार्टअप कम्पनीमा लगानी गर्न इच्छुक

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट ‘सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेस्ट २०२३’ सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो संकरणको ‘सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेस्ट’को अन्तिम प्रतिस्पर्धामा पुग्न सफल ९ मध्ये पाँचवटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गर्दा पाँच सय बढी स्टार्टअपहरुको आवेदन परेको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका ९ वटा स्टार्टअप परियोजनालाई फेस्टमा प्रस्तुतिको अवसर दिइएको थियो । त्यसमध्ये गल्ली म्याप्स, टावर अर्गानिक्स, एसटीओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन् । यी स्टार्टअपमा यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायवल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टीम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् । सोही समारोहमा विभिन्न विधामा स्टार्टअप कम्पनीहरूलाई अवार्ड प्रदान गरिएको छ । स्टार्टअप अफ द इयरको अवार्ड हाम्रो पात्रो हेल्थले प्राप्त गर्‍यो । यसैगरी बेस्ट इनोभेसन अफ द इयर अल्लोइ प्रालि, कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामा, ग्रिन स्टार्टअप अफ द इयर डोको रिसाइकल्स, सोसियल इन्टरप्राइज अफ द इयर चायो बायो, इनेबलर्स अफ आन्टरपेनर्स इन्भेस्ट फर इम्प्याक्ट नेपाल, वमन इन आन्टरपेनर्स डा. प्रतिभा पाण्डे, वेष्ट स्टार्टअप आइडिया रेः मिनी ई–स्कुटर र बेस्ट पिचडेक अवार्ड एसटीओएमपीले प्राप्त गरे । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग स्टार्टअप फेस्टको प्रमुख नीति साँझेदार रहेको थियो । यसैगरी राष्ट्रिय योजना आयोग, नेपालस्थित भारतीय राजदूतावास, यूरोपियन यूनियन, अन्तर्राष्ट्रिय श्रम संगठनको समेत सहकार्य भएको थियो ।