‘कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गरौँ’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा अझै पनि कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योगहरू नभएको बताएका छन् । उनले अब कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गर्नतर्फ अग्रसर हुन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री शर्माले विगतदेखि नै कर्णालीमा नुनदेखि सुन फलाउने सामन्तवादी सोच कृषि क्षेत्रमा हाबी हुँदै गइरहेको हुँदा कर्णालीमा कृषिजन्य उद्योग नफस्टाएको बताए । ‘अब कर्णालीका नागरिकले नुनदेखि सुन एक्लैले फलाउने नभई कसैले कोदोको, कसैले मकैको अर्थात् हरेकले अलगअलग खेती गरेर कृषिमा व्यावसायिकीकरण गर्न आवश्यक छ । कृषि मात्रै होइन, अब सबै व्यवसाय गर्दा अलगअलग व्यवसाय गर्न जरुरी छ नभए व्यवसाय नै डुब्ने, असफल हुने सम्भावना हुन्छ,’ मुख्यमन्त्री शर्माले भने, ‘त्यसका लागि उत्पादनको वर्गीकरण गर्न भौगोलिक कलष्टर छुट्याउने योजना सरकारको छ । उच्च हिमाली, हिमाली, पहाडी, खोँच आदि कलष्टर छुट्याएर अघि बढ्ने र सोही आधारमा कृषि उत्पादन गर्न सकेको खण्डमा हामी आत्मनिर्भरतातर्फ अग्रसर हुन्छौँ ।’ मुख्यमन्त्री शर्माले अहिले कर्णालीमा सञ्चालनमा रहेका अधिकांश उद्योगहरुले बाहिरबाट कच्चापदार्थ ल्याई उद्योग सञ्चालन गरिरहेको बताए । उनले कसरी औद्योगिक क्षेत्र सञ्चालन गर्ने बारेमा खाका कोर्न व्यवसायीलाई सुझाव दिँदै कर्णालीमा औद्योगिक विकासका लागि कोही पनि एक्लाएक्लै अगाडि बढेर सम्भव नभएको र त्यसका लागि सरकारले के गर्नुपर्छ हातेमालो गर्न तयार रहेको बताए । ‘हामी गुणस्तरको सामान उत्पादन गर्न सक्छौँ, निरन्तर बजारमा आफ्नो उत्पादनलाई अब्बल साबित गर्न सक्छौँ कि सक्दैनौँ त्यो बुझे बिना नै जब काम गर्छौँ, तब हामीलाई समस्या आइपर्छ । तसर्थ सबै कुराको अध्ययन नगरी काम थाल्दा नोक्सान बाहेक केही हुँदैन,’ मुख्यमन्त्री शर्माले भने । उनले उद्योगीलाई गुणस्तरीय सामान उत्पादन गर्न सुझावसमेत दिए ।

उद्योग दिवसका अवसरमा उद्यमी पुरस्कृत

म्याग्दी । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद ५र५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रममार्फत ९ लाख ७१ हजार मूल्य बराबरको सामग्री खरिदका लागि छनोट भएका १२ उद्यमीको नाम सार्वजनिक गरिएको थियो । उनीहरूले उपकरण खरिदमा कुल लागतको ५० प्रतिशत अनुदान पाउने कार्यालयले जनाएको छ । बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका श्रीसले वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिकरूपमा बोयर जातको बाख्राको स्रोत केन्द्र सञ्चालन गरेका छन् । बेनी–४ की घलेले बेनीको गणेश टोलमा बुटिक सेन्टर सञ्चालन गरेका छन् । कराँते, भलिबलको रेफ्रि तथा खेलाडीसमेत रहेकी घलेले विद्यालयका छात्रालाई आत्मरक्षा तालिम र खानाको परिकार बनाउने तालिम पनि दिन्छन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायव उपरीक्षक मदन कुँवर, जिल्ला समन्वय अधिकारी राजेन्द्र पोख्रेल, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्मालगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बेनी नगर प्रमुख केसीले चालु आवदेखि पशुपालक कृषकलाई उत्पादनका आधारमा अनुदान दिने तयारी गरेको जानकारी दिँदै विभिन्न निकायले अनुदानमा नगरवासीलाई वितरण गरेका उपकरण, औजार र सामग्रीको प्रयोगको अवस्थाका विषयमा अध्ययन थालिएको बताए । जिल्ला समन्वय समितिका प्रमुख थापाले उद्योग दिवस मनाउने बजेट प्राप्त नभए पनि अन्य स्रोतमार्फत उद्यमीलाई प्रोत्साहन गरेर पुरस्कृत गरिएको बताए । प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत बेनी–८ को सिर्जना मःम रेष्टुरेन्ट एण्ड होटल, मालिका–७ को विषम कृषि तथा पशुपक्षी फार्म, मालिका–३ को विशाल टेलरिङ सेन्टर, बेनपा–७ को समतारा फर्निचर उद्योग, बेनपा–६ को विनय फर्निचर उद्योग, बेनपा–५ को संस्कार एण्ड एसीका कुखुरापालन फार्म, बेनपा–८ को मगर टेलरिङ सेन्टर, बेनपा–८ को रेनु टेलरिङ सेन्टर, बेनपा–८ को अस्मिता टेलरिङ सेन्टर, बेनपा–७ को रोशन टेलरिङ र अर्विन टेलरिङ सेन्टर अनुदानका लागि छनोट गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले जानकारी दिए । रासस

विजयको विजययात्रा, लाखबाट अर्बपति

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को आय विवरणअनुसार व्यक्तितर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति विजयबहादुर शाह बनेका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा मदिरा उद्यमी हुन् । उनी केही वर्षदेखि निरन्तर सबैभन्दा बढी कर बुझाउने व्यक्तितर्फको सूचीमा पर्दै आएका छन् । बिहीबार आयोजित कार्यक्रमामा अर्थमन्त्री डा. प्रकाशशरण महतले शाहलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरे । व्यक्तिगततर्फ सर्वाधिक कर तिरेर पहिलो पटक बैंकर्स पृथ्वीबहादुर पाँडे सरकारबाट सम्मानित भएका थिए । त्यसपछि धेरै वर्षसम्म व्यवसायी सिद्धार्थ समशेर जवरा सम्मानित भए । सर्वाधिक आयकर तिरेर शाहले तेस्रोपटक सरकारबाट सम्मानित हुने अवसर पाएका छन् । यसअघि एकपटक उनकै छोरी जया शाह पनि व्यक्तिगततर्फ उत्कृष्ट करदाताको रूपमा सम्मानित भएकी थिइन् । लाखबाट अर्बपति शाह सन् १९४८ मा नेपालगन्जमा जन्मिएका थिए । नेपालगन्जमा जन्मिए पनि ललितपुर जावलाखेल शाहको पुर्ख्यौली घर हो । उनको परिवारले सन् १९५० को दशकमै परम्परागत तरिकाले स्थानीय मदिरा उत्पादन गरी बिक्री गर्दै आएको थियो । जब १९६९ मा शाह अमेरिकाबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेर नेपाल फर्किए, उनले मदिरा उत्पादनमा आधुनिक प्रविधि प्रयोग गरेर व्यापार गर्नुपर्छ भन्ने सोचलाई मूर्तरूप दिए । उनले आधुनिक प्रविधियुक्त नयाँ डिष्टिलरी खोल्न आफ्ना बुबा रामनारायण शाहसँग ३० लाख रुपैयाँ जुटाइदिन आग्रह गरे । उनका बुबाले छोराको आग्रह स्वीकार्दै रकम जोहो गरिदिए । त्यही बीउ पुँजी र २० जना कामदारबाट सन् १९७० मा सुरु भएको जावलाखेल डिष्टिलरी आज अर्बौं मूल्यको भएको छ भने हजारौंले काम पाएका छन् । साथै, २२ वर्षको उमेरमा सुरु गरेको उनको कम्पनीले ५ दशक व्यावसायिक जगतमा पृथक पदचाप सिर्जना गरेको छ । जावलाखेल डिष्टिलरी नेपाली निजी लगानीमा सुरु भएको पहिलो डिष्टिलरी हो । त्यसबेला उनको कम्पनीले ह्विस्की र रम उत्पादन गथ्र्यो । सन् १९७३ मा जावलाखेल डिष्टिलरीले नेपालमै पहिलोपटक भोड्का उत्पादन सुरु गरेको थियो, जसको नाम हो- रुस्लान भोड्का । जुन आज पनि मदिरा पारखीको रोजाइमा पर्ने गर्छ । शाह यो क्षेत्र प्रवेश गर्नुअघि भैरहवामा बेलायतको चर्चित कम्पनी स्नोल्याण्डको लगानीमा भैरहवा डिष्टिलरी सञ्चालनमा थियो । त्यसले जिन, ह्विस्की र रम उत्पादन गरिरहेको थियो । त्यसबेला काठमाडौंमा तीन वटा डिष्टिलरी थिए । मदिरा बजारको आकार पनि सानो थियो । अहिले दर्जनौ ठूलो मदिरा उद्योग छन् । त्यसमा पनि जावलाखेल डिष्टिलरीका उत्पादनले कुल बजारको सबैभन्दा ठूलो हिस्सा लिएको छ । ‘जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज’ बढी कर तिर्ने संस्थाका रूपमा मात्रै नभई नेपालको व्यावसायिक क्षेत्रमा आफ्नो छुट्टै नाम र पहिचान बनाउन सफल संस्था हो । र, यस संस्थाका संस्थापक ७५ वर्षीय शाह अहिले पनि मदिराको क्षेत्रमा थप राम्रो कसरी गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धानमा जुटिरहेका हुन्छन् । उनलाई छोरा राजबहादुर शाहले साथ दिएका छन् । प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको व्यवस्थापकीय नेतृत्व लिएपछि कम्पनीको नाफा उच्च त भएको छ नै कम्पनीका संस्थापक विजय शाहलाई उच्च करदाता अवार्डको विजयी यात्राले पनि निरन्तरता पाएको छ । मदिरा आधुनिकरणको जग सन् १९५० को दशकअघि देशमा डिस्टिल गरी उत्पादित मदिरा सिलप्याक गरेर बेच्ने उद्योग थिएनन् । त्यसबेला नेपालमा मदिरा कारोबार ठेक्का प्रणालीमार्फत हुन्थ्यो । सरकारले तराई र सहरी क्षेत्रमा पाँच वर्षका लागि बोलकबोल गरी मदिराको ठेक्का लगाउँथ्यो । पहाडमा मदिराको ठेक्का सकार्ने कोही हुन्थेन । क्षेत्र तोकेर मदिराको ठेक्का आह्वान गरिन्थ्यो । बडाहाकिमसमक्ष डाक बडाबड हुन्थ्यो । बोलकबोलका क्रममा बडाहाकिमले जसको बोलीपछि टेबुल ठटाउँथे, ठेक्का उसैले पाउँथ्यो । नगदै धरौटी राखेर ठेक्का पाएको क्षेत्रमा ठेकेदारले मदिरा उत्पादन गरी बिक्री वितरण गर्थे । पुर्ख्यौली पेसा, भट्टीलाई डिष्टिलरीमा रूपान्तरण गर्न तथा राजामहाराजाले चलाएको देशमा निजी लगानीमा त्यसरी संस्था चलाउने साहस आफूले गरेको शाहले बताएका छन् । हाल जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गत हिमालयन डिष्टिलरी, एसियन डिष्टिलरी, विजय डिष्टिलरी, रोलिङ रिभर डिष्टिलरीलगायत करिब दर्जन कम्पनी सञ्चालनमा छन् । ती कम्पनीमार्फत रुस्लान भोड्का, रोयल स्ट्याग ह्विस्की, ब्लु डाइमण्ड जिन, गोल्डेन ओक ह्विस्कीलगायत १८ किसिमका मदिरा उत्पादन भइरहेका छन् । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रवद्र्धन गरेको हिमालयन डिष्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत पनि छ ।